शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
ब्रिफिङ

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका शीर्ष दश समाचार

आइतबार, १५ पुस २०८०, १९ : ५४
आइतबार, १५ पुस २०८०

आज २०८० पुस १५ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा बालकुमारी घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरिने, कांग्रेस केन्द्रीय समिति बैठकले गर्यो ११ बुँदे निर्णय, विद्युत प्राधिकरणसँगको विवाद समाधानमा उद्योगीले मागे उच्चस्तरीय आयोग, माओवादीको चार महिने अभियान भोलि समापन हुँदै, तमु ल्होसार मनाइयो, सिंहदरबारमा बेकामे कर्मचारीको भिड, राप्रपाले पृथ्वी जयन्तीमा चियापान आयोजना गर्ने लगायत छन् ।

१. बालकुमारी घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरिने
दुई जनाको मृत्यु, बहालवाला मन्त्रीको गाडीमा आगजनी भएको ‘बालकुमारी घटना’ छानबिन गर्न सरकारले उच्चस्तरीय छानबिन समिति गठन गर्ने भएको छ । आइतबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा पूर्व न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने सहमति भएको हो । समिति गठनको औपचारिक निर्णय भने मन्त्रिपरिषद बैठकले गर्ने जनाइएको छ । 

२. कांग्रेस केन्द्रीय समिति बैठकले गर्यो ११ बुँदे निर्णय
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठके विभिन्न ११ बुँदे निर्णय गरेको छ । पुस १२ देखि १४ गतेसम्म बसेको बैठकको निर्णय आइतबार सार्वजनिक गरिएको हो ।

३. विद्युत प्राधिकरणसँगको विवाद समाधानमा उद्योगीले मागे उच्चस्तरीय आयोग
उद्योगी–व्यवसायीले नेपाल विद्युत प्राधिकरणसँगको विवाद टुङ्ग्याउन उच्चस्तरीय आयोग चाहिने बताएका छन् । विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरण कुनै हालतमा पछाडि हट्न नमिल्ने बताइरहँदा उद्योगी–व्यवसायीले उच्चस्तरीय छानबिन आयोग चाहिने बताएका हुन् ।

४. माओवादीको चार महिने अभियान भोलि समापन हुँदै
नेकपा माओवादी केन्द्रले थालेको चार महिना लामो विशेष रुपान्तरण अभियान भोलि (सोमबार) समापन हुने भएको छ । पालिकास्तरमा जनपरिचालन गरी अभियान समापन हुने पार्टीका उपमहासचिव एवं सम्पर्क समन्वयका इन्चार्ज गिरिराजमणि पोखरेलले जानकारी दिए ।

५. तमु ल्होसार मनाइयो
गुरुङ समुदायले आइतबार ‘तमु ल्होसार’ पर्व मनाएका छन् । हरेक पुस १५ मा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन् । तमु ल्होसार पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

६. सिंहदरबारमा बेकामे कर्मचारीको भिड
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आवश्यकता भन्दा बढी सचिवसँगै अन्य कर्मचारी दरबन्दी देखिएपछि बिहीबार मन्त्रिपरिषद् बैठकले तीन जना सचिवसहित ६९ जनाको दरबन्दी कटौती हुने गरी कार्यालयको पुनर्संरचना गर्ने निर्णय गरेको छ । तर, कर्मचारीको संख्या र कामको चाप हेर्दा सबैजसो मन्त्रालयको पुनर्संरचना गर्नुपर्ने देखिन्छ ।

७. राप्रपाले पृथ्वी जयन्तीमा चियापान आयोजना गर्ने
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पृथ्वी जयन्तीमा चियापान कार्यक्रम गर्ने भएको छ । राप्रपाको आइतबार बसेको पदाधिकारी बैठकले केन्द्रमा विविध कार्यक्रमका साथ ३०२ औँ पृथ्वी जयन्ती मनाउने र सोही कार्यक्रमअनुसार काठमाडौँमा चियापान कार्यक्रम गर्ने निर्णय गरेको हो ।

८. पार्टीको आन्तरिक विवाद मिलाउन दौडधुप गर्दै उपेन्द्र
जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले केही जिल्लामा रहेको पार्टीको विवाद मिलाउन दौडधुप थालेका छन् । सप्तरी र पर्सामा पार्टीका असन्तुष्ट पक्षले समानान्तर कमिटी बनाएपछि अध्यक्ष यादवको दौडधुप बढेको हो ।

९. राष्ट्रिय सभा सदस्य निर्वाचनमा माओवादीले ६ सिट पाउने !
माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा माओवादी केन्द्रले सत्ता गठबन्धनबाट ६ सिट लिने लगभग सुनिश्चित भएको नेताहरूले दाबी गरेका छन् । फागुन २० गते ६ वर्षे कार्यकाल पूरा गरी निर्वाचित १९ र राष्ट्रपतिबाट मनोनीत एक जना राष्ट्रिय सभाबाट बिदा हुँदै छन् । तीमध्ये माओवादीका ३ सदस्यको पदावधि सकिँदै छ । गठबन्धनबाट माओवादीले उक्त ३ सिटका साथै थप ३ सिट पाउने बताइएको हो । 

१०. लोसपाका नेताले मुख बाँधेर गरे विरोध प्रदर्शन
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले शनिबार लुम्बिनी प्रदेशमा प्रथम भेला बोलाएको थियो । तर, सो भेलामा वरिष्ठ नेता राजेन्द्र महतो पक्षधर कुनै पनि नेतालाई नबोलाइए पनि उनी निकट केन्द्रीय सदस्य महेन्द्र गुप्ता (प्रशान्त) त्यहाँ पुगेका थिए । उनलाई आसनग्रहण त गराइयो तर बोल्न समय दिइएन । बोल्न नदिइएपछि उनले खादाले आफ्नो मुख बाँधी मञ्चमै उभिएर विरोध जनाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप