मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टपटेन’ समाचार

शुक्रबार, ०८ पुस २०७९, २० : ५७
शुक्रबार, ०८ पुस २०७९

आज मिति २०७९ साल पुस महिनाको ८ गते शुक्रबार । आज दिनभर भएका मुख्य मुख्य घटनाक्रमलाई रातोपाटीको रात्रीकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’मा प्रस्तुत गरिएको छ–

१. शोभराज डिपोर्ट

फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई नेपालबाट देश निकाला ‘डिपोर्ट’ गरिएको छ । ‘बिकिनी किलर’ भनेर चिनिएका चार्ल्स शोभराजलाई अध्यागमन विभागले डिपोर्ट गरेको हो । ‘उहाँलाई डिपोर्ट निर्णय गरेका छौं’ अध्यागमन विभागकी निमित्त महानिर्देशक प्रदर्शन कुमारीले रातोपाटीसँग भनिन्– ‘१० वर्ष नेपाल प्रवेश गर्न नपाउने निर्णय गरिएको छ ।’

२. नयाँ सरकार गठनको रस्साकस्सी

५ वर्षे कार्यकालका लागि पहिलो प्रधानमन्त्री कसले लिने भन्नेमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच ठोस सहमति जुट्न नसकेका बेला दोस्रो ठूलो दल नेकपा एमालेले सत्ता गठबन्धन भत्काउने र वैकल्पिक गठबन्धन बनाउने कसरतलाई तीव्रता दिएको छ ।

 त्यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि अन्य नेताहरूले समेत आन्तरिक भेटघाट र संवादमा सक्रियता बढाएका छन् । घोषित रुपमै हालको सत्ता गठबन्धन भंग हुनुपर्छ भन्ने मान्यता अघि सारेको एमालेले यदि त्यसो भएमा माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री मान्न समेत तयार भएको संकेत गरिसकेको छ ।

​यसैबीच शुक्रबार नै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ ।

यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । बालुवाटारमा शुक्रबार भएको भेटका क्रममा उनीहरूबीच सत्ता समीकरणबारे छलफल भएको थियो ।

यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्दै आएपनि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सकारात्मक भएका छैनन् । पार्टीभित्र तीव्र दबाब आएको भन्दै देउवाले   प्रधानमन्त्रीमा प्रचण्डलाई सघाउने प्रतिबद्धता जनाउन सक्ने अवस्था नरहेको बताएका छन् ।

​३. मुख्यमन्त्री पाण्डेद्वारा राजीनामा

दोहोरो भूमिकामा रहेका राजेन्द्रप्रसाद पाण्डेले बागमती प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । शुक्रबार प्रदेश प्रमुख समक्ष पाण्डेले राजीनामा बुझाएका हुन् । धादिङबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका पाण्डे प्रदेशको बहालवाला मुख्यमन्त्री रहेकै अवस्थामा बिहीबार प्रतिनिधिसभा सदस्यको शपथ लिएका थिए ।

​कर्णालीमा नेपाली कांग्रेस संसदीय दलको नेतामा मुख्यमन्त्री जीवनबहादुर शाही सर्वसम्मत भएका छन् ।  उनको विरुद्धमा दल नेतामा दाबी गरिरहेका राजीवविक्रम शाह पछि हटेपछि शाही सर्वसम्मत भएका हुन् ।

​४. विमानस्थलबाट सुन बरामद

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ किलो सुनसहित एकजना विदेशी नागरिक पक्राउ परेका छन् । विमानस्थल स्रोतका अनुसार पक्राउ पर्ने सुडानका नागरिक हुन् ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले चेकजाँच गर्दा उनको साथमा सुन फेला परेको हो । आरोपी फ्लाई दुबईको उडानमार्फत नेपाल आएका हुन् ।

काठमाडौंको ठमेलबाट लागुऔषध नियन्त्रण ब्यूरोले कोकिन कारोबार गर्ने दुईजना विदेशी महिलालाई पक्राउ गरेको छ । युक्रेन र थाइल्याण्ड घर भएका दुईजना महिलालाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एसएसपी विकासराज खनालले रातोपाटीलाई बताए ।

​५. राष्ट्र बैंकको निर्णय

मनि एक्सचेन्ज अर्थात् विदेशी मुद्रा विनिमय कारोबार गर्ने एजेन्टहरूले अब अनिवार्य प्रहरी रिपोर्ट बुझाउनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्था विभागले शुक्रबार मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०६७ तथा विदेशी विनियमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ लाई संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

​६. खेल समाचार

पहिलो संस्करणको नेपाल टी–२० क्रिकेट लिग प्रतियोगिताको विजेताले ५५ लाख नगद पुरस्कार पाउने भएका छन् ।  शुक्रबार काठमाडौंमा नेपाल क्रिकेट संघ (क्यान) ले पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी गराएको हो ।

प्रतियोगिताको उपविजेताले ३० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने तेस्रो स्थान हासिल गर्ने टिमले १० लाख र चौथोले ५ लाख रुपैयाँ पुरस्कार पाउने क्यानले जनाएको छ । प्रतियोगिताको प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने क्यानले जनाएको छ । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउनेछन् ।

​७. शपथ विवाद

मधेसी आयोगले मधेसी भाषा विवादको विषयमा संघीय संसद्को सचिवालयलाई स्पष्टीकरण सोधेको छ । जनमत पार्टीका अध्यक्ष डा सिके राउतसहित केही सांसदलाई कुन आधारमा मधेसी भाषामा शपथ लिन मान्यता दिएको भनी आयोगले सचिवालयलाई स्पष्टीकरण सोधेको छ ।

​८. अख्तियार सर्वोच्चमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट भएको फैसला उपर चित्त नबुझेको भन्दै विभिन्न चार वटा मुद्दालाई सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।

९. छुटेकाको शपथ

बिहीबार प्रतिनिधि सभा सदस्य पदको सपथ लिन छुटेका २ सांसदले शपथ लिएका छन् । संघीय संसद सचिवालय सिंहदरबारमा प्रतिनिधि सभाका जेष्ठ सदस्य पशुपति शमशेर राणाबाट नेपाल समाजवादी पार्टीका सांसद महेन्द्र राय यादव र माओवादी केन्द्रका सांसद रामकुमार राईले सपथ लिएका हुन् । यादव माओवादीको चिन्ह हँसिय हथौडाबाट चुनाव लडेका थिए ।

​१०. र, यो पनि...

नेपाल विद्यार्थी संघ (नेविसंघ) ले कांग्रेस सभापति शेरबहादुर देउवालाई दुई बुँदे पत्र पठाउँदै नेविसंघ जिल्ला अध्यक्षको जिम्मेवारी दिँदाको विषयलाई स्पष्ट पार्न आग्रह गरेको छ ।

थप समाचार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप