नवजात शिशुलाई मालिस किन जरुरी छ?
सारांश
- नवजात शिशुको नियमित मालिसले शारीरिक विकास, रक्तसञ्चार र मांसपेशी बलियो बनाउन मद्दत गर्छ।
- मालिसले बालबालिकाको निद्रा र पाचन प्रक्रियामा सुधार ल्याउनुका साथै अभिभावक र बच्चाबीचको भावनात्मक सम्बन्ध बलियो बनाउँछ।
- शिशुलाई मालिस गर्दा छालाको सुरक्षा, सही समय र सावधानी अपनाउनु अत्यन्त आवश्यक हुन्छ।
काठमाडौँ । नवजात र साना बालबालिकालाई मालिस गर्ने चलन शताब्दीयौंदेखि हाम्रो परम्पराको एउटा महत्त्वपूर्ण हिस्सा रहँदै आएको छ। तर, यसको पछाडि बलिया वैज्ञानिक कारणहरू पनि छन्।
डाक्टरहरू र बालरोगसम्बन्धी दिशानिर्देशहरूका अनुसार, हल्का र सही तरिकाले गरिएको मालिसले बच्चाको शारीरिक, मानसिक र भावनात्मक विकासमा धेरै मद्दत गर्छ। आउनुहोस् जानौं, शिशुलाई मालिस गर्दा हुने फाइदाहरू:
- साना बालबालिकालाई मालिस किन जरुरी छ?
१. शारीरिक विकासमा सहयोगी
नियमित मालिसले शरीरमा रक्तसञ्चार राम्रो हुन्छ, मांसपेशीहरू बलियो हुन्छन् र हड्डीको विकासमा मद्दत पुग्छ। अनुसन्धानहरूले देखाएका छन् कि मालिसले तौल बढाउन पनि मद्दत गर्न सक्छ, विशेषगरी नवजात शिशु र समयअगावै जन्मिएका बच्चाहरूमा।
२. निद्रा र पाचन प्रक्रियामा सुधार
मालिसले बच्चाहरूलाई शारीरिक र मानसिक रूपमा आराम दिन्छ, जसले गर्दा उनीहरूको निद्रा गहिरो र राम्रो हुन्छ। साथै, पेटमा गरिने हल्का मालिसले ग्यास, कब्जियत र कोलिक (पेट दुख्ने समस्या) जस्ता समस्याहरूबाट राहत दिन्छ।
३. अभिभावक र बच्चाबिचको सम्बन्ध बलियो बनाउँछ
स्पर्श बच्चाको पहिलो भाषा हो। मालिस गर्दा बच्चाले आफूलाई सुरक्षित र मायालु वातावरणमा भएको महसुस गर्छ, जसले गर्दा अभिभावक र बच्चाबीचको भावनात्मक सम्बन्ध अझ बलियो हुन्छ।
- जन्मेको कति दिनपछि मालिस गर्न सुरु गर्ने?
· छालासँग छालाको सम्पर्क शिशु जन्मिएलगत्तै गर्न सकिन्छ।
· तेलले मालिस भने सामान्यतया १ देखि २ हप्तापछि, अर्थात् सालनाल पूर्ण रूपमा सुकेर झरेपछि मात्र सुरु गर्न सल्लाह दिइन्छ।
· मालिस सुरु गर्नुअघि बच्चा पूर्ण रूपमा स्वस्थ हुनु र डाक्टरको अनुमति लिनु जरुरी छ।
· बालरोगसम्बन्धी दिशानिर्देश अनुसार यो समयलाई सुरक्षित मानिन्छ।
- मालिस गर्दा अपनाउनुपर्ने महत्त्वपूर्ण सावधानीहरू:
· मालिस सधैं हल्का र नरम हातले गर्नुहोस्, बच्चाको जीउमा धेरै दबाब नदिनुहोस्।
· सही समय छान्नुहोस्; बच्चा शान्त र उठेको अवस्थामा हुनुपर्छ। साथै, बच्चा धेरै भोको वा धेरै अघाएको पनि हुनु हुँदैन।
· दूध खुवाएको लगत्तै मालिस नगर्नुहोस् । दूध खुवाएको र मालिस गर्ने समयबीच कम्तीमा ४५ मिनेटको फरक राख्नुहोस्।
· नरम र सुरक्षित तेल (नरिवल, बदाम वा डाक्टरले सिफारिस गरेको तेल) मात्र प्रयोग गर्नुहोस्।
· शरीरभरि तेल लगाउनुअघि छालाको सानो भागमा लगाएर एलर्जी हुन्छ कि हुँदैन भनेर पक्कै जाँच्नुहोस्।
· यदि बच्चालाई ज्वरो आएको छ, डाबर आएको छ, खुल्ला घाउ छ वा बिरामी छ भने मालिस नगर्नुहोस्।
· बच्चाको सङ्केतलाई बुझ्नुहोस् : यदि मालिस गर्दा बच्चा रोयो, जीउ कक्रक्क पार्यो वा अनुहार बिगार्यो भने तुरुन्तै मालिस गर्न रोक्नुहोस्।
सही उमेर, सही तरिका र पूर्ण सावधानीका साथ गरिएको मालिस बालबालिकाको समग्र विकासका लागि अत्यन्तै लाभदायक हुन्छ। यो केवल एउटा परम्परा मात्र होइन, बरु वैज्ञानिक रूपले प्रमाणित हेरचाहको प्रभावकारी तरिका पनि हो।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण