सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

आजका शीर्ष समाचार : विवादित मन्त्रीको बर्खास्तीको मागदेखि संसद भवनमा आन्दोलनकारीसम्म

सोमबार, १४ फागुन २०८०, २० : ३१
सोमबार, १४ फागुन २०८०

आज २०८० फागुन १४ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा संसद भवनमै प्रवेश गरे लघुवित्त पीडित आन्दोलनकारी, विवादित मन्त्री बर्खास्त गर्न विपक्षीको माग; संसदमा अवरोध, प्रचण्डलाई देउवाको ढाडस, उपनिर्वाचनको कार्यतालिका सार्वजनिक, प्रचण्डसहित मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयले ९० वटा मुद्दा खेप्दै, राजेन्द्र महतोले छाडे लोसपा, सवारी ज्यान मुद्दामा धर्मेन्द्र बास्तोला दोषी ठहर, कृष्ण कँडेलविरुद्ध जबर्जस्ती करणी उद्योगको मुद्दा लगायत छन् ।

१. संसद भवनमै प्रवेश गरे लघुवित्त पीडित आन्दोलनकारी
राजधानी केन्द्रित आन्दोलन गर्दै आएका लघुवित्त पीडितको समूह सोमबार नयाँ बानेश्वरस्थित संसद भवनमा प्रवेश गरेका छन् । प्रदर्शनकारीहरु संसद भवनसम्म प्रवेश गरेको घटनाबारे छानबिन गर्न प्रहरीले समिति गठन गरेको छ ।

२. विवादित मन्त्री बर्खास्त गर्न विपक्षीको माग; संसदमा अवरोध
नेकपा एमालेले विवादमा मुछिएका मन्त्रीहरूलाई बर्खास्तको माग गर्दै प्रतिनिधिसभा बैठक अवरोध गरेको छ । बैठक सुरु हुने बित्तिकै एमाले सांसदहरूले सरकारले सभामुखको रुलिङलाई समेत बेवास्ता गरेर विवाद र भ्रष्टाचारमा मुछिएका मन्त्रीहरूबारे जवाफ पनि नदिएको र राजीनामा नआएको भन्दै बैठक अवरोध गरेका हुन् ।

३. प्रचण्डलाई देउवाको ढाडस
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नो पार्टीको महासमिति बैठकको निष्कर्ष सुनाएर ढाडस दिएका छन् । ललितपुरको गोदावरीमा फागुन ७—१० मा सम्पन्न महासमिति बैठकको निर्णय बोकेर देउवा फागुन ११ गते बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।

४. उपनिर्वाचनको कार्यतालिका सार्वजनिक
इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ तथा बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा २०८१ वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले सोमबार निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ ।

५. राजेन्द्र महतोले छाडे लोसपा
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्यागको घोषणा गरेका छन् । केही समयदेखि पार्टीमा छुट्टै अभियानका लागि गृहकार्य गरिरहेका उनले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर औपचारिक रूपमा ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियान घोषणा गरेका हुन् ।

६. सवारी ज्यान मुद्दामा धर्मेन्द्र बास्तोला दोषी ठहर
सवारी ज्यान मुद्दामा क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता धर्मेन्द्रप्रसाद बास्तोला दोषी ठहर भएका छन् । दाङ जिल्ला अदालतले बास्तोलालाई दोषी ठहर गर्दै १ वर्ष कैद सजायको फैसला सुनाएको हो ।

७. लोकगायक तथा कार्यक्रम सञ्चालक कृष्ण कँडेलविरुद्ध जबर्जस्ती करणी उद्योगको मुद्दा
लोकगायक तथा इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको छ । आइतबार काठमाडौँ जिल्ला अदालतमा एक पीडित महिलाले मुद्दा दर्ता गराएकी हुन् ।

८. बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत
प्रतिनिधिसभामा आर्थिक वर्ष २०८१/८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’ पेस भएको छ । सोमबारको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी वर्षका बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन् ।

९. गायक भक्तराज आचार्यको निधन
भजन शिरोमणि वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । सोमबार अपराह्न ललितपुरको मेडिसिटी अस्पतालमा उनको निधन भएको संगीतकार चेतन सापकोटाले रातोपाटीलाई जानकारी दिए ।

१०. प्रचण्डसहित मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयले ९० वटा मुद्दा खेप्दै
सरकारले संविधान र कानुनको मिहीन अध्ययन गरी परिपक्व निर्णय लिन र गतिविधि गर्न नसक्दा मुद्दा खेप्नुपरिरहेको छ । प्रधानमन्त्री, नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेतलाई विपक्षी बनाइ जिल्ला, उच्च तथा सर्वोच्च अदालतमा गरी विभिन्न विषयमा यतिखेर ९० मुद्दा दायर छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप