१० बजे १० समाचार : विश्वकप फुटबलको उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्दै, टेकुमा गोली चल्यो
आज २०८३ साउन ३ गते आइतबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा विश्वकप फुटबलको उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्दै, देउवा पक्षले अघि सा¥यो पाँच बुँदे प्रस्ताव, सरकारमाथि खनिए ओली, टेकुमा गोली चल्यो, बागमती सरकारबाट एमाले बाहिरिँदै, जनप्रतिनिधिमूलक ९५ पद रिक्त, नौ वटा स्थानीय सरकार बजेटविहीन लगायत छन् ।
१. विश्वकप फुटबलको उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्दै
विश्वकप फुटबलको उपाधिका लागि अर्जेन्टिना र स्पेनबिच केही घण्टापछि प्रतिस्पर्धा हुँदैछ । स्पेनले फ्रान्स र अर्जेन्टिनाले इंग्ल्याण्डलाई सेमिफाइनलमा पराजित गरी फाइनलमा स्थान सुरक्षित गरेका हुन् ।
२. देउवा पक्षले अघि सार्यो पाँच बुँदे प्रस्ताव
नेपाली कांग्रेसमा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले साउनभित्रै काठमाडौँमा राष्ट्रिय भेला गर्ने भएको छ । पार्टीभित्र देखिएको विवाद समाधानका लागि यो समूहले पाँच बुँदे प्रस्ताव अघि सारेको छ ।
३. सरकारमाथि खनिए ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको आलोचना गरेका छन् । मिटरब्याज पीडितलाई धोका दिएको, हत्या–हिंसा तथा आगजनीको जगमा यो सरकार बनेको ओलीको भनाइ छ ।
४. टेकुमा गोली चल्यो
काठमाडौँको टेकुमा आइतबार गोली चलेको छ । लागु औषध नियन्त्रण ब्यूरोको टोलीले गोली चलाउँदा एक जना घाइते भएका छन् । ब्यूरोको टोलीले घाइते एक जनासहित जम्मा तीन जनालाई नियन्त्रणमा लिएको छ ।
५. बागमती सरकारबाट एमाले बाहिरिँदै
बागमती सरकारबाट सत्ता साझेदार दल नेकपा एमाले बाहिरिने भएको छ । सोमबार सरकारबाट एमाले बाहिरिने एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले जनाए ।
६. जनप्रतिनिधिमूलक ९५ पद रिक्त
जनप्रतिनिधिमूलक विभिन्न ९५ पद रिक्त छन् । स्थानीय तह, प्रदेश सभा र राष्ट्रिय सभा गरी ती पद रिक्त भएका हुन् ।
७. वर्षाको प्रभाव
अविरल वर्षाका कारण आइतबार काठमाडौँका विभिन्न सडक जलमग्न भएको छ । उपत्यकाका नदीनालामा जल सतह बढेको छ भने वर्षाकै कारण विभिन्न सडक खण्डमा यातायात प्रभावित भएको छ ।
८. माधव नेपालसँग छलफलपछि प्रचण्डले प्रदेश सरकारबारे निर्णय लिने
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहसंयोजक माधवकुमार नेपालसँग छलफल गरेपछि मात्र प्रदेश सरकारबारे निर्णय लिने भएका छन् । विभिन्न प्रदेशमा कांग्रेस–एमाले गठबन्धन भत्किएपछि नेकपाले सरकारमा सहभागिताको अवसर पाउन लागेको छ ।
९. नौ वटा स्थानीय सरकार बजेटविहीन
नौ वटा स्थानीय तहले चालु आर्थिक वर्षका लागि बजेट ल्याउन सकेका छैनन् । असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट ल्याइसक्नु पर्ने भए पछि ९ वटा स्थानीय तहले आर्थिक वर्ष सुरु भएको ३ दिन बित्दासमेत बजेट टुंगो लगाउन नसकेका हुन् ।
१०. ‘हाइ प्रोफाइल’ धमाधम पक्राउ तर मुद्दाका लागि पुग्दैन प्रमाण
सरकारले ‘हाइ प्रोफाइल’लाई विभिन्न आरोपमा धमाधम पक्राउ गरे पनि अदालतमा मुद्दा अभियोजनका क्रममा प्रमाण नपुग्दा अदालतको आदेशअनुसार उनीहरू रिहा हुने गरेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण