शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मकवानपुरका ३४ हजार बढी बालबालिकालाई खोप लगाइने

बुधबार, ०९ फागुन २०८०, २० : ४८
बुधबार, ०९ फागुन २०८०

हेटौँडा । मकवानपुरका ३४ हजार बढी बालबालिकालाई दादुरा/रुबेलाको खोप लगाइने भएको छ । जिल्लास्तरीय  खोप समन्वय समिति मकवानपुरले आगामी फागुन १३ गतेदेखि १९ गतेसम्म ९ महिना देखि ५ वर्षसम्मका खोप अभियान सञ्चालन गरी जिल्लाका ३४ हजार ६६० बालबालिकालाई खोप लगाउने भएको हो ।

स्वास्थ्य कार्यालय, मकवानपुरको आयोजनामा बुधबार दादुरा/रुबेला खोप अभियान २०८०/८१ जिल्लास्तरीय  खोप समन्वय समिति मकवानपुर र सञ्चारकर्मीको अभिमुखीकरण तथा अन्तरक्रियात्मक गोष्ठीमा जिल्लाका १० स्थानीय तहमा ५२० वटा खोप केन्द्र स्थापना गरी खोप लगाउने जानकारी दिइएको हो ।

स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख एवम् जिल्लास्तरीय खोप समन्वय समितिका सदस्य सचिव मदन मिजारका अनुसार खोप अभियानमा ३४० स्वास्थ्यकर्मीहरु परिचालन गरिने छ । अभियान सञ्चालनका लागि स्वास्थ्यकर्मीहरुलाई तालिम समेत प्रदान गरिसकेको उनले बताए ।

लक्षित उमेरका बालबालिकाहरुलाई दादुरा/रुबेला खोप लगाएर रोग विरुद्ध प्रतिरोधात्मक क्षमता अभिवृद्धि गरी संक्रमण हुनसक्ने सम्भावनाहरुलाई न्युनीकरण गर्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गर्न लागिएको प्रमुख मिजारले बताए ।

अभियानका लागि हेटौँडा उपमहानगरपालिकामा १२८ वटा खोप केन्द्र राखिने छ भने थाहा नगरपालिकामा ४३ वटा, इन्द्रसरोवर गाउँपालिकामा १६, भीमफेदी ३८, कैलाशमा ५१, राक्सिराङमा ५३, मनहरी ४८, मकवानपुुरगढीमा ३९, बकैयामा ५४ र बागमतीमा ५० वटा केन्द्र कायम गरिएको छ ।

प्रमुख मिजारका अनुसार खोप अभियान अन्तर्गत हेटौंडाका १२ हजार ५१३ बालबालिकालाई दादुरा/रुबेलाको खोप प्रदान गरिने छ भने थाहा नगरपालिकाका २ हजार ९४४, इन्द्रसरोवर गाउँपालिकाका ९३५, भीमफेदीका १ हजार ५७१, कैलाशका २ हजार २७७, मनहरीका ३ हजार ५२४, राक्सिराङका २ हजार ६७९, मकवानपुरगढीका १ हजार ९०४, बकैया ३ हजार ५९५ र बागमतीका २ हजार ७१८ जना बालबालिकालाई दादुरा/रुबेलाको खोप प्रदान गरिने छ । अभियान अन्तर्गत ४ हजार १४५ भयल खोप खपत गर्ने अनुमान गरिएको छ । अभियान अन्तर्गत नियमित खोप लगाउन छुटेका बालबालिकाका लागि डिपिटी, पिसिभी र आईपीभी खोप लगाइने उनले बताए ।

२०२६ सम्ममा दादुरा–रुबेला रोग निवारण गर्ने, खोप लगाउन छुट हुने समुदाय, वर्ग, स्थानको पहिचान गरी खोप प्रदान गर्ने, खोपबाट बचाउन सकिने रोग नियन्त्रण गर्न तथा अपांगता र मृत्युदरलाई कम गर्न, खोपबाट रोगहरुको निवारण र उन्मुलनको लक्ष्य हासिल गर्ने र दिगोपन कायम राख्ने, २०२६ सम्ममा पोलियो रोग उन्मूलन गर्ने, २००५ देखि नवशिशु धनुष्टंकार रोग निवारणको अवस्थालाई कायम राख्ने, बालबालिकालाई पूर्ण खोप लगाई दिगोपनाको सुनिश्चित गर्ने लक्ष्यका साथ अभियान संचालन गरिएको उनले बताए ।

खोप अभियानमा अपेक्षित कभरेज हासिल नहुनु, कभरेजमा एकरुपता नहुनु, शून्य खोप र ड्रप–आउटको संख्या बढ्दै जानु, सुक्ष्म योजना बार्षिक रुपमा अध्यावधिक नगरिनु, पूर्ण खोपको दिगोपना कार्यक्रम प्रभावकारी नहुनु, महामारी देखापरी रहनु र खोप खेर जाने दर उच्च  हुँदा चुनैतिपूर्ण रहेको उनको भनाई छ ।

नेपालभर गत आर्थिक वर्षमा एक हजार तीन सय ५० जनामा दादुरा/रुबेला रोग देखिएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए । उनका अनुसार सो अवधिमा मकवानपुरमा मात्र ४० जनामा दादुरा/रुबेला संक्रमित भेटिएको थियो । दादुरा/रुबेला संक्रमित मध्ये ७४ प्रतिशत ९ महिनादेखि १५ वर्ष उमेर समूहको रहेको उनको भनाई छ ।

दादुरा रुबेला खोप लगाउन छुटेमा अन्धोपन हुने, पखाला लाग्ने, कान पाक्ने, निमोनियमा हुने, इन्सेफ्लाइटिक्स रोग लाग्ने, कम्पन हुने र बालबालिकाको मृत्यु नै हुनसक्ने भएकाले अनिवार्य रुपमा खोप लगाउन कार्यालयले आग्रह गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप