शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय

रविको सम्बोधन : पुराना दलको त्यागलाई सम्मान, आफ्ना सांसदलाई ‘स्टन्टबाजी’ नगर्न चेतावनी

सुकुमबासी समस्यादेखि न्यायालयसम्म सरकारका कदमको बलियो प्रतिरक्षा
आइतबार, २७ वैशाख २०८३, १६ : ५८
आइतबार, २७ वैशाख २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरूलाई 'स्टन्टबाजी' नगर्न र कानुन निर्माणमा ध्यान दिन निर्देशन दिएका छन्।
  • उनले पुराना राजनीतिक दलहरूको त्यागको सम्मान गर्दै रास्वपाको उदयलाई 'सबैभन्दा सजिलो क्रान्ति' को संज्ञा दिए।
  • लामिछानेले पार्टीभित्र गुटबन्दी गर्नेहरूलाई कडा चेतावनी दिँदै सुकुमबासी समस्या, न्यायालय र बजेट बाँडफाँडबारे पार्टीको स्पष्ट नीति बताए।

काठमाडौँ । राजनीतिको स्थापित भाष्यलाई चुनौती दिँदै छोटो समयमै संसद्‌मा बलियो उपस्थिति जनाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यतिबेला संसदीय अभ्यासको गहिरो सिकाइमा छ।

भर्खरै राजनीतिमा होमिएका नवप्रवेशी सांसदहरूलाई संसदीय मर्यादा, कानुन निर्माणको प्रक्रिया र राजनीतिको गाम्भीर्य बुझाउन रास्वपाले ललितपुरमा दुई दिने सघन प्रशिक्षण कार्यक्रम आयोजना गर्‍यो।

संसदीय दल र पार्टीको प्रशिक्षण विभागद्वारा आयोजित उक्त कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै पार्टी सभापति रवि लामिछानेले आफ्ना सांसद र पार्टी पङ्क्तिलाई विभिन्न निर्देशन दिए । यो केवल औपचारिक मन्तव्यमा मात्र सीमित थिएन त्यो रास्वपाको आगामी राजनीतिक दिशा, वैचारिक स्पष्टता र सत्ता सञ्चालनको मार्गचित्र पनि थियो।

सभापति लामिछानेले आफ्नो सम्बोधनमा पुराना राजनीतिक दलहरूप्रतिको सम्मान, आफ्ना सांसदहरूको अपरिपक्वताप्रतिको सचेतना, भाइरल हुने प्रवृत्तिको कडा आलोचना, र देश निर्माणको सङ्कल्प स्पष्ट पारे।  सिक्ने र सिकाउने प्रक्रिया राजनीतिमा आजीवन चलिरहने यथार्थलाई औँल्याउँदै उनले रास्वपाको यात्रा ‘जीवनी’ लेख्ने नभई ‘इतिहास’ लेख्ने यात्रा भएको उद्घोष गरे।

  • सबैभन्दा ‘सजिलो क्रान्ति’ र पुराना दलको त्यागको सम्मान

नेपाली राजनीतिमा स्थापित पुराना दलहरू–नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र लगायतलाई प्रायः रास्वपाको मुख्य प्रतिस्पर्धी र कतिपय सन्दर्भमा आलोचनाको तारो मान्ने गरिन्छ। तर, यस प्रशिक्षण कार्यक्रममा सभापति लामिछानेले पुराना दलका नेताहरूले यो व्यवस्था ल्याउन गरेको त्याग, तपस्या र सङ्घर्षको खुल्ला कदर गरे।

‘नेपाली कांग्रेस, नेकपा एमाले या माओवादीका नेताहरूले गरेको सङ्घर्ष सामान्य थिएन। उहाँहरूले आफ्नो परिवार, बालबच्चा छाडेर, ज्यानको बाजी लगाएर सङ्घर्ष गर्नुभयो। ३० औँ वर्षसम्म पञ्चायतविरुद्ध लड्दा उहाँहरूलाई व्यवस्था परिवर्तन हुन्छ वा हुँदैन भन्ने नै थाहा थिएन। टाउकाको मूल्य तोकिँदा पनि परिवर्तनका लागि होमिएका ती दल र नेताहरूको जगमा आज हामी उभिएका छौँ,’ लामिछानेले भने।

उनले रास्वपाको राजनीतिक उदयलाई विश्व इतिहासकै ‘सबैभन्दा सजिलो क्रान्ति’ को संज्ञा दिए। लामिछानेले आफ्ना सांसदहरूलाई विगतका क्रान्तिकारीहरूको दुःख स्मरण गराउँदै भने, ‘हाम्रो क्रान्ति कति सजिलो! घरमा तातो खाना खाएर निस्कियो, बाटोमा हिँड्दा सबैले नमस्कार गर्छन्, मिडियाले अन्तर्वार्ता लिन बोलाउँछन्, ज्यानको कुनै जोखिम छैन। यति सजिलो बाटोबाट आएर पनि हामीले देश बनाउन सकेनौँ र जनताको अवस्था बदल्न सकेनौँ भने हामी जति नालायक अरू कोही हुने छैन।’

उनको यो भनाइले रास्वपाका सांसदहरूलाई उनीहरूको काँधमा रहेको भारी जिम्मेवारीको महसुस गराउनुका साथै राजनीतिलाई केवल ‘ग्ल्यामर’ नभई गम्भीर दायित्वका रूपमा बुझ्न प्रेरित गरेको छ।

  • भाइरल हुने मोह त्याग्न कडा निर्देशन : क्यामेरा देख्नेबित्तिकै अभिनय नगरौँ

रास्वपाका धेरै सांसदहरू सामाजिक सञ्जाल र मिडियाको बलमा उदाएका हुन्। संसद् र संसदीय समितिहरूमा पनि उनीहरूका कडा र आक्रामक भनाइहरूले मिडियामा राम्रै कभरेज पाउने गरेको छ। तर, सभापति लामिछानेले यस प्रवृत्तिप्रति कडा असन्तुष्टि व्यक्त गरे। उनले सांसदको मुख्य काम सस्तो लोकप्रियता बटुल्नु वा ‘भाइरल’ हुनु नभई कानुन र विधेयक निर्माण गर्नु रहेको स्पष्ट पारे।

लामिछानेले आफ्ना सांसदहरूलाई लक्षित गर्दै भने, ‘मलाई थाहा छ, संसदीय समितिमा धेरै क्यामेरा देखेपछि रगत तातेर आउँछ। भरे मेरो मतदाताकहाँ पुगिहाल्छ भनेर चर्को बोल्न मन लाग्छ। तर, त्यो तपाईँको भावना हो कि अभिनय हो? अब भाइरलको दुनियाँबाट बाहिर निस्किनुपर्छ। हाम्रो मूल काम विधेयकमा दफावार छलफल गर्ने र कानुन बनाउने हो, मिडियामा स्टन्टबाजी गर्ने होइन।’

उनले चुनावअघि जनताको घरदैलोमा पुग्दा देखाएको विनम्रतालाई नबिर्सन आग्रह गरे। मन्त्री बन्न नपाएको वा संसदीय समितिको सभापति बन्न नपाएकोमा गुनासो गर्ने प्रवृत्तिप्रति सङ्केत गर्दै उनले पदभन्दा ठुलो कुरा सांसदको भूमिका भएको बताए। 

‘कोटको कुनामा लगाएको सांसदको लोगो सामान्य धातुको टुक्रा होइन, यो देशको भविष्य बोक्ने गह्रौँ जिम्मेवारी हो। यदि पद र लाइमलाइटकै पछाडि कुद्ने हो भने हामीले गलत बाटो समात्यौँ, कृपया त्यहाँबाट ‘यु-टर्न’ लिनुस्,’ उनको कडा निर्देशन थियो।

  • जीवनी होइन, इतिहास लेख्ने सङ्कल्प

लामिछानेले राजनीतिमा रास्वपाको उपस्थितिको दार्शनिक आधार प्रस्तुत गर्दै आफूहरू व्यक्तिगत सफलताको कथा लेख्न नआएको बताए।

उनले आफ्ना सांसदहरूको क्षमताको प्रशंसा गर्दै भने, ‘तपाईँहरू आ-आफ्नो क्षेत्रमा यति अब्बल हुनुहुन्छ कि तपाईँहरू आफैँले किताब लेख्नुभयो भने त्यो बेस्ट सेलर बन्न सक्छ। तपाईँहरूको जीवनी त्यत्तिकै पनि उत्कृष्ट छ। तर, हामी यहाँ जीवनी लेख्न आएका होइनौँ, देशको इतिहास लेख्न आएका हौँ। इतिहास लेख्ने यात्रामा सानातिना पदको लोभ र व्यक्तिगत महत्त्वाकांक्षालाई तिलाञ्जली दिनुपर्छ।’

उनको यो भनाइले रास्वपाभित्र हुर्कन सक्ने सम्भावित पदलोलुपता र गुटबन्दीलाई सुरुमै निरुत्साहित गर्ने रणनीतिक उद्देश्य बोकेको प्रस्ट हुन्छ।

  • ‘रवि र बालेन गुट भन्ने भ्रम नपाल्नुस्’

कुनै पनि राजनीतिक दल ठुलो हुँदै जाँदा त्यसमा गुट-उपगुटहरू देखा पर्नु नेपाली राजनीतिको पुरानो रोग हो। रास्वपाभित्र पनि बेलाबेलामा विभिन्न गुटबन्दीका हल्लाहरू चल्ने गरेका छन्। विशेषगरी लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बिचको वैचारिक वा राजनीतिक ध्रुवीकरणलाई जोडेर कतिपयले रास्वपाभित्रै गुट खोज्ने प्रयास गरेका छन्।

लामिछानेले यस विषयमा पहिलोपटक खुलेर कडा प्रहार गरे। उनले पार्टीभित्र ‘म यताको र म उताको’ भन्ने विभाजनकारी सोच राख्नेहरूलाई कडा चेतावनी दिए। 

‘आज म एउटा खुलासा गर्छु। कतिपय साथीहरू बालेन-रवि, रवि-बालेन भनेर म यताको र उताको भन्ने कुरा गर्नुहुन्छ। प्रधानमन्त्रीजी र म यो कुरा सुनेर बडो हाँस्छौँ। यस्तो भ्रम पालेर गुटबन्दी गर्ने साथीहरूलाई मैले मन्त्री पनि बनाएको छैन। यदि कसैले गुटबन्दीको खेल खेल्छ भने अर्को चुनावमा उसले टिकट समेत पाउने छैन,’ लामिछानेले स्पष्ट पारे।

विगत ७० वर्षदेखि पुराना दलहरू फुटेर र आपसमा झगडा गरेरै देश पछि परेको यथार्थ कोट्याउँदै उनले रास्वपाभित्र कुनै पनि प्रकारको विभाजन र गुटबन्दीको गुन्जायस नभएको ठोकुवा गरे। उनले नेतृत्वले देखेको गन्तव्य र कार्यकर्ताले देखेको गन्तव्य एउटै हुनुपर्नेमा जोड दिए। ‘हामी अर्जुनदृष्टि राखेर हिँडेका छौँ, दायाँबायाँ हेर्ने फुर्सद हामीलाई छैन,’ उनले भने।

  • सुकुमबासी समस्या र सरकारको कदम : भावना र कानुनको सन्तुलन

पछिल्लो समय काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा देखिएको सुकुमबासी बस्ती हटाउने विषयले राष्ट्रिय राजनीति तताएको छ। यस विषयमा रास्वपा र स्वयम् गृहमन्त्री लामिछानेको आलोचना पनि भइरहेको छ। तर, प्रशिक्षणका क्रममा उनले सरकारको कदमको बलियो प्रतिरक्षा गरे।

लामिछानेले सुकुमबासी समस्या रास्वपाले सिर्जना नगरेको, बरु पुराना दलहरूले भोट बैङ्कका रूपमा वर्षौंदेखि पालेर राखेको जिकिर गरे। उनले वास्तविक भूमिहीनलाई लालपुर्जा दिने तर खोला किनार र सार्वजनिक जग्गा हडप्नेहरूलाई नछाड्ने स्पष्ट नीति सुनाए।

‘हामी वास्तविक भूमिहीनलाई अधिकार नदिएसम्म हाम्रो छाती पछाडि हटाउँदैनौँ। तर हाकाहाकी गैरकानुनी रूपमा खोला किनार हडपेर बस्ने र असुरक्षित रूपमा नालीको छेउमा बस्नेहरूलाई हटाउने कदम सही छ। ३० औँ वर्षदेखि यो समस्या पालेर राख्नेहरूले आज विरोध गर्नुको अर्थ छैन। तपाईँहरू आफ्ना क्षेत्रमा गएर निर्धक्क भन्नुस्– हामी कसैलाई घरबारविहीन बनाउँदैनौँ, तर गैरकानुनी कामलाई प्रश्रय पनि दिँदैनौँ,’ लामिछानेले निर्देशन दिए।

उनले यदि कसैलाई सरकारको विरोध गर्न मन छ भने पुत्ला जलाउन र मुर्दावाद भन्न छुट भएको तर राज्यले कानुन कार्यान्वयन गराएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे।

  • न्यायालय र संवैधानिक नियुक्तिको प्रतिरक्षा

हालै संवैधानिक परिषद्ले प्रधानन्यायाधीशको नियुक्तिका लागि गरेको सिफारिसलाई लिएर कतिपय संविधानविद् र कानुन व्यवसायीहरूले सरकारको आलोचना गरेका थिए। संविधानको मर्मविपरीत सिफारिस भएको भन्ने आरोपलाई सभापति लामिछानेले खारेज गरे।

उनले संविधानले तोकेको व्यवस्था र विधिमै टेकेर सिफारिस भएको दाबी गरे। ‘यदि यो असंवैधानिक थियो भने ६ जना न्यायाधीशहरूको नाम किन सर्टलिस्ट गरियो ? संविधानमै वरिष्ठतमलाई मात्र सिफारिस गर्ने लेखिएको भए त संवैधानिक परिषद्को बैठक नै बस्नु पर्दैनथ्यो नि। संविधानले दिएको विकल्पभित्रै रहेर मतदान प्रक्रियाबाट सिफारिस भएको कुरा कसरी असंवैधानिक भयो?,’ उनले प्रश्न गरे।

न्यायालयलाई सडकको बहस र विवादको विषय बनाउन नहुनेमा उनको जोड थियो। न्यायालयमाथि आम नागरिकको आशा र भरोसा टिकेको हुनाले यसलाई निष्पक्ष र मर्यादित बनाउनुपर्ने उनले बताए। 

‘हामीलाई पनि विगतमा अन्याय भयो होला, चिच्याएर बोल्न मन थियो होला, तर हामीले अदालतको ढोका बाहिर निस्केर अदालतप्रति भरोसा छ भन्यौँ। हामी चाहन्छौँ, पीडितले म तँलाई अदालतमा भेट्छु भन्न सकोस्, पीडकले होइन,’ लामिछानेले गम्भीर हुँदै भने।

  • राष्ट्रिय बजेट र देश विकास : सिङ्गो नेपाल नै हाम्रो निर्वाचन क्षेत्र हो

नेपालको संसदीय अभ्यासमा सांसदहरूले आफ्नो चुनाव क्षेत्रमा मात्रै बजेट लैजान हानथाप गर्ने प्रवृत्ति नौलो होइन। आफूले चुनाव जितेको क्षेत्रमा बजेट खन्याउन सके मात्रै अर्को चुनाव जितिन्छ भन्ने मनोविज्ञान नेपाली राजनीतिमा हाबी छ। तर, लामिछानेले आफ्ना सांसदहरूलाई यो सङ्कीर्ण सोचबाट माथि उठ्न निर्देशन दिए।

‘तपाईँहरू आफ्नो चुनाव क्षेत्रको बजेटका लागि मन्त्रीहरूको ढोका नचहार्नुस्। हामीले १६५ वटा निर्वाचन क्षेत्रको मात्र होइन, सिङ्गो नेपालको बजेट बनाउनुपर्छ। चितवन-२ मा मैले अर्को चुनाव जित्छु कि जित्दिनँ भन्ने ठुलो कुरा होइन, यो देशको पुस्ताले जित्छ कि जित्दैन भन्ने मुख्य कुरा हो। त्यसैले पहुँचको भरमा बजेट बाँड्ने परिपाटीको अन्त्य गर्न हामी लागेका छौँ,’ उनले भने।

उनले सरकारले ल्याएका अध्यादेशहरू पनि देशको नीतिगत शून्यतालाई हटाउन र विकास निर्माणलाई द्रुत गति दिन ल्याइएको स्पष्ट पारे। देश र नागरिकलाई घाटा हुने कुनै पनि निर्णय सरकारले नगर्ने कुरामा उनले सांसदहरूलाई आश्वस्त पारे।

  • मिडिया र आलोचनालाई खुल्ला स्वागत

सामान्यतया सत्तामा पुगेपछि नेताहरू मिडिया र आलोचकहरूप्रति असहिष्णु बन्ने गरेका उदाहरण धेरै छन्। तर, लामिछानेले मिडिया र विश्लेषकहरूले रास्वपामाथि गरिरहेको आलोचनालाई ‘सुमधुर गीत’ को संज्ञा दिँदै खुल्ला स्वागत गरे।

"तपाईँहरूले हामीमाथि निरन्तर आलोचनात्मक लेखहरू लेख्नुभएको छ। हामी त्यो पढिरहेका छौँ। हामी चाहन्छौँ कि अझ पेचिलो र खरो ढङ्गले हाम्रा कमीकमजोरी औँल्याइयोस्। ताकि हामीले एउटा पनि गलत कदम चाल्नुअघि तपाईँको लेख र हेडलाइनले हामीलाई झस्काओस्। तपाईँको खबरदारीले नै हामीलाई सुत्न दिँदैन र सही मार्गमा हिँडाउँछ,’ लामिछानेले भने।

उनले रास्वपाका केही सांसदहरूको अपरिपक्वताका कारण बेलाबेला हुने गल्तीलाई समग्र पार्टीको चरित्रका रूपमा नबुझिदिन पनि आग्रह गरे। ‘कोही साथीहरू हिँड्दाहिँड्दै चिप्लिनुहोला, लड्नुहोला। तर हामी सम्हालिन्छौँ, उठ्छौँ र सही गन्तव्यमा पुग्छौँ। हाम्रो चरित्र लोकतन्त्र र संविधानलाई बलियो बनाउने हो,’ उनले थपे।

‘हामीले सरकार बनाएको डेढ महिना पनि पुगेको छैन। तर हामी थिति बसाल्ने अभियानमा छौँ। जसरी देश चलेको थियो, त्यसरी अब चल्दैन। यो जनमत पुरानै कुराको निरन्तरताका लागि होइन, क्रमभङ्गताका लागि हो,’ लामिछानेले उद्घोष गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप