विश्वकपमा केप भर्डे : सानो मुलुक, ठुलो मुटु
सारांश
- सानो मुलुक केप भर्डेले फुटबलको सबैभन्दा ठुलो मञ्च विश्वकपमा पहिलो पटक सहभागिता जनाउँदैछ।
- करिब ६ लाख जनसंख्या र ४ हजार वर्ग किलोमिटर क्षेत्रफल भएको केप भर्डे अफ्रिकी छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै समूह 'डी' मा शीर्ष स्थानमा रह्यो।
- विश्वकपमा स्पेन, उरुग्वे र साउदी अरेबियासँग खेल्ने केप भर्डेका प्रशिक्षक बुबिस्टा हुन्, जसलाई २०२५ मा 'कोच अफ द इयर' घोषणा गरिएको थियो।
काठमाडौँ । फुटबलको सबैभन्दा ठुलो मञ्चमा आफ्नो पहिलो उपस्थिति जनाउँदैछ सानो मुलुक केप भर्डे । अफ्रिकीस्तरमा धेरैपटक उत्कृष्ट प्रदर्शन गरिसकेको यो टापु राष्ट्र यस पटक विश्वकपमा नयाँ अध्याय लेख्न मैदानमा उत्रिँदै छ ।
अफ्रिकी महादेशका १० प्रतिनिधिमध्ये एकका रूपमा केप भर्डे उत्तर अमेरिकामा हुने २०२६ विश्वकपमा सहभागी हुँदै छ । नीलो सामुद्रिक पानी र सेता बालुवाका समुद्रतटका लागि प्रसिद्ध केप भर्डेले यस गर्मीमा भने फुटबल कारणले विश्वको ध्यान आकर्षित गर्दै छ ।
ऐतिहासिक छनोट यात्रा
एट्लान्टिक महासागरमा रहेका १० टापुहरूको समूह केप भर्डेले अफ्रिकी छनोट चरणमा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकपमा स्थान बनाएको हो ।
क्यामरुन र अंगोलाजस्ता बलिया टोली रहेको कठिन समूहमा केप भर्डेले १० मध्ये ८ खेल जित्यो । घरमै खेलेका पाँचै खेल जित्दै र एक गोल पनि नखाई उत्कृष्ट प्रदर्शन गर्नु नै उनीहरूको सफलताको प्रमुख आधार रह्यो ।
छनोट चरणको अन्तिम दिनसम्म केप भर्डे क्यामरुनभन्दा दुई अंकले अघि थियो । अन्त्यमा २३ अंकसहित समूह ‘डी’ मा शीर्ष स्थानमा रहँदै क्यामरुनलाई पछाडि पार्यो ।
करिब ६ लाख जनसंख्या र मात्र ४ हजार वर्ग किलोमिटर क्षेत्रफल भएको यो विश्वकपमा छनोट हुने सबैभन्दा साना राष्ट्रमध्ये एक हो । यसअघि कुराकाओ र आइसल्यान्डजस्ता साना देशहरू पनि विश्वकपमा पुगिसकेका छन् ।
केप भर्डेले ठुला प्रतियोगितामा खेलेको छ ?
केप भर्डेले अफ्रिका कप अफ नेसन्स (एएफसिओएन) मा चार पटक सहभागिता जनाएको छ । २०१३ मा पहिलो सहभागितामै क्वार्टरफाइनल पुग्नु उनीहरूको उत्कृष्ट प्रदर्शन रह्यो । २०२३ को संस्करणमा पनि टोलीले नकआउट चरणसम्मको यात्रा तय गर्यो ।
२०२२ विश्वकपका लागि उनीहरू अन्तिम चरणसम्म पुगे पनि छनोट हुन भने सकेका थिएनन् । केप भर्डे फिफा वरीयतामा ६९औँ स्थानमा छ ।
२०२६ विश्वकपमा समूह
केप भर्डे समूह ‘एच’ मा छ, जहाँ उसले स्पेन (२०१० च्याम्पियन), उरुग्वे (दुई पटकको विजेता) र साउदी अरेबियासँग खेल्नेछन् । सबै खेल संयुक्त राज्य अमेरिकामा हुँदै छन् ।
१५ जुनः स्पेन विरुद्ध केप भर्डे (एटलान्टा)
२१ जुनः उरुग्वे विरुद्ध केप भर्डे (मियामी)
२६ जुनः केप भर्डे विरुद्ध साउदी अरेबिया (ह्युस्टन)
को हुन् प्रशिक्षक को हुन् ?
टोलीका मुख्य प्रशिक्षक बुबिस्टा (पेड्रो लिटाटो ब्रिटो) हुन् । उनी पूर्व केप भर्डे राष्ट्रिय खेलाडी पनि हुन् । बुबिस्टाले २०२० देखि मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका छन् । उनको नेतृत्वमा टोलीले लगातार दुई अफ्रिका कप अफ नेसन्समा नकआउट चरणमा प्रवेश गर्दै ऐतिहासिक विश्वकप छनोट हासिल गरेको हो ।
उनको सफलताका कारण उनलाई २०२५ मा अफ्रिकन फुटबल कन्फेडेरेसन (सिएएफ) को ‘कोच अफ द इयर’ पनि घोषित गरिएको थियो ।
प्रमुख खेलाडीहरू
केप भर्डेको लागि छनोट चरणमा सबैभन्दा बढी गोल गर्ने खेलाडी डाइलोन लिभ्रामेन्टो हुन्, जसले ४ गोल गरेका थिए । अन्य महत्त्वपूर्ण खेलाडीहरूमा लोगोन कोस्टा, डिने, जामिरो मोन्टेइरो, विल्ली सेमेडो, कप्तान रायन मेन्डेस, गोलकिपर भोजिन्हा र डिफेन्डर रोबर्टो लोपेज छन् । टोलीका खेलाडीहरू पोर्चुगल, नेदरल्यान्ड्स र अमेरिकासहित विभिन्न देशमा खेलिरहेका छन् । कोस्टा स्पेनी क्लब भिल्लारियलमा आबद्ध छन् ।
तयारी र मैत्रीपूर्ण खेल
मार्चमा केप भर्डेले चिली र फिनल्यान्डसँग न्यूजिल्यान्डमा मैत्रीपूर्ण खेल खेलेको थियो । चिलीसँग ४–२ ले पराजित भए पनि फिनल्यान्डसँग पेनाल्टी सुटआउटमा ४–२ ले जित हासिल गर्यो ।
केप भर्डेबाट के अपेक्षा गर्न सकिन्छ ?
केप भर्डेलाई विश्वकपमा तुलनात्मक रुपमा कमजोर टोली –अन्डरडग) मानिए पनि उनीहरूलाई हल्का आँक्न मिल्दैन ।
अफ्रिकी छनोट चरणमा देखाएको उत्कृष्ट प्रदर्शनका कारण उनीहरू ‘जायन्ट किलर’ टोलीका रूपमा समेत चिनिन थालेका छन् ।
प्रशिक्षक बुबिस्टा भन्छन्, ‘हामी सानो मुलुक हौँ, तर केवल नक्सामा मात्र सानो... हाम्रो मुटु ठुलो छ ।’
केप भर्डेले अब विश्व फुटबलको सबैभन्दा ठुलो मञ्चमा यही आत्मविश्वासका साथ नयाँ इतिहास लेख्ने प्रयास गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण