शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

तस्करलाई नियन्त्रणमा लिन रौतहटमा हवाई फायर

आइतबार, २६ माघ २०७६, १० : २७
आइतबार, २६ माघ २०७६

रौतहट । रौतहटस्थित प्रहरीले हवाई फायर गरेर एकजना भारतीय तस्करलाई नियन्त्रणमा लिएको छ । उनको बयानको आधारमा ठूलो परिमाणमा केराउ बरामद गरिएको प्रहरीले जनाएको छ ।

विशेष सुराकीको आधारमा सिमावर्ती मठिया नाकाबाट शनिबार राति प्रहरीले यो सफलता हासिल गरेको हो ।

जिल्ला प्रहरी कार्यालय गौर र प्रदेश २ को संयुक्त टोलीले तस्करीको माध्यमबाट भारततर्फ लैजान लागिएको ७० बोरा केराउ बरामद गरेको र तस्करीमा संलग्न एक जनालाई नियन्त्रणमा लिइएको रौतहट प्रहरी प्रमुख एसपी रवीराज खडकाले बताए ।

प्रहरीका अनुसार शनिबार राति १२ बजेको समयमा मठिया गाउँ नजिकै करिब १५ जनाको संख्यामा भारतीय तस्कर जम्मा भएका थिए ।

प्रहरीको गस्ती टोलीलाई देखेर तस्करहरु भारततर्फ भाग्न लागेका थिए । सो क्रममा प्रहरी टोलीले चार राउण्ड हवाई फायर गरेर तस्करलाई नियन्त्रणमा लिने प्रयास गरे पनि तस्कर समूहमा रहेका भारत, बिहार राज्यको पूर्वी चम्पारण कुण्डवा चैनपुर घरभएका १८ वर्षीय सचिन गोसाइँलाई पक्राउ गरिएको र अन्य तस्कर भाग्न सफल भएको एसपी खडकाले जानकारी दिए ।

पक्राउ परेका गोसाइँको बयानको आधारमा भारतीय तस्करहरुले एकजना स्थानीयको घरमा भण्डारण गरेको ७० बोरा केराउ प्रहरी टोलीले बरामद गरेको हो ।

बरामद ३० क्वीन्टल केराउको भारतीय बजार मूल्य तीन लाख रुपैयाँभन्दा बढी रहेको प्रहरीको अनुमान छ ।

ईशनाथ नगरपालिका ४  मठिया गाँउ छेउहुँदै स्थानिय प्रहरीको मिलोमतोमा दैनिक ठुलो परिमाणमा तस्करी हुनेगरेको स्थानियको सुचनाको आधारमा प्रदेश २ का प्रहरी प्रमुख डिआईजी प्रधुमन कार्कीको निर्देशनमा जिल्ला प्रहरी कार्यालय गौर बाट बिषेश टोली परिचालन गरेको थियो।

पक्राउ परेका तस्कर गाँसाईको बयानको आधारमा तस्करीमा संलग्न अन्य तस्करको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

हाल केराउको नेपाल र भारतको बजारमुल्यमा ठुलो अन्तर रहेकाले नेपाल बाट तस्करीको माध्यमले भारत तर्फ राती राती केराउ गइरहेको पाईएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप