फर्किँदै मधेसको मौलिकता, माटोका भाँडाको प्रयोग बढ्न थाल्यो
सारांश
- आधुनिकतासँगै मानिसको जीवनशैली परिवर्तन भए पनि मौलिक संस्कृतिप्रतिको आकर्षण बढेकाले मधेस प्रदेशमा माटोका भाँडाको प्रयोग बढ्न थालेको छ ।
- वीरगञ्ज, जनकपुरधाम लगायतका सहरहरूमा होटल, रेस्टुरेन्ट, चिया पसल तथा क्याफेहरूमा माटोका कप, गिलास, भाँडा, मटका र अन्य सामग्रीको प्रयोग बढ्न थालेको छ ।
- माटोका भाँडा स्वास्थ्यका लागि लाभदायक, वातावरणमैत्री हुनुका साथै मधेसको मौलिकता र संस्कृतिलाई चिनाउने भएकाले यसको प्रयोग बढेको छ ।
जनकपुरधाम । आधुनिकतासँगै मानिसको जीवनशैली परिवर्तन हुँदै गए पनि मौलिक संस्कृतिप्रतिको आकर्षण भने फेरि बढ्न थालेको छ । बजारमा अहिले माटोका भाँडामा चिया, लस्सी, दहीदेखि विभिन्न परिकार खाने चलन बढ्दो छ ।
स्वास्थ्य, स्वाद र संस्कृतिसँग जोडिएको माटोको भाँडाले आधुनिक बजारमा नयाँ पहिचान बनाइरहेको छ । अहिले मधेस प्रदेशका सहरहरू वीरगञ्ज, राजविराज, लहान, सिरहा, गौर, मलङ्गवा, जनकपुरधाम लगायतका होटल, रेस्टुरेन्ट, चिया पसल तथा क्याफेहरूमा माटोका कप, गिलास, भाँडा, मटका र अन्य सामग्रीको प्रयोग बढ्न थालेको छ । आधुनिकताका बिच मौलिकताको खोजी गर्ने प्रवृत्तिसँगै माटोका भाँडाप्रति आकर्षण बढ्न थालेको हो ।
एक समय मधेसका गाउँघरमा बिहान उठ्नेबित्तिकै माटोको गाग्रीमा पानी, माटोको भाँडामा दही र कुल्हडमा चिया देखिनु सामान्य कुरा थियो । घरको भान्सादेखि विवाह, पूजा, व्रतबन्ध, श्राद्ध र पर्वसम्म माटोका भाँडाले विशेष स्थान ओगटेको हुन्थ्यो । आधुनिकता बढ्दै जाँदा बजारमा प्लास्टिक, स्टिल र काँचका भाँडा भित्रिए, अनि बिस्तारै माटोका भाँडा गाउँका कुनाकाप्चामा सीमित हुन थाले । चाडपर्वमा मात्रै माटोका भाडा प्रयोग हुन थाल्यो ।
मिथिला संस्कृतिमा माटोको विशेष महत्त्व छ । मधेस प्रदेशका कुम्हार समुदायले पुस्तौँदेखि माटोका भाँडा बनाउने काम गर्दै आएका छन् । विवाहमा प्रयोग हुने घैला, पूजा सामग्री, दियो, विभिन्न कलात्मक सामग्री मिथिलाको पहिचानसँग जोडिएका छन् । विशेषगरी छठ पर्व, विवाह तथा धार्मिक अनुष्ठानमा अझै पनि माटोका सामग्रीलाई पवित्र मानिन्छ । यही कारण आधुनिकताबिच पनि मधेसको मौलिकता पूर्ण रूपमा हराउन सकेको छैन ।
जनकपुरधाम उपमहानगरपालिका–१९ नम्बर वडाका राजनारायण पण्डितका अनुसार उनी १२ वर्ष विदेशमा बसे, तर राम्रो आम्दानी गर्न सकेनन् । उनले आफ्नै पुर्ख्यौली पेसालाई संरक्षण गर्ने सोच बनाए । एक वर्षदेखि उनी आफ्नै घरमा माटोको गिलास र माटोको कचौरा बनाउने काम गरिरहेका छन् ।
भारतबाट पाँच लाख रुपैयाँ खर्च गरेर माटो मिलाउने, काट्ने र भाँडा बनाउने मेसिन ल्याएको उनले बताए । काँचो माटोका भाँडा बनाइसकेपछि दाउराको भट्टीमा राखेर पकाइन्छ र उक्त भाँडा तयार हुन्छ । अब उनी विद्युतीय भट्टी जडान गर्ने तयारीमा छन् ।
राजनारायणले भने, ‘बजारमा माटोको भाँडाको माग छ । सरकारले हामीलाई अनुदानमा वा भन्सार छुटमा यस्ता मेसिन उपलब्ध गराइदियो भने आफ्नै ठाउँमा पुर्ख्यौली पेसाको संरक्षणसँगै मौलिकतालाई उजागर गर्न सकिन्छ र राम्रो आम्दानी पनि गर्न सकिन्छ ।’
राजनारायणका अनुसार माटोको भाँडामा मिथिला आकृति, मिथिला कला र संस्कृति झल्किने चित्र बनाएर बजारमा ल्याउन सके अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सकिन्छ । यसबाट रोजगारी बढ्ने र वैदेशिक रोजगारीमा जाने संख्या पनि घट्न सक्ने उनको भनाइ छ ।

जनकपुरधाम उपमहानगरपालिकाकै कपिलेश्वरका जोगी पण्डितका अनुसार माटोका भाँडाको माग धेरै भए पनि माग अनुसार उत्पादन गर्न सकिएको छैन । ‘माटो महँगो छ । एक ट्र्याक्टर माटोको चार हजारदेखि सात हजार रुपैयाँसम्म पर्छ । दाउरा र गुइँठा महँगो भएकाले भाँडा पकाउन समस्या हुन्छ । मजदुर ज्याला महँगो छ,’ उनले भने ।
जलेश्वर नगरपालिका–६ का रासविहारी पण्डितले यो पेसालाई सरकारले प्राथमिकता नदिएको गुनासो गरे । समयमा सिप, तालिम र प्रविधिको व्यवस्था गरियो भने माटोको भाँडा र कुम्हार समुदायको पुर्ख्यौली पेसाको संरक्षण र संवर्द्धन हुने उनको भनाइ छ ।
जनकपुरधाम उपमहानगरपालिका–२४ का जोगी पण्डितले बजारीकरणमा सरकारले सहजता प्रदान गर्नुपर्ने बताए । ‘हामीले आफ्नो उत्पादन फुटपाथमा, सडकको पेटीमा बेच्नुपर्छ । त्यसमा नगरपालिकाले जुनसुकै बेला उठाइदिने डर हुन्छ,’ उनले भने ।
सर्लाही, धनकौलका ७० वर्षीय जीवन पण्डितका अनुसार पहिला माटो निःशुल्क पाइन्थ्यो भने दाउरा पनि सस्तोमा भेटिन्थ्यो । अहिले माटो र दाउरा दुवै महँगो भएको उनले सुनाए ।
उनका अनुसार भारतको उत्तर प्रदेशमा सरकारले माटो र दाउरा निःशुल्क दिने व्यवस्था गरेको छ । त्यहाँका कुम्हार समुदायले राम्रो आम्दानी गरिरहेको उनको भनाइ छ । ‘हाम्रो सरकारले पनि सहयोग गरिदियो भने राम्रो हुन्थ्यो,’ उनले भने ।
अहिले मधेस प्रदेशका विभिन्न सहर बजारमा माटोका भाँडा, पानी पिउने मटका, गाग्रो र अन्य सामग्री बिक्री भइरहेको छ । पानी पिउने मटका तीन सयदेखि पाँच सय रुपैयाँसम्ममा बिक्री हुने गरेको छ ।
जनकपुरधाम–५ का स्थानीय पसले कैलाश साहले भने, ‘अहिले घरघरमा र कार्यालयमा मटका राख्ने चलन बढेको छ । ग्राहकहरू फ्रिजको पानीभन्दा मटकाको पानी स्वास्थ्यका लागि राम्रो मान्छन् । मोही, छाछ, घिउ र दही पनि माटोका भाँडामा राख्ने चलन बढ्दै गएको छ, तर मागअनुसार कुम्हारहरूले भाँडा दिन सकिरहेका छैनन् ।’

देशभर कुम्हार समुदायको संख्या ९५ हजार ७२४ छ । जसमध्ये मधेस प्रदेशमा ७२ हजार ४५४ कुम्हार समुदाय छन् ।
संस्कृतिविद् प्राध्यापक रामसागर पण्डितका अनुसार मधेस प्रदेशमा जन्मदेखि श्राद्धसम्म माटोको भाँडोलाई पवित्र मानिन्छ । माटोलाई जननी मानेर पूजा गर्ने चलन रहेको उनले बताए ।
उनले भने, ‘७०–८० वर्षअघि गाउँघरमा माटोको भाँडामा खाना पकाउने र खाने चलन थियो । आधुनिकताका कारण त्यो चलन हराउन थाल्यो, तर अहिले फेरि मानिसहरू मौलिकता खोज्दै माटोतर्फ फर्किरहेका छन् ।’
जनकपुरधाम–८ का चिया पसले जामुन दैनिक सात सयदेखि आठ सय कपसम्म चिया बेच्छन् । उनी माटोको कपमै चिया बेच्ने गर्छन् । ‘हामी पाँच रुपैयाँमा माटोको कप किन्छौँ । माटोको कपमा चिया ३० रुपैयाँमा बेचिन्छ भने कागजको कपमा २५ रुपैयाँ पर्छ, तर ग्राहकहरू माटोको कपमै चिया पिउन मन पराउँछन्,’ उनले भने ।
नवरङ होटलका सञ्चालक दिलीप साहका अनुसार पहिला कटिया हाउस जनकपुरमा एक दुई ठाउँमा थियो । अहिले प्रायः सबै होटल र रेस्टुरेन्टमा माटोका भाँडामा परिकार बनाउन थालिएको छ । चिया पसलमा पनि माटोको गिलास राख्न थालिएको छ ।

आइसक्रिम, लस्सी र दही पनि माटोका भाँडामा पाइन्छ । गर्मीमा माटोको भाँडाको प्रयोग बढी हुने व्यवसायी बताउँछन् ।
कर्मकाण्डी दिनेशचन्द्र मिश्रका अनुसार हिन्दु धर्ममा माटोका भाँडालाई पवित्र मानिन्छ। विशेषगरी मधेस प्रदेशमा र मिथिला क्षेत्रमा कुलदेवता, ग्रामदेवता, यज्ञ, मुण्डन, उपनयन र श्राद्धमा माटोका भाँडाको विशेष महत्त्व रहेको उनले बताए ।
जनकपुरधाम–१ का प्रमोद साहले माटोको गिलासमा चियाको स्वाद नै फरक आउने बताए । गर्मीको समयमा फ्रिजको पानी भन्दा मटकाको पानी पिउनु राम्रो हुने उनको भनाइ छ ।
जनकपुरधामका प्रादेशिक अस्पतालका वरिष्ठ चिकित्सक रामध्यान यादवका अनुसार माटोका भाँडा स्वास्थ्यका लागि लाभदायक छन् । ‘माटोको भाँडामा राखिएको पानी प्राकृतिक रूपमा चिसो हुन्छ । यसले घाँटी दुख्ने समस्या कम गर्छ । माटोमा क्याल्सियम, म्याग्नेसियम र फलामजस्ता खनिज तत्व हुन्छन्,’ उनले भने ।

माटोका भाँडा वातावरणमैत्री हुन्छन् । प्लास्टिक वा थर्मोकोलजस्तो माटोका भाँडाले प्रदूषण गर्दैनन् ।
मधेस प्रदेशका उद्योग, पर्यटनमन्त्री कानिश पटेलले माटोका भाँडाले मधेसको मौलिकता र संस्कृतिलाई चिनाउने बताए । यसलाई अझ व्यवस्थित गर्नका लागि सिप तालिम, बजारीकरण र अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने काममा प्रदेश सरकारले पहल गर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कान्ति लोकपथमा सवारी आवागमन पूर्ण रूपमा बन्द
-
बैंककमा भव्य रूपमा मनाइयो भानु जयन्ती, ‘भानु–२०८३’ सहित ४ साहित्यिक कृतिको लोकार्पण
-
छिन्नमस्ता शक्तिपीठ पहुँचमार्ग निर्माणमा ढिलाइ, तत्काल मर्मत गर्न गाउँपालिकाको माग
-
शङ्कास्पद गाडी तेर्स्याइनु लोकतन्त्रका लागि शुभसंकेत होइन: बाबुराम भट्टराई
-
शङ्कास्पद पार्किङ गरिएका ५ वटा गाडी जरिवाना गरेर चालकको जिम्मा
-
अनुमति लिएर लामो समयसम्म प्रगति नगरेका आयोजनाको अवस्था अध्ययन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण