शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भारत : पार्टी कार्यालयभित्र छिरेर नेताको हत्या, बडीगार्ड पनि घाइते

शुक्रबार, ०८ असार २०८०, १३ : २२
शुक्रबार, ०८ असार २०८०

पश्चिम बङ्गालमा पञ्चायत चुनावको घोषणापछि सुरु भएको हिंसाको सिलसिला रोकिने छाँटकाँट छैन । ताजा घटनामा बिहीबार राती अज्ञात समूहले पुरुलिया जिल्लाको आद्रामा पार्टीको टाउन समितिका अध्यक्ष धनंजय चौबेको पार्टी कार्यालयमा छिरेर गोली हानेको छ । गोली लागेपछि उनको मृत्यु भएको छ ।

चौबेको बडीगार्डलाई पनि गोली लागेको छ । हाल उनको दुर्गापुरको अस्पतालमा उपचार भइरहेको छ । पुरुलियाका प्रहरी अधीक्षक अभिजित बनर्जीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । प्रहरीले यो घटनाको सिलसिलामा कांग्रेस उम्मेदवारसमेत दुई जनालाई पक्राउ गरेको छ ।

पुरुलियामा टिएमसी समर्थकले हत्याको विरोधमा सडकमा प्रदर्शन गरिरहेका छन् । पञ्चायत चुनावको घोषणापछि चुनावी हिंसामा भएको यो नवौँ मृत्यु हो । तृणमूल कांग्रेसले यसलाई राजनीतिक हत्या बताउँदै यसका लागि भाजपालाई जिम्मेवार बताएको छ ।

तर भाजपाले आरोप अस्वीकार गर्दै यसलाई टिएमसीको आपसी कलहको नतिजा भएको बताएको छ । प्रत्यक्षदर्शीका अनुसार चौबे आफ्ना बडीगार्ड र ड्राइभरसँग सहरको भिडभाडयुक्त इलाका स्थित पार्टी कार्यालयमा बसिरहेका बेला मोटरसाइकलमार्फत त्यहाँ पुगेका तीन युवकले नजिकैबाट उनीमाथि अन्धाधुन्ध गोली प्रहार गरे । 

उनलाई पाँच वटा गोली लागेको थियो । उनका बडीगार्ड शेखर दासलाई पनि पेटमा गोली लागेको छ । हमलाकर्ता घटनास्थलबाट भाग्न सफल भएका छन् । यो घटनापछि इलाकामा आतङ्क फैलिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप