शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

राति १२ बजेपछि राष्ट्रियसभा निर्वाचनको मौन अवधि, सत्ता पक्षकै दल आन्दोलनको तयारीमा

सोमबार, ०८ माघ २०८०, २० : ५७
सोमबार, ०८ माघ २०८०

आज २०८० माघ ८ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा विपक्षीसँगै सत्ता पक्षकै केही दल आन्दोलनको तयारीमा, राष्ट्रियसभा निर्वाचन : आज राति १२ बजेपछि मौन अवधि, त्रिवि उपकुलपतिका लागि ४३ जनाको आवेदन, सहकारी प्रकरणमा मुछिएपछि रवि लामिछानेले भने– जीबी राईलाई किन पक्राउ गरिएन ?, सिमरालाई ‘सेल्टर’ बनाएर दुई सातादेखि के गर्दैछन् पूर्वराजा ज्ञानेन्द्र शाह ?, कोशीका मुख्यमन्त्रीले सार्वजनिक गरे सय दिने उपलब्धि, संसदका प्रस्तावित महासचिवको ‘फर्जी’ नागरिकताको विवरण गृह मन्त्रालय पुग्यो लगायत छन् ।

१. विपक्षीसँगै सत्ता पक्षकै केही दल आन्दोलनको तयारीमा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गठबन्धनलाई कसिलो बनाएर सरकार टिकाउने रणनीतिमा अगाडि बढिरहेको बेला विपक्षी दलहरू भने सरकार ढाल्नेदेखि संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था नै ‘उल्ट्याउने’ सपना बाँडेर सडक तताउने तयारीमा लागेका छन् । रोचक त यो छ कि सत्ता गठबन्धनमै रहेका तीन वटा मधेसी दल पनि आन्दोलनतर्फ जोडबल गरिरहेका छन् । 

२. राष्ट्रियसभा निर्वाचन : आज राति १२ बजेपछि मौन अवधि
माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन आयोगले माघ ८ गते (सोमबार) राति १२ बजेपछि मतदान कार्य समाप्त नहुन्जेलसम्म निर्वाचनको प्रचारप्रसारमा रोक लगाएको छ ।


३. त्रिवि उपकुलपतिका लागि ४३ जनाको आवेदन
त्रिभुवन विश्वविद्यालयको उपकुलपति बन्न ४३ जनाको आवेदन परेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको उच्च शिक्षा शाखाका अनुसार ४३ जनाको आवेदन परेको हो ।

४. सहकारी प्रकरणमा मुछिएपछि रवि लामिछानेले भने– जीबी राईलाई किन पक्राउ गरिएन ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीका मुख्य आरोपी गितेन्द्रबाबु (जीबी) राईलाई सरकारले किन समाएन भनेर प्रश्न गरेका छन् । सहकारी ठगी प्रकरणमा सभापति लामिछानेको समेत नाम मुछिएपछि प्रस्ट पार्न सोमबार आयोजित पत्रकार सम्मेलनमा लामिछानेले आफूविरुद्ध लागेका आरोपहरुको प्रमाण संकलन गरिरहेको र कानुनी उपचारमा जाने तयारी गरेको बताए ।  

५. सिमरालाई ‘सेल्टर’ बनाएर दुई सातादेखि के गर्दैछन् पूर्वराजा ज्ञानेन्द्र शाह ?
पूर्वराजा ज्ञानेन्द्र शाह बारा जिल्लाको सिमरास्थित ‘प्रभु वास’ निवासलाई १५ दिनदेखि सेल्टर बनाएका छन् । मधेस प्रदेशको धार्मिक भ्रमणमा रहेका पूर्वराजा शाह पुस २३ गतेदेखि सिमरास्थित प्रभुशमशेर जबराको निवासलाई आफ्नो सेल्टर बनाएका हुन् । 

६. ‘हनी ट्रयाप’मा महिला दोषी
‘हनी ट्रयाप’को कसुरमा एक महिला दोषी ठहर भएकी छन् । काठमाडौँ जिल्ला अदालतले ओखलढुङ्गा स्थायी ठेगाना भएकी देवी थापालाई दोषी ठहर गरेको हो ।
७. काठमाडौँबाट नक्कली डाक्टर पक्राउ
नेपाल प्रहरीले काठमाडौँबाट एक जना नक्कली डाक्टरलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मोरङको विराटनगर घर भएका सम्बुद्ध भट्टचार्य रहेका छन् ।

८. लाइसेन्सको ट्रायलमा आफ्नै सवारी साधन प्रयोग गर्न दिन निर्देशन
सवारी चालक अनुमति पत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षा (ट्रायल) दिँदा व्यक्तिले आफ्नै सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था मिलाउन राष्ट्रिय सतर्कता केन्द्रले निर्देशन दिएको छ । केन्द्रले सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गर्दै ट्रायल दिने परीक्षार्थीहरूलाई स्वेच्छाले आफ्नो सवारी साधन प्रयोग गर्न दिन पाउने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
९. कोशीका मुख्यमन्त्रीले सार्वजनिक गरे सय दिने उपलब्धि
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो सय दिने उपलब्धि सार्वजनिक गरेका छन् । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार पत्रकार सम्मेलन गरी उनले उपलब्धि सार्वजनिक गरेका हुन् ।

१०. संसदका प्रस्तावित महासचिवको ‘फर्जी’ नागरिकताको विवरण गृह मन्त्रालय पुग्यो
संघीय संसद्को महासचिवमा प्रस्तावित पदमप्रसाद पाण्डेयले ६ वर्ष उमेर घटाएर दोस्रो नागरिकता लिएको विवरण पाल्पा जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमा पठाएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले प्रतिनिधिसभाका सचिव पाण्डेयको नाम महासचिवमा सिफारिस गरी नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई चर्को दबाब दिइरहेको बेला यस्तो विवरण मन्त्रालयमा आएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप