बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सरकारी स्कुलमा बच्चा पढाए स्वास्थ्य बीमा नि:शुल्क

बुधबार, ०४ चैत २०८२, १७ : ०४
बुधबार, ०४ चैत २०८२

सारांश

  • पोखरा महानगरपालिका वडा १२ ले सामुदायिक विद्यालयका विद्यार्थीका अभिभावकलाई निःशुल्क स्वास्थ्य बीमाको घोषणा गरेको छ।
  • यो कार्यक्रमले सरकारी विद्यालयमा विद्यार्थी आकर्षित गर्ने र शिक्षा तथा स्वास्थ्य दुवै निःशुल्क बनाउने नीति लिएको छ।
  • अभिभावकले वार्षिक ३,५०० प्रिमियम तिरेर १ लाख बराबरको स्वास्थ्य उपचार सेवा पाउनेछन्, जुन वडाले तिर्नेछ।

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १२ ले सामुदायिक विद्यालयमा बालबच्चा पढाउने अभिभावकलाई निःशुल्क स्वास्थ्य बीमाको सुविधा दिएको छ । छोराछोरी सामुदायिक विद्यालयमा पढाउने सबै अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिएको हो ।

सरकारी विद्यालयप्रति आकर्षण बढाउन चालु आर्थिक वर्षदेखि यस्तो कार्यक्रम गरिएको वडाध्यक्ष सन्तोष बास्तोलाले जानकारी दिए । वडाले सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीको शिक्षा र स्वास्थ्य दुवै निःशुल्क बनाउने नीति अन्तर्गत काम गरिरहेको उनको भनाइ छ ।

‘सरकारी विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गरेर विद्यार्थी आकर्षण बढाउने गरी हामीले काम गरिरहेका छौँ,’ उनले भने, ‘सोही अनुसार वडामा स्थायी बसोबास रहेका र सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका परिवारको बिमा गर्नेछौँ ।’

यो वडामा देशकै उत्कृष्ट मध्यका सामुदायिक विद्यालय छन् । अमरसिंह माध्यमिक विद्यालय र शीतलादेवी सामुदायिक विद्यालयले देशमै उत्कृष्ट नतिजा दिँदै आएका छन् । सरस्वती आधारभूत विद्यालय समेत गरी तीन विद्यालयमा मात्रै ४ हजार ३ सय विद्यार्थी अध्ययन गर्ने वडाको तथ्याङ्क छ ।

स्वास्थ्य बिमा कार्यक्रममा वार्षिक ३ हजार ५ सय प्रिमियम तिरेर परिवारका ५ जना सदस्यले १ लाख बराबरको स्वास्थ्य उपचार सेवा प्राप्त गर्छन् । बिमा प्रिमियमबापतको रकम वडाले भुक्तानी गर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप