कुनै शीर्ष नेतासँग भेटवार्ता भएको छैन : मुख्यमन्त्री आचार्य
सारांश
- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अहिलेसम्म कुनै शीर्ष नेतासँग भेटवार्ता नभएको बताएका छन् ।
- केन्द्रमा कांग्रेसले एमालेसँगको सहकार्य अन्त्य गर्ने निर्णय गरेपछि लुम्बिनीमा सत्ता समीकरण परिवर्तन हुने सम्भावनाबारे विभिन्न अड्कलबाजी भइरहेका छन् ।
- लुम्बिनी प्रदेशमा एमाले र माओवादी केन्द्रबिच नयाँ गठबन्धन बन्न सक्ने सम्भावना रहेको छ ।
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अहिलेसम्म कुनै शीर्ष नेतासँग भेटवार्ता नभएको बताएका छन् । नेपाली कांग्रेसले केन्द्रमा नेकपा (एमाले) सँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेपछि त्यसको प्रभाव प्रदेश सरकारमा पर्ने सम्भावनाबारे विभिन्न अड्कलबाजी भइरहेका बेला मुख्यमन्त्री आचार्यले सो कुरा बताएका हुन् ।
उनी आइतबार साँझ काठमाडौँ पुगेका छन्। रातोपाटीसँगको कुराकानीमा उनले हालसम्म कुनै पनि नेतासँग भेट नभएको बताए। ‘हेरौँ, अब को–कोसँग भेट हुन्छ। अहिलेसम्म कसैसँग भेट भएको छैन,’ उनले भने।
मुख्यमन्त्री आचार्यले सबै भेटघाट सार्वजनिक गरिरहन आवश्यक नरहेको पनि बताए । लुम्बिनी प्रदेशमा २०८१ साल साउनमा नेपाली कांग्रेस र एमालेबिच भएको सत्ता समीकरणअनुसार आचार्य मुख्यमन्त्री नियुक्त भएका थिए । केन्द्रमा कांग्रेसले एमालेसँगको सहकार्य अन्त्य गर्ने निर्णय गरे पनि लुम्बिनीमा भने कांग्रेस सकेसम्म वर्तमान सत्ता समीकरणलाई निरन्तरता दिने पक्षमा रहेको बताइन्छ।
यता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलङ्काबाट फर्किएपछि प्रदेश सरकारको नयाँ सत्ता समीकरणबारे एमालेसँग छलफल गर्ने तयारीमा रहेको चर्चा सुरु भएको छ।
एमालेका लुम्बिनी प्रदेश सभाका एक सदस्यले एमाले–माओवादी केन्द्रबिच नयाँ गठबन्धन बन्न सक्ने सम्भावना रहेको बताए । उनका अनुसार प्रदेश सभामा एमालेका २९ र माओवादी केन्द्रका १३ सांसद छन्। दुवै दल मिल्दा ४२ सांसद पुग्ने भएकाले सरकार गठनका लागि आवश्यक बहुमत जुट्ने अवस्था रहन्छ ।
यद्यपि, माओवादी केन्द्रबाट निर्वाचित सभामुख रहेकाले विश्वासको मत वा सरकार गठनसँग सम्बन्धित मतदानमा उनले प्रारम्भिक चरणमा मतदान गर्न नपाउने संवैधानिक व्यवस्था छ। त्यसकारण आवश्यक परे बहुमत सुनिश्चित गर्न साना दल वा स्वतन्त्र सांसदको समर्थन आवश्यक पर्न सक्ने आकलन गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण