बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: भवन ऐन संशोधनमा कठोर नीति, रवि लामिछानेको जिम्मेवार बोली

बिहीबार, ०५ चैत २०८२, ०० : ००
बिहीबार, ०५ चैत २०८२

सारांश

  • भवन ऐन संशोधनमा जरिवाना र सम्पत्ति रोक्काको प्रावधान राखिएको छ।
  • रवि लामिछानेले आफ्नो शैली परिवर्तन गर्दै जनताको मतको सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरे।
  • खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा पाइलटसहित सबै यात्रु सकुशल छन्।

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–

१. भवन ऐन संशोधनमा कठोर नीति

सरकारले भवन ऐन, २०५५ लाई संशोधन गर्न ‘भवन (दोस्रो संशोधन) ऐन, २०८२’ नामक विधेयकको मस्यौदा तयार गरेको छ । सहरी विकास मन्त्रालयले उक्त मस्यौदा राय तथा सुझावका लागि आफ्नो वेबसाइटमा प्रकाशित गरेको छ ।

२. रवि लामिछानेको जिम्मेवार बोली

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको शैली यसअघि आक्रामक थियो । अरुलाई व्यङ्ग्य प्रहार गरेर बोल्थे । धारणामा थोरै सत्यता र व्यङ्ग्य धेरै हुन्थ्यो ।

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पार्टीले सहज बुहमत (२ सिट कम दुई तिहाइ) ल्याएपछि लामिछानेले आफ्नो त्यो शैलीलाई परिवर्तन गरेका छन् । ललितपुरको ग्वार्कोमा पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकाहरूलाई रास्वपाले गरेको दुई दिने अभिमुखीकरणको समापनमा लामिछानेको आधा घण्टाभन्दा बढी समय आफ्नो धारणा राखे । यस क्रममा उनले आफ्नो शैलीलाई पूरै परिवर्तन मात्रै गरेनन्, जनताले दिएको मतको बोध आफूमाथि थुप्रिएको र त्यसलाई कसरी सहज अवतरण गर्ने भन्नेमा ध्यान केन्द्रित गर्ने शैलीमा प्रस्तुत भए ।

३. हेलिकप्टर दुर्घटना

खोटाङको बेलाबेसीमा आज भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाबारे कम्पनीले आधिकारिक जानकारी गराएको छ । काठमाडौँबाट खोटाङतर्फ उडेको ९एन–एएफक्यू कलसाइनको हेलिकप्टर आज बिहान ११ः५१ बजे दुर्घटनामा परेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

४. भोलि बिहान सांसदलाई प्रमाणपत्र प्रदान गरिने

निर्वाचन आयोगले प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट सांसद भएकाहरूलाई बिहीबार बिहान प्रमाणपत्र प्रदान गर्ने भएको छ । आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले बिहीबार बिहान ११ बजे आयोगमा समानुपातिक प्रणालीबाट निर्वाचित भएका सांसदहरूलाई प्रमाणपत्र वितरण गर्ने जानकारी दिए । 

५. कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टीले चैत्र ६ गते शुक्रबारका लागि बैठक बोलाएको हो । 

बैठक शुक्रबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

६. जाँचबुझ आयोग

तत्कालीन सात राजनीतिक दलको नेतृत्वमा २०६२ साल चैत २४ गतेबाट सुरु भएर वैशाख ११ मा टुङ्गिएको दोस्रो जनआन्दोलनमा २६ जनाले ज्यान गुमाएका थिए । 
त्यसबारे जाँचबुझ गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधिश कृष्णजङ्ग रायमाझीको अध्यक्षतामा आयोग गठन भयो । काठमाडौंको गोंगबु क्षेत्रमा आन्दोलन नियन्त्रणमा खटिएका सशस्त्रका तत्कालीन एसएसपी माधव थापालाई आयोगका पदाधिकारीले बोलाएर सोधे, ‘किन गोली चलाउनुभयो, तपाईं किन सधैँ काठमाडौंमा मात्रै खटिनुहुन्छ ?’ 

७. पश्चिम एसिया तनावको तीन साता

इरान र इजरायलबिचको सैन्य तनावले मध्यपूर्व (पश्चिम एसिया) तनावग्रस्त छ । १७ लाखभन्दा बढी नेपाली श्रमिकको मुख्य गन्तव्य रहेका ती मुलुकहरू अहिले युद्धग्रस्त अवस्थामा छन् ।
यूएई, कतार, साउदी अरब, कुवेतजस्ता देशहरूमा युद्ध चर्किएसँगै त्यहाँका धेरै व्यावसायिक संस्थाहरू सतर्कतापूर्वक रूपमा सञ्चालन भइरहेका छन् । कतिपयले ‘वर्क फ्रम होम’ लागु गरेका छन् । त्यो सम्भव नभएका तथा जोखिम उच्च भएका संस्थाको व्यावसायिक गतिविधि समेत बन्द गरेका छन् ।

८. कांग्रेस र नेकपाको बाटोमा नलागोस् रास्वपा

फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा परम्परागत राजनीतिक दलहरूलाई विस्थापित गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकार गठनको ‘म्याण्डेट’ पाएको छ ।

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन (प्रत्यक्ष–समानुपातिक)को परिणाम सार्वजनिक गरेसँगै रास्वपालाई सरकार गठनको बाटो खुलेको छ । यद्यपि चुनाव सम्बन्धी अन्तिम प्रतिवेदन राष्ट्रपतिलाई बुझाउन दुई/तीन दिन लाग्ने निर्वाचन आयोगले जनाएको छ ।

९. जाँदाजाँदै पुराना दलका नेताहरूलाई प्रधानमन्त्रीको ‘सान्त्वना’ !

झन्डै २ साता यता प्रधानमन्त्री सुशीला कार्कीको काँध हलुको भएको छ । प्रतिनिधि सभा निर्वाचन सम्पन्न गराएसँगै उनको मुख्य जिम्मेवारी पूरा भएको हो ।

फागुन २१ अघिसम्म अलि हतास र तनावग्रस्त जस्तो देखिने उनको चेहरामा अचेल एक प्रकारको चमक देखिन्छ भने अभिव्यक्तिहरूमा पनि बदलाव देखिन थालेको उनलाई भेट्नेहरू बताउँछन् ।

१०. आकासिएको तेलको मूल्य, तर किन ‘शान्त’ छ सुन?

बुधबार इरानविरुद्धको युद्ध १९ औँ दिनमा प्रवेश गर्दा, सामान्यतया संकटको समयमा सुरक्षित लगानी मानिने सुनको मूल्य सोचेविपरित स्थिर देखिएको छ।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेदेखि यो द्वन्द्व क्षेत्रभरि फैलिएको छ, जसले विश्व अर्थतन्त्रमा नकारात्मक असर पर्न सक्ने चिन्ता बढाएको छ।

११. सर्वोच्चको व्याख्या

विदेशमा भएको करार उल्लंघन र लेनदेनमा न्यायिक उपचारका लागि नेपालको अदालतमा मुद्दा दिन पाउने सर्वोच्च अदालतले फैसला सुनाएको छ । अदालतले विदेशी कम्पनी, संस्था र एजेन्सीसँग नेपाली नागरिक वा संस्थाले गरेको सम्झौता नेपालको अदालतको क्षेत्राधिकारभित्र पर्ने र बिगो र क्षतिपूर्ति दाबी गर्न पाउने फैसला सुनाएको हो ।

१२. चिनियाँ राष्ट्रपतिको पुस्तक जलाइएकोबारे छानबिन गर्दै स्थानीय प्रशासन

मोरङको मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सी चिनफिङको पुस्तक ‘द गभर्मेन्स अफ चाइना’ जलाइएको घटनाबारे स्थानीय प्रशासनले छानबिन अघि बढाएको छ ।
गृह मन्त्रालयले दिएको निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालय मोरङले सो घटनाको बारेमा छानबिन सुरु गरेको हो । पुस्तक जलाइएको विषयलाई चीनले गम्भीर रूपमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप