साँघुरो चिडियाखानाका सुख-दुःख
सारांश
- नयाँ वर्ष २०८३ को पहिलो दिन जावलाखेलस्थित सदर चिडियाखानालाई झण्डै १८ हजारले अवलोकन गरेका छन् ।
- सरकारले बिदा दिन थालेपछि चिडियाखाना अवलोकन गर्नेको सङ्ख्यामा वृद्धि भइरहेको छ, जसले गर्दा गत आर्थिक वर्षमा करिब १८ करोड रुपैयाँ आम्दानी गरेको थियो ।
- साँघुरो क्षेत्रफल, वन्यजन्तुको व्यवस्थापन, घाइते वन्यजन्तुको उपचार र ट्राफिक व्यवस्थापन चिडियाखानाका मुख्य समस्या हुन् ।
काठमाडौँ । नयाँ वर्ष २०८३ को पहिलो दिन ललितपुर जावलाखेलस्थित सदर चिडियाखाना झण्डै १८ हजारले अवलोकन गरे । सरकारले आइतबार बिदा दिन थालेपछि चिडियाखाना अवलोकन गर्नेको सङ्ख्यामा पहिले भन्दा वृद्धि भइरहेको छ ।
सूचना अधिकारी गणेश कोइरालाका अनुसार अरू बेला दैनिक करिब एक हजार ८०० जनाले भ्रमण गर्थे । शनिबार पाँच हजारदेखि सात हजार र आइतबार तीन हजार ५०० देखि पाँच हजार जनाले चिडियाखाना अवलोकन गर्छन् । वर्षमा झण्डै १० लाखले अवलोकन गर्ने चिडियाखानामा पछिल्ला दिनहरूमा अवलोकनकर्ताको सङ्ख्यामा उल्लेख्य वृद्धि भइरहेको उनी बताउँछन् ।
‘चिडियाखानाले गत आर्थिक वर्षमा करिब १८ करोड रुपैयाँ आम्दानी गरेको थियो,’ उनी भन्छन्, ‘चालु आवमा २१ करोड रुपैयाँसम्म आम्दानी गर्ने अनुमान गरेका छौँ,’ कोइराला भन्छन् ।
यति ठुलो सङ्ख्यामा आन्तरिक पर्यटक भित्र्याउने चिडियाखानाका आफ्नै समस्या थुप्रै छन् । ११२ प्रजातिका १ हजार २७३ वन्यजन्तु राखिएको चिडियाखाना साँघुरो भएको छ । कुल क्षेत्रफल ६ हेक्टर भए पनि धेरैजसो ठाउँ मल्लकालीन पोखरीले नै ओगटेको छ ।
‘कुनै कुनै जनावरलाई ठाउँ साँघुरै भयो भन्ने लाग्छ । जङ्गलमा फराकिलो ठाउँमा उनीहरू निर्बाध घुमिरहेका हुन्थे,’ सूचना अधिकारी कोइराला भन्छन्, ‘यहाँ निश्चित ठाउँमा बस्नु पर्दा वन्यजन्तुहरूलाई गाह्रो भएको छ । व्यवस्थापन गर्न पनि चुनौती छ ।’ घाइते भएका वन्यजन्तुको उपचार र रेखदेखको काम अझै चुनौतीपूर्ण देखिन्छ ।

- ठाउँको अभाव र जीवजन्तुको व्यवस्थापन
धेरै जीवजन्तुलाई रेस्क्यु गरेर चिडियाखानामा ल्याइएको सूचना अधिकारी कोइराला बताउँछन् । कतिपय घाइते वा अपाङ्ग जनावरहरूको यहाँ उपचार गरिएको छ । ‘उनीहरूलाई फेरि जङ्गलमा छोड्दा बाँच्न नसक्ने अवस्था भएपछि यतै चिडियाखानामै व्यवस्थापन गर्छौँ,’ उनी भन्छन्, ‘तर यहाँ जीवजन्तु अनुसारको पर्याप्त ठाउँ नहुँदा उनीहरूलाई केही असहज महसुस हुन सक्छ, जसलाई हामी सुधार गर्दै लैजाने प्रयासमा छौँ ।’
हात्ती र गैँडालाई यहाँ विशेष हेरचाह गरिन्छ । ठुला जनावरका लागि ठाउँ मात्र होइन, दैनिक सक्रियता पनि उत्तिकै आवश्यक हुन्छ । हात्ती र गैँडालाई चौबीसै घण्टा थुनेर राखिँदैन । भिजिटर नभएको बेलामा उनीहरूलाई एक्सरसाइज गराइन्छ, हिँडाइन्छ । उनीहरूलाई स्वस्थ राख्न यो निकै महत्त्वपूर्ण विधि भएको कोइराला बताउँछन् ।
- वन्यजन्तुको सुरक्षा र सिकाइको संगम
काठमाडौँको मुटुमा रहेको जावलाखेलस्थित सदर चिडियाखाना केवल मनोरञ्जनको केन्द्र मात्र होइन, वन्यजन्तु संरक्षण र पर्यावरणीय शिक्षाको केन्द्र पनि बनेको छ । विगत २० महिनादेखि कार्यालय प्रमुखको जिम्मेवारी सम्हालिरहेका सत्यनारायण साह भन्छन्, ‘मैले संरक्षण क्षेत्रमा सिकेका अनुभवहरूलाई यहाँको व्यवस्थापनमा प्रयोग गरिरहेको छु । यो मेरो लागि एउटा नयाँ र चुनौतीपूर्ण अवसर हो ।’
साहका लागि चिडियाखाना व्यवस्थापन नयाँ क्षेत्र होइन । उनले यसअघि गौरीशङ्कर संरक्षण क्षेत्र (दोलखा–रामेछाप–सिन्धुपाल्चोक) मा करिब १० वर्ष र मनास्लु संरक्षण क्षेत्रमा दुई वर्ष बिताइसकेका छन् । उनले राष्ट्रिय प्रकृति संरक्षण कोषमा ३२ वर्षभन्दा लामो अनुभव सँगालेका छन् ।

साहका अनुसार चिडियाखाना वन्यजन्तु राख्ने थलो मात्र होइन, यो ‘कन्जर्भेसन एजुकेसन’ को एक पाठशाला हो । काठमाडौँ उपत्यकाका डेढ सय भन्दा बढी स्कुलमा ‘फ्रेन्ड्स अफ जु’ मार्फत कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । जनावरहरूको बारेमा मात्र होइन, तिनको वासस्थान र संरक्षणको महत्वबारे विद्यार्थीहरूलाई सचेत गराइरहेको उनी बताउँछन् । ‘यो कार्यक्रम पूर्णतः निःशुल्क छ, जसले वन्यजन्तु र मानवबिचको दूरी कम गर्न मद्दत गर्छ,’ कार्यालय प्रमुख साह भन्छन् ।
घाइते वा दुर्घटनामा परेका वन्यजन्तुको उद्धार र उपचार गर्नु चिडियाखानाको अर्को महत्त्वपूर्ण पाटो हो । यहाँ उपचार गरिएका धेरै जीवजन्तुलाई निको भएपछि पुनः प्राकृतिक वासस्थानमा फर्काइन्छ । ‘एनिमल वेलफेयर’ मा कुनै सम्झौता नगर्ने साहको दृढता छ ।
‘हामीले नेपाल सरकार र विभिन्न निकायहरूसँग मिलेर वन्यजन्तुको सुरक्षा र संरक्षणमा काम गरिरहेका छौँ, यो नै हाम्रो गौरव हो,’ साह भन्छन् ।

- ‘बाङ्गे गैँडा’ को वास्तविकता
केही भिजिटरले ‘बाङ्गे गैँडा’को फोटो र भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेर भाइरल बनाए । उपचार नगरेको भन्दै भाइरल बनाएको उक्त गैँडाको वास्तविकता भने अर्कै छ । ‘बाङ्गे’ नाम दिइएको गैँडाको १४ वर्षअघिको बेग्लै इतिहास छ । चितवन राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट गम्भीर घाइते भई उक्त गैँडाको खुट्टाको हड्डी नै निकाल्नु परेको थियो । यस्तो अवस्थाको जनावरलाई जङ्गलमा छोड्नु भनेको मृत्युको मुखमा धकेल्नु थियो । त्यसैले चिडियाखानामा राखियो । अहिले तौल बढ्दै जाँदा हिँडाइमा समस्या देखिएको छ । उसको नामै ‘बाङ्गे’ राखियो ।
‘कतिपयले बाङ्गेलाई देख्दा उपचार भएन भन्ठान्छन्, तर उसको निरन्तर उपचार भइरहेको छ,’ कोइराला भन्छन् ।
चिडियाखानामा पूर्णकालीन चिकित्सक (भेटेरिनरियन) हरूको टोली छ । उनीहरूले हरेक जीवजन्तुको स्वास्थ्य निगरानी गर्छन् । ‘बाङ्गे गैँडा’को समस्या उपचार नभएर होइन, पुरानो चोट र शारीरिक अवस्थाका कारण उत्पन्न भएको हो । चिडियाखानाले उपचार गरेकै कारण १४ वर्षसम्म जीवित रहन सफल भएको कोइराला बताउँछन् ।

- व्यवस्थापनको नयाँ मोडल ‘क्लिन जु, ग्रिन जु’
कार्यालय प्रमुख साहले चिडियाखानाको व्यवस्थापनलाई ‘क्लिन जु, ग्रिन जु’ को अवधारणामा अगाडि बढाएका छन् । सफा र हराभरा वातावरणले वन्यजन्तु र आगन्तुक दुवैलाई सकारात्मक ऊर्जा दिने उनको बुझाइ छ । विशेष गरी आगन्तुकको चापलाई व्यवस्थापन गर्न बिहान ७ बजेदेखि साँझ ७ बजेसम्मको ‘सन्ध्याकालीन जु’ सञ्चालन गरिएको छ, जसले भिडभाड कम गर्न र वन्यजन्तुको प्राकृतिक बानी–व्यवहारलाई बाधा नपुर्याउन सहयोग पुर्याएको छ ।
आगामी दिनमा चिडियाखानालाई एउटा सुन्दर गन्तव्य बनाउने साहको सपना छ । विशेष गरी बालबालिकालाई आकर्षित गर्न रेप्टाइल हाउस, एक्वेरियम र प्राणीहरुको प्राकृतिक व्यवहार बुझाउने कार्यक्रमलाई प्राथमिकता दिने उनको योजना छ । चिडियाखाना सबैको साझा सम्पत्ति भएकाले यसलाई सफा, हराभरा र सुरक्षित राख्नु सबैको दायित्व भएको साह बताउँछन् ।

- ट्राफिक व्यवस्थापन अर्को चुनौती
चिडियाखानाको अर्को मुख्य टाउको दुखाइको विषय ट्राफिक व्यवस्थापन हो । अवलोकनकर्ताका लागि पर्याप्त पार्किङ नहुँदा समस्या सिर्जना हुने गरेको छ । यसले अवलोकनकर्ताको सङ्ख्यामा पनि केही गिरावट ल्याएको छ । ‘ट्राफिक व्यवस्थापन’ र ‘पार्किङ’ मुख्य समस्या रहेको कार्यालय प्रमुख साह स्विकार्छन् ।
‘आजभोलि धेरैजसोले निजी साधन प्रयोग गर्छन्, जसले गर्दा पार्किङको अभावमा १० प्रतिशतसम्म अवलोकनकर्ता घटेको देखिन्छ,’ उनी भन्छन्, ‘यसको समाधानका लागि हामीले व्यवस्थापनमा निरन्तर सुधार गरिरहेका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–भारत सम्बन्ध ‘रिसेट’
-
परराष्ट्रमन्त्री खनालको चीन भ्रमण : ‘सन्तुलित कूटनीति’ मुख्य एजेण्डा
-
अबदेखि मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा उपत्यका बाहिर
-
अध्यादेशबाट पदाधिकारी हटाउने विवाद सम्बन्धी मुद्दा : सर्वोच्च बार र नेपाल बारबाट ८ जना 'एमिकस क्युरी' पठाइयो
-
चार निर्णय सुनाउँदै गृहमन्त्री गुरुङले भने– हरेक फाइल खोलिन्छ अब
-
गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहिएको विषय अध्ययन गर्न समिति गठन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण