शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
आईपीएल

कोलकाताले ८ विकेटले हरायो लखनउलाई

आइतबार, ०२ वैशाख २०८१, १९ : २५
आइतबार, ०२ वैशाख २०८१

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको आइतबार खेलिएको पहिलो खेलमा घरेलु टोली कोलकाता नाइट राइडर्सले लखनउ सुपर जाइन्ट्सलाई ८ विकेटले हराएको छ । जारी आईपीएलमा कोलकाताको यो चौथो जित हो । 

हालसम्म पाँच खेल खेलेको कोलकाताले एक खेलमा भने हार ब्यहोरेको छ । कोलकाता ८ अंकसहित तालिकाको दोस्रो स्थानमा आसिन छ । छैटौँ खेल खेलेको लखनउको भने यो तेस्रो हार हो । तीन खेलमा लखनउ विजयी भएको छ । लखनउले हालसम्मको खेलबाट ६ अंक जोडेको छ ।

कोलकातास्थित ईडेन गार्डेन्स रंगशालामा टस हारी पहिले ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ६१ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको कोलकाताले भने १५.४ ओभरमै केवल दुई  विकेट गुमाएर एक सय ६२ रन बनाउँदै पुरा गर्‍यो । 

कोलकातालाई महत्वपूणर् जित दिलाउन ओपनर ब्याट्सम्यान फिल साल्टले अविजित ८९ रनको योगदान गरे । प्रारम्भदेखि नै आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल ४७ बलको सामना गरी तीन छक्का र १४ चौका पनि हिर्काए ।

कप्तान श्रेयस ऐयरले पनि अविजित ३८ रनको पाली खेले । उनले ३८ बलको सामना गरी ६ वटा चौका पनि हिर्काएका थिए । कोलकाताले अतिरिक्त रुपमा पनि २२ रन पाएको थियो । लखनउका बलर मोहसिन खानले दुई विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको लखनउका लागि निकोलस पुरनले सर्वाधिक ४५ रन बनाएका थिए । उनले केवल ३२ बलमा चार छक्का र दुई चौका पनि हिर्काए । कप्तानसमेत रहेका ओपनर ब्याट्सम्यान केएल राहुलले पनि टोलीको खातामा ३९ रन थपे ।

लखनउका लागि आयुष बदोनीले पनि २९ रन बटुलेका थिए । क्विन्टन डी काक र मार्कुस स्टोइनिसले पनि १०-१० रन बनाए । कोलकाताका बलर मिचेल स्टार्क एक्लैले तीन विकेट लिएका थिए । उनले चार ओभरमा २८ रन खर्चिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप