सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
ब्रिफिङ

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टपटेन’ समाचार

आइतबार, २१ माघ २०८०, २० : ४५
आइतबार, २१ माघ २०८०

कठमाडौँ । आज २०८० माघ २१ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा गठबन्धनभित्र चुलियो बहस : मन्त्री फेर्ने कि प्रधानमन्त्री ?, सिभिल सहकारी ठगी प्रकरण : इच्छाराज तामाङलाई ३ वर्ष कैद र १ अर्ब ७२ करोड जरिवाना, संसदको हिउँदे अधिवेशन भोलिदेखि, विश्व क्यान्सर दिवस : नेपालमा ११ दशमलव ११ प्रतिशत मृत्युको कारक क्यान्सर, एमाले सांसदलाई ओलीको निर्देशन– संसदको रेकर्डबाट शब्द हटाइयोस् भन्ने माग नगर्नु, कांग्रेस महासमिति बैठकका लागि गठित ८ उपसमितिका संयोजक तोकिए, राष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन २९ मा गर्न प्रस्ताव लगायत छन् ।

१. गठबन्धनभित्र चुलियो बहस : मन्त्री फेर्ने कि प्रधानमन्त्री ?
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्री फेर्ने चाहना राखिरहेको बेला गठबन्धन दलका नेताहरूले प्रधानमन्त्री बदल्ने अभिव्यक्ति दिएर राजनीतिक तलाउमा ढुङ्गा हानेका छन् । प्रधानमन्त्रीले पुस १० गते मन्त्री परिवर्तन गरेर सरकारलाई थप प्रभावकारी र चलायमान बनाउने भनी दिएको अभिव्यक्तिलाई कडा चुनौती दिँदै गठबन्धनकै नेताहरू प्रधानमन्त्री नै बदल्ने भन्न थालेका छन् । जततउकस्ररधधध।

२. सिभिल सहकारी ठगी प्रकरण : इच्छाराज तामाङलाई ३ वर्ष कैद र १ अर्ब ७२ करोड जरिवाना 
सिभिल सहकारी ठगी प्रकरणमा उक्त सहकारीका तत्कालीन सञ्चालक इच्छाराज तामाङलाई ३ वर्ष कैद र १ अर्ब ७२ करोड जरिवानाको फैसला निर्धारण भएको छ । आइतबार विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर तथा सदस्यहरु तेज नारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो ।

३. संसदको हिउँदे अधिवेशन भोलिदेखि
संघीय संसदको हिउँदे अधिवेशन भोलिदेखि सुरु हुने भएको छ । सभामुख देवराज घिमिरेले आइतबार दिउँसो नयाँ बानेश्वरस्थित संसदमा भवनमा पुगेर भौतिक तथा प्राविधिक व्यवस्थापनबारे जानकारी लिएका छन् ।

४. विश्व क्यान्सर दिवस : नेपालमा ११ दशमलव ११ प्रतिशत मृत्युको कारक क्यान्सर
आइतबार विश्व क्यान्सर दिवस मनाइएको छ । नेपालमा कुल मृत्युको ११ दशमलव ११ प्रतिशत मृत्यु क्यान्सरबाट हुने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।

५. एमाले सांसदलाई ओलीको निर्देशन– संसदको रेकर्डबाट शब्द हटाइयोस् भन्ने माग नगर्नु
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले संसद्को रेकर्डबाट ‘शब्द हटाइयोस्’ भन्ने माग नगर्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् । ओलीले संसदमा गल्ती बोल्नेहरूका शब्दले उसको परिचय दिने भएको भन्दै यस्ता शब्द हटाउन लगाउनु जरुरी नभएको बताएका हुन् । 

६. कांग्रेस महासमिति बैठकका लागि गठित ८ उपसमितिका संयोजक तोकिए
नेपाली कांग्रेसले आगामी महासमितिको बैठक तयारी मूल समितिका विभिन्न उपसमितिका संयोजकहरू चयन गरेको छ । आगामी फागुन ७ गते प्रारम्भ हुने बैठकको तयारी मूल समितिका संयोजक तथा पार्टी सभापति शेरबहादुर देउवाले उपसमितिको संयोजक चयन गरी जिम्मेवारी सुम्पिएका हुन् ।

७. सशस्त्र प्रहरीको नयाँ ऐन ल्याइने
सशस्त्र प्रहरीको नयाँ ऐन ल्याउन मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको छ । सशस्त्र प्रहरी ऐन–२०५८ लाई प्रस्तिस्थापन गर्ने गरी नयाँ ऐन ल्याउन मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले बताए ।
८. राष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन २९ मा गर्न प्रस्ताव
राष्ट्रियसभाको अध्यक्षको चुनाव आगामी फागुन २९ गते गर्न प्रस्ताव गरिएको छ । आगामी फागुन २० गते राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० सांसद बिदाइ हुँदैछन् । सभाको अध्यक्ष पद रिक्त भएपछि त्यसको एकसाताभित्र निर्वाचन गर्नेबारे राष्ट्रियसभाले कार्यतालिका बनाएको हो ।

९. वैदेशिक व्यापार हुने १५५ देशमध्ये २७ देशसँग मात्र नाफामा
चालु आर्थिक वर्ष (२०८०÷०८१) को ६ महिनाको अवधिमा नेपालले विश्वका १५५ वटा देशसँग वैदेशिक व्यापार गरेको छ । भन्सार विभागका अनुसार तीमध्ये १२८ वटा देशसँग नेपालको व्यापार घाटामा छ भने २७ वटा देशसँग मात्र नाफामा छ ।

१०. पर्यटन मन्त्रालयको बेरुजु ४ अर्ब २० करोड रुपैयाँ
चालु आर्थिक वर्षको माघको दोस्रो सातासम्म संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बेरुजु ४ अर्ब २० करोड रुपैयाँ रहेको पाइएको छ । मन्त्रालयको दोस्रो त्रैमासिक समीक्षा र मन्त्रीस्तरीय विकास समाधान समितिको बैठकमा सहसचिव हेमराज तामाङले उक्त फेहरिस्त पेस गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप