बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
ब्रिफिङ

रातोपाटी ब्रिफिङ : आजका शीर्ष दश समाचार

सोमबार, ०९ पुस २०८०, २० : ५७
सोमबार, ०९ पुस २०८०

आज २०८० पुस ९ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा संक्रमणकालीन न्याय टुङ्ग्याउन प्रमुख तीन दलका शीर्ष नेता सहमत, ऋण लिएको प्रमाण खोजे रवि लामिछानेले, ठेक्का तोड्ने चेतावनीपछि पोखरा–मुग्लिन सडक विस्तारले गति लियो, १६ औँ पटक थुनामा पुगे खुँखार चोर, रातारात पोखरामा ठडियो वीरेन्द्रको सालिक, आरती साहका पति पक्राउ, पर्यटनमन्त्री किरातीको राजीनामा माग्दै राजधानीमा प्रदर्शन लगायत छन् ।

१. संक्रमणकालीन न्याय टुङ्ग्याउन प्रमुख तीन दलका शीर्ष नेता सहमत
संक्रमणकालीन न्याय टुङ्ग्याउन प्रमुख तीन दलका शीर्ष नेताहरु सहमत भएका छन् । सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबिच संक्रमणकालीन न्याय सम्बन्धी विधेयक संसदको हिउँदे अधिवेशनमा लैजान सहमति जुटेको हो ।

२. ऋण लिएको प्रमाण खोजे रवि लामिछानेले
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले एक करोड रुपैयाँ ऋण लिएको प्रमाण माग गरेका छन् । सोमबार नारायणगढ–बुटवल सडक खण्डको स्तरोन्नतिका लागि रास्वपाको दबाब यात्राका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूमाथि निरन्तर प्रहार भइरहेको बताए ।

३. ठेक्का तोड्ने चेतावनीपछि पोखरा–मुग्लिन सडक विस्तारले गति लियो 
सरकारले पोखरा–मुग्निल सडक विस्तार सुस्त भएको भन्दै ठेक्का तोड्ने चेतावनी दिएसँगै निर्माण कार्यले गति लिएको छ । उक्त सडकलाई ठाउँ हेरी ४ लेन र ६ लेनमा स्तरोन्नति गर्न लागिएको हो ।
४. १६ औँ पटक थुनामा पुगे खुँखार चोर
जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा रहेका अमर देउला पक्राउ परेको १६ औँ पटक भयो । २०६७ मङ्सिर ९ मा पहिलो पटक पक्राउ परेका उनी त्यस यता थप १५ पटक पक्राउ परिसकेका छन्, जसमध्ये चोरीको आरोपमा उनी बढी पक्राउ परेका हुन् ।

५. रातारात पोखरामा ठडियो वीरेन्द्रको सालिक
पोखराको वीरेन्द्र चोकमा मध्यराति स्व.राजा वीरेन्द्रको सालिक ठड्याइएको छ । सालिक पुनःस्थापना समितिले राति पौने २ बजेतिर सालिक ठड्याएको हो । करिब २५ लाख लागतमा सालिक निर्माण गरिएको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले जानकारी दिए । सुरुमा २०५९ सालमा क्षेत्रबहादुर केसीले राखेको सालिक २०६२–०६३ को जनआन्दोलनको क्रममा फालिएको थियो ।

६. आरती साहका पति पक्राउ
आरती साहको मृत्य प्रकरणमा उनका श्रीमान मोतीबाबुलाई प्रहरीले पक्राउ गरेको छ । मोतीबाबुलाई जनकपुरबाट पक्राउ गरिएको धनुषाका एसपी मित्रबन्धु शर्माले रातोपाटीलाई बताए । मृतक आरती साहका पतिलाई पक्राउ गरेर पुनः थुनामा पठाउन सर्वोच्च अदालतले आदेश गरेको थियो ।
७. पर्यटनमन्त्री किरातीको राजीनामा माग्दै राजधानीमा प्रदर्शन
सनातन धर्मावलम्बी नेपालीको आयोजनामा पर्यटनमन्त्री सुदन किरातीविरुद्ध सोमबार काठमाडौँमा प्रदर्शन गरिएको छ । सनातन संस्कृतिको खुलेआम विरोध गरी प्रचार गरेको भन्दै किरातीलाई मन्त्री पदबाट बर्खास्त गर्नुपर्ने उनीहरूले माग गरेका हुन् ।
८. सन्दीप लामिछानेविरुद्धको मुद्दामा उमेर नै मुख्य विवाद, ऐनले के भन्छ ? 
क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा दायर भएको जबरजस्ती करणी मुद्दामा अन्तिम सुनुवाइ चलिरहेको छ । लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणीको उक्त मुद्दामा हाल जन्ममिति नै मुख्य विवादको विषय रहेको छ । वारदात भएको समयमा जाहेरवालीको उमेर १८ वर्ष पुगेको हो कि १८ वर्षभन्दा कम हो भन्ने विषयमा विवाद छ ।

९. तल्लो कार्यसमितिका रिक्त पद पूर्ति गर्दै कांग्रेस, धमाधम विवरण आउँदै 
नेपाली कांग्रेसको प्रदेश र जिल्ला कार्यसमितिले पार्टीका विभिन्न तहमा भएको रिक्त पदको विवरण पठाएका छन् । कांग्रेस महामन्त्री गगन थापाले मङ्सिर २५ मा प्रदेश र जिल्ला कार्यसमितिलाई तल्लो तहको रिक्त पदको विवरण पठाउन निर्देशन दिएका थिए ।

१०. नेपाली फिल्म निर्माणले गति लियो, ८ महिनामै एक सय फिल्मको निर्माण अनुमति
नेपाली चलचित्र निर्माणमा गति बढ्दै छ । यो वर्षको वैशाखदेखि मङ्सिर अन्तिमसम्म अर्थात् ८ महिनामा मात्रै चलचित्र विकास बोर्डबाट एक सयभन्दा बढी फिल्मले निर्माण इजाजत लिएका छन् । यो सूचीमा नेपाली फिचर फिल्मदेखि जनजाति र भाषाभाषीसम्मका फिल्म छन् । इजाजत पत्र लिनेमा पुराना राम्रा ब्यानरदेखि नयाँ ब्यानरसम्म देख्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप