बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

दिनभरका शीर्ष समाचार : बालकृष्णसँग धरौटी माग, कोइरीलाई सफाइ–अभिरामलाई जन्मकैद

बिहीबार, २८ मङ्सिर २०८०, २२ : ३७
बिहीबार, २८ मङ्सिर २०८०

आज मिति २०८० साल मंसिर महिनाको २८ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ–

कोइरीलाई सफाइ, अभिरामलाई जन्मकैद

सशस्त्र प्रहरीका असई थमन विकको हत्या मुद्दामा महोत्तरी जिल्ला अदालतले एमालेका निलम्बित प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई सफाइ दिएको छ । यस्तै लोसपाका प्रदेश सांसद अभिराम शर्मालाई भने जन्मकैदको सजाय फैसला भएको छ ।

बालकृष्णसँग धरौटी माग

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्व गृहमन्त्री तथा कांग्रेसका नेता बालकृष्ण खाणलाई धरौटीमा छोड्न उच्च अदालत पाटनले आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाणसँग ३० लाख धरौटी लिई छाड्ने आदेश दिएको हो ।

यसैगरी चालु आर्थिक वर्षको आर्थिक विधेयकमार्फत ‘भूतप्रभावी’ कर लगाउने सरकारको निर्णयलाई सर्वोच्च अदालतले साथ दिएको छ । अर्थमन्त्री डा। प्रकाशशरण महतले बैंकहरुले यसअघि जारी गरेको एफपीओ र मर्जरमा कर लगाउने घोषणा गरेका थिए ।

चौमासिक समीक्षा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको चौमासिक समीक्षामा अर्थ मन्त्रालयको भूमिकामाथि प्रश्न उठाएका छन् ।

 बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको समीक्षा बैठकमा उपस्थित मन्त्री र सचिवहरूले अर्थ मन्त्रालयले समयमा सहजीकरण नगरेको गुनासो गरेका थिए ।

राष्ट्र बैंकको रिपोर्ट

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०–०८१ को चार महिनाको तथ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ ।

जसअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.३८ प्रतिशत रहेको छ । यस्तै आयात ३.८ प्रतिशतले घटेको छ भने निर्यात ७.७ तथ्यांकमा उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २६.४ प्रतिशतले र अमेरिकी डलरमा २३.१ प्रतिशतले बढेको छ । यसैगरी शोधनान्तर स्थिति रु १४७ अर्ब ११ करोडले बचतमा हुँदा कुल विदेशी विनिमय सञ्चिति रु १,६९६ अर्ब ७८ करोड र अमेरिकी डलरमा १२ अर्ब ७५ करोड रहेको छ ।

महासचिव नियुक्ति विवाद

संघीय संसदको महासचिव भरतराज गौतमको अचानक राजीनामा र प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेयलाई महासचिवमा नियुक्तिका लागि सिफारिस गरिएकोप्रति राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले असन्तुष्टि व्यक्त गरेकी छन् ।

मन्त्रिपरिषद्को निर्णय

परराष्ट्र सेवाकी सहसचिव सेवा लम्साल सचिवमा बढुवा भएकी छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले लम्साललाई सचिवमा बढुवा गरेको हो ।

ओलीमाथि आक्रमण

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आक्रमण गर्ने महेश राईलाई प्रहरीले रोक्न खोज्दाखोज्दै भीडमा पसेको खुलेको छ ।

कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजेशनाथ बाँस्तोलाका अनुसार उनलाई शंका लागेर सुरक्षामा खटिएका प्रहरीले फूलमाला लगाउने लाइनमा जानबाट रोक्न खोजेका थिए ।

रुस जान कडाइ

माओवादी केन्द्र नेतृत्वको गठबन्धन सरकारले नेपाली नागरिकलाई रुस जान कडाइ गर्न थालेको छ । रुस–युकेन युद्धमा खटिने गरी नेपाली नागरिकहरू रुसी सेनामा भर्ती भएको खबरपछि प्रधानमन्त्री प्रचण्डको निर्देशनमा कडाइ गर्न थालिएको हो ।

यो पनि

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टी ९नाउपा०ले राष्ट्रियसभामा भाग खोजेको छ । नाउपा संरक्षक रेशमलाल चौधरी र अध्यक्ष तथा भूमि व्यवस्थामन्त्री रञ्जिता चौधरीले बिहीबार प्रधानमन्त्रीलाई भेटेर राष्ट्रियसभा निर्वाचनमा गठबन्धनको सिट बाँडफाँटमा भाग खोजेको हो ।

सामाजिक सञ्जाल ‘फेसबुक’ ह्याक हुने घटना अत्यधिक बढ्न थालेको छ । ह्याकरले फेसबुक ह्याक गरेर अश्लील भिडियो पोस्ट गर्ने गरेका हुन् । प्रहरीको साइबर ब्युरोमा फेसबुक ह्याक सम्बन्धी उजुरी दिनहुँ बढिरहेको छ ।

पूर्व मिस नेपाल श्रृंखला खतिवडा दुलही बनेकी छिन् । आज बिहीबार उनी सञ्चार उद्यमी सम्भव शिरोहियासँंग लगनगाँठो कसिएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप