बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
कथा

सालिक

शनिबार, ०७ चैत २०८२, ११ : ००
शनिबार, ०७ चैत २०८२

सारांश

  • नेपालगञ्ज सहरमा ९५ वर्षीय वृद्ध अब्दुल अलीको सहरप्रतिको भावना र विगतको सम्झनालाई कथामा उतारिएको छ।
  • सहरमा विभिन्न समयमा स्थापित सालिक र तिनको महत्वको बारेमा चर्चा गरिएको छ, जसमा तीन सरकार र पाँच सरकारको शासनकालको वर्णन छ।
  • कथाले समयको परिवर्तन, शासकहरूको पतन, र सहरको विकासक्रमलाई विभिन्न पात्र र घटनाहरू मार्फत चित्रण गरेको छ।

उज्यालो चिसिँदै गरेको साँझ; दिउँसोको काम सकेर साँझको बन्दोबस्तमा जुट्न ओहोरदोहोर गरिरहेको भीड; दिनभरि बेफुर्सदिलो हुने चोक र चोकको परिवेशलाई चोकको पूर्वउत्तरतिर रहेको तीनतले पहेंलो घरको तेस्रो तलाको सडकतिर फर्केको कोठाको झ्यालबाट नियाल्दै थिए, तलाउ जस्ता एक जोर पुराना, गहिरा र थाकेका आँखा ।

अब्दुल अली नेपालगन्ज सहर बालकै हुँदा यही सहरको मझेरीमा जन्मिएको अरे । ऊ जन्मेको पन्चानब्बे वर्ष भयो अरे । उसले थाहा पाएकै एकानब्बे वर्ष भयो ।

सहर अहिले जवान भएको छ; ऊ बूढो । ऊ, उसका बा, हजुरबा... जन्माउने यो सहर समय बित्दै जाँदा झन्झन् जवान भएको हेरिरह्यो उसले । हेरेर मात्र चित्त बुझेन । पहेंलो कागजमा लेख्यो, “यो सहर कहिले बूढो हुन्छ ? सायद जति मान्छे जन्माउँछ, सहर उति जवान हुँदै जान्छ । समय पनि जति बित्दै जान्छ, उति जवान हुँदै जान्छ ।”

लेख्दालेख्दै उसका हात काँपे थर्र...रअ । लेखेर सुस्तायो । तर याद सुस्ताएनन् ।

उसलाई लेख्न मन पर्छ । उर्दूमा; हिन्दीमा होइन । हिजोआज नेपालीमा लेख्न मनपर्छ । तर उर्दू सायरहरु औधी मन पर्छन् । उमेरका कारण मन परेका कुराहरु गर्न नसकेको सम्झिएर चोक नियाल्न थाल्यो झ्यालबाट । उमेरले उसको आँखाको शक्ति खोसेको रहेनछ अझै । देख्छ, चस्मा नलगाएरै यो सहर, झ्यालबाट देखिनेसम्म । आफ्नो आँखाको दृष्टिक्षमता सम्झिएर गर्वले हिउँ जस्तो सेतो दाह्री सुमसुम्यायो ।

लेख्तै गयो, “यो सहर आफ्नो जवानी बेचेर पनि बूढो हुँदैन । जवानीमा पनि यति फोहोरी यो सहर बूढो भएपछि कस्तो होला ? यो सहरले नुहाउनै जानेको छैन । कहिलेकाहीँ प्रकृतिले नै नुहाइदिँदा पनि आफ्नो शरीर पखालेको मैलो पानी आफ्नै शरीरका खोल्साखाल्सीमा जमाएर, कुहाएर भ्यागुता र सर्प पालेर बाँच्छ । फोहोरकै कारण कहिले सुकेलुतो, कहिले पाकेलुतो कहिल्यै छुट्तैन यो सहरलाई । र पनि, यो ठाउँले निरन्तर कहिल्यै नटुङ्गिने कथा बाँचिरहेछ । असङ्ख्य मानिसहरुको कथा बोकेर समय हिँडिरहेछ ।

उमर खय्याम, वसिरबद्र, आफताब राय ‘रूसवा’ जस्ता उर्दू सायरहरुको गजल मन पर्छ उसलाई । आफू पनि त्यही प्रभावमा लेख्ने गर्छ, कहिलेकाहीँ । तर छाप्न मन गर्दैन । लेख्तै च्यात्छ, समयले आफ्नो उमेर च्याते झैं । केही सम्झिए झैं लेख्यो, एक सेर—

अतीत बिर्सिएर सहर ओहोरदोहोर गर्छ

आफ्नै जवानीलाई किन यति फोहोर गर्छ

अरु सेर लेख्न सकेन । फर्द भयो । बाँकी गद्यमै लेख्यो, “यो सहर इतिहास बिर्सन खोज्छ । वरिपरिका घरहरु चोकलाई आफ्नो इतिहास सम्झाउन खोज्छन् । फरक–फरक शासन व्यवस्थामा यो चोक फरक–फरक सालिक भएर उभिन्छ र भीड मौन पत्थरको अमूक आदेशले नियन्त्रण गर्न खोज्छ । अहिले यो चोकमा भीडलाई हेर्न र नियन्त्रण गर्न पत्थरको मुटु भएको कुनै सालिक उभिएको छैन । व्यवस्था परिवर्तनसँगै यो चोकमा सालिक परिवर्तन हुन्छ । नयाँ व्यवस्थाका नयाँ शासकले इतिहास मेट्न खोज्छन् । तर बिस्तारै समयले ती शासकलाई नै मेटिदिन्छ ।

यो चोक अहिले आफ्नो नाभिमा उभिएको पहिलो सालिक खोजिरहेछ । तर यहाँका मान्छेहरु नयाँ सालिक खोजिरहेछन् । यो चोक अहिले आफ्नो पहिलो नाम खोजिरहेछ । तर यहाँका मान्छेहरु नयाँ नाम खोजिरहेछन् ।”

लेख्तालेख्तै अचानक सहरभरि झ्याप्प बत्ती गयो । बूढाले लेख्न सकेन । भर्खर घाम अस्ताएपछिको मधुरो प्रकाश उसको कोठामा अँध्यारो बनेर पसेको थियो । अँध्यारोमा उसले शून्य अनुभव गर्‍यो । झ्यालबाट धमिलो उज्यालोमा चोक पनि देखिएन । तन्द्रामा परे झैं तकियाको अडेस लागेर ऊ पल्टियो । ऊ जवान हुँदाको पुरानो समय उसको आँखा अगाडि चोकमा एकतमासले पोखिन थाल्यो । ऊ बाँचिरहेको त्यो समय उसको मनोलोकमा सपना भएर आउन थाल्यो— 

सहर अघिल्लो दिनदेखि नै नुहाएर सुकिलो भएको थियो । मानिसहरु सहर सजाउनमा व्यस्त थिए । गाउँले जस्ता देखिने सहरवासीहरु आफ्नो चोकलाई गाउँ जस्तै सहर सम्झिन्थे ।

कलिलो सहर, शिशु जस्तै सुन्दर थियो । चोकको चारैतिर सडक किनारामा लामबद्ध तीन सयभन्दा बढीको हाराहारीमा एकनासका कोठी । पहिलो तीन सरकारले आफू नआएरै हुकुमबाट बसाएको सहर । भर्खर तातेताते हिँड्न खोज्दै थियो, बजार भएर । चोकमा कुनै सालिक थिएन । सालिक राखिने ठाउँमा पनि एउटा सानो कोठी थियो, जहाँ दुईतीन जना प्रहरी बस्थे, जसलाई सबै ‘कोतवाली’ भन्थे ।

तीन सरकारको सवारी हुँदैछ भनेर मानिसहरु सडक किनारमा लामबद्ध हुँदै फूल–अबिर लिएर सरकारको स्वागत र जयगानका लागि बिहानैदेखि लामबद्ध कुरिरहेका थिए । सवारी भइसकेको थिएन । सवारी हुने बेला भयो भनेर मानिस आत्तिएर लाइनमा बसेको पनि घण्टौं भएको थियो । हुनेले आफ्नै घरको, नहुनेले खोजेर तीन सरकारलाई मनपर्ने परिकारहरु जतिसक्दो स्वादिलो बनाई लिएर आएका थिए, कतिपयले । बरू मान्छे नै किन नहोस् । सुन्दर र सुशील छोरीहरु हुनेका कतिपय बाबुआमा छोरी दरबारमा सुसारे भएर भित्रिन पाउँछे र पूरै परिवारको उद्धार हुन्छ भन्ने विश्वासमा समेत थिए ।

बिहान एघार बजेको शुभसाइतमा सजिसजाउ हात्तीमाथि चढेर तीन सरकारको सवारी भयो । सरकारको पछिपछि सयौं सुरक्षा फौज, घोडचढी, आसेपासे र धुपौरेदेखि लिएर सरकारका कर्मचारीहरुको लामो लाम थियो । त्यसपछि स्थानीय सर्वसाधारणका प्रमुखहरु; त्यसपछि धेरै पर सर्वसाधारणहरु ।

गाउँ जस्तो सहर जयजय गानको भक्तिभजनमा डुब्यो । साक्षात् भगवान्् विष्णु प्रकट भए झैं मानिस अचम्मित थिए । तीन सरकारको हात्ती लमकलमक गर्दै चोकमा आएर उभियो, हजारौं मानिसको माझमा ।

त्यहाँका सबै वर्ग, जाति, धर्म, संस्कृतिका मानिस सरकारको दर्शन र सेवामा आएका थिए । कस्ता रहेछन् हाम्रो देश चलाउने सरकार भनेर हतारिँदै हेर्न आएका थिए । कुनै अवतार पुरूष झैं तीन सरकार आफ्नो स्वागत, सेवा र भक्तिमा उपस्थित हजारौं प्रजालाई गर्वसाथ लामा–लामा जुँगामा ताउ लगाउँदै चारैतिर हेर्दै थियो । तर प्रजाहरु कसैले पनि तीन सरकारको आँखामा सीधा हेर्न सकेनन् । मात्रै दर्शन गरे । स्वस्ति गरे । भक्ति गरे । जयजय गरे ।

तीन सरकारका भक्त तथा राष्ट्रसेवकहरुलाई हात्तीमाथिबाटै सरकारले पुरस्कार, मान, पदवी दिने कार्यक्रमअनुसार दिइयो । पुरस्कार स्वरुप कतिपयले बीसदेखि सय बिघासम्म जग्गा मौजा पाए । कतिपयले सुन, चाँदी, गिन्नी, असर्फी पनि पाए । कतिपयले डिठ्ठा, बैदार, खरिदार, मुखिया हुने मौका पाए । धेरैको पदोन्नति भयो ।

सबैले सरकारको जयजयगान गरे । उच्चवर्ग जस्तो देखिने एउटा समूह निम्नवर्ग जस्तो भएर पाउ पर्न खोजिरहेको थियो । तर हात्तीमाथि बसेका तीन सरकार धेरै माथि भएकाले चाहेर पनि पाउ पर्न मिलेन । त्यसैले पाउ परेको शैलीमा तलैबाट उनीहरु आलाप गरिरहेका थिए—

“सरकार ! हाम्रा अवतार पुरूष, भगवान््, दयाका सागर, दुःखमोचक !”

“सरकार त एक महिनापछि सिकार गरेर फर्किबक्सन्छ । मौसुफको अनुपस्थितिमा हामी टुहुरा हुन्छौं सरकार ।”

“हाम्रो सुरक्षा र रेखदेख कसले गर्छ सरकार ?”

“हामीलाई न्याय कसले दिन्छ सरकार ?”

“हामीलाई पाप र दुःखबाट कसले मोचन गर्छ सरकार ?”

“सरकारको न्यास्रो लाग्दा हामी कस्को शरणमा जाने सरकार ?”

“हामी कस्को सेवा गर्ने सरकार ?”

“सरकारको सेवा गर्न नपाए हाम्रा हात बेकार हुन्छन् सरकार ।”

प्रसन्न मुद्रामा मन्दमन्द मुस्काराउँदै र जुँगामा ताउ लगाउँदै हात्तीमाथिबाटै तीन सरकारद्वारा हुकुम भयो, “तेसो भए के उपाय गरुँ, लौ तिमीहरु नै भन ?”

दुईचार अक्षर जाने जस्तो देखिने दौरासुरूवालधारीले हात जोड्दै बिन्ती बिसायो, “सरकारको प्रतिमा यो चोकमा बनाउन पाए हामी त्यही प्रतिमा हेरेर चित्त बुझाउने थियौं सरकार ।”

क्रमशः अरुले पनि थप्न थाले—

“हामी आफ्ना सबै कुरा त्यही प्रतिमासामु गएर बिन्ती बिसाउने थियौं सरकार ।”

“सरकारको प्रतिमालाई नै सरकार ठानेर हामी तेसैअनुसार चल्थ्यांै सरकार ।”

“हामी हाम्रा भगवान््को प्रतिमा राख्न चाहन्छौं सरकार ।”

एकाएक भीडले सरकारको भक्ति गर्दागर्दै आँखाभरि आँसु पार्न थाल्यो । भक्तिको उत्कर्ष रुप आँसु हो । करूणा हो । कतिपयका आँखा सम्भावित बिछोडको कल्पनामा रसाए जस्ता पनि देखिए । धेरैजसोका आँखा भने अरुको भन्दा धेरै आँसु देखाउन पाए सरकारको नजिक हुन पाइन्थ्यो कि भनेर रसाएका थिए ।

एक महिनापछि आफूसँग हुने बिछोडमा आजैदेखि शोकमग्न भक्तजनहरुलाई देखेर तीन सरकारको अनुहार भर्खर उदाएको घामझैं धपक्क बल्यो र मुस्कुरायो । बत्ती जस्तो अनुहार लिएर तीन सरकारको टाउको चारैतिर घुम्यो । र, अत्यन्त प्रसन्न चित्तमा भक्तहरुले गरेको भक्ति–आलाप हेर्दै, ओठ छड्के पारेर मधुर मुस्कुराहटमा तीन सरकारबाट हुकुम भयो, “तिमीहरुको भक्ति र प्रार्थनाबाट म अत्यन्त प्रसन्न भएँ । एक महिनाभित्र यस चोकमा तिमीहरुका तीन सरकारको प्रतिमा विदेशी कालिगडद्वारा अष्टधातुबाट निर्माण गरिनेछ ।”

तीन सरकारको अमृतवाणी सबैले कानमा थापेर हृदयमा राखे र हर्षित भए । फेरि सबैले तीन सरकारको जयजय गरे । कीर्तन गरे ।

तीन सरकारबाट अझै अगाडि हुकुम भयो, “जाने बेलामा म आफ्नो प्रतिमामा प्राणप्रतिष्ठा गराएर जानेछु । प्राणप्रतिष्ठा गराएपछि त्यो प्रतिमामा पनि म हुनेछु । त्यसैले तिमीहरु त्यही प्रतिमाका माध्यमबाट सधैं शासित हुनू । सञ्चालित हुनू । आफूलाई दुःख र अन्याय पर्दा यही प्रतिमाका सामुन्ने बिन्तीभाउमा सुनाउनू । भक्ति र प्रार्थना गर्नू । तिमीहरुको प्रार्थनाबाट म प्रसन्न भएँ भने साक्षात् प्रकट हुनेछु । नभए पनि तिमीहरुको सुखदुःख सधैं–सधैं म धातुका आँखाले हेरिरहेको हुनेछु; धातुकै कानले सुनिरहेकै हुनेछु; धातुकै मनमस्तिष्कले मनन गरिरहेको हुनेछु । र धातुकै मुखले न्याय दिइरहेको हुनेछु । कसैले भोको बस्नुपर्दैन । कसैले बेकाम बस्नुपर्दैन । कसैले अन्याय भोग्नुपर्दैन ।”

फेरि सबैले एकसाथ जयजय गान गरे ।

प्रसन्न चित्तले तीन सरकारबाट अझै अगाडि हुकुम हुँदै गयो, “मेरो आत्माको अंश पनि यही प्रतिमामा म छोडेर जानेछु । तिमीहरुले यही प्रतिमालाई साक्षात् अवतार मानेर मेरो जन्मदिनमा भव्य जन्मोत्सव मनाउनू । म सबै हेरिरहेको हुनेछु; सुनिरहेको हुनेछु र विचार गरिराखेको हुनेछु ।”

फेरि सबैले एकसाथ जयजय गान गरे । सरकारबाट अझै अगाडि हुकुम हुँदै गयो, “हाम्रा भाइछोराहरु प्रशस्त छन् । तीमध्ये अबदेखि चार भाइ यस सहरका चार दिशामा सहर घेरेर बस्नेछन् । उनीहरुलाई राजा मान्नू । सेवा गर्नू । भक्ति गर्नू । विभिन्न पर्वमा उनीहरुसँग आशीर्वाद लिन जानू ।”

फेरि सबैले एकसाथ जयजय गान गरे ।

आफ्ना बी र सी क्लासका भाइखलकहरुलाई दायाँबायाँ हेर्दै अझै अगाडि हुकुम भयो, “यिनीहरु व्यर्थमा यहाँ बस्न डराइरहेछन् । यहाँ सर्प र बिच्छीको डर हुन्छ अरे । औलो लाग्छ अरे । यहाँ धूलो, हिलो, गर्मी हुन्छ अरे; हो त ?”

धेरैले पसिना पुछ्दै भने, “हैन सरकार !”

अन्त्यमा हुकुम भयो, “हाम्रा भाइहरुलाई यो सहरका चारै सुरमा दुई–दुई हजार बिघा जमिन बिर्ता भयो ।”

फेरि सबैले जयजय गान गरे ।

हात्तीमाथिबाटै तीन सरकारबाट अन्यायमा परेकालाई न्याय, जग्गा नहुनेलाई जग्गा, घर नहुनेलाई घर, लुगा नहुनेलाई लुगा, अन्न नहुनेलाई अन्न बक्सिस भयो ।

प्रजा धन्य भए ।

एक महिनासम्म केही बाघ, गैंडा, चितुवा, मृग, चित्तलहरुले तीन सरकारको हातबाट मुक्ति पाए । भित्रभित्रै केही मान्छेहरुले पनि मुक्ति पाए भन्ने गाइँगुइँ हल्ला सुनियो । तर प्रकटमा कसैले केही भन्न सकेनन् । भनेनन् । सबैले जयजय गान मात्र गरे ।

एक महिनापछि तीन सरकारद्वारा आफ्नो प्रतिमामा प्राणप्रतिष्ठा अर्थात् आफ्नो आत्माको अंश राखियो । त्यही बेलादेखि तीन सरकारका सुरक्षाकर्मीले प्रतिमालाई वरिपरिबाट चौबीसै घण्टा पहरा दिन थाले । त्यही बेलादेखि चोकको नाम ‘जुद्धचोक’ रहन गयो ।

परबाट तीन जना टोपी, भोटो, कछाड लगाएका, पहाडतिरबाट झरेका जस्ता देखिने नौला मान्छे हिँड्दैहिँड्दै चोकमा आइपुगे । चोकमा हातखुट्टा नभएको, टाउको र आधा जीउ मात्र भएको, जुँगेमुठे कालो मान्छे आकार देखेर अनौठो मान्दै कुनै नौलो जन्तुलाई झैं हेरे । ती पहाडियाहरुले तीन सरकारलाई त्यसरी आँखा जुधाएर हेरेको देखेर पहरा दिइरहेको सिपाही कड्कियो, “ओ मुनवा, आँखा तल झार् । ए पाखे सुनिनस् ? आँखा तल झार् !”

भोटो, कछाड र टोपीहरु दङ्ग परे । एकअर्कालाई हेराहेर गरे । किन आँखा तल झार्ने ? केही नबुझेर ओठ लेप्य्राउँदै डराएर ती बाटो लाग्न खोज्दा फेरि सिपाही कड्कियो, “सरकारलाई स्वस्ति गरेर जा भनेको, सुनिनस् ?”

उनीहरु फेरि अलमल्ल परे । के हो स्वस्ति भनेको थाहा नपाएर उभिइरहे । पक्कै ढोग्ने होला भनेर ढोग्न गए । सिपाहीले रोक्यो । डन्डा ताक्यो तर हानेन । उनीहरु कुनै फन्दामा परे झैं मुख बिगार्न थाले । डरले काँप्न थाले । सिपाही कड्कियो, “टाढैबाट स्वस्ति गरेर जा भनेको, सुनिनस् ?”

नबुझेर उनीहरुले नमस्ते गरेर गए ।

तराईको चर्को घाम । अर्को जोर दौरासुरूवाल र इस्टकोट परबाट छाता ओढेर चोकतिर आउँदै गरेको देखियो । सालिक नजिकै आइपुग्दा पनि उनीहरुले छाता बन्द नगरेको देखेर सिपाही फेरि कड्कियो, “छाता बन्द गर् ! सरकारको अगाडि छाता ओड्न हुँदैन भन्ने था छैन, अधम ?”

उनीहरु केही नबुझेर ट्वाल्ल परे । यताउता हेरे, सरकार कतै पनि देखेनन् । डरले थर्र... काँपे । कसो गरौं, के गरौं भए । सिपाही फेरि कड्कियो, “बडो अटेरी रहेछ । महाराजको अगाडि छाता ओडेर हिँड्ने ? छाता बन्द गर् भनेको !”

जति हेरे पनि महाराज देखेनन् । उनीहरुले सोचे, सायद महाराज ईश्वर जस्तै सर्वव्यापी हुन्छन्, जसलाई सामान्य मानिसले देख्न सक्तैनन् । नदेखेरै डरले छाता बन्द गरेर उनीहरु चुपचाप गए । पर पुगेर डराउँदै फेरि छाता ओढे र आफ्नो बाटो तताए ।

तिहारको बेला जताततै देउसी, भैलो, पिङ र जुवाको माहोल थियो । जुद्धचोकको वरिपरि पनि खालहरु जमाएर उद्योगी, व्यापारी, जागिरे र किसान बसेका थिए । यस्तैमा तीन सरकारका बी श्रेणीका भाइ खलक, जो त्यहाँका सरकार बनाइएका थिए— हात्तीमाथि चढेर आफ्ना प्रजाले कसरी तिहार मनाइरहेका छन् भनेर हेर्न आएको परैबाट देखियो ।

नजिक आएपछि सबैले झुकेर स्वस्ति गरे । प्रजाले कौडा खेलेको देखेपछि हात्तीमाथिबाटै सरकारद्वारा एक थैली मोहर खालमा थापियो । प्रजाले कौडा हाने । सरकारले जिते पनि, नजिते पनि सबै दाम सोहोरेर प्रायः प्रजाले एकै मुखले भने, “सरकारको जित भयो ।”

बारबार यो क्रम चलिरह्यो । प्रत्येक पटक सरकारकै जित भयो । प्रसन्न भएका सरकारले जाने बेलामा प्रजाको दाम लिनुहुन्न भनेर आफूले थापेको थैलीसहित जितेको सबै दाम प्रजालाई नै दिँदै भनेको सुनियो, “तिमीहरुले नै बाँडेर लिनू ।”

सबैले सरकारको जयजय गान गरे । हात्ती लसकलसक अगाडि बढ्यो ।

०००       ०००      ०००

अचानक बिजुली आयो । चारैतिर फेरि उज्यालो पोखियो । बूढाको तन्द्रा खुल्यो । तकियाबाट टाउको उठाएर चोकतिर हेर्‍यो । चोक उस्तै खाली थियो । बिस्तारै बोल्यो, “कस्तो सपना देखिएछ ⁄ जति बूढो भयो, उति धेरै सपना देखिँदो रहेछ । गहिरो निदाउनै नसकिने । विगत किन यसरी फर्केर आइरहन्छ सपनामा ? बूढो मान्छेको जीवन विगतका विभिन्न घटनाहरुको जगमा उभिएको हुँदो रहेछ ।

अँध्यारो बढ्दै जाँदा चोक बिस्तारै पातलिँदै गयो । पान पसल, चाट पसल, फलफूल पसल, क्यासेट पसलहरुमा अझै केही ग्राहक झुम्मिँदै थिए । केही रिक्सा, साइकल र मोटरसाइकलहरु यताउति गर्दै थिए । टाँगाहरु भने चल्न बन्द भइसकेका थिए ।

उसका आँखा चाहिँ सालिकरहित रित्तो चोकमा अल्झिरहे । केही सम्झिए झैं भावुक भएर एक सेर लेख्यो—

दुनियाँमा जसको धेरै जयजय भयो

सबैभन्दा उसैबाट किन भय भयो ?

फेरि झ्याप्प बिजुली गयो । आँखाभरि अघिको भन्दा गाढा अन्धकार खस्यो र चारैतिर फैलियो । त्यसपछि उसले तकियामा टाउको अड्यायो । फेरि ऊ तन्द्रामा पर्‍यो । अर्को बूढो समय फेरि उसको आँखा अगाडि चोकमा पोखियो— 

सयौं सुरक्षा फौज अघिपछि लगाएर तीन सरकारको भन्दा आधुनिक शैलीमा हात्तीमाथि होइन, सजिसजाउ बग्गीमा पाँच सरकारको सवारी हुँदै थियो । मानिसहरु सभक्ति पाँच सरकारको स्वागतमा सडकको दायाँबयाँ फूलअबिरसहित झण्डा उठाउँदै जयजय गरिहेका थिए—

“हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ !”

“पाँच सरकार— चिरायु रहून् !”

चोकमा आएर पाँच सरकारको बग्गी रोकियो । चारैतिर नजर भयो । आफ्नो सामुन्ने चोकमा कल्की भाँचिएको श्रीपेच लगाएर अष्टधातुद्वारा निर्मित एउटा अर्धकदको कालो न कालो सालिक अदबका साथ चुपचाप बसिरहेको थियो । पाँच सरकारलाई आफ्नो सामुन्ने उभिएको तीन सरकारको सालिक मन परेन ।

पृष्ठभूमिमा पाँच सरकारको जयजयको तुमुल ध्वनि गुन्जिरहेको थियो ।

एक जोर सुकिला दौरा, सुरूवाल, कोट र टोपीले पाउ परेर बिन्ती बिसाए, “सरकार ! यो सालिक जति गर्दा पनि हामीले ढाल्न सकेनौं । ००७ सालको आन्दोलनमा हान्दाहान्दा श्रीपेचको कल्कीबाहेक केही तोड्न सकेनौं । यसलाई हटाएर मौसुफ सरकारको पूर्णकदको प्रतिमा बनाउनुपर्‍यो सरकार !”

अर्को जोर दौरा, सुरूवाल, कोट, टोपी पनि पाउ पर्‍यो, “हो सरकार ! हाम्रो बाहुबलले भेटेन । सरकारबाटै यसलाई हटाएर सरकारकै प्रतिमा हुनुपर्‍यो सरकार !”

पाउ पर्नेहरुको भीड लाग्यो । कुर्ता र धोतीहरु, कमिज र लुङ्गीहरु, शेरवानी कुर्तासुरूवालहरु पनि पाउ पर्न लागे र पाँच सरकारको नजिक हुन अनेक बिन्ती गरेर चाकरी गरे—

“सरकार ! यो कालो सालिकले यो चोकमा बसेर हामीलाई तर्साउँछ । यो त राणाहरुको भूत हो ।”

“राणाशासनको समूल नष्ट भएपछि यो सालिकको समूल क्रेनद्वारा नै उखेल्न पर्‍यो ।”

“सरकार ! राणाशासनमा हामी लुटियौं; सर्वस्व हरियौं ।”

“सरकार ! राणाहरुले आफ्नो शासन ढल्ने बेलामा झन् लुटे । यो चोकको पूर्वतिर मेरो पाँच सय बिघा जग्गा सबै लुटे । म अहिले सुकुमवासी भएँ सरकार ।”

“राणाहरुले हामीलाई पढ्नलेख्न दिएनन् सरकार । हामी आँखा भएर पनि नदेख्ने भयौं । घाम उदाउँदा र बत्ती बाल्दा पनि नदेख्ने जस्ता भयौं ।”

“हामीलाई राणाहरुले दास र आफ्नै देशको कैदी बनाए सरकार !”

“राणाहरुले हाम्रो रगतपसिना पिए सरकार !”

“यहाँका जङ्गली पशुपन्छीको मात्र हैन, आफ्ना विरोधी कतिपय मान्छे र सुन्दरीहरु छानीछानी सिकार गरे सरकार !”

“औलो, सर्प, बिच्छीको घर भनेर हामीलाई मात्र हैन, यो ठाउँलाई नै राणाहरुले हेलाँ गरे सरकार !”

“सरकारबाटै हाम्रो उद्धार होस् । मौसुफ सरकार नै मायाको खानी, दयाका सागर र करूणावतार होइबक्सन्छ ।”

“सरकार ! यहाँ मौसुफको प्रतिमा भयो भने हामी सरकार गएपछि पनि प्रतिमा हेरेर मन बुझाउने थियौं ।”

“हो सरकार ! नत्र हामी त टुहुराटुहुरी जस्ता हुन्छौं ।”

“सरकारको प्रतिमा त पूर्णकदकै हुनुपर्छ । हेर्न पनि सजिलो हुन्छ, आँखाभरिको !”

प्रजाको पीरव्यथासहितको भक्तिभाव सुनेर पाँच सरकारको अनुहार पनि भर्खर उदाएको सूर्य झैं धपक्क बल्यो । सबैलाई आश्वस्त पार्ने खालको मन्द मुस्कुराहट ओठबाट फुस्कियो; एकछिनसम्म फुस्किरह्यो । पृष्ठभूमिमा जयजयको आलाप बढ्दै थियो । बीचमा एउटा धनुष्टङ्कार भएर बोल्यो, “सरकारको प्रतिमा त सेतो हुनुपर्छ । ती राणाहरुको जस्तो कालो होइन ।”

प्रसन्न चित्तमा पाँच सरकारबाट हुकुम भयो, “जनचाहनाअनुसार नै नेपालकै कालिगडद्वारा यहाँ पूर्णकदको सेतो सालिक दुई महिनाभित्र बन्नेछ । सम्झिनू, यो चोकमा यहाँका जनताहरुसँग सधैंसधैं म बाँचिरहेको हुनेछु !”

बुज्रुक जस्तो देखिने सुकिलो दौरा, सुरूवाल, कोट र टोपीधरीले भन्यो, “सरकार त प्रजातन्त्रका जन्मदाता । मौसुफको प्रतिमा श्रीपेच लगाएको होइन, प्रजाले जस्तै लुगा लगाएको हुनुपर्छ ।”

उस्तै प्रसन्न भावमा पाँच सरकारबाट हुकुम भयो, “तिमीले ठीक भन्यौ । मेरो प्रतिमा प्रजाले जस्तै दौरा, सुरूवाल, कोट र टोपी लगाएको हुनेछ । अँ, घाँटीमा गलबन्दी पनि हुनेछ ।”

भर्खर आइपुगेको एउटा बूढो टाँगावालले अर्को टाँगावाललाई सोध्यो, “वो तीन सरकार हो कि पाँच सरकार बे ?”

“कहा“ तीन सरकार हुन्छ ? उसको सरकार त ढलिसक्यो । वो पाँच सरकार हो बे ।”

“एउटै देखिन्छ त ?”

“कहा“ एउटै देखिन्छ बे ⁄ तीन सरकारको मोटोमोटो जुँगा थियो; पाँच सरकारको जुँगै छैन । यी त विष्णु भगवान्का अवतार हुन् ।”

उसले पत्याए झैं गरेर टाउको हल्लायो । र पर भीडबाट टाउको उठाएर बग्गीमाथिका पाँच सरकारलाई भगवान् देखे झैं हेर्‍यो । र भगवान्को दर्शन पाएकाले आफ्नो जीवनका दुःखहरु हट्ने विश्वास गर्‍यो ।

नभन्दै दुई महिनामा पाँच सरकारको सेतो पूर्णकदको प्रतिमा बन्यो । दौरा, सुरूवाल, कोट, टोपी लगाएको र गलबन्दी गुथेको । त्यसपछि चोकको नाम बदलियो । जुद्धचोक त्रिभुवन चोक भयो । चोकको चारैतिर साइन बोर्डमा जुद्धचोक मेटेर त्रिभुवन चोक लेखियो ।

०००      ०००      ०००

फेरि बिजुली आयो । चारैतिर झलमल्ल भयो । फेरि बूढाको तन्द्रा भङ्ग भयो । उसले टाउको उठायो तकियाबाट र चारैतिर हेर्‍यो । चोक सुनसान हुन लागिसकेछ । अझै दुईचार पसल खुलै थिए । फाट्टफुट्ट मानिस देखिन्थे । चोक उस्तै रित्तो थियो, सालिकविहीन । छिनछिनमा किन बत्ती आउने र जाने भइरहेछ हँ ? केके सोचेर मनमनै फेरि अर्को सेर लेख्यो—

फेरि बल्दाबल्दैको उज्यालो खोसिन्छ

तेल नसकिँदैको दियालो खोसिन्छ

साँच्चै उसले लेखे जस्तै भयो । फेरि उज्यालो खोसियो । चारैतिर अँध्यारो भयो । बूढो पनि अँध्यारोमा छाम्दै ओछ्यानमा पल्टियो । पल्टिनेबित्तिकै तन्द्रामा पर्‍यो र सपनाको संसारमा विचरण गर्न लाग्यो—

एकाएक कालो सालिक जस्तो मान्छे देखापर्‍यो चोकमा । ऊ हात्तीमाथि थिएन, घोडामाथि थिएन, मोटरमा थिएन । उसका अघिपछि सुरक्षा फौज थिएनन् । प्रजाहरु थिएनन् । मध्यरात पल्टिएको चोक सुनसान थियो । पहिले आफू रहेको स्तम्भ रित्तो देखेर धेरै बेरसम्म केके सोचेर हेर्‍यो । त्यसपछि स्तम्भमा चढ्न खोज्यो । सकेन । फेरि चढ्न खोज्यो । सकेन । जति प्रयास गर्दा पनि नसकेपछि दिक्क भएर पसिना पुछ्दै बोल्यो, “यो चोकबाट मलाई कसले हटायो हँ ?”

पटक–पटक उसले यही आवाजमा कराइरह्यो । तर कतैबाट केही आवाज आएन । सहर सुतेको थियो । सुनसान थियो । कतैबाट केही आवाज नआएपछि एक्लै भुतभुताउन थाल्यो, “जयजय गर्दै पछि लाग्ने ती हजारौं प्रजा खै, कहाँ मरे ? भक्ति, पूजा, आराधना गर्नेहरु कहाँ गए ? आफ्नै आवाज पनि कस्तो गधा कराएको जस्तो लागेको ? रोगी कुकुर भुके जस्तो लाग्छ आफैंलाई !”

चिडियाघरको बन्दी र भोको बाघ झैं एक्लै यताउता छटपटाउँदै आश्चर्यभावमा एक्लै बर्बरायो, “म कहाँ”  छु अहिले ? कसले मलाई यसरी अलपत्र पारेर छाड्यो ? मलाई कसले यति कमजोर बनायो ?”

आफ्नो जस्तै कमजोर आवाज नजिकैबाट आएको सुन्यो । घुमेर हेर्‍यो चारैतिर । एउटा सेतो सालिक जस्तो मान्छे आफ्नो नजिकै आएर एक्लै बर्बराइरहेको रहेछ, “अहिले म कहाँ छु ? कसरी म यति कमजोर भएँ ?”

ऊ सेतो सालिकतिर गयो । कताकता चिने जस्तो गर्‍यो । तर तत्काल ठम्याउन सकेन । सेतो सालिकले पनि ऊ नजिकै गएपछि चिनेचिने झैं हेर्‍यो । तर सेतो सालिकले पनि ठम्याउन सकेन । अनुहार र शरीरभरि घावैघाउले दुवै नचिनिने भएका थिए । अनुहारको रङ उडेको थियो । पूरै शरीर खुइलिएर जीर्ण भएको थियो ।

सेतो सालिकले सोध्यो, “तिमी को हौ ?”

अदबसाथ बोल्न खोजेर पनि कमजोर आवाजमा कालो सालिकले भन्यो, “म यो देशको शासक हुँ ।”

आदेशको आवाजमा बोल्न खोज्दा सेतो सालिकको पनि क्षीण आवाज आयो, “म पो हुँ यो देशको शासक ।”

“एउटै देशमा कसरी दुई शासक हुन सक्छन् ?”

“हुन सक्तैन । त्यसैले म हुँ, यो देशको शासक ।”

“जिद्दी नगर । यी मेरो शिरमा श्रीपेच देखेनौ ? तिम्रो त टोपी छ । त्यसैले यो देशको शासक म हुँ । तिमी प्रजा हौ ।” यस्तै बर्बराउ“दै चोकको खाली स्तम्भमा चढ्न खोज्दै कालो सालिकले फेरि भन्यो, “हेर, म कसरी शासक हुन्छु ।”

कालो सालिक स्तम्भमा चढ्न खोज्यो । सकेन । फेरि चढ्न खोज्यो । लड्यो । तुरून्तै उठ्न सकेन । त्यही मौकामा सेतो सालिकले भन्यो, “हेर, म चढेर देखाउँछु । किनभने यो देशको शासक म हुँ ।”

सेतो सालिक पनि स्तम्भमाथि चढ्न खोज्यो । सकेन । फेरि चढ्न खोज्यो । पछारियो । पक्की सडकमा पछारिएको देखेर कालो सालिक हाँस्यो, खितित्त । कालो सालिकको खिसीपूर्ण हाँसोले सेतो सालिकलाई तुरून्तै सकीनसकी उठ्न बाध्य बनायो ।

“ऐया !” भन्दै स्तम्भमाथि फेरि चढ्न खोज्यो । फेरि लड्यो । पछिल्लो पटक स्तम्भमाथि उभिनै लाग्दा लडेकाले सेतो सालिकको दाहिने हातै भाँचियो । सडकमा धेरै पटक पछारिएर अनुहारभरि घाउ नै घाउ भएको थियो । कालो सालिक हाँस्न खोज्यो । सकेन । किनभने उसको पनि घाउ दुखिरहेको थियो । सेतो सालिक लडेकोमा फेरि हाँस्ने प्रयास गर्दा रून्चे हाँसो फुत्कियो ।

“के हाँस्छौ ? तिम्रो झन् श्रीपेचको कल्की नै भाँचिएको छ !”

“तिम्रो त झन् दाहिने हातै भाँचिएको छ !”

फेरि कालो सालिक मूच्र्छा परे झैं भयो । आँखा चिम्लियो । सेतो सालिक बर्बराएको आँखा चिम्लेरै सुनिरह्यो । अचानक केही सम्झिए झैं आँखा खोलेर कालो सालिकले भन्यो, “तिमी श्री ५ हौ ?”

सेतो सालिक पनि झल्याँस्स भयो र भन्यो, “तिमी श्री ३ हौ ?”

“हुँ । कसरी चिन्यौ ?”

“चिन्नै नसक्ने गरी परिवर्तन गराएछ । सुरूमा त तिमीलाई चिन्नै गाह्रो भयो । तिम्रो बोलीको लवज भने उस्तै रहेछ ।”

“तिमीले मलाई कसरी चिन्यौ नि ?”

“तिम्रो पनि बोलीको अवशेष लवज अझै उस्तै रहेछ ।”

“किन हटायौ मलाई यो चोकबाट ? हामीले तिमीलाई मानेकै थियौं । तिम्रै नाममा शासन गरेका थियौं । जनताका समस्या तिमीसम्म आउन नदिईकन तिमीलाई सुखसयलमा राखेकै थियौं । किन हटायौ मलाई ?”

सेतो सालिकले भन्यो, “‘मैले होइन, प्रजाले हटाएका हुन् ।”

“गलत, प्रजाले त मलाई हटाउनै सकेका थिएनन् । त्यति धेरै ढुङ्गाले हान्दा पनि मेरो श्रीपेचको कल्की मात्र भाँचिएको थियो ।”

“पछि प्रजाले नै क्रेन लगाएर हटाए ।”

“जनतासँग क्रेन थिएन । मलाई तिमीले नै हटाएका हौ,” कालो सालिकले सोध्यो, “बरू भन, तिमीलाई चाहिँ कसले हटायो ?”

सेतो सालिक एक्कासि झस्कियो र भन्यो, “ए, हो त ! मलाई यो चोकबाट कसले हटायो हँ ?”

अचानक आकाशवाणी भए झैं एउटा आवाज आयो, “मैले हो; तिमीहरु दुवैको सालिक मैले हटाएको हो !”

“को हो तीन सरकारलाई म भन्ने ? गोली ठोकिदिन्छु ।”

“को हो पाँच सरकारलाई म भन्ने ? जेल हालिदिन्छु ।”

“म समय हुँ । तिमीहरु मलाई गोली ठोक्न पनि सक्तैनौ र जेल हाल्न पनि । यो संसारको सबैभन्दा शक्तिशाली मानिस पनि मेरो नियन्त्रणमा चल्छ । यो संसार नै मेरो नियन्त्रणमा चल्छ ।”

सेतो सालिकले त्यो आवाजमा विश्वासै गरेन र केही टाठिए झैं बोल्यो, “तीन सरकारको सालिक त मैले हटाएको हो, मलाई हटाएँ भन्ने को हो हँ ?”

“मैले अघि नै भनें नि । दुवैको सालिक मैले हटाएको हो ।”

“पाँच सरकारलाई म भन्ने साहस कसले गर्‍यो हँ ? मसँग पेस्तोल छ । गोली ठोकिदिन्छु !”

कालो सालिक अझ कड्कियो, “मसँग तरबार छ । टुक्राटुक्रा पारिदिन्छु !”

उस्तै शान्त आवाज आइरह्यो, “समयलाई कसैले मार्न सक्तैन । देशको नियम तोड्न सकिन्छ । तर समयको नियम कसैले तोड्न सक्तैन । संसारका सबै सृष्टि र निर्माण समयसँगै बिलाउँछन् ।”

“म त विष्णुको अवतार !”

“प्रत्येक जीवन आफैंमा एउटा अवतार हुन्छ । सबैले इतिहासको गर्तमा बिलाउनैपर्छ ।”

एकछिनसम्म समय बोलेको नसुनेपछि कालो र सेतो सालिकले द्वन्द्वको बीचमै कानेखुसी गरे । वार्ता गरे झैं केके कुरा गरे । सेतो सालिकले सुरक्षित उपाय पत्ता लगाए झैं भन्यो, “हामी एकअर्काको विरोधी नबनौं । आपसी सहयोगमा उठौं र स्तम्भमाथि चढौं ।”

“तिमीले ठीक भन्यौ । तिमी हाम्रा असल कुटुम्ब हौ । हामीले सँगै मिलेर स्तम्भमा चढ्नुपर्छ ।”

दुवै मिलेर चढ्न खोज्दा पनि सकेनन् । माथि पुग्नै लाग्दा दुवै सडकमा पछारिए । एकअर्कालाई धकेलाधकेल गर्दा पनि पटक–पटक पछारिए ।

अन्त्यमा उठ्न खोज्दाखोज्दै हुरी चले जस्तो भयो । बिस्तारै उनीहरु चलमलाउन छोडे । र, क्रमशः त्यही चोकमै बिलाए । समय चारैतिर अमूर्त भएर फैलियो ।

०००       ०००    ०००

सपनामै ब्यूँझिएर बूढाले झ्यालबाट हेर्‍यो । र, केही सोचे झैं सपनामै अर्को सेर लेख्यो—

चोकचोकमा निर्जीव सालिक ढलेर के भो ?

पत्थरको मुटु हुने मालिक ढलेर के भो ?

फेरि हेर्‍यो सडकमा । त्यही सडक हो, त्यही चोक, जहाँ प्रत्येक कालखण्डमा कैयौं सहिदको रगत बगेको थियो । एकाएक ती सहिद उठे, आआफ्नो रक्तबीजबाट । तर ती सहिद त्यो स्तम्भमा चढ्न खोजेनन् । हेरे चारैतिर । सहर झन् अव्यवस्थित र दुर्गन्धित भएको देखे । चारैतिर अव्यवस्था देखेर दुःखी भए । सडकमा पान खाएर थुकिएको फोहोर देखेर सोचे, हाम्रा सपनाहरु पनि यसरी नै चपाएर थुके मान्छेहरुले सडकमा र कुल्चिए ।

उनीहरु खिन्न मुद्रामा चोकमा उभिए र चारैतिर हेरे ।

एकाएक मानिस जम्मा भए । चोकमा चारैतिरबाट विविध विचार भएका विभिन्न जाति, वर्ग, धर्म र क्षेत्रका मानिस आए । चोकमा कसको सालिक राख्ने भन्ने विषयमा फरकफरक विचार प्रस्तुत भए । एउटा अग्लो र शालीन मान्छेले भन्यो, “यहाँ सहिदको सालिक राख्नुपर्छ ।”

सबैले सहमति जनाए । तर कुन सहिदको राख्ने भन्नेबारे मत विभाजित भयोे । चोकमा सालिक कसको राख्ने भन्नेबारे सुरूमा सल्लाह, त्यसपछि झगडा अनि हात हालाहाल हुन थाल्यो । द्वन्द्व सुरू होला जस्तो भयो ।

आफ्नो नाममा द्वन्द्व सुरू हुन लागेको देखेर सहिदहरु एकाएक चोकबाट गायब भए । सहिदहरु गायब भएको भीडले थाहै पाएन । थाहा पाउने प्रयास पनि गरेन । द्वन्द्वकै माझबाट एउटा अर्को अग्लो मान्छे बोल्यो, “अहिले हाम्रो सरकार छ । यो देशमा परिवर्तन पनि हाम्रै पार्टीको कारण भएको हो । त्यसैले यहाँ हाम्रा महान् नेताको सालिक हुनुपर्छ ।”

भीडबाटै अर्को अग्लो मान्छे कड्कियो, “हाम्रो पार्टीको नेतृत्वमा क्रान्ति सफल भएको हो । सधैंसधैं क्रान्तिको नेतृत्व हाम्रो पार्टीले गरेको छ । त्यसैले यहाँ हाम्रो नेताको सालिक हुनुपर्छ ।”

भीड झन्झन् उम्लिँदै गयो । अनेक किसिमका आवाज चोकमा पोखिन थाले । भीडबाट जनजाति र मधेसीहरु पनि जाग्न थाले । एउटा धोती र कमिज कड्कियो, “यहा“ हाम्रो नेताको सालिक हुनुपर्छ ।”

भीडबाटै सेरवानी कुर्तासुरूवाल पड्कियो, “यहा“ हाम्रो नेताको सालिक हुनुपर्छ ।”

जनजातिको अग्लो मान्छे कुर्लियो, “यह” हाम्रो नेताको सालिक हुनुपर्छ ।”

दलित वर्गीय आवाज विस्फोट भयो, “यहाँ हाम्रो नेताको सालिक हुनुपर्छ ।”

महिला आवाज पनि चर्कियो, “यहाँ हाम्रो... ... ...”

द्वन्द्व झन् चर्कियो । ढुङ्गा हानाहान हुन थाल्यो । प्रहरीहरुले द्वन्द्व नियन्त्रण गर्न सकेनन् । मानिसहरु आक्रोशित थिए । सबै आआफ्ना पार्टी र नेताको पक्षमा नारा लगाउँदै थिए ।

यस्तैमा झडप सुरू भयो । भीड अनियन्त्रित बन्यो । प्रहरीहरु आएर पनि भीड नियन्त्रित भएन । लाठी बर्सन थाले । भीड झन् उम्लियो । अश्रुग्यास चारैतिर फैलियो । वातावरण पीरो बन्यो । अचानक गोलीको आवाज सुनिन थाल्यो । त्यसपछि सडकमा रगत बग्न थाल्यो । र पनि, भीड शान्त भएन । चुपचाप, शान्त र ज्ञानी देखिए सडकका साँढे, गधाहरु र कुकुरहरु ।

०००      ०००      ०००

फेरि बत्ती आयो । चारैतिर उज्यालो फैलियो । यस पटक बत्ती आउँदा बूढाको निद्रा खुल्न त खुल्यो । तर अप्ठ्यारो गरेर खुल्यो । बिस्तारै उठ्न त उठ्यो । तर कतै भित्र दुखे झैं गरेर उठ्यो ।

खोक्दै झ्यालबाट हेर्‍यो । सुनसान थियो । चोक उसरी नै सालिक कुरिरहे झैं देखिन्थ्यो । मध्यरात भइसकेको रहेछ । बन्द घर र पसलहरु उभिएको माझमा सडक निदाइरहेको थियो । देखिन्थे तिनै, सधैं देखिने— साँढे र गधाहरु, जो सडक पेटीमा उँगिरहे जस्ता देखिन्थे । कुकुरहरु भने बेलाबेला भुकिटोपल्थे ।

बूढाले तकियातिर हेर्‍यो र एउटा कागज टिप्यो; कलम टिप्यो अनि गजलको अर्को एउटा सेर लेख्न खोज्यो । लेख्नका लागि खुब सोच्यो । सकेन । जति प्रयास गर्दा पनि सकेन । सक्तै सकेन ।

(पानीको घाम आख्यानबाट साभार)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमर न्यौपाने
अमर न्यौपाने
लेखकबाट थप