आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय
आईपीएल

आईपीएलको दोस्रो क्वालिफायर आज : फाइनलमा पुग्न राजस्थान र हैदराबादबिच भिडन्त

शुक्रबार, ११ जेठ २०८१, १४ : १३
शुक्रबार, ११ जेठ २०८१

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करणमा दोस्रो क्वालिफायर खेल आज (शुक्रबार) खेलिँदै छ । दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सबिच भिडन्त हुनेछ ।

खेल चेन्नईस्थित एम. ए. चिदम्बर स्टेडियममा नेपाली समय अनुसार, राति ७ः४५ बजे सुरु हुनेछ । सनराइजर्स हैदराबाद पहिलो क्वालिफायर खेलमा कोलकाता नाइट राइडर्ससँग ८ विकेटले पराजित भएपछि दोस्रो क्वालिफायर खेल्न आइपुगेको हो ।

पहिलो क्वालिफयार खेलमा विजयी टोली कोलकाता भने सिधै फाइनलमा पुगिसकेको छ । अर्कोतिर, राजस्थान रोयल्सले एलिमिनेटर भिडन्तमा रोयल च्यालेन्जर्स बैंगलुरुलाई ४ विकेटले हराउँदै दोस्रो क्वालिफारमा पुगेको हो । दोस्रो क्वालिफायर खेलमा विजयी हुने टोलीले फाइनलमा कोलकातासँग भिडन्त गर्नेछ ।

चौथो पटक हैदराबादको क्वालिफायर–२ यात्रा

इन्डियन प्रिमियर लिगको इतिहासमा सनराइजर्स हैदराबादले चौथो पटक क्वालिफायर–२ मा भिडन्त गर्न लागेको हो । हैदराबादले यसअघि क्वालिफायर–२ मा खेलेको तीनमध्ये दुई खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको छ ।

सनराइजर्स हैदराबादले सन् २०१६ मा आईपीएलको उपाधि जितेको थियो । समग्रमा हैदराबाद हालसम्म सातौ पटक आईपीएलको प्ले–अफ चरणमा पुगेको हो । हैदराबाद सन् २०१३ मा पहिलो पटक प्ले–अफ चरणमा पुगेको थियो । आईपीएलमा हैदराबादको त्यो ‘डेब्यू’ सहभागिता थियो ।

हैदराबाद सन् २०२० पछि पहिलो पटक प्ले–अफ चरणमा पुगेको हो । हैदराबाद यसअघि दुईपटक फाइनलमा पुग्न सफल भएको छ । सन् २०१८ को फाइनलमा भने हैदराबाद पराजित भएको थियो ।

तेस्रो पटक राजस्थानको क्वालिफायर–२ यात्रा

राजस्थान रोयल्सले तेस्रो पटक आईपीएलको क्वालिफायर–२ खेल्न लागेको हो । राजस्यान यसअघि खेलिएको क्वालिफायर चरणको दुईमध्ये एक खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको छ । राजस्थान आईपीएलको पहिलो सिजनको विजेता पनि हो ।

सन् २०२२ को सिजनमा भने राजस्थान फाइनलमा पुगेर पराजित भएको थियो । समग्रमा राजस्थान छैटौँ पटक आईपीएलको प्ले–अफ चरणमा पुगेको हो । राजस्थान रोयल्सले सन् २०२२ मा क्वालिफायर चरणमा बैंगलुरुलाई हराएर फाइनलमा स्थान बनाएको थियो ।

हेड टु हेडमा केवल एक खेलको अन्तर

इन्डियन प्रिमियर लिगमा हालसम्म राजस्थान रोयल्स र सनराइजर्स हैदराबादबिच कुल १९ खेल खेलिएको छ । त्यसमध्ये १० खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई हराएको छ । ९ खेलमा भने राजस्थानले हैदराबादलाई पराजित गरेको छ ।  

जारी सिजनको आईपीएलमा भने यी दुई टोलीबिच एक खेलमात्र खेलिएको थियो । त्यो खेलमा सनराइजर्स हैदराबादले आफ्नो घरेलु मैदानमा राजस्थान रोयल्समाथि एक रनको रोमाञ्चक जित हासिल गरेको थियो । एम. ए. चिदम्बरम स्टेडियममा यी दुई टोली पहिलो पटक भिड्न लागेका हुन् ।

hyderabad rajasthan

राजस्थानको सर्वाधिक रन रियान परागको नाममा

जारी सिजनको इन्डियन प्रिमियर लिगमा राजस्थान रोयल्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान रियान पराग हुन् । उनले हालसम्म १५ खेल खेल्दै कुल पाँच सय ६७ रन बनाएका छन् । यस क्रमम उनले ४ वटा अर्धशतक पनि प्रहार गरेका छन् ।

यो सिजन टोलीका लागि सर्वाधिक विकेट लिने बलर भने युजवेन्द्र चहल हुन् । उनले उत्कृष्ट प्रदर्शन गरेका छन् । स्पिनर युजवेन्द्रले हालसम्म १८ विकेट लिइसकेका छन् । दोस्रो क्वालिफायरमा पनि टोलीले उनीबाट उत्कृष्ट प्रदर्शनको आशा गरेको छ ।

हैदराबादका हेड, शर्मा र क्लासन लयमा

इन्डियन प्रिमियर लिगको यो सिजनमा सनराइजर्स हैदराबादका लागि तीन ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेका छन् । ट्राभिस हेड, अभिषेक शर्मा र हेनरिच क्लासनले टोलीका लागि चार सयभन्दा बढी रन बनाएका छन् ।

ओपनिङ जोडी अभिषेक र ट्राभिस हेडले त दुई सयभन्दा बढीको स्ट्राइक रेटमा रन बनाएका छन् । हेडले १३ खेलमा कुल ५ सय ३३, अभिषेक शर्माले १४ खेलमा चार सय ७० र क्लासनले १४ खेलमा कुल ४ सय १३ रन बनाएका छन् 

हैदराबादका लागि सर्वाधिक विकेट लिने बलरको सूचिमा भने टी. नटराजन रहेका छन् । उनले हालसम्म १२ खेलमा १८ विकेट लिइसकेका छन् । प्याट कमिन्सले पनि १६ विकेट लिएका छन् । भवनेश्वर कुमारले ११ विकेट हात पारेका छन् ।

स्पिनरलाई साथ दिने पिच

सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सबिच शुक्रबार दोस्रो क्वालिफायर खेल खेलिने एम. ए. चिदम्बरम स्टेडियम खासगरी स्पिन बलरलाई साथ दिने प्रकृतिको रहेको छ । यो स्टेडियममा हालसम्म कुल ८८ खेल खेलिएको छ ।

यो स्टेडियममा पहिले ब्याटिङ गर्ने टोलीले ४८ खेलमा सफलता हात पारेका छन् । जवाफी ब्याटिङ गर्ने टोलीले भने ३५ खेलमा जित हात पारेका छन् । यो स्टेडियममा बनेको उच्च स्कोर ५ विकेट गुमाएर दुई सय ४६ रन हो । यो स्कोर सन् २०१० मा राजस्थान रोयल्सविरुद्ध चेन्नई सुपर किङ्सले बनाएको थियो ।  

 वर्षाको सम्भावना पाँच प्रतिशत

राजस्थान रोयल्स र सनराइजर्स हैदराबादबिच खेल हुने दिन शुक्रबार चेन्नईको मौसम सफा रहने बताइएको छ । यद्दपि, जल तथा मौसम विज्ञान विभागका अनुसार, शुक्रबार चेन्नईमा पाँच प्रतिशत वर्षाको सम्भावना रहेको छ । चेन्नईको पातक्रम २९ देखि ३६ डिग्री सेल्सियसको बिचमा रहने छ ।

सम्भावित टोली

राजस्थान रोयल्स : संजु सामसन (कप्तान एवं विकेटकिपर), यशस्वी जैसवाल, टम कोहलर, रियान पराग, ध्रुव जुरेल, रोभमन पावेल, रविचन्द्रन आश्विन, आवेश खान, ट्रेन्ट बोल्ट, युजवेन्द्र चहल र सन्दीप शर्मा । इम्प्याक्ट प्लेयर : शिमरन हेटमायर ।

सनराइजर्स हैदराबाद : प्याट कमिन्स (कप्तान), ट्राभिस हेड, अभिषेक शर्मा, राहुल त्रिपाठी, नितिश कुमार रेड्डी, हेनरिच क्लासन (विकेटकिपर), अब्दुल समाद, शाहबाज अहमद, विजयकान्त वियषकान्त, भुवनेश्वर कुमार र टी. नटराजन । इम्प्याक्ट प्लेयर : सनवीर सिंह । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप