शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका शीर्ष १० समाचार

मङ्गलबार, २६ मङ्सिर २०८०, २१ : ०२
मङ्गलबार, २६ मङ्सिर २०८०

आज मिति २०८० साल मंसिर महिनाको २६ गते मंगलबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–

संघीय सरकारलाई काउन्टर

संघीय निजामती कर्मचारी ऐन जारी नभएको अवस्थामा संघीय सरकारलाई काउन्टर दिँदै बागमती प्रदेश सरकारले १२ जना कर्मचारीलाई सचिवमा बढुवा गरेको छ । प्रदेश सरकारले संघीय सरकारलाई काउन्टर दिँदै प्रदेश निजामती कर्मचारी सेवा ऐन २०७९ को कार्यान्वयन गरेर १२ जना कर्मचारीलाई सचिव पदमा बढुवा गरेको हो ।

मधेसीको कोटा घटाइयो

कोशी प्रदेशसभाबाट प्रदेश निजामती सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक २०८० पारित भएलगत्तै मधेसीको कोटा जनसंख्याको आधारमा नराखिएको भन्दै असन्तुष्टि सुरु भएको छ ।

लोक सङ्गीतमा कुनै बन्धन वा छेकथुन हुँदैन

श्री ३ वीरशमशेरले सामवेदको यज्ञ गर्ने भए । यसका लागि विद्वान् व्यक्ति को छ भनी खोज्दा पं. देवचन्द्र रेग्मी (१९२६–१९८४) को नाम वीरशमशेरको कानमा पुग्यो । देवचन्द्रले बनारसमा प्रसिद्ध सितार तथा विनवादक पं. पन्नालाल नागरसँग १८ वर्षसम्म सङ्गीतको शिक्षा लिएका थिए । आफूले भनेजस्तो व्यक्ति (देवचन्द्र) पाएपछि काशीबाट झिकाएर वीरशमशेरले यज्ञ सम्पन्न गरे । 

 सेनालाई घाँडो 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अघिल्लो कार्यकालमा राष्ट्रका नाममा सम्बोधन गर्दै काठमाडौँतराई÷मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) सडक आयोजना निर्माणको कामलाई राजनीतिक दाउपेचसँग जोडेका थिए । २०७४ जेठ १४ मा शिलान्यास गरेका उनले भनेजस्तै फास्ट ट्रयाकमा साँच्चिकै राजनीतिक दाउपेच नै हाबी भएको हो त भन्ने प्रश्न यसको निर्माणमा भइरहेको ढिलासुस्तीले उब्जाएको छ ।

उखुको न्यूनतम समर्थन मूल्य

 सरकारले समयमै उखुको न्यूनतम समर्थन मूल्य नतोक्दा किसान समस्यामा पर्ने गरेका छन् । बाली उत्पादन हुनु अगावै मूल्य निर्धारण हुनुपर्नेमा उखु बालीका सन्दर्भमा किसानले बाली भित्र्याउँदासमेत मूल्य निर्धारण हुन सकेको छैन ।

ईः विरुद्ध नै ललितपुरका स्थानीयको प्रदर्शन

ललितपुरका स्थानीयले सामाजिक अभियन्ता 'ईः' का विरुद्ध नै प्रदर्शन गरेका छन् । फुटपाथमा व्यापार गर्न नदिने ललितपुर महानगरपालिकाको ध्यानाकर्षण गराउन १०८ मिनेट उभिने निर्णय गरेको 'ईः' का विरुद्ध स्थानीय नै विरोधमा उत्रिएका हुन् ।

नासुलाई ‘छुटाउँछौँ’ भनेर करिब १ करोड ठगी

इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर चीनबाट ल्याएको सुन तस्करी प्रकरणमा थुनामा रहेका नायव सुब्बालाई ‘छुटाईदिन्छौं’ भनेर दुई जनाले करिब १ करोड ठगी गरेका छन् । ठगीमा संलग्न आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर घर भएकी २६ वर्षीय रितु राई र बर्दिया घर भएका २१ वर्षीय निरेश चौधरी छन् ।

पाण्डेको सिफारिस राष्ट्रपति कार्यालयको ‘मुल्तबी’मा

संघीय संसदका महासचिव भरतराज गौतमको कार्यकाल बाँकी छँदै आएको आकस्मिक राजीनामा र लगत्तै नयाँ महासचिवका लागि प्रतिनिधि सभाका बहालवाला सचिव पद्मप्रसाद पाण्डेको नियुक्तिको सिफारिसलाई आशंकाका बिच हेरिएको बेला पाण्डेको सिफारिस राष्ट्रपति कार्यालयमा मुल्तबीमा परेको छ ।

ओली पहिचानवादीसँग ‘लचक’

कोशी प्रदेश नामकरणको विरोधमा आन्दोलनरत पक्षसँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अचानक ‘लचक’ बनेका छन् । मङ्सिर १४ गतेबाट एमालेले सुरु गरेको मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत सङ्कल्प यात्राका क्रममा मंगलबार कोशी प्रदेश प्रवेश गरेका ओली ओखलढुंगाको हर्कपुरमा आयोजित सभामा बोल्दै पहिचान पक्षधरसँग लचक बन्न पुगेका हुन् ।

राष्ट्रिय सभा निर्वाचन

माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धन दलहरू आन्तरिक गृहकार्यमा जुटिरहेको बेला राष्ट्रिय सभा अध्यक्षमा माओवादी केन्द्रले पनि दाबी गर्ने भएको छ । आगामी फागुन २० गते राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र १९ जना सदस्य ६ वर्षे कार्यकाल पूरा गरी बहिरिँदैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप