हराए मौलिक भाका, फेरियो चैते दसैँ
बागलुङ ।
‘चैते दसैँ मेलैमा
झर्छ आँसु छुट्ने बेलैमा’
चैते दसैँको विषयलाई समेटेर गायक विमलराज क्षेत्री, टीका क्षेत्री र शर्मिला गुरुङले २२ वर्षअघि गाएको गीतको अंश हो यो । बागलुङको चैते दसैँ मेलाका रूपमा मात्रै नभई प्रेम र प्रेमिकाको भेट्ने छुट्ने मौकाका रूपमा रहेको गीतले पुष्टि गर्दछ । चैते दसैँ मेलामा भेटिएका पुन अर्को मेलामा भेट्ने बाचाका साथ छुटेको भावलाई गायक क्षेत्रीले धेरै पहिले गीतमा उतारेका थिए ।
‘चैते दसैँ बागलुङे मैलैमा
लाइदेऊँ माया भेट भाको बेलामा’
यस्तै गायक टीका क्षेत्रीले देढ दशक पहिला गाएको गीतको अंशले समेत चैते दसैँमा भेट्ने र माया पिरती लगाउने कुरालाई पुष्टि हुन्छ । यो गीतमा भनेजस्तै स्थानीय उत्पादनको खरिद बिक्रीसँगै माया पिरतीका लागि समेत चैते दसैँ मेला प्रख्यात हो । चैते दसैँको अवसरमा यस वर्ष बागलुङ कालिका मन्दिर परिसरमा मङ्गलबारदेखि चैते दसैँ मेला लागिरहेको छ ।
मेला फेरिएजस्तै चैतेदसैँसँग सम्बन्धित रहेका मौलिक भाकासमेत फेरिएका छन् । चैते दसैँमा गाइने लोकदोहोरीमार्फत सयौँ कलाकारसमेत बागलुङले जन्माइसकेको छ । ऐतिहासिक पुरानो मेलाका रूपमा रहेको चैते दसैँ मेला पछिल्लो समय फेरिएको पाइन्छ । चैते दसैँको अवसरमा गाइने मौलिक भाकासमेत हराएका छन् भने रमाइलो मेलामा आकर्षण बढेको छ । मेलामा मौलिक झाँकीहरू देखाए पनि यस पटकबाट भने लोकदोहोरी प्रतियोगिता नै नभएको हो ।
चैते दसैँमा कालिका मन्दिर दर्शन गर्न आउने र वर्षभरिलाई आवश्यक सामग्री खरिदबिक्री गर्ने कार्यसमेत परिवर्तन भएको छ । चैते दसैँको अवसरमा गाइने ‘एउटै पैसो कहिलेलाई चैते दसैँलाई’ भन्ने गीत लोप भइसकेको छ । यस्तै ‘रेरे साइलो’, ‘यानीमया’, ‘ठाडो भाका’ र ‘सालैजो’ जस्ता मौलिक भाका सुन्नै छाडिएका छन् । अहिले आधुनिक गीतले मेलालाई गिजोलेको स्थानीय जानकार काजी गाउँले श्रेष्ठले बताए ।
अहिले आयातित सामग्री खरिदबिक्री गर्ने र रेकर्ड गरिएका गीतमा नाचगान गर्ने गरिन्छ । मेलामा हालिने लिङ्गे पिङ र चर्खेपिङको सट्टामा अहिले रमाइलो झुला (आधुनिक पिङ) राखिएको छ । चैते दसैँ मेलाको मौलिकता फेरिएको ८२ वर्षदेखि मेलाको अवलोकन गर्दै आएका स्थानीय दुर्गा आचार्यले मेलाको मौलिकता फेरिएको बताए ।
स्थानीय घनश्याम सापकोटाका अनुसार मेलामा प्लाष्टिकका सामग्री खरिदबिक्री बढेकाले ठेका तथा डालोको बिक्री कम भएको हो । “रातभरि रेरे साइलो, सालैजो गीत गाएर जाग्राम बसिन्थ्यो, अहिले त कलकारहरूले साँझमा आउने ट्रयाकमा गाउने चलन छ, पहिलाजस्तो मौलिकता मेलाको छैन, गाउँगाउँमा मेला पर्व लाग्न थाले, चैते दसैँ मेलाप्रतिको चाख घटेको छ तर मन्दिर दर्शनार्थीहरूको सङ्ख्या बढेको छ ।”
चैते दसैँ मेला र बागलुङ कालिका मन्दिरसँगै जोडिएर आउँछन् । यहाँको प्रसिद्ध ऐतिहासिक कालिका भगवती मन्दिर यस क्षेत्रकै चिनारीको रूपमा रहेको छ । चैते दसैँ मेला बागलुङको मौलिक परम्पराजस्तै बने पनि आधुनिकताको प्रभावले मौलिकता जोगाउन कठिन भए पनि हनुमान नाच र सालैजोजस्ता झाँकी देखाइएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र खड्काले बताए ।
तीन सय वर्ष पुरानो हनुमान नाच देखाइएको तर रातमा जाग्राम बस्ने चलन हराइसकेको बताए । “ठेका, डालो र नाङ्लो जस्ताको कक्षलाई निःशुल्क गरेका छौँ तर उनीहरूको भन्दा खानपानको कक्षहरू बढी चलेको देखिन्छ”, खड्काले भने, “भजन, रत्यौली र यानीमायाजस्ता गीत गाउने प्रयास गरे पनि यस पटक लोकदोहोरी प्रतियोगिता गर्न नसकिएको हो ।”
मन्दिर वरपर पाल टाँगेर स्थानीय उत्पादन, कोदो, मकै, धान, चामाल, भाँगो, डाला, नाङ्ला, ठेका, आँसी, बाउसा, मान्द्रो, थुन्से, मादल भाडाँकुँडालगायतका दैनिक उपभोग्य वस्तु खरिदबिक्री हुने गरेकामा अहिले खेलौना सामग्री र मदिरा र खानाका परिकार बढी बिक्री हुने गरेको पाइएको छ । मेलामा स्थानीय उत्पादनको कक्ष देख्न सकिए पनि न्यूनतम कारोबार भइरहेको बडिगाड गाउँपालिकाबाट चोयाका सामग्री बिक्री गर्न मेलामा आउनुभएका सन्तोष विश्वकर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण