शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
राताेपाटी ब्रिफिङ

१० बजे १० समाचार : बालेनलाई अदालतको झट्का, सचिव राई पदमुक्त

मङ्गलबार, २९ वैशाख २०८३, २२ : ००
मङ्गलबार, २९ वैशाख २०८३

आज २०८३ वैशाख २९ गते मंगलबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ।

  • अर्थ समिति

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट निर्माणमा वर्षौँदेखि चल्दै आएको ‘खल्तीका योजना’ हाल्ने प्रवृत्तिलाई पूर्णतः निषेध गर्ने घोषणा गरेका छन् । प्रतिनिधिसभाको अर्थ समितिको छलफलका क्रममा उनले अबदेखि अर्थ मन्त्रालयले सीधै कुनै पनि आयोजना बजेटमा समावेश नगर्ने र सबै आयोजना सम्बन्धित मन्त्रालयको प्रणालीबाटै आउनुपर्ने कडा व्यवस्था लागू गरिएको जानकारी दिएका हुन् ।

  • संसद् बैठक

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसदहरूले विभिन्न मुद्दामा सरकारको ध्यानाकर्षण गराएका छन्।

  • नीति तथा कार्यक्रम

सोमबार राष्ट्रपतिमार्फत सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरियो । पूर्वप्रशासकहरूका अनुसार सामान्यतया सरकारले ल्याएको अल्पकालीन ‘एक्सन प्लान’को विस्तृत रूप नै वार्षिक नीति तथा कार्यक्रम हुनुपर्ने हो, तर यी दुई दस्ताबेजको तुलनात्मक अध्ययन गर्दा सरकारको बोली र व्यवहारमा ठुलो खाडल देखिएको छ ।

  • झट्का

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारका कामकारबाही र निर्णयमा एकपछि अर्को झट्का लागेको छ । बोलाइएको संसद् अधिवेशन नै स्थगित गरेर अध्यादेशमार्फत विभिन्न कानुन संशोधन गर्ने निर्णय गरेको शाह नेतृत्वको सरकारका निर्णयविरुद्ध सरोकारवालाहरू अदालत पुगेपछि ती निर्णयहरूमा अदालतले रोक लगाएर सरकारलाई झट्का दिएको हो ।

  •  बाटो खुल्दै

बागमती प्रदेश सरकारले हेटौंडामा आफ्नै एकीकृत प्रशासनिक संरचना निर्माण गर्ने वर्षौंदेखिको योजनालाई कार्यान्वयनको चरणमा पुर्‍याएको छ । संघीय सरकारको वन तथा भू–संरक्षण विभाग र प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयबिच वन क्षेत्रको जग्गा उपभोगका लागि अन्तिम सम्झौताको गरेको हो ।

  • नेपालमा विद्युतीय सवारी

ट्रली बसबाट सुरु भएको नेपालको विद्युतीय यातायातको यात्रा आज अत्याधुनिक  ‘स्मार्ट’ विद्युतीय कारसम्म आइपुगेको छ । हाल पेट्रोलियम पदार्थको बढ्दो मूल्यबिच त विद्युतीय सवारीमा धेरैको आकर्षण बढिरहेको छ । त्यसमाथि वातावरणीय प्रदूषणको चिन्तासँगै नागरिक सचेत हुन थालेपछि नेपाली सडकमा ईभीले राज गरिरहेको छ ।

  • उद्योगीको आकर्षण

रुपन्देहीको भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योगीहरूको आकर्षण बढ्दै गएको छ। लामो समयसम्म अपेक्षित रूपमा सञ्चालनमा आउन नसकेको सेज अहिले भने सरकारी नीतिगत सुधार र उद्योगमैत्री व्यवस्थापछि क्रमशः चलायमान बन्दै गएको हो। हाल सेजभित्र एकैपटक ६ वटा उद्योग निर्माणाधीन अवस्थामा रहेका छन्।

  • सुदूरपश्चिमका सीमानाकामा तस्करी

नेपाल र भारतबिचको खुला सिमानाका कारण सुदूरपश्चिम प्रदेशका सीमा क्षेत्रबाट हुने तस्करी सुरक्षा निकायका लागि चुनौतीको विषय बनेको छ। दैनिक रूपमा ठूलो मात्रामा भन्सार छलीका सामान बरामद भइरहे पनि तस्करीको जालो तोडिनुको साटो झन् जेलिँदै गएको देखिन्छ। 

  • पदमुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट हटाएका छन्। राष्ट्रपति कार्यालयका अनुसार उनलाई २०८३ वैशाख २९ गते मंगलबारदेखि लागू हुने गरी पदमुक्त गरिएको हो।

  • अपराध

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवको सचिवालयमा कार्यरत मुस्तकिम मियाँ गम्भीर अपराध सम्बन्धी कसुरमा पक्राउ परेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप