बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

टीकापुरमा ‘थारु साहित्य तथा सांस्कृतिक उत्सव’

शनिबार, १४ चैत २०८२, ११ : ५२
शनिबार, १४ चैत २०८२

सारांश

  • कैलालीको टीकापुरमा 'टीकापुर साहित्य महोत्सव २०८२' को तेस्रो संस्करण सुरु भयो, जसमा थारु साहित्य र संस्कृतिलाई जोड दिइएको छ।
  • सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिलगायतले महोत्सवको उद्घाटन गरे, जसमा स्मारिका विमोचन गरियो र स्थानीय कलाकारको नाट्य प्रस्तुति भयो।
  • चैत १५ गतेसम्म चल्ने महोत्सवमा भाषा, साहित्य, कला र समसामयिक विषयमा २७ सत्रहरू हुनेछन्, जसमा थारु समुदायको संस्कृति प्रदर्शन गरिनेछ।

कैलाली । कैलालीको टीकापुरमा 'टीकापुर साहित्य महोत्सव २०८२' को तेस्रो संस्करण शुक्रवारदेखि सुरु भएको छ । टीकापुर साहित्य समाज र सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठानको संयुक्त आयोजनामा सुरु भएको त्रिदिवसीय महोत्सव यसपटक ‘थारु साहित्य तथा सांस्कृतिक उत्सव’ का रूपमा केन्द्रित गरिएको छ । 

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्त लगायत अतिथिहरूले पानसमा दियो बालेर महोत्सवको औपचारिक उद्घाटन गरे । सोही अवसरमा महोत्सवको स्मारिकासमेत विमोचन गरिएको थियो ।

त्यसअघि महोत्सवको सुरुआत  प्रसिद्ध नाट्यकर्मी अशेष मल्लको संयोजनमा टीकापुरका स्थानीय कलाकारहरूको नाट्य प्रस्तुतिमार्फत् भएको थियो । चैत १५ गतेसम्म हुने यस महोत्सवमा भाषा, साहित्य, कला, संगीत र समसामयिक मुद्दाहरूमा आधारित २७ वटा विभिन्न सत्रहरू सञ्चालन हुने आयोजकले जनाएका छन् । 

महोत्सवको मुख्य आकर्षणका रूपमा कर्णालीमा जलविहार, थारु सांस्कृतिक नाच, सडक नाटक, लेखन कार्यशाला र सुदूरपश्चिमको मौलिक देउडा खेललाई समावेश गरिएको छ । विशेषगरी लोपोन्मुख अवस्थामा रहेको थारु समुदायको रामलीला नाच प्रदर्शन गर्नु यस वर्षको विशेष कार्यक्रम रहेको छ ।

महोत्सवका संस्थापक संयोजक महेशविक्रम शाहका अनुसार थारु समुदायको समृद्ध मौलिकता, परम्परा र जीवनशैलीलाई राष्ट्रिय विमर्शको केन्द्रमा ल्याउनु यस महोत्सवको मूल उद्देश्य हो । ‘थारु समुदायको वैभवशाली संस्कृति प्रवर्द्धन गर्नु हाम्रो कर्तव्य हो,’ शाहले भने । 

महोत्सवमा देशका प्रतिष्ठित भाषाविद्, साहित्यकार, कलाकार र चिन्तकहरूको सहभागिता रहेको छ । 

यसअघि महोत्सवको पूर्वसन्ध्यामा चैत ७ गतेदेखि नै नाट्य कार्यशाला र चैत ९ देखि ११ गतेसम्म साहित्यकार नीलम कार्की निहारिका र केशव दाहालको सहजीकरणमा लेखन कार्यशाला सम्पन्न भइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप