असहायलाई निःशुल्क कानुनी सेवा दिँदै आएकी गीता बनिन् कृषिमन्त्री
सारांश
- कञ्चनपुरकी गीता चौधरी कृषि तथा पशुपन्छी विकास तथा वन तथा वातावरणमन्त्री नियुक्त भएकी छिन्।
- उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक प्रणालीमार्फत प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी हुन्।
- चौधरीले सामाजिक न्यायका क्षेत्रमा काम गर्दै आएकी थिइन् र अब मन्त्रीको भूमिकामा देखिनेछिन्।
काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ निवासी ३३ वर्षीय गीता चौधरी कृषि तथा पशुपन्छी विकास तथा वन तथा वातावरणमन्त्री नियुक्त भएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक प्रणालीमार्फत प्रतिनिधि सभा सदस्य निर्वाचित चौधरीको पृष्ठभूमि कानुनी तथा सामाजिक सेवा भए पनि राजनीतिमा रुचि राख्ने उनी कृषि तथा वनमन्त्री बन्न सफल भइन् ।
चौधरी पेसाले अधिवक्ता हुन् । पछिल्लो समय सामाजिक न्यायका क्षेत्रमा सक्रिय रूपमा परिचित उनी अब विधायिकी र तथा मन्त्री दुवै भूमिकामा देखिने भएकी छन् ।
सांसद बन्नुअघि चौधरी अदालतको बहस र सडक आन्दोलनमार्फत न्यायको पक्षमा उभिने व्यक्तित्वका रूपमा चिनिन्थिन् । अब भने उनी सरकारमा पुगेकी छन् ।
सामान्य थारु परिवारमा जन्मिएकी चौधरीको बाल्यकाल अभावमै बितेको थियो । आर्थिक कठिनाइका बिच पनि उनले उच्च शिक्षा हासिल गर्ने अठोट लिइन् । उनले कलेज अध्ययनका लागि ऋण लिनु परेको अनुभव पनि रातोपाटीलाई सुनाइन् ।
चौधरीले सामाजिक विभेद र ‘छोरीलाई धेरै पढाउनु हुँदैन’ भन्ने सोचविरुद्ध सङ्घर्ष गर्दै कानुन विषयमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेकी छन् ।
अधिवक्ता बनेपछि चौधरीले आफ्नो पेसालाई केवल आम्दानीको माध्यममात्र नभई सामाजिक न्यायको साधनका रूपमा प्रयोग गरिन् । उनले कञ्चनपुर र आसपासका क्षेत्रमा १५० भन्दा बढी गरिब, दलित तथा सीमान्तकृत नागरिकलाई निःशुल्क कानुनी सहायता प्रदान गरेकी छन् । विशेषगरी घरजग्गा विवाद, घरेलु हिंसा र नागरिक अधिकारका क्षेत्रमा उनको सक्रियता उल्लेखनीय छ ।
चौधरीको राजनीतिक चेतना जनआन्दोलन २०६२–०६३ बाट विकसित भएको हो । विद्यार्थी जीवनदेखि नै लोकतन्त्र र नागरिक अधिकारका पक्षमा सडक आन्दोलनमा सक्रिय रहेकी चौधरी प्रारम्भमा एमाले निकट विद्यार्थी संगठनसँग आबद्ध थिइन् ।
२०७९ सालको निर्वाचनमा उनी नागरिक उन्मुक्ति पार्टीबाट सुदूरपश्चिम प्रदेश सभा सदस्यका लागि उम्मेदवार बनेकी थिइन् । कञ्चनपुर क्षेत्र नम्बर २ बाट प्रत्यक्ष चुनाव लड्दा पराजित भए पनि प्राप्त मत र जनसमर्थनले उनलाई राजनीतिमा स्थापित हुन मद्दत गरेको छ ।
पछि उनी रास्वपामा आबद्ध भइन् र पार्टीले उनको योगदानको कदर गर्दै समानुपातिक सूचीमार्फत संसदमा पु¥याएको हो । आफू सांसद बनेपछि सुदूरपश्चिमका दीर्घकालीन समस्याहरू समाधानलाई प्राथमिकता दिने उनले बताएकी थिइन् ।
भूमिहीन, सुकुमबासी तथा आरक्ष पीडितको समस्या समाधान, वास्तविक हकदारलाई लालपुर्जा वितरण र थारु समुदायको परम्परागत ‘बडघर’ तथा ‘भलमन्सा’ प्रणालीलाई कानुनी मान्यता दिलाउने विषयमा उनले पहल गर्ने बताएकी थिइन् । कानुनी अभ्यासमा सफल गीता चौधरी कृषि तथा वन विकासमा कस्तो गर्लिन् हेर्न बाँकी नै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण