बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
मनोरञ्जन

एक वर्षमा २ दर्जन विदेशी कलाकार नेपाल भ्रमणमा, उद्देश्य के ?

शुक्रबार, ०७ वैशाख २०८१, १२ : ३४
शुक्रबार, ०७ वैशाख २०८१

काठमाडौँ । नयाँ वर्ष २०८१ को पूर्वसन्ध्या पाकिस्तानका चर्चित गायक आतिफ असलमले काठमाडौँमा साङ्गीतिक प्रस्तुति दिए । होटेल हायात रिजेन्सीको मैदानमा आयोजित सांगितिक कार्यक्रममा आतिफले आफ्ना लोकप्रिय गीतमार्फत दर्शकलाई मन्त्रमुग्ध पारेका थिए ।

असलमलाई कन्सर्टका लागि नेपाल एमएन प्रोडक्सन र ट्यारिस इन्टरटेनमेन्टले ल्याएको थियो । यसअघि २०१२ मा दशरथ रङ्गशालाको साङ्गीतिक कार्यक्रममा उनी नेपाल आएका थिए । 

असलम मात्र होइन, वर्ष २०८० नियाल्ने हो दुई दर्जन हाराहारीका विदेशी कलाकार नेपाल आएको देखिन्छ । जसमा भारतीय अभिनेत्री ज्याकलिन फर्नान्डिज, दिव्या दत्ता, मुनमुन दत्त, भाग्यश्री, दीपिका चिखलिया, अभिनेता गोविन्दा, प्रदीप रावत, ह्यारी जोस, जगपति बाबु, भोजपुरी सुपरस्टार खेसारीलाल यादवदेखि, भारतीय चर्चित गायक पपोन, विनित सिंह, अरिजित सिंह, रितो रिबा, डीजे डानिका भायोलिन, जावेद अली र जमैकन अमेरिकी डीजे वाल्सी फायरसम्म छन् । यी कलाकारमा कोही साङ्गीतिक कार्यक्रमका लागि नेपाल आएको देखिन्छ  भने केही फिल्म छायाङ्कन र अन्य व्यावसायिक प्रयोजन र घुमघामका लागि ।

जो साङ्गीतिक कार्यक्रममा

वर्ष २०८० मा साङ्गीतिक कार्यक्रमका लागि नेपाल आउने विदेशी कलाकारमा चर्चित गायक पपोनले, जमैकन अमेरिकी डीजे वाल्सी फायर, बलिउडका चर्चित गायक अरिजित सिंह, विनित सिंह, रितो रिबा, डीजे डानिका भायोलिन, जावेद अली र अभिनेता गोविन्दा, कैलाश खेर लगायत रहेका छन् ।

भारतीय चर्चित गायक पपोन गत चैत्रमा चुच्चेपाटीस्थित हायात ग्राउन्डमा आयोजित ‘काठमाडौँ इज कूकिंग’ कन्सर्टका लागि नेपाल आएका थिए । कोक नेपाल आयोजक रहेको कार्यक्रममा उनले आफ्ना चर्चित गीतहरु राखेका थिए । पपोन पछिल्लो समय हिन्दी म्युजिक इन्डस्ट्रीमा कहलिएका कलाकार हुन् । उनको वास्तविक नाम अङ्गाराग महन्ता हो ।

त्यस्तै जमैकन अमेरिकी डीजे वाल्सी फायर गत फेब्रुअरीमा अमेरिकी दूतावासको सहकार्यमा ठमेलस्थित एलओडी क्लबमा आयोजित एक कार्यक्रमका लागि नेपाल आएका थिए । वाल्सी फायर एमसी र रेकर्ड निर्माता समेत हुन् । उनका लीन अन (डीजे स्नेक र एमओसँग), कोल्ड वाटर (जस्टिन बिबरसँग), नो बेटर (ट्राभिस स्कटसँग), रन अप (निकी मिनाजसँग), टाइटन्स (सियासँग) लगायतका गीतहरू चर्चित छन् ।

बलिउड अभिनेता गोविन्दा गत फागुनमा रौतहटमा आयोजित ‘मदानी महोत्सव २०८०’का लागि नेपाल आएका थिए । महोत्सवमा उनले केही गीतमा नृत्य गरेर दर्शक नचाए ।

यस्तै भारतीय लोकप्रिय गायक विनित सिंह गत मंसिरमा दरबारमार्गस्थित क्लब प्लाटिनमको ‘विनिथ सिंह लाइभ इन नेपाल’ कार्यक्रमका आएका थिए । एल एन्ड एन मोडेल एजेन्सी आयोजक रहेको कार्यक्रममा उनले ‘तेरा प्यार प्यार  हुक्कः बार’, ‘तुम चैन हो करार हो’, ‘जलते दिए’, ‘प्रेम लिला’ लगायत थुप्रै गीत पस्किए ।

बलिउडका चर्चित गायक अरिजित सिंहको ‘अरिजीत सिंह लाइभ इन नेपाल’ संगीतिक कार्यक्रमका लागि आएका थिए । चाबहिलस्थित हायात ग्राउन्डमा आयोजित कार्यक्रममा अरिजितले करिब ४ घन्टा ‘तुम हि हो’ ‘केसरिया तेरा मेरा’, ‘जो तुम ना हो’, ‘बेखयाली’, ‘प्यार झुटा थो ता’, ‘केहेत हे खुदा ने इस’, ‘अगर तुम साथ हो’, ‘ए दिल हे मुस्किल’, ‘तेरा प्यार मे’, ‘चलेया’ लगायतका गीत दर्शकलाई सुनाए ।

भारतकै अर्काे चर्चित गायक रितो रिबा गत आसोजमा पोखरामा आयोजित एक कार्यक्रमका लागि नेपाल आएका थिए । लेकसाइड स्थित क्याटवाकमा लाइभ कन्सर्टको प्रस्तुति दिन उनलाई प्रतीक इभेन्ट र टौवा क्रियशनले नेपाल ल्याएको थियो ।

डीजे डानिका भायोलिन गत भदौमा नेपाल आएका थिए । काठमाडौँको क्लब १० एक्समा उनको कार्यक्रम राखिएको थियो । 

बलिउड गायक जावेद अली गत साउनमा ‘जावेद अली लाइभ इन नेपाल’का लागि आएका थिए । होटेल सोल्टीमा आयोजना भएको कार्यक्रममा उनले ‘कौन फाया कौन’, ‘गुजारिश’, ‘तुम ‘तु जो मिला’ गीत गाएका थिए । उनले बलिउडमा ५ सय बढी फिल्मी गीतमा गाएका छन् ।

बलिउड गायक कैलाश खेर भदौ आएका थिए । होटेल सोल्टीकामा आयोजना भएको ‘कैलाश खेर लाइभ’ साङ्गीतिक कार्यक्रममा उनले आफ्ना हिट गीत ‘ए रम्बा’, ‘तुझे मे प्यार करु’, ‘गल्ली गल्ली चोर हे’, ‘कैसी हे ए उदासी’ लगायतका करिब दर्जन हिट गीत प्रस्तुत गरेका थिए ।

सुटिङका लागि जो नेपाल आए

पछिल्लो समय विदेशी फिल्मको सुटिङ नेपालमा बढ्दो छ, भने नेपाली फिल्ममा पनि विदेशी कलाकारको उपस्थिति बाक्लिँदै गएको छ । वर्ष २०८० मा सुटिङका उद्देश्यले केही विदेशी कलाकार नेपाल आएको देखिन्छ । ती हुन्, भारतीय चर्चित कलाकार प्रदीप रावत, ह्यारी जोस र भोजपुरी सुपरस्टार खेसारीलाल यादव ।

प्रदीप राव गत पुस महिनामा नेपाल आएका हुन् । उनी अभिनेत्री नीता ढुङ्गानाले निर्माण गरेको फिल्म ‘ह्रस्व दीर्घ’ अभिनयका लागि नेपाल आएका थिए । चितवनमा छायाङ्कन भएको फिल्ममा रावत नीताको बुवाको भूमिकामा देखिँदै छन् । रावत तमिल र तेलुगू फिल्मका चर्चित कलाकार हुन् ।

त्यस्तै बलिउड कलाकार ह्यारी जोस मंसिरमा नेपाल आएका थिए । जोस पनि नेपाली फिल्म ‘देव वाणी’ अभिनयका लागि नेपाल आएका थिए । बलिउडका ‘वान्टेड’, ‘धूम २’, ‘वेलकम’ जस्ता फिल्ममा काम गरेका जोशको ‘देव वाणी’मा रहेको भूमिका बालाजु ल्याबमा छायाङ्कन गरिएको थियो । उनी फिल्ममा विशेष भूमिकामा देखिने निर्माण युनिटले बताएको छ ।

यस्तै भोजपुरी सुपरस्टार खेसारीलाल यादव पनि गत मंसिरमा सुटिङका लागि नेपाल आएका थिए । उनी भोजपुरी फिल्म ‘निरहुवा हाजिर हो’को छायाङ्कनका लागि  नेपालमा आएका थिए । फिल्मको ४ गीतसहित केही दृश्य नेपालमा छायाङ्कन गरिएको छ । स्वयम्भू, भक्तपुर दरबार क्षेत्र, साँगा महादेव, नगरकोट र राजधानीको एक डिस्कोमा छायाङ्कन भएको फिल्ममा खेसारीलालसँग नेपाली मोडल उषा उप्रेतीले पनि अभिनय गरेकी छन् । 

व्यावसायिक प्रयोजन तथा घुमघाम

कतिपय समय विदेशी कलाकारको नेपाल भ्रमणको उद्देश्य व्यावसायिक प्रयोजन तथा नेपाल भ्रमण समेत हुने गरेको छ । २०८० मा नेपाल आएका थुप्रै विदेशी कलाकारको उद्देश्य व्यावसायिक प्रयोजन र नेपाल भ्रमण समेत थियो । जसमा अभिनेता जगपति बाबु, अभिनेत्री दीपिका चिखलिया, भाग्यश्री, मुनमुन दत्त, अभिनेत्री दिव्या दत्त, रञ्जित, विन्दु दाह्रा सिंह पर्छन् ।

भारतीय अभिनेता जगपति बाबु गत असोजमा नेपाल आएका थिए । केही सहयोगी सहित नेपाल आएका उनको भ्रमणको उद्देश्य नेपाल घुमघाम मात्र रहेको थियो । जगपति बाबु चर्चित भारतीय खलनायक हुन् । उनले हिन्दी, तेलुगु, तमिल, मलयालम, र कन्नड फिल्महरू थुप्रै अभिनय गरेका छन् ।

त्यस्तै बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज गत चैत्रमा नेपाल आएकी हुन् । उनको नेपाल भ्रमणको उद्देश्य व्यावसायिक प्रयोजन रहेको थियो । उनी आरबी डायमन्ड ज्वेलर्सको आयोजना रहेको ज्वेलरी रनवेमा र्‍याप वाक नेपाल आएकी थिइन् 

बलिउड अभिनेत्री दिव्या दत्ता गत भदौमा नेपाल आएकी थिइन् । त्रिदिवसीय साहित्य महोत्सव ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ सहभागी हुन उनी नेपाल आएकी थिइन् । बलिउडमा तीन दशक बिताएकी दत्ताले नेपाली फिल्म ‘वसन्ती’ र ‘माया नमार’मा काम गरेकी थिइन् ।

भारतीय अभिनेत्री मुनमुन दत्त गत असारमा नेपाल आएकी थिइन् । उनको नेपाल भ्रमणको उद्देश्य काठमाडौँ घुमघाम थियो । पशुपतिनाथ, बौद्ध, भक्तपुर लगायतका पर्यटकीय थलो घुमघाम गरेर उनी फर्किएकी थिइन् । दत्त पछिल्लो समय टिभी सिरिज ‘तारक मेहताका उल्टा चस्मा’को कारणले चर्चामा छिन् । 

बलिउड अभिनेत्री भाग्यश्री जेठमा काठमाडौँ आएकी थिइन् । काठमाडौँमा आयोजना भएको भारतीय  अवार्ड ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’मा सहभागी हुन उनी नेपाल आएकी थिइन् । उनीसँगै कलाकार रञ्जित, विन्दु दाह्रा सिंह, कमेडियन ध्वनि पनि सहभागी थिए ।

गत चैत्रमा अभिनेत्री दीपिका चिखलिया नेपाल आएकी थिइन् । चर्चित धार्मिक सिरियल ‘रामायण’मा सीताको भूमिका निर्वाह गरेकी चिखलिया सामाजिक संस्था जनजाति कल्याण आश्रमको १४ औँ वार्षिकोत्सवमा भाग लिन नेपाल आएकी थिइन् । उनी भारतीय लोकसभाकी पूर्वसांसद समेत हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप