न्युजर्सीको रमझम
सारांश
- न्युजर्सी संयुक्त राज्य अमेरिकाको एउटा महत्त्वपूर्ण र उच्च जनघनत्व भएको राज्य हो।
- यो राज्य ऐतिहासिक युद्ध स्मारक, पर्यटकीय स्थलहरू, र विविध सांस्कृतिक सम्पदाका लागि परिचित छ।
- यहाँका प्रमुख सहरहरूमा रहेका एक्वारियम, लाइटहाउस र मन्दिरहरूले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गर्दछन्।
न्युजर्सी संयुक्त राज्य अमेरिकाका ५० वटा राज्यमध्ये एक हो र यो राजधानी वासिङ्टन डिसीबाट उत्तरपूर्वी दिशातिर पर्छ। भौगोलिक हिसाबले यो राज्य सैँतालीसौँ स्थानमा पर्छ भने जनसङ्ख्याका हिसाबले एघारौँ स्थानमा।
सानो भइकन पनि जनघनत्व बढी भएका राज्यहरूमध्ये यो एक हो। यो न्युयोर्कपछिको दोस्रो उच्च जनघनत्व भएको सानो राज्य हो। न्युयोर्क, पेन्सिलभेनिया, डेलावेयर र आन्ध्र (एटलान्टिक) महासागरले घेरिएको न्युजर्सी एउटा प्रायद्वीप हो। यस राज्यको राजधानी ट्रेन्टन हो। यातायात प्रणालीमा विश्वमै व्यस्त र व्यापक रहेको न्युजर्सीमा धार्मिक, ऐतिहासिक, पर्यटकीय, व्यापार–व्यवसाय, कलकारखाना र उद्योगधन्दा दिनानुदिन बढ्दो छन्।
विश्वमा भएका दुई ठुला युद्धका लागि आवश्यक सामग्री यही राज्यमा उत्पादन भएका थिए। विशेषतः यहाँ क्रुजसिप, पानीजहाज र क्षेप्यास्त्र (मिसाइल) जस्ता लडाइँका अत्यावश्यक सैन्य सामग्री बनाइएका थिए। न्युजर्सीमा १३ हजार ईसापूर्व प्यालियो इन्डियनहरू स्थायी बसोबास गर्थे। समयको अन्तरालपछि छैटौँ सहस्राब्दी ईसापूर्वदेखि अमेरिकी मूलबासीहरू त्यहाँ बसोबास गर्न थालेका हुन्। तिनीहरू लेनापे (Lenape) जातिका हुन्।
विशेष गरी यी जाति न्युजर्सीका डेलावेयर नदी तथा हडसन नदीको छेउछाउमा बसोबास गर्थे। लेनापहरू नजिकका जङ्गलमा सिकार खेलेर जीविकोपार्जन गर्थे। पछि न्युजर्सीमा युरोपेलीहरूको आगमन पनि भयो।
सन् १७७६ मा यहाँको संविधानमा सबै स्थायी नागरिकले मतदान गर्न पाउने कानुनी व्यवस्था मिलाइयो। त्यसअघि यहाँ हुने आवधिक निर्वाचनमा सबैलाई मतदान गर्ने अधिकार थिएन। १५ डिसेम्बर १७८७ मा संयुक्त राज्य अमेरिकाले संवैधानिक व्यवस्थाअनुसार न्युजर्सीलाई छुट्टै राज्यको घोषणा गरेको थियो। १९औँ शताब्दीमा न्युजर्सीमा गृहयुद्ध (सिभिल वार) भएको थियो। खासगरी सन् १८६१ देखि १८६५ सम्म अमेरिकाका उत्तरी र दक्षिणी राज्यहरूबिच गृहयुद्ध भएको थियो।
न्युजर्सीमा तटीय मैदान र पहाडजस्ता भूभाग रहेका हुँदा व्यावसायिक खेतीका लागि रेसम उत्पादनलाई महत्त्व दिइयो र त्यसको धागोबाट विभिन्न कपडा उत्पादन गर्न थालियो।
त्यस युद्धमा उत्तरी राज्यले विजय हासिल गरेको थियो। यसै युद्धको परिणामले नै दासप्रथाको अन्त्य भएको हो। त्यतिखेरसम्म अमेरिकाका अन्य राज्यजस्तै न्युजर्सीमा पनि दासप्रथा थियो। १५ फेब्रुअरी १९०४ मा अमेरिकाले दासप्रथाको अन्त्य भएको घोषणा गर्यो।
न्युजर्सीमा तटीय मैदान र पहाडजस्ता भूभाग रहेका हुँदा व्यावसायिक खेतीका लागि रेसम उत्पादनलाई महत्त्व दिइयो र त्यसको धागोबाट विभिन्न कपडा उत्पादन गर्न थालियो। कृषिलाई प्राथमिकता दिई न्युजर्सीमा क्रमबद्ध औद्योगिक क्रान्ति हुँदै गयो। आज पनि न्युजर्सीलाई धेरै कर सङ्कलन गर्ने राज्यका रूपमा लिइन्छ। यो राज्य उत्तर र दक्षिण क्षेत्रमा विभाजित छ। दुवै क्षेत्रमा बसोबासको हिसाबले अमेरिकी मूलबासीको बस्ती राम्रो छ, जुन २८०० वर्षभन्दा अगाडिदेखिको निरन्तरता हो।
मूलबासीका अलावा न्युजर्सीमा अफ्रिकी, स्लाभ, रुसी, युरोपेली, हिस्पानिक, यहुदी, पश्चिम भारतीय, पोर्चुगाली, कोरियाली, चिनियाँ, पाकिस्तानी र नेपालीहरूको मिश्रित बसोबास रहँदै आएको छ। न्युजर्सी गुरुयोजना (मास्टर प्लान) अनुसार विकासका पथमा अगाडि बढेको छ। हरियाली बोटबिरुवाको मोहक दृश्यले गर्दा न्युजर्सी ‘बगैँचाको राज्य’ बाट परिचित रहेछ।

हाम्रो न्युजर्सी घुम्ने क्रमको पहिलो पाइला ट्रेन्टन सहरमा पर्यो। यो सहर न्युजर्सीको राजधानी हो। सन् १७९० मा ट्रेन्टनलाई राजधानी बनाइएको रहेछ। प्रमुख सहरका रूपमा रहेको ट्रेन्टन फिलाडेल्फिया महानगरीय सिमानामा पर्छ। कला, संस्कृति, इतिहास र विज्ञानमा धनी मानिन्छ ट्रेन्टनलाई। सहरमा भवनहरू ठुला-ठुला छन्। कलात्मक घरहरू युरोपेली शैलीमा निर्मित छन्।
यस सहरमा रहेका महत्त्वपूर्ण ठाउँमध्ये एडभेन्चर एक्वारियम पनि एक हो। सामुद्रिक तटको नजिक रहेको एक्वारियमले ठुलो भूभाग ओगटेको छ।
अमेरिकी क्रान्तिकारी युद्धका बेला ट्रेन्टन युद्धस्थलमध्येकै एक थियो। त्यसताका अर्थात् सन् १७५८ तिर बेलायती सैनिकद्वारा ती घरहरू निर्माण गरिएका हुन्। १९औँ शताब्दीमा ट्रेन्टन क्षेत्रले विकसित रूप लिन थालेको हो। युरोपेली आप्रवासीहरूले यस भूमिमा काम गर्न पाए। खोटो, प्लास्टिक, धातु, बिजुली, अटोमोबाइल पार्ट्स, कपडा, सिसा र रेलमार्गजस्ता उद्योगको विकाससँगै अहिले ट्रेन्टनले आर्थिक क्षेत्रमा ठुलो फड्को मारेको छ।
घुमफिर गर्ने क्रममा हामी एटलान्टिक सहरमा पुग्यौँ। अमेरिकाका सबैतिर भौतिक संरचना उस्तै लाग्ने खालका देख्न पाइन्छ। छुट्याउन नसकिने ठाउँ! गगनचुम्बी घर, फराकिला बाटा र ट्राफिक सिग्नल एकै किसिमका छन्। यो सहर समुद्रनजिक पर्छ। समुद्रमा पानीजहाजहरू चलिरहन्छन्। समुद्रको तटीय क्षेत्रमा बसेर मनोरञ्जन लिनेहरूको सङ्ख्या पनि प्रशस्तै छ। सपिङ मल, रेस्टुरेन्ट, लज र पार्कहरूले गर्दा पर्यटकहरूको उपस्थिति बाक्लै देखिन्छ।
यस सहरमा रहेका महत्त्वपूर्ण ठाउँमध्ये एडभेन्चर एक्वारियम पनि एक हो। सामुद्रिक तटको नजिक रहेको एक्वारियमले ठुलो भूभाग ओगटेको छ। एक्वारियमको प्रवेशद्वार भव्य छ। अग्रभागमा प्रशस्त पार्किङको व्यवस्था गरिएको छ। प्रवेशद्वारको अगाडि जीवजन्तुका मूर्तिहरू राखिएका छन्। प्रवेशद्वारनजिक एक्वारियम व्यवस्थापनका लागि भव्य भवनहरू छन्।
गर्मीको महिना भएकाले अवलोकनकर्ताहरूको सुविधाका लागि चिसो हावा फाल्ने एसीको व्यवस्था गरिएको रहेछ। गर्मीको अनुभूति नै नहुने! पोखरीको अघिल्तिर झरनाको कलकल आवाज सुनिन्छ। उक्त झरनालाई 'पिराना फल्स' भनिँदो रहेछ। त्यहाँ पेन्गुइनको झुन्ड पनि देखिन्छ। सिसाद्वारा निर्मित एक्वारियममा रङ्गीबिरङ्गी माछाहरू छन्। ठुलो एक्वारियममा माछा, कछुवा, सार्क, निल हिप्पो र पेन्गुइन पनि देखिन्छन्।
यहाँ कछुवा, गोही, सुगा, छेपारो, हिप्पोलगायत ८५० प्रजातिका जीवजन्तुहरू छन्। हेर्नका लागि रोचक कुरा त, ठुलो एक्वारियममा अक्सिजनको सहायताले मान्छेहरू पौडी खेलिरहेको दृश्य देखिन्छ। घुम्ने क्रममा समय गएको पत्तै भएन।

न्युजर्सीमा हेर्नलायक अर्को ठाउँ हो– ब्याटलसिप । यो दोस्रो विश्वयुद्धसँग जोडिएको हुनाले ऐतिहासिक पनि मानिन्छ। सामुद्रिक तटनजिक देखिने ब्याटलसिप ठुला-ठुला साङ्लाले बाँधेर राखिएको छ। उक्त जहाजसम्म जानका लागि सामुद्रिक तटबाट बाटो बनाइएको छ। कोरिया, भियतनाम र दोस्रो विश्वयुद्धलगायत विभिन्न समयमा युद्ध हुँदा यसै जहाजको प्रयोग गरिएको रहेछ।
ठुलो आकारको उक्त जहाजमा हेलिकप्टर, क्षेप्यास्त्र, तोपका साथै युद्धमा प्रयोग भएका हातहतियारहरू राखिएका छन्। जहाजमा युद्धका क्रममा प्रयोग गरिएका एक-एक सामग्री सङ्ग्रहित गरेर राखिएका छन्। त्यो अवलोकन गर्नका लागि सबैलाई खुला गरिएको छ। सार्वजनिक बिदाबाहेक अन्य दिनमा बिहान ९ः०० बजेदेखि बेलुकी ४ः०० बजेसम्म खुला रहन्छ। प्रवेश गर्नका लागि २० डलर शुल्क लाग्ने रहेछ।
डेलावेयर नदीमा पर्यटकहरूको घुइँचो लाग्छ। र्याफ्टिङ गर्नका लागि यो ठाउँले प्रसिद्धि नै कमाएको छ। नदीको पानी सफा र निलो रङको छ। नदीको पानीलाई बाँध बाँधेर जमाइएको छ। नदीमा सयौँको सङ्ख्यामा डुङ्गा चढेर आनन्द लिइन्छ। त्यो हेर्दै जाँदा मलाई नेपालको फेवातालको झल्को आइरह्यो।
गर्मी महिनामा पर्यटकहरूको आगमनमा वृद्धि हुन्छ। र्याफ्टिङका अलावा रक क्लाइम्बिङ, पौडी, पैदलयात्रा, माछा मार्ने र घोडासवारीसमेत गरिन्छ यहाँ।
न्युजर्सी सामुद्रिक तटनजिक भएकाले पानीसँग स्पर्श गर्न पाइन्छ। पानीको छाल हुँदै यात्रामार्गमा रमाउने ठाउँ हडसन नदी पनि एक हो। यहाँको १८ किलोमिटर लामो पैदलयात्रालाई बच्चादेखि वृद्धवृद्धासम्मले खुबै रुचाउँछन्। नदीको किनारैकिनार पैदलयात्रा गर्दै विभिन्न सहरहरूमा पुगिन्छ। उक्त पैदलमार्ग न्युजर्सीको उत्तरपूर्वी वाटरफ्रन्टलाई समेत जोडेर सन् १९७० मा प्रस्ताव गरिएको रहेछ।
सन् १९८८ मा वातावरणीय संरक्षण गर्ने हेतुले न्युजर्सीले कानुन पनि बनाएको रहेछ। हडसन काउन्टीमा आकर्षक पुल छ। त्यो पुल हेर्दा असाध्यै भव्य देखिन्छ। पैदलयात्राका समयमा यस पुलमा पुग्दा साँझ परिसकेको थियो। साँझका बेला सहरको झिलिमिली बत्ती र नदीको पानीमा देखिएको दृश्य निकै मनमोहक थियो।

न्युजर्सीको अर्को महत्त्वपूर्ण सहरमध्ये केप मे पनि रहेछ। यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा लिइन्छ। यहाँ मान्छेहरूको भिडभाड खुबै देखिन्छ। बस्तीको वरिपरि समुद्रले घेरेको छ। मुख्य राजमार्ग नजिक सामुद्रिक पानीको छाल छचल्किरहेको देख्न सकिन्छ। दक्षिणी किनारामा रहेको केप मे, डेलावेयर बे र आन्ध्र महासागरको सङ्गममा अवस्थित छ। सन् २०१० को जनगणनाअनुसार यहाँ ४० हजारको हाराहारीमा मानिसको बसोबास छ।
सहरले ७.५० वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ। सन् १८४८ मा केप मेलाई टापुका रूपमा र सन् १८५१ मा यो क्षेत्र 'केप टापु' नामकरण गरिएको भन्ने कुरा यहीँ आएपछि थाहा पायौँ। पर्यटकको सुविधाका लागि प्रशस्त मात्रामा रेस्टुरेन्ट, लज तथा मलको व्यवस्था गरिएको छ। चाडपर्व र बेलाबखत प्रत्यक्ष सांस्कृतिक कार्यक्रम पनि हुँदै आइरहेको रहेछ। साँझपख सहरनजिक रहेको समुद्री तटमा सयौँको सङ्ख्यामा पौडी खेल्ने र किनारामा विश्राम गर्ने मानिस आनन्द लिइरहेका थिए।
समुद्रमा धेरै माछा पाइने हुनाले माछा मार्नका लागि जहाजहरूको प्रयोग गरिएको छ। बेलुकीपख सामुद्रिक हावा चल्न थालेपछि पर्यटकहरू आ–आफ्नो बासस्थानतर्फ लाग्छन्। न्युजर्सीमा केप मेजस्ता अनगिन्ती सामुद्रिक तटीय क्षेत्रहरू रहेका छन्। यी स्थानहरू मनोरञ्जनका हिसाबले महत्त्वपूर्ण स्थलका रूपमा विकास भएका छन्।
संयुक्त राज्य अमेरिकामा स्थायी रूपमा बसोबास गर्ने मूलबासीको तुलनामा आप्रवासीहरूको सङ्ख्या बढ्दो छ। यहाँका मूलबासीले क्रिस्चियन धर्म मान्छन् भने अन्यले आ–आफ्नै धर्म मान्छन्। त्यहाँ जानेहरूमध्ये भारतीय र नेपालीहरूले भने हिन्दु धर्म मान्छन्। हिन्दु धर्मावलम्बीहरूको बहुलता रहेको ठाउँमा हिन्दु देवीदेवताका मन्दिर स्थापना गरिएका छन्। न्युजर्सीमा बसोबासको हिसाबले भारतीय मूलका नागरिकहरू बढी छन्।
भारतीयहरूको इच्छाशक्तिले मोर्गनभिलमा 'गुरुवायुरप्पन मन्दिर'को स्थापना गरेका छन्। भारतमा पनि यो मन्दिर रहेको छ, जुन मन्दिर पाँच हजार वर्ष पुरानो मानिन्छ भन्ने कुरा मैले त्यहीँ गएर थाहा पाएको थिएँ।
उक्त मन्दिरमाथि गजुर राखी भव्य बनाइएको छ। मन्दिरको अग्रभागमा सानो पोखरी र टावर रहेको छ। मन्दिर प्रवेश गर्नका लागि सिँढी उक्लिनुपर्छ। सिँढीको दायाँबायाँ पूर्णकदका हात्ती राखिएका छन्। हामी मन्दिरभित्र दर्शन गर्न छिर्यौँ। दर्शनार्थीहरू पूजापाठ र दर्शन गर्न लामबद्ध थिए। मन्दिरभित्र कृष्ण, गणेश र हनुमानका मूर्तिहरू देखिन्छन्। सेतो वस्त्रमा पुरोहितहरू थिए। पुरोहितहरू वैदिक मन्त्रहरूको प्रयोग गरेर हवन गरिरहेका थिए। मन्दिरभित्र रहेका मूर्तिहरूमध्ये भगवान् कृष्णको मूर्ति हेर्नलायक देखिन्छ। मूर्तिको आकृति हेर्दा कृष्णले हातमा शङ्ख, चक्र, पद्म र गदा लिइरहेको देखाइएको छ।
न्युजर्सी घुम्ने क्रमको अन्त्यमा हामी संयुक्त राज्य अमेरिकाको दक्षिण दिशामा पर्ने ऐतिहासिक बार्नेगेट लाइटहाउस पुग्नु छ। साँझ पर्न लागेको छ; हामी चढेको गाडी ट्राफिक लाइट छिचोल्दै बस्तीको उज्यालोमा रमेको थियो। बल्ल पुग्यौँ लाइटहाउस परिसरमा!
आन्तरिक र बाह्य पर्यटकहरूको भिडभाड देखिन्छ त्यहाँ। पर्यटकका लागि सुविधासम्पन्न रेस्टुरेन्ट, होटेल र सपिङ कम्प्लेक्सहरूको पनि उचित व्यवस्थापन गरिएको छ। लाइटहाउस सामुद्रिक टापुको किनारमा रहेको छ। उक्त लाइटहाउस झट्ट हेर्दा नेपालको धरहराजस्तो देखिन्छ। दुईवटा रङमा रहेको लाइटहाउस सामुद्रिक सतहबाट अलिक उचाइमा रहेको छ। बिहान ९ः०० बजेदेखि बेलुकी ९ः०० बजेसम्म खुला रहने त्यहाँ जानका लागि शुल्क लाग्ने रहेछ, त्यो पनि मान्छेको उमेरअनुसार।
उक्त लाइटहाउस अमेरिकामा गृहयुद्धको समयमा एक अमेरिकी सेनाका इन्जिनियरले डिजाइन गरेका हुन् भन्ने थाहा पायौँ। उक्त हाउस सन् १८५८ (तपाईंको लेखमा १८५५ थियो तर यसको निर्माण सम्पन्न १८५८ मा भएको हो) मा निर्माण गरिएको रहेछ। वरिपरि घुम्ने क्रममा कति चाँडै रात परिसकेछ, पत्तै भएन। अब हामीले न्युजर्सीको हाम्रो यात्रालाई बिट मार्नु छ।
बार्नेगेट लाइटहाउसको उज्यालो दृश्य आँखामा कैद गर्दै हामी बाल्टिमोरतिर लाग्यौँ। हाम्रो आज रातिको विश्रामस्थल बाल्टिमोर थियो। हामी चढेको गाडी न्युजर्सीलाई पछि पार्दै गन्तव्यतिर हुइँकिरह्यो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण