टीकापुरमा त्रिदिवसीय साहित्य महोत्सव- भाषा, साहित्य, कला र संगीतमाथि वृहत् विमर्श
सारांश
- कैलालीको टीकापुरमा 'साहित्यमार्फत् सामाजिक सद्भाव' नाराका साथ तीन दिने साहित्य महोत्सव सम्पन्न भयो।
- महोत्सवमा भाषा, साहित्य, कला, सङ्गीत र समसामयिक मुद्दामा आधारित २१ वटा सत्रहरू सञ्चालन गरिएका थिए।
- थारु समुदायको मौलिकता र संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको थियो।
कैलाली । कैलालीको टीकापुरमा त्रिदिवसीय साहित्य महोत्सव भएको छ । ‘साहित्यमार्फत् सामाजिक सद्भाव’को नारासहित शुक्रबार शुरू भएको महोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको हो ।
टीकापुर साहित्य समाज र सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठानको संयुक्त आयोजनामा भएको महोत्सव यसपटक ‘थारु साहित्य तथा सांस्कृतिक उत्सव’ का रूपमा केन्द्रित रह्यो ।
महोत्सवमा भाषा, साहित्य, कला, सङ्गीत र समसामयिक मुद्दामा आधारित २१ वटा विभिन्न सत्र सञ्चालन गरिएको महोत्सवका संस्थापक संयोजक महेश विक्रम शाहले जानकारी दिए ।
महोत्सवको मुख्य आकर्षणका रूपमा कर्णालीमा जलविहार, थारु सांस्कृतिक नाच, सडक नाटक, लेखन कार्यशाला र सुदूरपश्चिमको मौलिक देउडा खेललाई समावेश गरिएको थियो ।
अन्तिम दिन लोपोन्मुख अवस्थामा रहेको थारु समुदायको रामलीला नाच प्रदर्शन गर्दै महोत्सवको समापन गरियो ।
महोत्सवका संस्थापक संयोजक शाहका अनुसार थारु समुदायको समृद्ध मौलिकता, परम्परा र जीवनशैलीलाई राष्ट्रिय विमर्शको केन्द्रमा ल्याउनु यस महोत्सवको मूल उद्देश्य हो ।
थारु भाषा, थारु लोक साहित्य तथा संस्कृति नेपालको विशिष्ट मौलिक सांस्कृतिक परम्परा र पहिचान भएकोले महोत्सवले यसको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्य लिएको शाहले बताए ।
महोत्सवमा थारु लोक साहित्य तथा लोक संस्कृतिमाथि विहंगम चर्चा, परिचर्चा तथा बहस हुनुका साथै नेपाली भाषा, साहित्य, कला, संस्कृति, शिक्षा, समाज, राजनीति, विकास, स्थानीय सरोकारका विषयमाथि पनि सम्बन्धित विषय तथा क्षेत्रका अध्येता, विज्ञ, अभियन्ता, शोधार्थी र आम नागरिकबीच छलफल, अन्तर्क्रिया र बहस गरिएको छ ।
‘तीनदिने महोत्सवले भाषा, साहित्य, कला, संस्कृति, शिक्षा, सामाजिक विकासका विविध सन्दर्भ तथा स्थानीय जनजीवनका अनेक आयामलाई एउटै मञ्चमा समेट्दै क्षेत्रीय मात्र नभई राष्ट्रियस्तरको साहित्य तथा सांस्कृतिक उत्सवको रूप लिएको छ’, संयोजक शाहले भने, ‘नेपालका थारु समुदायको समृद्ध मौलिकता, परम्परा, लोकजीवन, भाषा, साहित्य, कला, संस्कृतिलाई राष्ट्रिय आकर्षण र विमर्शको केन्द्रमा ल्याउने उद्देश्य यस महोत्सवले पूरा गरेको छ । हाम्रो यस प्रयासले सुदूरपश्चिम प्रदेशको साहित्यिक र सांस्कृतिक पहिचानलाई थप मजबुत र दिगो बनाउँदै बहुभाषिक-बहुसांस्कृतिक सहअस्तित्वको सन्देश प्रवाह गरेको छ ।’
यी कार्यक्रमहरूले टीकापुर साहित्य महोत्सव केवल साहित्यिक जमघट मात्र नभई ‘बहुआयामिक सांस्कृतिक उत्सव’ भएको शाहले उल्लेख गरेका छन् ।
‘यस महोत्सवमा साहित्य, कला र सामाजिक क्षेत्रमा स्थापित-प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति थियो । देशका ख्यातिप्राप्त भाषाविद्, साहित्यकार, कलाकार तथा सामाजिक एवं सांस्कृतिक अभियन्ताहरूको सहभागिताले महोत्सवलाई उच्च बौद्धिक स्तर र सिर्जनात्मक उचाइ प्रदान गरेको छ’, संयोजक शाहले भने, ‘उहाँहरूका ज्ञान, अनुभव, दृष्टिकोण र सिर्जनात्मक यात्राका प्रत्यक्ष संवाद र विमर्शले स्थानीय समुदाय लाभान्वित भएको हामीले अनुभूत गरेका छौँ ।’
शाहका अनुसार महोत्सवको औपचारिक उद्घाटन हुनुपूर्व चैत ७ गतेदेखि प्रसिद्ध नाटककार अशेष मल्लको अगुवाइमा विभिन्न नाट्य कार्यशाला तथा टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका एवं जानकी गाउँपालिकाका विभिन्न स्थानहमा सडक नाटक प्रदर्शन भएका थिए । यसले स्थानीय युवामा रङ्गमञ्चप्रतिको आकर्षण बढाउनुका साथै सिर्जनात्मक अभिव्यक्तिको अवसर प्रदान गरेको उनको भनाइ छ ।
त्यसैगरी चैत ९, १० र ११ गते साहित्यकारद्वय नीलम कार्की निहारिका र केशव दहालको सहकार्यमा लेखन कार्यशाला सञ्चालन गरिएको थियो । उक्त कार्यशालामा सहभागी युवामा कथा, कविता, संस्मरण तथा अन्य विधामा सिर्जना गर्ने क्षमतामा अभिवृद्धि भएको शाह बताउँछन् ।
‘यस कार्यशालाले नयाँ पुस्तामा लेखनप्रति रुचि जगाउँदै सिर्जनशील क्षमता विकास गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ’, संयोजक शाहले थपे, ‘टीकापुर साहित्य महोत्सवले स्थानीय स्तरमा उल्लेखनीय उत्साह सिर्जना गरेको हामीले अनुभूत गरेका छौँ । हाम्रो यस प्रयासले टीकापुर नगरलाई साहित्यिक तथा सांस्कृतिक केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुर्याउने विश्वास लिएका छौँ । साथै, महोत्सवले स्थानीय पर्यटन प्रवर्द्धन, आर्थिक गतिविधि वृद्धि तथा सांस्कृतिक जागरणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।’
टीकापुर साहित्य महोत्सवको अर्को उद्देश्य स्थानीयता प्रवर्धन रहेको उनी बताउँछन् । स्थानीय भाषा, लोकसाहित्य, लोकसंस्कृति, जनजीवनको प्रवर्धनसँगै स्थानीय प्रतिभाहरूलाई राष्ट्रिय मञ्च प्रदान गरी तिनीहरूका आवाज र विचार संरक्षण र प्रवर्धन गर्नु हाम्रो मूल ध्येय रहेको उनले बताए ।
‘हाम्रो यस प्रयासको प्रतिफल तत्काल दृश्यपटमा नदेखिए पनि यसले समाजलाई जागृत गर्ने र सामाजिक चेतना प्रवाह गरी सभ्य एवं सुसंस्कृत नागरिक निर्माणको राष्ट्रिय अभियानमा सघाउ पुर्याउने विश्वास छ । विभिन्न विधामा स्थापित राष्ट्रका धरोहरहरूलाई केन्द्रबाट आफ्नै घरआँगनमा ल्याउनु र हाम्रो स्थानीयतालाई उहाँहरूसँगै केन्द्रमा पुर्याउनु यस महोत्सवको प्रमुख उद्देश्य हो’, शाहले भने ।
नेपालजस्तो बहुजातीय, बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक, बहुप्रचलनयुक्त देशमा यस्ता महोत्सवहरूले विविध समुदायहरूबीच संवाद र सहअस्तित्व सुदृढ गर्न सहयोग शाहको दाबी छ । समग्रमा सुन्दर सुदूरपश्चिम प्रदेशलाई राष्ट्रको साहित्यिक तथा सांस्कृतिक थलोका रूपमा स्थापित गर्ने अभियानमा आफूहरूको प्रयास एक महत्त्वपूर्ण कडी हुनेमा विश्वास रहेको शाहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण