विश्वकपमा ब्राजिलको बिजोग : एन्चेलोटीको रणनीतिमा कहाँ भयो गल्ती?
सारांश
- पाँच पटकको विश्वकप विजेता ब्राजिल नर्वेसँग पराजित भई प्रतियोगिताबाट बाहिरिएको छ।
- मुख्य प्रशिक्षक कार्लो एन्चेलोटीले खेलाडी छनोट, नेयमारमाथिको निर्भरता, मिडफिल्डको कमजोरी र चोटका कारण टोलीको प्रदर्शन प्रभावित भएको स्वीकारेका छन्।
- एन्चेलोटीले यस हारलाई अन्त्य नभई नयाँ चक्रको सुरुवात मानेका छन् र सुधारका लागि नयाँ योजना ल्याउने बताएका छन्।
न्युजर्सी । पाँच पटकको विश्वकप विजेता ब्राजिल नर्वेसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। अर्लिङ हालाण्डको गोल मद्दतमा नर्वेले ब्राजिललाई स्तब्ध बनाएपछि ब्राजिलको निराशाजनक बहिर्गमनको कारण खोजी हुन थालेको छ।
वास्तवमा उत्तर अमेरिकामा भएको यस विश्वकपमा ब्राजिलले राम्रो प्रदर्शन गर्नै सकेन। पाका खेलाडीहरूको बाहुल्य र तालमेल नमिल्दा टोलीले सफलता पाउन सकेन। टोलीले नतिजाका लागि प्रायः भिनिसियस जुनियरको भर पर्नु परेको थियो।
न्युजर्सीमा भएको अन्तिम १६ को खेलमा भोगेको हारपछि मुख्य प्रशिक्षक कार्लो एन्चेलोटीमाथि गम्भीर प्रश्न उठ्न थालेका छन्। एक वर्षअघि जिम्मेवारी सम्हाल्दा उनले ब्राजिललाई अन्तर्राष्ट्रिय फुटबलको शीर्ष स्थानमा फर्काउने अपेक्षा गरिएको थियो।
बाह्र महिनापछि इटालियन प्रशिक्षकको भविष्य संकटमा परेको देखिन्छ। ब्राजिलमा उनलाई बर्खास्त गर्नुपर्ने आवाज उठिरहेको छ। यद्यपि, प्रशिक्षक एन्चेलोटी आफैं भने यसलाई अन्त्य नभई ‘नयाँ चक्रको सुरुवात’ मान्छन्। पछाडि फर्केर हेर्दा उनले केही महत्त्वपूर्ण निर्णयमा गम्भीर गल्ती गरेको प्रस्ट हुन्छ।
तर २०२६ को विश्वकपमा ब्राजिलका लागि कहाँनिर गल्ती भयो त?
- पाका खेलाडीको बाहुल्य
ब्राजिलका धेरै समस्या एन्चेलोटीको खेलाडी छनोटसँग जोडिएको कुरा स्पष्ट छ। देशमा राम्रा युवा खेलाडीको विकल्प नदेखेपछि उनले पुराना र पाका खेलाडीलाई नै निरन्तरता दिएका थिए।
उनीहरूका तीन गोलकिपर क्रमशः ३३, ३२ र ३८ वर्षका थिए। प्रतियोगिताका लागि बोलाइएका डिफेन्डरहरूको औसत उमेर ३१ वर्ष थियो। यसमा युभेन्टसका पूर्व फुल–ब्याक डानिलो र एलेक्स सान्ड्रो पनि समावेश थिए। उनीहरू पुरानो पुस्ताका खेलाडी जस्ता लाग्छन्।

मिडफिल्डमा फेरि पनि ३४ वर्षीय क्यासेमिरोमाथि नै बढी भर परेको देखियो। लिभरपुलका पूर्व खेलाडी ३२ वर्षीय फाबिन्होले पनि प्रशस्त खेल्ने मौका पाए।
बर्नमाउथका १९ वर्षीय रायन र बोटाफोगोका २५ वर्षीय डानिलोले भविष्यका लागि केही आशा जगाएका छन्। तर ब्राजिलको निराशाजनक बहिर्गमनपछि एन्चेलोटीले टोलीमा नयाँ अनुहारको नितान्त आवश्यकता रहेको स्वीकारेका छन्।
‘हामीलाई केही युवा प्रतिभाको खाँचो छ। ब्राजिलियन फुटबलमा उच्च स्तरका खेलाडीहरू आउन जरुरी छ,’ इटालियन प्रशिक्षकले भने।
उनले अगाडि थपे, ‘यो राष्ट्रिय टोलीसँग निकै बलियो समूह छ। उत्कृष्ट खेलाडीहरूले निरन्तरता दिइरहेका छन्। अब केही नयाँ खेलाडीहरू टोलीमा आउन सक्छन्।’
- नेयमारमाथिको जुवा
पक्कै पनि अर्का एक पाका खेलाडीको टोलीमा सहभागिताले निकै चर्चा पायो। ती खेलाडी थिए, नेयमार। लगातारको चोटका कारण उनले अक्टोबर २०२३ यता कुनै खेल खेलेका थिएनन्। तर सञ्चारमाध्यम र समर्थकको चर्को दबाबपछि एन्चेलोटीले ३४ वर्षीय नेयमारलाई टोलीमा समावेश गरेका थिए।

नभन्दै सान्तोसका यी सुपरस्टारले विश्वकपको पूर्वसन्ध्यामै पिँडौलाको चोट बोके। जसका कारण उनी दुईदेखि तीन हप्ताका लागि मैदान बाहिर रहे। यसैले उनले समूह चरणका सुरुवाती दुई खेल गुमाउन पुगे। तेस्रो खेलमा स्कटल्याण्डविरुद्ध उनले बेन्चबाट आएर जम्मा १४ मिनेट मात्र खेल्न सके।
मियामीमा खेलेको त्यो छोटो समयमा उनी लयमा देखिएनन्। देशको हिरो मैदानमा फर्किएको भन्दा पनि कुनै बिदाइ खेल खेले जस्तो माहोल देखिएको थियो।
जापानविरुद्धको अन्तिम ३२ को रोमान्चक जितमा एन्चेलोटीले यी चर्चित फरवार्डलाई मैदानमा उतारेनन्। अन्तिम १६ मा नर्वेविरुद्ध जितको खोजीमा रहँदा उनलाई सब्स्टिच्युटका रूपमा अलि बढी समय दिइयो। खेलको अन्त्यतिर पेनाल्टीमार्फत सान्त्वना गोल गरे पनि नेयमार प्रभावहीन नै रहे। यो सम्भवतः उनको अन्तिम अन्तर्राष्ट्रिय खेल हुनेछ।
- गम्भीर कमजोरी
नेयमारको चोट र उनको न्यून सहभागिताले चेल्सीका जोआओ पेड्रोलाई बेवास्ता गर्ने निर्णय थप रहस्यमय बन्यो।
ब्राजिलका सर्वाधिक गोलकर्ता नेयमारलाई टोलीमा फर्काउँदा २४ वर्षीय पेड्रो प्रत्यक्ष मारमा परे। स्ट्यामफोर्ड ब्रिजमा आफ्नो पहिलो सिजनमै २९ गोल र असिस्टको योगदान दिए पनि उनलाई टोलीमा समावेश गरिएन।

धेरैले पेड्रो विश्वकप खेल्न जाने मात्र नभई ब्राजिलको नम्बर ९ को जर्सीमा सुरुवात गर्ने अनुमान गरेका थिए। उनको बहुमुखी प्रतिभाले उनलाई निकै उपयोगी आक्रामक खेलाडी बनाएको थियो। टोली घोषणा गर्दा एन्चेलोटीले समेत यी फरवार्डलाई टोलीमा पर्न लायक मानेका थिए। उनले भनेका थिए, ‘उनी सायद यो सूचीमा पर्न योग्य थिए।’
पाँच पटकको विजेताको विश्वकपबाट बहिर्गमनपछि अब लामो र पीडादायी समीक्षा हुने निश्चित छ। यस्तोमा चेल्सीका स्ट्राइकरलाई टोलीमा नराख्ने निर्णयमाथि बारम्बार प्रश्न उठ्नेछ।
ब्राजिलका लेजेन्ड रोनाल्डो नाजारियोले खेलपछि आफ्नो धारणा राखेका थिए। उनले भने, ‘मैले इमानदार हुनैपर्छ। मलाई लाग्छ, यो हारको सुरुवात बेन्चबाट लिइएका निर्णयहरूबाटै भएको हो। जोआओ पेड्रो किन यो टोलीमा परेनन्, मैले अझै बुझ्न सकेको छैन।’
उनले अगाडि थपे, ‘उनको सिजन उत्कृष्ट रह्यो, उनी लयमा छन्। ब्राजिललाई केही नयाँपन दिन सक्ने स्ट्राइकरको आवश्यकता थियो।’
- लथालिङ्ग मिडफिल्ड
छनोट गरिएको टोली र पुराना खेलाडीमाथिको अत्यधिक निर्भरताले ब्राजिलको मिडफिल्ड विशेष रूपमा कमजोर देखियो। खेल बनाउन र मैदानमा मिहिनेत गर्न ब्राजिलले न्युक्यासलका स्टार ब्रुनो गुइमारेसमाथि ठुलो भरोसा गरेको थियो।

एन्चेलोटीको सुरुवाती टोलीमा जम्मा पाँच जना सेन्ट्रल मिडफिल्डर थिए। यसमा मुख्यतया नम्बर १० को भूमिका खेल्ने लुकास पाक्वेटा पनि समावेश थिए। पछि घाइते राइट-ब्याक वेस्लेको स्थानमा म्यानचेस्टर युनाइटेड जान लागेका एडरसनलाई बोलाइएको थियो।
गुइमारेसले चुनौती स्वीकार गर्दै चार वटा असिस्ट दिए। तर उनलाई पर्याप्त साथ मिलेन। प्रशिक्षकले विकल्पहरूलाई पनि खासै विश्वास गरेनन्। उनले एडरसन र डानिलो दुवैलाई बेन्चबाट थोरै समय मात्र खेल्न दिए।
नर्वेसँगको हारपछि यी इटालियन प्रशिक्षकले ब्राजिलको मिडफिल्डमा ठुलो सुधारको आवश्यकता रहेको औँल्याएका छन्। उनले भने, ‘हामीले भविष्यको बारेमा सोच्नुपर्छ। मिडफिल्डमा हामीले केही खेलाडीहरू परिवर्तन गर्नुपर्ने कुरा एकदमै स्पष्ट छ।’
- जिम्मेवारी गलत व्यक्तिलाई?
नर्वेविरुद्ध पहिलो हाफमा गुइमारेसले प्रहार गरेको पेनाल्टी रोकिएको विषयलाई लिएर निकै तातो बहस भइरहेको छ।
त्यो एउटा निकै महत्त्वपूर्ण क्षण थियो। पछि ब्राजिल पछि पर्यो र खेलमा फर्किनै सकेन। त्यसैले त्यो पेनाल्टी नै निर्णायक साबित भयो।

प्रतियोगितामा देशको प्रमुख गोलकर्ता रहेको र व्यक्तिगत रूपमा राम्रो लयमा रहेका कारण भिनिसियसले पेनाल्टी हान्ने धेरैको अपेक्षा थियो। तर सबैलाई चकित पार्दै न्युक्यासलका कप्तान पेनाल्टी प्रहार गर्न अघि सरे।
एन्चेलोटीले पछि उक्त निर्णय पूर्ण रूपमा तथ्यांकमा आधारित रहेको खुलासा गरे। उनका अनुसार पेनाल्टी प्रहार गर्ने सूचीमा भिनिसियस निकै तल थिए।
‘हामीले खेलाडीहरूको तथ्यांक हेर्यौं। त्यसअनुसार राफिन्हा पेनाल्टी प्रहार गर्न सबैभन्दा उत्कृष्ट विकल्प थिए,’ उनले भने।
उनले थपे, ‘पहिलो रोजाइमा राफिन्हा र त्यसपछि नेयमार थिए। तर उनीहरू मैदानमा थिएनन्। त्यसपछि ब्रुनो गुइमारेसको पालो आउँथ्यो। ब्रुनोपछि ग्याब्रियल मार्टिनेली थिए। त्यसैले हामीले ब्रुनो गुइमारेसलाई छान्यौं। उनी नै उत्कृष्ट हुन्छन् भन्ने हामीलाई लाग्यो।’
- चोटको प्रभाव
विश्वकप अघि र विश्वकपको समयमा गरेको खेलाडी छनोटलाई लिएर एन्चेलोटीको आलोचना हुनु स्वाभाविक हो। तर उनले आफ्नो बचाउमा टोलीलाई कमजोर बनाउने केही बाध्यकारी परिस्थितिहरू देखाउन सक्छन्।
विश्वकप सुरु हुनुअघि र प्रतियोगिताकै दौरान लागेका चोटका कारण ब्राजिलको टोली निकै कमजोर बनेको थियो। यसमा कुनै शंका छैन। यसले गर्दा उनीहरूसँग उत्कृष्ट खेलाडीहरूको विकल्प निकै कम थियो।

टोली घोषणा हुनुअघि नै इडर मिलिसाओ, रोड्रिगो र एस्टेभाओ विलियन जस्ता खेलाडीहरू बाहिरिसकेका थिए। यसको अर्थ ब्राजिलले आफ्नो नियमित राइट–ब्याक र विंग्समा खेल परिवर्तन गर्न सक्ने दुई प्रमुख खेलाडी गुमाएको थियो।
ठुलो प्रतियोगिता सुरु हुँदा पनि उनीहरूको भाग्य बदलिएन। हामीले नेयमारको समस्याबारे चर्चा गरिसक्यौं, जुन लगभग निश्चित जस्तै थियो। तर राफिन्हा र पाक्वेटाले पनि ह्यामस्ट्रिङको चोट बोकेपछि एन्चेलोटीले थप दुई महत्त्वपूर्ण खेलाडी गुमाउनु पर्यो।
राफिन्हाले हाइटीविरुद्धको दोस्रो खेलको पहिलो हाफमै मैदान छाडे र त्यसपछि खेल्न सकेनन्। यता पाक्वेटा जापानविरुद्धको नकआउट खेलमा हाफ टाइममै मैदानबाट बाहिरिन बाध्य भए।
- ‘अन्त्य होइन, नयाँ सुरुवात’
एन्चेलोटीको दृष्टिकोणमा, यो ठुलो असफलता ब्राजिललाई अन्तर्राष्ट्रिय फुटबलको शीर्ष स्थानमा फर्काउने लामो र कठिन यात्राको पहिलो कदम हो।

यी प्रतिष्ठित इटालियन प्रशिक्षकले भने, ‘हार भनेको नयाँ यात्राको सुरुवात हो। हामीले सुधार गर्दै जानुपर्छ। नयाँ उपायहरू खोज्नुपर्छ। यो अन्त्य होइन, नयाँ चक्रको सुरुवात हो।’
उनले थपे, ‘हामी हाम्रो काममा नयाँ ऊर्जा ल्याएर र खेलाडीहरूको मूल्यांकन गरेर यो हारको सामना गर्नेछौं। हामी सुधार गर्ने र नयाँ योजनाहरू खोज्ने प्रयास गर्नेछौँ। हामीले यो वर्ष गरे जस्तै गर्नेछौं।’
अन्त्यमा उनले भने, ‘हामीले गरेको काम राम्रो छ भन्ने मलाई लाग्छ। फुटबल यस्तै हो। कहिलेकाहीँ तपाईंले हारको दुःख व्यवस्थापन गर्नुपर्ने हुन्छ। म यसमा अभ्यस्त छु।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
-
आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
-
३०८ केजी गाँजा बरामद
-
१२ बजे १२ समाचार : राजधानीमा सबैलाई स्तब्ध बनाउने घटना, महानगर प्रहरीले ‘ह्वील लक’ गर्दा अप्रिय स्थिति निम्तियो
-
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
-
गणेश नेपालीलाई थप उपचारका लागि दिल्ली लैजानेबारे छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण