बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
खेलकुद

आन्तरिक कलहले पिल्सिएको रियल र उपाधिको सङ्घारमा रहेको बार्सिलोनाबिच निर्णायक ‘एल क्लासिको’

आइतबार, २७ वैशाख २०८३, ०९ : ३०
आइतबार, २७ वैशाख २०८३

सारांश

  • आइतबार बार्सिलोना र रियल म्याड्रिडबिचको एल क्लासिको खेलले सामान्यभन्दा बढी महत्त्व राख्छ, जसमा बार्सिलोना उपाधि पक्का गर्ने लक्ष्यमा छ।
  • रियल म्याड्रिड आन्तरिक कलह र खेलाडीहरूको झगडाको पृष्ठभूमिमा दबाबका साथ आइरहेको छ, जसले प्रशिक्षक अल्भारो आर्बेलोआलाई चुनौती दिएको छ।
  • बार्सिलोनाको तयारी शान्त देखिएको छ र उनीहरूले घरेलु मैदानमा च्याम्पियन बन्ने अवसर पाएका छन्, जबकि रियल म्याड्रिडले आफ्नो साख जोगाउन सङ्घर्ष गरिरहेको छ।

म्याड्रिड । एल क्लासिको कहिल्यै पनि एक साधारण खेल हुँदैन।

तर आइतबार बार्सिलोना र रियल म्याड्रिडबिचको भेटले सामान्यभन्दा बढी महत्त्व राख्छ।

चिरपरिचित प्रतिद्वन्द्वीभन्दा ११ अङ्कले अगाडि रहेको बार्सिलोनालाई राम्ररी थाहा छ, नाउ क्याम्पमा हुने आजको खेलमा जित वा बराबरीले मात्रै पनि उनीहरूको लगातार दोस्रो ला लिगा उपाधि पक्का गर्नेछ र यस उत्कृष्ट घरेलु अभियानलाई शानदार अन्त्य दिनेछ।

यसको विपरीत, रियल म्याड्रिड बढ्दो दबाबका साथ आइरहेको छ। उनीहरूको पछिल्लो हप्ता फुटबलभन्दा बढी ड्रेसिङ रुमको अशान्ति, खेलाडीहरूको झगडा र आन्तरिक अनुशासनको कारबाहीले भरिएको थियो।

यही पृष्ठभूमिमा, रियलका मुख्य प्रशिक्षक अल्भारो आर्बेलोआले आफ्नो छोटो कार्यकालकै सम्भवतः सबैभन्दा ठुलो चुनौतीको सामना गर्दैछन्। स्पेनिस फुटबलको सबैभन्दा ठुलो खेलअघि विभाजित टोलीलाई एकताबद्ध बनाउनु उनको मुख्य काम हुनेछ।

rcd-espanyol-de-barcelona-v-real-madrid-cf-laliga-ea-sports-4-scaled

अर्कोतर्फ, हान्सी फ्लिकको नेतृत्वमा बार्सिलोनाको तयारी निकै शान्त देखिएको छ। आफ्नै समर्थकमाझ च्याम्पियन बन्ने दाउमा रहेको यस टोलीले उच्च आत्मविश्वास र नियन्त्रण प्रस्तुत गरिरहेको छ।

अक्टोबरमा भएको यस सिजनको पहिलो क्लासिकोमा म्याड्रिडले बर्नाबेउमा २-१ को जित निकालेको थियो। उक्त खेल निकै फरक परिस्थितिमा खेलिएको थियो, जतिबेला उपाधि होड धेरै नै खुला थियो। त्यतिबेला रियलका प्रशिक्षक जाभी अलोन्सो थिए र तनाव पनि निकै कम सतहमा आएको थियो।

यसपटक भने परिस्थिति एकदमै स्पष्ट छ। बार्सिलोनासँग आफ्नै घरेलु मैदानमा सबैभन्दा ठुलो प्रतिद्वन्द्वीविरुद्धको खेलपछि ला लिगाको ट्रफी उचाल्ने अवसर छ। उता म्याड्रिड भने टार्न नसकिने हारलाई केही समय पर धकेल्ने सङ्घर्षमा छ।

  • ‘मेरो एक सहकर्मी थिए जसले गल्फ क्लब उठाएका थिए’

शनिबार आर्बेलोआको पत्रकार सम्मेलनमा मिडफिल्डरद्वय फेडेरिको भाल्भर्डे र ओरेलियन चुआमेनीबिचको झगडासम्बन्धी प्रश्नहरूले नै प्राथमिकता पाए।

यस घटनापछि कन्कसन (टाउकोमा चोट लाग्दा देखिने समस्या) का लक्षणहरू देखिएका कारण भाल्भर्डे एल क्लासिकोबाट बाहिरिएका छन्। क्लबको अनुसन्धानपछि दुवै खेलाडीलाई ५ लाख युरो जरिवाना गरिएको छ।

चुआमेनी शुक्रबार प्रशिक्षणमा फर्किएका छन् र खेलका लागि उपलब्ध छन्। यद्यपि, यी फ्रान्सेली अन्तर्राष्ट्रिय खेलाडीले सुरुवाती ११ मा खेल्ने वा नखेल्ने विषयमा आर्बेलोआले पुष्टि गर्न चाहेनन्।

arbeloa

‘खेलाडीहरूले आफ्नो गल्ती स्वीकार गर्दै पछुतो व्यक्त गरेका छन् र माफी मागेका छन्। मेरा लागि यति नै पर्याप्त छ,’ आर्बेलोआले पत्रकारहरूसँग भने।

‘यी दुई खेलाडीलाई हामीले यो घटना बिर्सेर क्लबका लागि लडिरहने मौका दिनुपर्छ। म उनीहरूप्रति धेरै गर्व गर्छु। उनीहरूको व्यावसायिकतामाथि प्रश्न उठाउन म यो घटनाको प्रयोग हुन दिन्नँ।’

लिभरपुल, रियल म्याड्रिड र स्पेनका पूर्व डिफेन्डरसमेत रहेका आर्बेलोआले एलिट फुटबलको माहोलमा ड्रेसिङ रुमका विवादहरू असामान्य नभएको सङ्केत गरे।

‘मेरो एक सहकर्मी थिए, जसले गल्फ क्लब उठाएर अर्को खेलाडीलाई प्रहार गर्न खोजेका थिए,’ ४३ वर्षीय प्रशिक्षकले भने, ‘रियल म्याड्रिडको ड्रेसिङ रुममा जे हुन्छ, त्यो त्यहीँ सीमित हुनुपर्छ। मलाई सबैभन्दा बढी दुःख लागेको कुरा नै यही हो।’

आर्बेलोआले सन् २००७ मा आफू लिभरपुलमा छँदाको एउटा घटनालाई सङ्केत गरिरहेका थिए। पोर्चुगलमा भएको प्रशिक्षण क्याम्पका क्रममा क्रेग बेल्लामी र जोन आर्ने रिसेबिचको विवाद बढ्दै जाँदा बेल्लामीले आफ्ना सहकर्मीलाई गल्फ क्लब लिएर धम्क्याएको खबर आएको थियो।

‘यस्ता परिस्थितिहरू सधैँ भइरहेका हुन्छन्, यद्यपि म यसलाई सही भनेर प्रमाणित गर्न पक्कै खोजिरहेको छैन,’ आर्बेलोआले थपे, ‘त्यो एउटा घटना मात्र थियो र हामी दुर्भाग्यशाली रह्यौँ, जसका कारण फेडेलाई चोट लाग्यो। यो अरू केही नभएर केवल दुर्भाग्य थियो।’

म्याड्रिडका प्रशिक्षकले यस परिस्थितिको जिम्मेवारीसमेत लिए। ‘यदि कसैलाई दोष दिन चाहनुहुन्छ भने, म यहाँ छु,’ उनले भने।

विवादका बाबजुद आर्बेलोआले आइतबार बार्सिलोनासँग हुने खेलमै आफ्नो सम्पूर्ण ध्यान केन्द्रित रहेको दाबी गरे। ‘हामी राम्रो प्रदर्शन गर्ने र जित्ने महत्त्वाकांक्षाका साथ क्लासिकोमा उत्रिँदै छौँ,’ उनले भने ।

हालको पदमा आर्बेलोआको दीर्घकालीन भविष्य देखिँदैन। स्पेनका सञ्चारमाध्यमहरूले अर्को सिजनका लागि जोसे माउरिन्होसहित धेरै चर्चित नामहरूलाई यो भूमिकासँग जोडिसकेका छन्।

क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजमाथि पनि दबाब बढेको छ। रियल म्याड्रिडले कुनै पनि उपाधि नजिती दुई सिजनमा तीनजना प्रशिक्षक परिवर्तन गरेको अवस्थालाई लिएर प्रश्नहरू उठिरहेका छन्।

क्लबको आगामी नियुक्तिलाई पेरेजको अध्यक्ष कालकै सबैभन्दा महत्त्वपूर्ण निर्णयमध्ये एकको रूपमा हेरिएको छ। मैदानभित्र र बाहिरको अस्थिर सिजनपछि म्याड्रिड स्थिरता र प्रतिस्पर्धात्मक क्षमता पुनर्स्थापित गर्ने प्रयासमा छ।

यस्तो आलोचनाका बिच पनि आर्बेलोआले ७९ वर्षीय अध्यक्षको कडा प्रतिरक्षा गरे। ‘यो परिस्थितिलाई परिवर्तन गर्न फ्लोरेन्टिनो पेरेजभन्दा योग्य व्यक्ति अरू कोही छैन,’ उनले भने।

‘मलाई याद छ, उनको आगमनअघि क्लब कस्तो थियो। उनी रियल म्याड्रिडको इतिहासमा सबैभन्दा धेरै उपाधि जित्ने अध्यक्ष हुन् र उनले क्लबलाई पुरानै लयमा फर्काएका हुन्। हामी सबै मिलेर लड्नुपर्छ।’

  • म्याड्रिडको विवादबाट फ्लिक ‘केही हदसम्म’ आश्चर्यचकित

आइतबारको खेलअघि बार्सिलोनामा निकै शान्त वातावरण देखिएको छ।

क्लबले हप्ताभरि प्रशिक्षणका उत्साहजनक तस्बिर र भिडियोहरू सार्वजनिक गरेको छ। ला लिगाको उपाधि पक्का गर्न सक्ने यस खेलको तयारी गरिरहँदा खेलाडीहरू तनावमुक्त र एकजुट देखिन्छन्। एउटा पोस्टमा ‘एक ठुलो परिवार’ भन्ने क्याप्सनसमेत राखिएको थियो।

मुख्य प्रशिक्षक हान्सी फ्लिकले भने, ‘हामी लगातार दोस्रो उपाधि जित्न चाहन्छौँ। मलाई यो एकदमै सानदार लागिरहेको छ। स्पेनमा यो सामान्य कुरा होइन।’

‘हामी कसरी खेल्ने भन्ने विषयमा एकदमै स्पष्ट छौँ। हामी घरेलु मैदानमा यो खेल जित्न चाहन्छौँ। समर्थकहरूले हामीलाई साथ दिइरहेका छन्। त्यसैले त क्लासिको सबैका लागि यति धेरै महत्त्वपूर्ण छ।’

hansi flick

‘हामी यहाँ छौँ कारण हामीले एउटा टोलीको रूपमा उत्कृष्ट सिजन खेलेका छौँ र म भोलि पनि यही कुरा हेर्न चाहन्छु। रोमाञ्च एकदमै उच्च छ। विश्वभरका मानिसहरूले हेरिरहेका छन्, तर अन्त्यमा यो हाम्रो लागि हो। हामी एउटा टिम र युनिटको रूपमा खेल्न चाहन्छौँ।’

म्याड्रिडमा भएको घटनाबारे सोधिएको प्रश्नमा फ्लिकले भने, ‘यस्ता कुराहरू विश्वभर नै भइरहन्छन्, त्यसैले मलाई लाग्दैन यो रियल म्याड्रिडमा मात्र सीमित कुरा हो।’

‘के म आश्चर्यचकित भएँ त? सायद केही हदसम्म, तर अन्त्यमा मलाई यसले कुनै फरक पार्दैन। कारण, यो मेरो क्लब र मेरो टोली होइन, त्यसैले मैले यसबारे सोच्नु पनि हुँदैन।’

यसको सट्टा उनले आफ्नै टोलीभित्रको एकताको महत्त्वलाई औंल्याउँदै भने, ‘यस क्लबको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको हामी सबै एउटै दिशामा अगाडि बढिरहेका छौँ।’

‘कुनै घटना हुँदा हामी मिलेर त्यसको सामना गर्छौँ। फुटबल र जीवनमा यस्ता कुराहरू भइरहन्छन्, तर तपाईंले त्यसलाई व्यवस्थापन गर्नुपर्छ।’

किलियन एम्बाप्पे हुँदा वा नहुँदा कुन अवस्थामा रियल म्याड्रिड उत्कृष्ट हुन्छ भन्ने बहसको विषयमा सोधिएको प्रश्नमा फ्लिकले ती फ्रान्सेली स्ट्राइकरको खुलेर प्रशंसा गरे। उनले एम्बाप्पेलाई ‘विश्वका उत्कृष्ट खेलाडीमध्ये एक’ भन्दै उनको ‘पेनाल्टी बक्स र गोलपोष्ट अगाडिको अविश्वसनीय क्षमता’ को चर्चा गरे।

real-madrid-cf-v-fc-barcelona-laliga-ea-sports-46-scaled

  • कीर्तिमान बराबरी गर्ने बार्सिलोनाको सिजन?

दुवै टोलीका लागि आइतबारको क्लासिकोले निकै ठुलो महत्त्व राख्छ। रियल म्याड्रिड आफ्नो साख जोगाउन लडिरहेको छ भने बार्सिलोना ला लिगामा इतिहास रच्ने सङ्घारमा छ।

यस जितले बार्सिलोनालाई लिगको १०० अङ्कको कीर्तिमान बराबरी गर्ने बाटोमा डोहोर्‍याउनेछ। तीन खेल बाँकी रहँदा उनीहरूको ९१ अङ्क पुग्नेछ।

यो कोसेढुंगा पहिलोपटक २०११-१२ मा माउरिन्होको रियल म्याड्रिडले हासिल गरेको थियो। त्यसको एक वर्षपछि टिटो भिलानोभाको बार्सिलोनाले उक्त कीर्तिमान बराबरी गर्‍यो। त्यसयता कुनै पनि टोलीले यो उपलब्धि हासिल गर्न सकेका छैनन्।

एक सय अङ्कको आँकडा पार गर्नु फ्लिकको कार्यकालमा ला लिगामा बार्सिलोनाको दबदबाको उत्कृष्ट नमुना हुनेछ। तर इतिहास रच्नुअघि एउटा अन्तिम क्लासिको जित्नैपर्नेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप