आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण कहिले ?

बिहीबार, ११ साउन २०८०, १५ : ३८
बिहीबार, ११ साउन २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणबारे चर्चा चलेको लामो समय भए पनि मिति तोकिएको छैन । आगामी सेप्टेम्बरमा भ्रमण गर्ने गरी तयारी चलिरहेको बताइएको छ ।

पहिलो विदेश भ्रमणका रुपमा भारत भ्रमण गरेका प्रधानमन्त्री प्रचण्ड हाल इटालीको भ्रमणमा छन् । उनी शुक्रबार १० बजे स्वदेश फर्किदैछन् । उनी इटालीबाट फर्केपछि चीन भ्रमणको तयारी तीब्र हुने बताइएको छ ।

परराष्ट्रमन्त्री एनपी साउदले आगामी सेप्टेम्बरमा प्रधानमन्त्री प्रचण्डले चीनको औपचारिक भ्रमण गर्ने बताइसकेका छन् । प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको तयारी चलिरहँदा हालै चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय राजनीतिक ब्युरो सदस्य तथा चोककिङ नगर कमिटीका सचिव युआन च्या च्युनले नेपालको भ्रमण गरी फर्किसकेका छन् । उनले प्रचण्डको चीन भ्रमणको बारेमा प्रधानमन्त्री प्रचण्डदेखि लिएर परराष्ट्रमन्त्री साउदसँग समेत छलफल गरेर फर्केका छन् ।

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री साउद पनि चीन जाने तयारी गरिरहेको परराष्ट्र स्रोतले जनाएको छ । उनी जुलाईको अन्तिम वा अगस्तको पहिलो हप्ता चीन भ्रमणमा जाने बुझिएको परराष्ट्र मन्त्रालय स्रोतले दाबी गरेको छ ।

मन्त्री साउदले चीनको भ्रमण गरेपछि प्रधानमन्त्रीको भ्रमण सम्बन्धी कार्यक्रम ठोस रुपमा अगाडि बढ्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयका एक सदस्यले पनि इटालीबाट फर्केपछि प्रधानमन्त्रीको चीन भ्रमणको तयारी सुरु हुने बताए ।

२०६५ मा प्रचण्ड पहिलो पटक प्रधानमन्त्री बनेपछि उनले आफ्नो विदेश भ्रमण चीनबाट सुरु गरेका थिए । त्यो भ्रमण विवादमा तानिएपछि चीनबाट फर्कने क्रममै उनले एयरपोर्टमा भनेका थिए, ‘ओलम्पिक खेलको समापन कार्यक्रममा सहभागी हुन चीन गएको हुनाले चीन भ्रमण अनौपचारिक हो, पहिलो औपचारिक भ्रमण भारत नै हुन्छ ।’

त्यसपछि प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री हुँदा २०७५ भदौमा पहिलो विदेश भ्रमण भारतबाटै गरेका थिए तर त्यतिबेला पनि चीनले उनको पहिलो भ्रमण आफ्नो देशबाट गराउन खोजेको थियो । यद्यपि त्यतिबेला प्रचण्डले २०६५ को जस्तो ‘जोखिम’ लिन चाहेनन् । उनले पहिले भारत भ्रमण गरे, लगत्तैै चीनको भ्रमण पनि गरे । त्यतिबेला उनले भारत र चीनलाई सन्तुलनमा राख्न प्रयास गरेका थिए ।

यसपटक पनि उनी प्रधानमन्त्री बनेको ६ महिना नबित्दै भारत भ्रमण गरिसकेका छन् । जबकि प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि विदेश भ्रमणको पहिलो निम्तो चीनबाट आएका थियो । त्यसको खुलासा स्वयं प्रचण्डले राष्ट्रियसभाको बैठकबाट गरेका थिए ।

नेपालका लागि चिनियाँ राजदूतले आफूसँग त्यस बेलाको नेपालका आन्तरिक घटनाक्रमहरू देखाउँदै एउटा सम्मेलनका लागि गरिएको सो भ्रमणमा आफ्नो सहभागिता उपयुक्त हुन नसक्ने ठानेर अर्को उपयुक्त मितिमा भ्रमण गर्नुपर्ने सुझाव दिएको प्रचण्डको भनाइ थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप