मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
शङ्कास्पद पार्किङ प्रकरण

गाडी तेर्स्याउने क्षुद्र र बचकाना हर्कतबाट नेपाली जनता तर्सिन्नन्: नारायणकाजी श्रेष्ठ

मङ्गलबार, ३० असार २०८३, ०० : ३५
मङ्गलबार, ३० असार २०८३

सारांश

  • नारायणकाजी श्रेष्ठले सञ्चार गृह र प्रतिपक्षी नेताको घरअगाडि गाडी तेर्स्याउने कार्यलाई क्षुद्र र बचकाना हर्कत भनेका छन् ।
  • उनले यो कार्य विरोधको स्वर बन्द गर्न र अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गर्न गरिएको सांकेतिक धम्की भएको दाबी गरेका छन् ।
  • श्रेष्ठले लोकतान्त्रिक अधिकारका लागि ७ दशक लडेका नेपाली जनता यस्ता धम्कीबाट नतर्सिने भन्दै यस्ता हर्कत देशका लागि घातक हुने बताएका छन् ।

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले केही स्थापित सञ्चार गृहहरू र प्रतिपक्षी दलका नेताको घरको प्रवेशद्वार अगाडि सडकमा गाडी तेर्स्याउने कार्यलाई ‘क्षुद्र र बचकाना हर्कत’ को संज्ञा दिएका छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता श्रेष्ठले विरोध र आलोचनाको स्वर बन्द गर्न तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गर्नकै लागि यो सांकेतिक धम्कीको नाटक मञ्चन गरिएको दाबी गरेका छन् ।

उनले लेखेका छन्,‘यो क्षुद्र बचकाना हर्कतको उद्देश्य के हो ? प्रष्ट छ ,विरोध र आलोचनाको स्वर बन्द गर्न र अभिव्यक्ति स्वतन्त्रता माथि प्रहार गर्न नै यो सांकेतिक धम्कीको नाटक मञ्चन गरिएको हो ।नेपाली जनताले लोकतान्त्रिक अधिकारको लागि करिब ७ दशक बलिदानीपूर्ण संघर्ष गरेका छन् ।ती नेपाली जनता यस प्रकारको धम्कीबाट तर्सिन्छन् भन्ने कसैले नसोचे हुन्छ ।’

नेपाली जनताले लोकतान्त्रिक अधिकार प्राप्तिका लागि करिब ७ दशक लामो बलिदानीपूर्ण सङ्घर्ष गरेको स्मरण गराउँदै नेता श्रेष्ठले यस प्रकारको धम्कीबाट नेपाली जनता तर्सिन्छन् भन्ने कसैले सोचेको भए त्यो भूल हुने चेतावनी दिएका छन् । उनले जनताको परिवर्तनको आकांक्षाको अभिव्यक्तिको रूपमा प्रदर्शित जनादेशलाई केन्द्रमा राखेर यतिबेला सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा गुणात्मक ढङ्गले काम गर्नु पर्ने आवश्यकता औँल्याएका छन् ।

मुलुकले गुणात्मक काम खोजिरहेको यस्तो गम्भीर समयमा यस प्रकारको गैरजिम्मेवार र बचकाना हर्कत देखा पर्नु देशका लागि अत्यन्त दुःखद एवं घातक भएको श्रेष्ठको भनाइ छ । उनले यस्ता हर्कत गर्नेहरूलाई समयमै चेतना आओस् भनी सचेत समेत गराएका छन् ।

यसअघि सोमबार बिहानै देखि काठमाडौँका विभिन्न सञ्चारगृहहरू साथै कांग्रेस नेता गगन थापाको निवास र अनामनगरस्थित भाटभटेनी अगाडि शङ्कास्पद रूपमा गाडीहरू पार्किङ गरेर आवतजावत ठप्प पारिएको थियो ।  उक्त कार्यको सर्वत्र विरोध भइरहेका बेला कम्युनिस्ट नेता श्रेष्ठले पनि यस हर्कतको कडा शब्दमा निन्दा गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप