बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

शनिबार, ०८ असार २०८१, २१ : ४८
शनिबार, ०८ असार २०८१

आज मिति २०८१ साल असार महिनाको ८ गते शनिबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–

१ प्रचण्डको जादुवाला नम्बर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई सरकारबाट हटाउन सजिलो नभएको बताएका छन् ।

शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले सरकारको नेतृत्व लिएदेखि नै हटाउन खोजेपनि आफूसँग जादुमय नम्बर रहेकाले त्यो सम्भव हुन नदिएको दाबी गरे ।

‘केही दिन पछि सरकार जाँदै छ रे भन्ने र तपाई हाम्रो दिमागमा कन्फ्युजन क्रियट गर्ने पूरै कोसिस भएको छ । यो भन्न थालेको म प्रधानमन्त्री भएदेखि नै हो । तर  तरिका मिल्यो भने पूरै अवधि बसिन्छ’, प्रचण्डले भने, ढुक्क भएर काम गरे हुन्छ । हामीलाई हटाउन सजिलो छैन । थोरै छ भनेर चिन्ता गर्नुपर्ने छैन । जादुवाला नम्बर छ । त्यो जादुले अनेक गरेर मिलाई हाल्छ ।’

 

२. प्रचण्ड सरकारका नियुक्ति

त्रिशङ्कु संसदका कारण सत्ता टिकाउनकै लागि गठबन्धन गर्नु पर्ने र सत्ताधारी दलहरूबिच भागबन्डाको आधारमा नियुक्ति दिनु पर्ने बाध्यतामा सरकार रहँदै आएको छ ।

दलीय भागबन्डाकै आधारमा न्यायाधीशदेखि संवैधानिक अङ्गका पदाधिकारीहरु मात्र होइन, विश्वविद्यालय, सल्लाहकारदेखि सार्वजनिक संस्थानसम्ममा नियुक्ति गरिन्छ ।

व्यक्तिको योग्यता, कार्यक्षमता र योगदानलाई तिलाञ्जली दिएर  राजनीतिक पहुँच र लेनदेनका आधारमा नियुक्तिहरू हुने गरेको जानकारहरू बताउँछन् । यसले राज्य कोषमा भार पनि थपिरहेको छ ।

२०७९ को आमनिर्वाचनपछि प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो डेढ वर्षमा संसदबाट चार पटक विश्वासको मत लिनु पर्‍यो । यो क्रममा दलीय भागबन्डामा नियुक्तिहरू अनिवार्य जस्तै बन्यो ।

त्रिभुवन विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति गरेर दलीय भागबन्डाको अन्त्य गर्न खोजिएको प्रधानमन्त्री प्रचण्डको भनाइ र नियुक्तिको प्रक्रिया समेत आलोचना मुक्त हुन सकेन । 

 

३. प्रदेश समाचार

कोशी प्रदेशसभाको शनिबारको बैठकमा नेपाली कांग्रेसका सांसद भूपेन्द्र राईले कानुन निर्माण भएर पनि कार्यान्वयनमा आउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

प्रदेशसभामा विशेष समय लिएर बोलेका उनले कानुन निर्माणका क्रममा हुने राज्यको व्ययभारको हिसाबकिताब पनि सुनाए ।

 

वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट पारित गराउन प्रत्येक वडाका लागि निकासा गरिने विकास बजेटको आकार बढाएको बढाएको छ । उचित बजेट नदिए वडाध्यक्षहरूले नगर सभा बिथोल्न चेतावनी दिएपछि महानगरले हरेक वडाका लागि विकास बजेटको आकार बढाएको हो ।

 

४. साताको सेयर

यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४३।९७ अंकले घटेको छ । यो साताको आइतबारदेखि नै घट्न थालेको नेप्से परिसूचक बिहीबारसम्मको अवधिमा उच्च अंकले घटेर बन्द भएको हो । आइतबार २११२ अंकबाट सुरु भएको नेप्सेको कारोबार बिहीबार २०६८ अंकमा आएर रोकिएको हो ।

५. साताको सुन बजार

यससाता सुनको मूल्य तोलामा १ हजार ९०० रुपैयाँ बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार (असार २) तोलामा १ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य कारोबारको अन्तिम दिन असार ७ गते १ लाख ४४ हजार ७०० रुपैयाँ कायम भयो ।

६. ‘ग्लोबल टी–२० लिग’ मा तीन खेलाडी

नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन प्रभावशाली खेलाडीले क्यानडाको चर्चित फ्रेन्चाइज प्रतियोगिता ‘ग्लोबल टी–२० लिग’ खेल्ने भएका छन् ।

नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल, अलराउन्डर दीपेन्द्रसिंह ऐरी र प्रभावशाली लेग–स्पिनर सन्दीप लामिछानेले ‘ग्लोबल टी–२० लिग’ खेल्न लागेका हुन् ।

७. साहितका सामग्री

शनिबार रातोपाटीका साहित्यसम्बन्धी विभिन्न सामग्री प्रकाशित भए ।  श्रवण मुकारुङका तीन कवितासमेत यसमा समावेश छ ।

 

८. रातोपाटी कन्क्लेभ

शनिबार राजधानीको होटल हिमालयमा रातोपाटी प्लस दु कन्क्लेभको आयोजना गरियो । जसअनुसार  ‘एसईईपछि के ?’ र ‘अवको शैक्षिक बाटो, सुहाउँदो समाज र माटो’ शीर्षकमा विद्यार्थीहरुसहित करिब २०० सरोकारवालाको सहभागितामा विज्ञसँग बहस गरियो ।

९. फर्जी लाइसेन्स वितरण

बुटवलस्थित यातायात व्यवस्था कार्यालयबाट गलत तथ्याङ्क इन्ट्री गरेर फर्जी लाइसेन्स वितरण गरेको भेटिएको छ । २०७२ बाट सुरु गरिएको इडिभिएलआरएस ‘इलेक्ट्रिक ड्राइभिङ लाइसेन्स एन्ड भेहिकल रजिस्ट्रेसन सिस्टम’ मा कर्मचारीहरूले गलत तथ्याङ्क इन्ट्री गरेर स्मार्ट लाइसेन्स वितरण गरेका हुन् ।

१०.बर्खामा मेलम्ची बन्द हुँदै

मनसुन सुरु भएसँगै सिन्धुपाल्चोकबाट काठमाडौँ ल्याइएको मेलम्ची खानेपानी जुनसुकै बेला बन्द हुने भएको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले बर्सात धेरै भएर बाढी आउने अवस्थामा काठमाडौँ ल्याइएको खानेपानी बन्द हुने बताए ।

अन्य समाचार

यो पनि छुट्यो कि !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप