महावीर पुनको नेतृत्वमा सञ्चालित कृषि औजार कारखानामा उत्पादन भएका उपकरण धमाधम बजारमा
सारांश
- वीरगञ्जमा रहेको कृषि औजार कारखानाले चालु आर्थिक वर्षमा १७ लाख रुपैयाँ बराबरको कृषि उपकरण बिक्री गरेको छ।
- कारखानाले ५० लाख रुपैयाँ बराबरको औजार बिक्री गर्ने लक्ष्य राखेको छ, जसमा विभिन्न प्रकारका कृषि औजार उत्पादन भइरहेका छन्।
- राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको नेतृत्वमा कारखाना सञ्चालन भइरहेको छ र उनले किताब बेचेर कारखानाका लागि लगानी गरेका छन्।
बारा । वीरगञ्जस्थित कृषि औजार कारखानाले उत्पादन गरेका साना–ठुला कृषि उपकरणहरू धमाधम बिक्री वितरण भइरहेको छ । राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको नेतृत्वमा सञ्चालित कारखानाले चालु आर्थिक वर्षको ९ महिनामा १७ लाख रुपैयाँ बराबरका औजार बिक्री गरिसकेको हो ।
कारखानाका इन्जिनियर रितेश देवले चालु आर्थिक वर्षको अन्त्यसम्म ५० लाख रुपैयाँ बराबरका औजार बिक्री गर्ने लक्ष्य राखिएको जानकारी दिए । ‘हामीले ३० भन्दा बढी कृषि औजारमा अनुसन्धान गरिसकेका छौँ,’ उनले भने, ‘१० प्रकारका औजार उत्पादन गरेर बिक्री भइरहेका छन् ।’

सबै किसानले किन्न सक्ने कृषि औजारहरू उत्पादन गर्ने लक्ष्य रहेको प्रस्ट पार्दै देवले सोही अनुसार काम भइरहेको जानकारी दिए । उनका अनुसार कारखानाले एक हजारदेखि १ लाख रुपैयाँसम्म मूल्य पर्ने औजार उत्पादन गरेको छ ।
इन्जिनियर देवले नेपालमा उत्पादन हुने अन्नबालीहरू मकै, धान, गहुँ लगायत उखु र आलु रोप्ने मेसिन, गोडमेल गर्ने मेसिन, काट्ने औजारहरू बजारमा बिक्री भइरहेको बताए ।
राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले हालसम्म आफ्नो किताब बिक्री गरेर २० करोड रुपैयाँभन्दा धेरै रकम सङ्कलन गरिसकेका छन्, जसमध्ये कारखानामा सञ्चालनका लागि ३ करोड लगानी भइसकेको जनाइएको छ ।

‘हामीले उत्पादन गरेको कृषि औजारहरू मुलुकभित्रैै बिक्री भइरहेको छ,’ इन्जिनियर देवले भने, ‘किताब बेचेर कोषमा जम्मा भएको रकम अविष्कार केन्द्रको सञ्चालक समितिको निर्णयबाट पारदर्शी रूपमा खर्च हुन्छ ।’
कारखानाले हाते औजारका साथै मकै रोप्ने, मकै गोड्ने, धान रोप्ने, गोड्ने, काट्ने, हाते ट्याक्टरको ट्रली, केराको रेशाबाट फाइबर बनाउने मेसिन निर्माण गरेको छ ।
कृषि औजार कारखानामा प्राविधिक सहित ४५ जना कर्मचारी कार्यरत छन् । उनीहरूका लागि मासिक खर्च ६ लाख रुपैयाँ हुने गर्दछ ।

२०५९ सालमा बन्द भएको कारखाना २०७९ कात्तिकमा राष्ट्रिय अविष्कार केन्द्रले १० वर्षका लागि नेपाल सरकारसँग सम्झौता गरेर सञ्चालनको जिम्मेवारी लिएको हो ।
इन्जिनियर रितेश देवले कच्चा पदार्थको अभाव र मूल्य वृद्धिका कारण सामान पाउनै मुस्किल भएको बताए । ‘कच्चा पदार्थमा हामी भारतसँगै निर्भर हुनुपर्छ । पछिल्लो समय फलामको मूल्य बढ्दा धेरै समस्या छ,’ उनले भने ।

अविष्कार केन्द्रका अध्यक्ष महावीर पुन फागुन २१ सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा म्याग्दीबाट निर्वाचित भएका छन् । उनकै अगुवाइमा सञ्चालित कृषि औजार कारखाना हेर्न पछिल्लो समय म्याग्दीदेखि मानिस आउन थालेका छन् ।
पुनले निर्वाचनमा भनेअनुसार कारखाना सञ्चालनमा रहे÷नरहेको अनुगमन तथा घुम्ने उद्देश्यले म्याग्दीका मतदाताहरू कृषि औजार कारखानाको अवलोकन भ्रमणमा आएका हुन् ।

म्याग्दी रघुगंगा गाउँपालिका–२ का मिलन खत्रीले निर्वाचनमा महावीर पुनले भनेजस्तै गरी कारखाना सञ्चालनमा रहेकाले खुसी लागेको बताए ।
‘महावीर पुनले बन्द भएको कारखानालाई आफ्नो किताब बेचेर सङ्कलन गरेको रकमबाट चलाउनु भएको छ भन्ने सुनेर हेर्न आएका हौँ,’ उनले भने, ‘के–के कृषि औजार बनेको रहेछ भनेर हेर्न आएका हौँ । उहाँलाई भोट दियौँ, जित्नुभयो । कारखाना चलेको देखेर हामी धेरै खुसी छौँ ।’

रघुगंगा गाउँपालिका–२, भगवतीका दिलबहादुर केसीले पनि ३० वर्षदेखि बन्द रहेको कृषि औजार कारखाना सञ्चालन भएको देखेर साह्रै खुसी लागेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण