सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सङ्घीयताको सबलीकरण र गणतन्त्र सुदृढ गर्न एकताबद्ध हुन जरुरी :  मुख्यमन्त्री जम्कट्टेल

सोमबार, ०७ फागुन २०८०, ०९ : ३१
सोमबार, ०७ फागुन २०८०

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रजातन्त्र स्थापना मानव अधिकार बहालीसँगै नागरिकमा राजनीतिक स्वतन्त्रता हासिल भएको बताएका छन् । जहानियाँ, निरङ्कुश शासनविरुद्ध बलिदानीपूर्ण संघर्षको परिणामस्वरूप २००७ सालको आन्दोलन सफल भएको उनले बताएका हुन् ।

प्रजातन्त्र दिवसको अवसरमा सोमबार एक सन्देश जारी गर्दै मुख्यमन्त्री जम्कट्टेलले राष्ट्रियता, लोकतन्त्रको जगेर्ना गर्दै सङ्घीयताको सबलीकरण र गणतन्त्र सुदृढ गर्न एकताबद्ध भई सफल एवम् समुन्नत राष्ट्र निर्माणमा अघि बढ्न जरुरी रहेको उनले बताए । प्रजातन्त्र तथा लोकतन्त्र प्राप्तिका लागि भएका संघर्षका क्रममा घाइते, अपाङ्ग र तत्कालीन राज्यबाट बेपत्ता पारिएका योद्धाहरूको अमूल्य योगदान रहेको बताए ।

‘प्रजातन्त्र दिवसको अवसरमा जहानियाँ, निरङ्कुश शासनविरुद्ध बलिदानीपूर्ण संघर्षको परिणामस्वरूप वि।सं। २००७ सालको आन्दोलन सफल भए पश्चात् आधारभूत मानवअधिकारको बहाली भई नेपाली जनताले राजनीतिक स्वतन्त्रता हासिल भएको छ । यो  ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान स्वरूप प्रत्येक वर्ष फागुन ७ गते मनाउने राष्ट्रिय प्रजातन्त्र दिवस तथा लोकतन्त्र प्राप्तिका लागि भएका सबै खाले संघर्षका क्रममा घाइते, अपाङ्ग हुनुभएका र तत्कालीन राज्यबाट बेपत्ता पारिनुभएका सम्पूर्ण योद्धाहरूको अमूल्य योगदानको स्मरण योग्य रहेको छ,’ उनले भनेका छन् ।

विगत ७ दशक यताका सबै खाले संघर्ष र आन्दोलनहरूबाट प्राप्त उपलब्धिहरूको कार्यान्वयनको चरणमा रहेको उनले बताए । प्रजातन्त्र स्थापना पछि देशमा लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भई लामो राजनीतिक सङ्क्रमण काल समाप्त भएको मुख्यमन्त्री जम्कट्टेलले बताए । मुलुकको आर्थिक, सामाजिक, रूपान्तरणसहित आमजनताको जीवनस्तर सुधार गर्ने लक्ष्यका साथ बागमती प्रदेश सरकार विकास र समृद्धिका लागि दृढ रहेको उनले बताए ।

‘हामी विगत सात दशक यताका सबै खाले संघर्ष र आन्दोलनहरूबाट प्राप्त उपलब्धिहरूको साँचो अर्थमा कार्यान्वयनको चरणमा छौँ । यसको विकास, विस्तार र सुदृढीकरणको प्रक्रिया निरन्तर चलिरहनु अनिवार्य हुन्छ,’ उनले शुभकामना सन्देश मार्फत भनेका छन्, ‘प्रजातन्त्रलाई संस्थागत गर्नका लागि संविधान सभाबाट लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएसँगै लामो राजनीतिक सङ्क्रमण काल समाप्त भइसकेको सन्दर्भमा मुलुकको आर्थिक, सामाजिक, रूपान्तरणसहित आमजनताको जीवनस्तर सुधार गर्ने लक्ष्यका साथ गठन भएको बागमती प्रदेश सरकार, बागमती प्रदेशको विकास र समृद्धिका लागि दृढ रहेको विश्वास दिलाउन चाहन्छु ।’

प्रजातन्त्र दिवसले नेपाली बिच संविधानको मर्म र भावना अनुसार सामाजिक सद्भाव कायम गरी राष्ट्रियता, लोकतन्त्रको जगेर्ना गर्दै सङ्घीयताको सबलीकरण र गणतन्त्र सुदृढ गर्न एकताबद्ध भई सफल एवम् समुन्नत राष्ट्र निर्माणमा अघि बढ्नुपर्ने उनले बताए ।

‘राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० को अवसरमा स्वदेश विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको कामनासहित हार्दिक शुभकामना व्यक्त गर्दछु । देशमा लोकतन्त्र प्राप्ति एवम् राष्ट्रियताको संवर्द्धनका लागि विभिन्न समयमा भएका सङ्घर्षहरूमा जीवन आहुति दिनुहुने महान् सहिदहरूप्रति स(सम्मान भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु,’ शुभकामना सन्देशमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप