सरकारले बल प्रयोग गरेर आवाज दबाउन खोज्यो : विश्वप्रकाश शर्मा
सारांश
- कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सरकारले समस्याको समाधान खोज्नुको साटो बल प्रयोग गरेर आवाज दबाउन खोजेको आरोप लगाएका छन् ।
- उनले सुकुमबासी बस्ती हटाएर होल्डिङ सेन्टरमा राखिएकाहरूको कष्टकर जीवन र युवाहरूले निराशाका कारण ज्यान त्याग्नेसम्मका कदम चाल्नुमा राज्यको भूमिका प्रमुख रहेको बताए ।
- शर्माले प्रधानमन्त्री र सरोकारवाला निकायहरूलाई समस्या समाधानका लागि सुकुमबासी र निराश युवाहरूको समीप पुग्न आग्रह गर्दै यसलाई मानवीय र राष्ट्रिय संकटका रूपमा सम्बोधन गर्नुपर्ने बताए ।
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारले समस्याको समाधान खोज्नुको साटो सरकारले बल प्रयोग गरेर आवाज दबाउन खोजेको बताएका छन् । शर्माले सोमबार सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश राख्दै सुकुमबासी बस्ती हटाएर होल्डिङ सेन्टरमा राखिएको विषय र गणेश नेपालीले आत्मदाह गरेको विषयमा टिप्पणी गर्दै त्यस्तो बताएका हुन् ।
काठमाडौँ उपत्यकाभित्रै विशेष गरी कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमबासीहरूको कष्टकर जीवन र पछिल्लो समय युवाहरूले निराशाका कारण जीवन त्याग्नेसम्मका कदम चाल्ने अवस्था आउनुमा राज्यको भूमिका प्रमुख रहेको उपसभापति शर्माले बताएका छन् ।
वर्षायाममा बासस्थानबाट विस्थापित गरिएका सुकुमबासीहरूका साना बालबालिका, सुत्केरी, र वृद्ध वृद्धाहरू होल्डिङ सेन्टरमा भोक र रोगको चपेटामा परेका भन्दै उपसभापति शर्माले आफ्नै देशमा शरणार्थी जस्तो जीवन बिताउन बाध्य यी नागरिकहरूका लागि सरकारले न्यूनतम मानवीय सहायता समेत उपलब्ध गराउन नसकेको आरोप लगाए ।
होल्डिङ सेन्टरमा रहेका नागरिकहरूको समस्या समाधानका लागि शान्तिपूर्ण रूपमा आवाज उठाउने र प्रश्न गर्ने युवाहरूलाई उल्टै प्रहरीले नियन्त्रणमा लिएको घटनाले स्थिति थप तनावग्रस्त बनेको शर्माको भनाइ छ।
शर्माले रोजगारीको अभाव, व्यवस्थापकीय कमजोरी र राज्यप्रतिको अविश्वासका कारण युवाहरूमा आशा मर्दै गएको र यो निराशा सिङ्गो समाजका लागि चिन्ताको विषय बनेको बताए।
उनले प्रधानमन्त्री र सरोकारवाला निकायहरूलाई सिंहदरबार र संसद्को घेराभन्दा बाहिर निस्केर प्रत्यक्ष रूपमा सुकुमबासी र निराश युवाहरूको समीप पुग्न आग्रह गरेका छन् ।
विगतमा व्यक्त गरिएका प्रतिबद्धताहरूलाई स्मरण गर्दै प्रधानमन्त्रीले ‘कोही पनि भोको रहने छैन’ र ‘कोही पनि सुकुमबासीले ज्यान गुमाउनु पर्ने छैन’ भन्ने व्यवहारिक सुनिश्चितता गर्नुपर्ने समय आएको शर्माले उल्लेख गरेका छन् । यो मुद्दालाई राजनीतिक खिचातानीको विषय नबनाई मानवीय र राष्ट्रिय सङ्कटका रूपमा लिएर तत्काल सम्बोधन गर्नुपर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ ११ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक स्थिति (प्रतिवेदनसहित)
-
सूत्र प्रणाली सुस्त हुँदा वित्तीय कारोबार प्रभावित, तत्काल सुधार गर्न आग्रह
-
शङ्कास्पद पार्किङ गरिएका १४ सवारी कारबाहीमा, रहस्य अझै खुलेन
-
झापाको बुद्धशान्तिमा पाँच परिवारलाई लालपुर्जा वितरण
-
बौलाहा खोलामा मोटरेबल पुल निर्माण
-
इटालीको राष्ट्रिय फुटबल टोली सम्हाल्न पेप ग्वार्डिओलामाथि नजर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण