बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
प्रदेश सरकार

११ महिनामा लुम्बिनी सरकारको बजेट खर्च ४७ प्रतिशत

बुधबार, ०५ असार २०८१, ०६ : ५८
बुधबार, ०५ असार २०८१

बुटवल । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनामा कुल बजेटको ४७ प्रतिशत खर्च गरेको छ । चालुतर्फ ४५.१६ र पुँजीगततर्फ ४८.८१ प्रतिशत बजेट खर्च भएको हो ।

लुम्बिनी प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार वैशाख महिनासम्म ४० प्रतिशत बजेट खर्च गरेको प्रदेश सरकारले जेठ महिनामा थप ७ प्रतिशत खर्च गरी समग्र बजेट खर्चको प्रतिशत ४७ पु¥याएको हो ।

लुम्बिनी प्रदेश सरकारको कुल बजेट ४० अर्ब ४७ करोडमध्ये १९ अर्ब १२ करोड खर्च भएको छ । जसमा चालु बजेट १७ अर्ब २२ करोडमध्ये हालसम्म ७ अर्ब ७७ करोड खर्च भएको छ ।

पुँजीगत बजेट २३ अर्ब २५ करोड ६९ लाखमध्ये ११ अर्ब ३५ करोड रकम खर्च गरेको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

कुन मन्त्रालयको कति खर्च ?

लुम्बिनी प्रदेश सरकारले ११ महिनाको अवधिमा गरेको पुँजीगत खर्च प्रतिशतको हिसाबले मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको खर्च सबैभन्दा कम देखिन्छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा पुँजीगततर्फ विनियोजित बजेट ६ करोड २ लाख रुपैयाँमध्ये ५.९८ प्रतिशतमात्र खर्च भएको छ ।

सबैभन्दा धेरै पुँजीगत बजेट खर्च गर्नेमा गृह मन्त्रालय छ । यो मन्त्रालयका लागि विनियोजित ३१ करोड ८५ लाख रुपैयाँमध्ये ११ महिनामा ५९.१२ प्रतिशत खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय लुम्बिनीले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयमा विनियोजित १ अर्ब ५२ करोड २५ लाख ६९ हजार रुपैयाँमध्ये ५३.५० प्रतिशत खर्च भएको छ । यस्तै अर्थ मन्त्रालयमा विनियोजित १ करोड रुपैयाँमध्ये २८.१८ प्रतिशत खर्च भएको छ ।

उद्योग, पर्यटन तथा यातायात मन्त्रालयमा विनियोजित ५० करोड १७ लाख ५० हजार रुपैयाँमध्ये २५.११ प्रतिशत खर्च भएको छ । कृषि, भूमि व्यवस्था मन्त्रालयमा विनियोजित १८ करोड ७७ लाख ७७ लाख ९५ हजार रुपैयाँमध्ये १६.१६ प्रतिशत खर्च भएको छ ।

यस्तै वन तथा वातावरण मन्त्रालयको ८८ करोड ४२ लाख ४७ हजार रुपैयाँमध्ये ३४.८४ प्रतिशत खर्च भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयमा विनियोजित १३ अर्ब ३१ करोड ६ लाख २० हजार रुपैयाँमध्ये ५०.१५ प्रतिशत खर्च भएको छ ।

खानेपानी तथा ग्रामीण विकास मन्त्रालयले ५ अर्ब ७० करोड ९६ लाख ७० हजार रुपैयाँ बराबरको बजेटमध्ये ५२.६८ प्रतिशत खर्च गरेको छ ।

यस्तै, सामाजिक विकास मन्त्रालयले ३९ करोड ९२ लाख १० हजार रुपैयाँ बराबरको बजेटमध्ये ४०.२९ प्रतिशत खर्च गरेको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

लुम्बिनी प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय प्रमुख दीपक ज्ञवालीले गत वर्ष कुल बजेटको ७० प्रतिशत खर्च गरेको लुम्बिनी प्रदेश सरकारको यो वर्ष बजेट खर्च प्रतिशत घटने सम्भावना देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप