सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

रातोपाटी ब्रिफिङ : आजका शीर्ष १० समाचार

मङ्गलबार, १५ फागुन २०८०, २० : ५०
मङ्गलबार, १५ फागुन २०८०

आज २०८० फागुन १५ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

  • अलबिदा भजन शिरोमणि

नेपाली साङ्गीतिक आकाशका एक नक्षत्र भजन शिरोमणि, वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्य हामीबाट सदाका लागि बिदा भएका छन् । उनको महाप्रस्थानले नेपाली सङ्गीत क्षेत्र स्तब्ध बनेको छ । ‘मुटु जलिरहेछ’, ‘जति चोट दिन्छौ’, ‘जहाँ छन् बुद्धका आँखा’, ‘हजार सपनाहरूको’, ‘माया मेरी साँझ बिहान’, ‘हजार आँखा हेर्ने’ लगायत थुप्रै कालजयी गीत दिएका आचार्यले सोमबार अपराह्न ललितपुरको मेडिसिटी अस्पतालमा अन्तिम सास लिए ।

  • किन आन्दोलित भए मिटरब्याज पीडितहरू ?

सरकारसँगको सहमतिपछि आन्दोलन स्थगित गरेको १७ महिनामै मिटरब्याज पीडितहरू फेरि आन्दोलित भएका छन् । यसअघि भएको सहमतिलाई ‘धोका’ भन्दै उनीहरू विभिन्न मागसहित आन्दोलित भएका हुन् । २० दिनभन्दा लामो समय हिँडेरै काठमाडौँ आएका उनीहरू यतिबेला काठमाडौँ केन्द्रित आन्दोलनमा छन् । २०७९ भदौमा काठमाडौँ केन्द्रित आन्दोलन गरेका उनीहरूसँग सरकारले वार्ता गरेर २०७९ असोज १ गते ५ बुँदे सहमति गरेको थियो ।

  • अस्पतालमा लापरबाही

उपचारमा लापरबाही गरेको कसुरमा बयोधा अस्पताल र त्यहाँ कार्यरत डाक्टर दोषी ठहर भएका छन् । उपचारमा लापरबाहीसम्बन्धी मुद्दामा फागुन १० गते बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले बिरामीको उपचारमा लापरबाही भएको ठहर गर्दै बयोधा अस्पताल र त्यहाँ कार्यरत डाक्टर शशीकुमार झालाई दोषी ठहर गर्दै उनीहरूबाट पीडितलाई क्षतिपूर्ति भराउने फैसला सुनाएको हो । 

  • थपिएला ३० हजार दरबन्दी ?

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सार्वजनिक कार्यक्रममा मन्त्रालय मातहत ३० हजार दरबन्दी आवश्यक रहेको बताउँदै आएका छन् । बस्नेतले कर्मचारीको दरबन्दी बढाउन मन्त्रालयले आवश्यक प्रक्रिया थालेको बताउने गरेका छन् । तर संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) समितिको सदस्य रहने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अहिलेसम्म यसबारे समन्वय गरेको पाइएको छैन ।

 

  • हात्तीमैत्री पदयात्राको निष्कर्ष 

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसहितको टोलीले एक हप्ता लामो हात्तीमैत्री पदयात्रा सकेको छ । झापाको बाहुनडाँगीबाट फागुन ९ गते सुरु भएको यात्रा २४३ किमीको दूरी पार गर्दै उदयपुरको बेलसोतमा पुगेर सम्पन्न भयो । यसक्रममा मुख्यमन्त्री कार्कीले पाँच जिल्लाको २४ स्थानीय तह, ५६ सामुदायिक वन र चार साझेदारी वनक्षेत्रको भ्रमण गरे । कार्कीसहित पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती, सचिव विशाल घिमिरे पनि यात्रामा निरन्तर हिँडेका थिए । 

  • पारसले ‘पेस्तोल ताकेको’ भनिएको घटना के हो ?

गैंडाकोटमा रहेका पारसले गत बुधबार चितवनको भरतपुरस्थित सनराइज बोर्डिङ्गका विद्यार्थी बोकेको बसका चालकलाई ‘पेस्तोल ताकेको’ भन्दै सामाजिक संजालमा आलोचना भएको छ । सामाजिक संजाल प्रयोगकर्ता अनिल अधिकारीले त्यसबारे पोष्ट गरेर घटना अनुसन्धान गर्न आग्रह गरेका छन् । 

  • मन्त्रिपरिषद्का १७ निर्णय

सरकारले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रार पदमा डा. सतिसकुमार देवलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । त्यस्तै आगामी फागुन १६ र १७ गते नेपाल र भारतबिच पराराष्ट्र सचिवस्तरीय छलफलमा हुने भएको छ ।

  • भारती मानन्धर

नेपालगञ्जमा गुण्डा नाइके रिगल समूहबाट हत्या गरिएका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले विष सेवन गरेकी छिन् । मंगलबार साँझ ४ बजेको आसपास भारतीले विषय सेवन गरेको पाइएको बाँके प्रहरीले जनाएको छ । 

  • फेरि प्रवेश परीक्षा

त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर र  अधिस्नातक (पीजीडी) तहको पुनः प्रवेश परीक्षा हुने भएको छ । मानविकी तथा सामाजिक शास्त्र सङ्काय डीनको कार्यालयले  पुनः प्रवेश परीक्षाको सूचना जारी गरेको हो ।

  • बैंकका सीईओसहित १० जना पक्राउ 

तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका तत्कालीन सीईओ र पूर्वसीईओसहित १० जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकका तत्कालीन सिईओ मनोज न्यौपाने र पूर्वसीईओ तुल्सीराम गौतमसहित १० जना पक्राउ गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप