शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
कृषि

तरकारीमा बढ्दो परनिर्भरता : सवा १ अर्बको ताजा तरकारी आयात

छैन सरकारी अनुदान, तरकारी भन्दा बीउमा झनै बढी परनिर्भर
शुक्रबार, १५ वैशाख २०८०, १३ : ३७
शुक्रबार, १५ वैशाख २०८०

काठमाडौँ । माग अनुसारको उत्पादन नहुँदा नेपालमा अर्बाैँ रुपैयाँको ताजा तरकारी आयात हुने गरेको छ। हरेक वर्ष गोलभेँडा, बन्दा, काउली, ब्रोकाउली, मुलालगायत ताजा तरकारी आयातको ग्राफ बढ्दै गएको छ । केन्द्रीय भन्सार विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा गरी कुल ८५ हजार सात सय ३५ मेट्रिक टन बराबरको एक अर्ब ३० करोड २८ लाख ११ हजार रुपैयाँको ताजा तरकारी आयात भएको छ । 

गत आर्थिक वर्षमा ४७ हजार ७ सय ६१ मेट्रिक टन बराबरको कुल ६३ करोड ५० लाख ५२ हजारको ताजा तरकारी आयात भएको थियो। त्यसैगरी, चालु आर्थिक वर्षमा ३७ हजार ९ सय ७४ हजार मेट्रिक टन बराबरको ६६ करोड ७७ लाख  ५९ हजार रुपैयाँको ताजा तरकारी आयात भएको छ । 

गत वर्षको तुलनामा चालु आर्थिक वर्षको नौ महिनामै करिब तीन करोड भन्दा बढीको तरकारी आयात भएको देखिन्छ। 

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७७/७८ मा ताजा तरकारी बालीहरूमध्ये काउली, बन्दा, ब्रोकाउली, गोलभेँडा तथा मुलालगायत कुल कुल २ लाख ८४ हजार हेक्टर क्षेत्रफलमा तरकारी बाली लगाइएकोमा ३९ लाख ९३ हजार मेट्रिक टन तरकारी उत्पादन भएको छ । सरदरमा उत्पादकत्व १४.०५ मेट्रिक टन प्रतिहेक्टर रहेको छ । आर्थिक वर्ष २०७६/७७ भन्दा उत्पादन ०.७८ प्रतिशतले बढेको छ ।

सरकारले ताजा तरकारीका लागि हरेक वर्ष प्राथमिकता दिँदै आएको र अहिले उत्पादन पनि बिस्तारै बढ्दै गएको राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रका प्रमुख वासुदेव काफ्लेले बताए । प्रदेश सरकार र स्थानीय सरकारले पनि ताजा तरकारी उत्पादन कार्यक्रम प्राथमिकतामा राख्नुपर्ने उनको सुझाव छ । सरकारले किसानलाई प्राथमिकता दिनुपर्छ। उनले भने, ‘अनि मात्र उत्पादन बढाएर निर्यात प्रतिस्थापन गर्न सकिन्छ ।’

यहाँ केही ताजा तरकारीको आयात परिणाम र उत्पादनबारे जानकारी समेटिएको छ । 

बन्दा 

अस्ट्रेलिया, चिली, चीन, जापान, इटाली, दक्षिण कोरिया, न्यूजील्याण्ड, थाइल्यान्ड, अमेरिकाबाट बन्दाको बिउ आयात हुन्छ भने भारतबाट रातो बन्दा र अन्य बन्दा आयात हुने गरेको छ । 

रातो बन्दा र अन्य बन्दा गरी गत आर्थिक वर्षमा ५४ मेट्रिक टन बराबरको १३ लाख २४ हजारको आयात भएको थियो । चालु आर्थिक वर्षको चैतसम्म ७५ मेट्रिक टन बराबरको १४ लाख ८० हजारको बन्दा आयात भएको छ। 

राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रका अनुसार आर्थिक वर्ष २०७७/७८ मा २९ हजार ६ सय ९३ हेक्टर क्षेत्रफलमा ४ लाख ९३ हजार ९ सय ९६ मेट्रिक टन बन्दा उत्पादन भएको थियो । 

काउली 

गत आर्थिक वर्षमा एक सय ४३ मेट्रिक टन बराबरको २४ लाख ४१ हजारको काउली तथा ब्रोकाउली आयात भएको थियो । चालु आर्थिक वर्षको चैत सम्ममा ३३ मेट्रिक टन बराबरको पाँच लाख ४१ हजार रुपैयाँको काउली आयात भएको छ । 

केन्द्रका अनुसार आर्थिक वर्ष २०७७/७८ मा ३७ हजार ९ सय ६९ हेक्टर क्षेत्रफलमा ५ लाख ५७ हजार ४ सय ५ मेट्रिक टन काउली र ब्रोकाउली उत्पादन भएको थियो।

गोलभेँडा

गत आर्थिक वर्षमा ४७ हजार ५६३ मेट्रिक टन बरबरको ६३ करोड १२ लाख चार हजार रुपैयाँको ताजा गोलभेँडा आयात भएको थियो । त्यसैगरी, गोलभेँडाको केचप र अन्य सस गरी कुल १५ करोड ८० लाख ४४ हजार रुपैयाँको आयात भएको थियो । 

त्यसैगरी, चालु आर्थिक वर्षमा ३६ हजार सात सय ८२ मेट्रिक टन बराबरको ४८ करोड ४९ लाख ६६ हजार रुपैयाँको ताजा गोलभेँडा आयात भएको छ । 

आर्थिक वर्ष २०७७/७८ मा २२ हजार ८ सय हेक्टर क्षेत्रफलमा ४ लाख ३२ हजार ६ सय १६ मेट्रिक टन गोलभेँडा उत्पादन भएको थियो। 

मुला 

मुलामा भने नेपाल आत्मनिर्भर देखिन्छ ।  मुलाको बीउमा भने परनिर्भर छ । गत आर्थिक वर्षमा पाँच करोड १९ लाख ३७ हजार रुपैयाँको मुलाको बीउ आयात भएको थियो। 

चालु आर्थिक वर्षमा १८ मेट्रिक टन बराबरको चार करोड ८४ लाख नौ हजार रुपैयाँको मुलाको बीउ आयात भएको छ। 

आर्थिक वर्ष २०७७/७८ मा १६ हजार ६ सय ४१ हेक्टर क्षेत्रफलमा दुई लाख ५६ हजार ४ सय ५२ मेट्रिक टन मुला उत्पादन भएको थियो । 

बीउ आयात 

नेपालमा उन्नत बीउ विजन उत्पादन गर्न नसक्दा वार्षिक अर्बौँ रुपैयाँ बाहिरिने गरेको छ । 

यहाँ चिली, इटाली, अस्ट्रेलिया, चीन, जापान, दक्षिण कोरिया, भारत, ताइवान, थाइल्यान्ड, अमेरिकाबाट बन्दा, काउली तथा ब्रोकाउली, मुला र गोलभेँडाको बीउ आयात हुने गरेको छ । 

यहाँ बीउ उत्पादन गर्ने सम्भावना भएता पनि सरकारले हरेक वर्ष तीन खर्ब भन्दा बढीको कृषिजन्य वस्तुको आयात गर्दै आएको छ ।

विभागको तथ्याङ्कअनुसार नेपालमा बन्दा, काउली तथा ब्रो काउली, मुला र गोलभेँडा गरी गत आर्थिक वर्षमा ३२ करोड ५४ लाख ७२ हजारको बिउ आयात भएको थियो। चालु आर्थिक वर्षमा २४ करोड १० लाख २२ हजार रुपैयाँको बीउ आयात भएको छ। 

जसमा सबैभन्दा बढी काउलीको बीउ आयात भएको छ। गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा काउली २५ करोड ३३ लाख ३५ हजार, बन्दा ११ करोड ३० लाख ७८ हजार, मुला १० करोड तीन लाख ४८ हजार र गोलभेँडा ९ करोड ९७ लाख ३३ हजारको रुपैयाँको बीउ आयात भएको छ। 

रुकुम, रोल्पा, प्युठान, म्याग्दी, पर्वत, दैलेख र बागलुङ तरकारीको बीउका लागि एकदम उर्वर ठाउँ भएको र यसमा सरकारले ध्यान नदिएको राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रका प्रमुख वासुदेव काफ्लेको भनाई छ ।

बीउमा सरकारी अनुदान नहुँदा किसानले बीउमा भन्दा बढी तरकारी खेतीमा जोड दिएका छन् । काफ्लेका अनुसार बीउ उत्पादनमा लामो समय लाग्ने तर थोरै पैसा आउने हुँदा किसानले बीउ उत्पादन गर्न छाडेको छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डुक्पा छिरिङ मोक्तान
डुक्पा छिरिङ मोक्तान
लेखकबाट थप