आवासीय अभिमुखीकरणमा रास्वपाले सांसदलाई सिकाउन खोजेको अनुशासन
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूको लागि दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गर्यो।
- कार्यक्रममा सभापति रवि लामिछानेले सांसदहरूलाई प्रेरणादायी र जिम्मेवार बन्न आग्रह गरे, र आगामी कार्यदिशाबारे स्पष्ट पारे।
- अभिमुखीकरणले सांसदहरूलाई संसदीय भूमिका, नीतिगत ज्ञान, र जनताप्रति उत्तरदायी हुन सहयोग पुर्यायो।
काठमाडौँ । पार्टीको नीतिअनुसार आफ्ना नवनिर्वाचित सांसदलाई हिँडाउने तथा अनुशासन कायम गर्नेसहितको उद्देश्यका साथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई दिने आवासीय अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । मंगलबारदेखि ललितपुरको ग्वार्कोस्थित रोयल टुलिपमा सुरु भएको अभिमुखीकरण बुधबार सम्पन्न भएको हो ।
‘परिवर्तनको नेतृत्व, परिणामको राजनीति’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रम विशेषगरी पार्टी सभापति रवि लामिछानेले बुधबार समापन समारोहमा सांसदहरूलाई दिएको जिम्मेवार अभिव्यक्ति दिनभर चर्चामा रह्यो। सो क्रममा उनले सांसदहरुलाई अनुशासनको दायरमा बस्न समेत कडा निर्देशन दिएका थिए ।
‘पार्टीले अनुशासनमा कुनै सम्झौता गर्दैन । परिवार ठूलो भएको छ, अनुशासन नभए अराजकता बढ्छ’, लामिछानेको भनाइ थियो, ‘समाज पहिले नै अराजकताबाट प्रभावित छ, त्यसैले हामी अझ बढी अनुशासित हुनुपर्छ ।’ उनले रास्वपाका कार्यकर्ता अराजक रहेको भन्ने टिप्पणी हुने गरेको भन्दै त्यसतर्फ पनि आफ्नो ध्यानाकर्षण गराए ।
‘रास्वपालाई प्रायः अराजक छन्, रास्वपा समर्थकहरू अत्यन्त धेरै असहिसणु छन्, सामाजिक सञ्जालमा गाली–गलौजमा उत्रन्छन्, व्यक्तिगत गाली–गलौजमा उत्रन्छन्, छुनै हुँदैन, बोल्नै हुँदैन, गाली गरिहाल्छन्, त्यस किसिमको एउटा छवि बनेको छ’, लामिछानेले भने, ‘म सम्पूर्ण समर्थक साथीहरूलाई बताउन चाहन्छु, अब त्यसबाट बाहिर निस्कनुपर्छ ।’
_1NbuYLESsm.jpg)
सम्बोधनका क्रममा लामिछानेले सांसदहरुलाई शालीन, सभ्य र जिम्मेवार तरिकाले प्रस्तुत हुन प्रेरित गर्ने प्रयास गरे । यसले पार्टीको आगामी कार्यदिशा र शैलीमा समेत ठुलो बदलाव आउने अपेक्षा गरिएको छ ।
यस्तै लामिछानेले अनुशासनमा रहन दिर्नेशन दिनुबाहेक पार्टीको रणनीति, दृष्टिकोण तथा नीतिगत प्राथमिकताबारे स्पष्ट पार्दै सांसदहरूलाई उत्तरदायी र परिणाममुखी राजनीति अभ्यास गर्न समेत निर्देशन दिए । जनताको विश्वासलाई कार्यसम्पादनमार्फत प्रमाणित गर्नुपर्ने तथा संसदभित्र र बाहिर दुवै क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो । विगतमा दलहरुप्रति धेरै कटाक्ष गर्ने लामिछाने यसपटक नरम रुपमा प्रस्तुत हुँदै जिम्मेवार सुनिएपछि उनको अभिव्यक्तिलाई लिएर सकारात्मक टिप्पणी भएका हुन् ।
यसअघि मंगलबार कार्यक्रमको सुरुवातमा पार्टीका उपसभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्लेले घण्टी बजाएर संयुक्त रुपमा उदघाटन गरेका थिए । उनीहरूले जनताबाट प्राप्त विश्वासलाई परिणाममुखी उपलब्धिमा रूपान्तरण गर्न सांसदहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताए । डा. वाग्लेले पनि प्रभावकारी संसदीय अभ्यास, नीतिगत स्पष्टता र उत्तरदायित्वपूर्ण नेतृत्वमार्फत जनअपेक्षा पूरा गर्न सांसदहरूलाई भने, निर्देशन दिए । अर्का उपसभापति अर्यालले पनि चुनावी अभियानका अनुभवहरू साझा गर्दै सांसदहरूलाई जनतासँग नजिक रहेर काम गर्न निर्देशन दिए ।
सांसद आशिका तामाङले पाँच वर्षे कार्यकाल भ्रष्टाचार नियन्त्रणमा केन्द्रित हुने बताइन् । उनले भ्रष्टाचार अन्त्य गर्न सके देशले ठूलो फड्को मार्ने दाबी गरिन् । सहमहामन्त्री विपिनकुमार आर्चायले सञ्चालन गरेको अभिमुखीकरणले नवनिर्वाचित सांसदहरूलाई प्रभावकारी, उत्तरदायी र परिणाममुखी संसदीय भूमिकातर्फ उन्मुख गराएको रास्वपाको विश्वास छ ।
_Hq3Qu2Ptct.jpg)
अभिमुखीकरणका दौरान पूर्वसचिवहरू, विषय विज्ञहरूले सहजीकरण गरेका सत्रहरूले सांसदहरूलाई व्यवहारिक ज्ञान र दृष्टिकोण विकासमा सहयोग पुगेको रास्वपाको भनाइ छ । यस्तै कार्यक्रममा सांसदहरूलाई नेपालको संवैधानिक व्यवस्था, संघीय संसदको संरचना तथा कार्यप्रणाली, विधायन प्रक्रिया, संसदीय समितिहरूको भूमिका, बजेट तथा योजना निर्माण, नीति विश्लेषण, सुशासन र पारदर्शिताका मापदण्ड जस्ता विषयहरूमा विस्तृत जानकारी गराइएको थियो ।
यस्तै एआई र एल्गोरिदमले लोकतन्त्र, शक्ति सन्तुलन र सुशासनमा पार्ने प्रभावबारे पनि विशेष प्रस्तुति राखिएको थियो। यो अभिमुखीकरणले नवनिर्वाचित सांसदहरूलाई आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न आवश्यक ज्ञान, सीप, दृष्टिकोण र संस्कार विकासमा टेवा पुर्याउने विश्वास लिइएको छ।
कार्यक्रममा पुनः निर्वाचित सांसदहरूले आफ्नो संसदीय अनुभव प्रस्तुत गर्दै चुनौती, सिकाइ र कार्यशैलीबारे जानकारी दिएका थिए । साथै समूहगत छलफल तथा ब्रेनस्टोर्मिङमार्फत सांसदहरूलाई विभिन्न रणनीतिक सवालहरूमा छलफल चलाइएको थियो।
सो अवसरमा आगामी संसदीय कार्यदिशा तय गर्न महत्वपूर्ण आधार तयार भएको कार्यक्रममा योग तथा ध्यानसहितको माइण्डफुलनेस अभ्याससमेत गरिएको थियो। यद्यपि, रास्वपाले प्रधानमन्त्रीका रूपमा अघि सारेका वरिष्ठ नेता बालेन भने आज पनि कार्यक्रममा देखिएनन्। तर, रास्वपाका नवनिर्वाचित सांसदहरुले संसद् र बाहिर दिने प्रस्तुतिलाई प्रभावकारी बनाउन धेरै कुरा सिकेको बताएका छन्।
सांसद हरि ढकालले सुशासनका लागि मुहाननै सफा गर्नुपर्नेमा जोड दिए । उनले जनमत सुशासनका पक्षमा स्पष्ट रहेको भन्दै त्यसैअनुसार काम अघि बढाउने बताए । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व गर्दै सांसद भूमिका श्रेष्ठले पछाडि पारिएका समुदायको हित प्रवर्द्धन र उनीहरूको आवाज संसदमा उठाउने बताइन् । स्वास्थ्य, शिक्षा, रोजगारी र सामाजिक न्यायमा रहेका विभेद अन्त्य आफ्नो मुख्य एजेन्डा हुने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण