आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्रचण्ड नेतृत्वको सरकारलाई दुवै जसपाको समर्थन

मङ्गलबार, २५ वैशाख २०८१, १५ : ०६
मङ्गलबार, २५ वैशाख २०८१

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल (जसपा) र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन कायम राख्ने जनाएका छन् । 

वैशाख २२ गते जनता समाजवादी पार्टी नेपालबाट सात जना सांसद अलग भएर अशोक राईको नेतृत्वमा नयाँ जसपा गठन भएको थियो । 

जसपा नेपाल नै विभाजन भएपछि सरकारमा रहेको सो पार्टीले के गर्ला भन्नेबारे अन्योल रहेकै बेला यादवले प्रधानमन्त्री प्रचण्डलाई भेटेर सरकारलाई दिँदै आएको समर्थन कायमै रहने जानकारी गराएका हुन् ।

गएराति अमेरिका र कतार भ्रमण पूरा गरी स्वदेश फर्किएका यादव मंगबलार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । 

प्रधानमन्त्री प्रचण्डलाई भेटेपछि रातोपाटीलाई प्रतिक्रिया दिँदै यादवले समर्थन कायमै रहने बताए ।  प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा अध्यक्ष यादव  उपप्रधानसहित स्वास्थ्य मन्त्री छन् भने वन मन्त्रीमा नवलकिशोर साह छन् । 

तर, मन्त्री साह उपेन्द्र यादवको साथ छाडेर अशोकतिर गएका छन् । यस्तै अशोक राई नेतृत्वको जसपाले पनि प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन कायम रहने निर्णय गरिसकेको छ । नवगठित जसपाको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन कायम रहने निर्णय गरेको हो । 

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान गठबन्धन फुटाउनका लागि गतिविधि गरेको कांग्रेस र एमालेका नेताहरूको दाबी छ । यही बिचमा जसपाकै राई समूहले पार्टी फुटाएर यादवको योजनामा ब्रेक लगाएको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप