१० बजे, १० समाचार
आज २०८१ भदौ २३ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा प्रधान न्यायाधीशका लागि ८ जनाको रोष्टर पठायो न्याय परिषद्ले, लुम्बिनी प्रदेश सभा सदस्य केसी जेल चलान, खुला कारागारको अवधारणा ऐनमै सीमित, सय दिने अभियानको तयारीमा कांग्रेस, खल्तीमा पार्टी नराख्न प्रचण्डलाई नेता–कार्यकर्ताको सुझाव, भारतमाथि दबाब बढाउँदै प्रधानमन्त्री ओली, नदी मापदण्डको विरोधमा प्रदर्शन लगायत छन् ।
१. प्रधान न्यायाधीशका लागि ८ जनाको रोष्टर पठायो न्याय परिषद्ले
न्याय परिषद्ले सर्वोच्च अदालतको ३२ औँ प्रधान न्यायाधीशका लागि योग्यता पुगेका ८ न्यायाधीशको नामसहितको रोष्टर संवैधानिक परिषदमा पठाएको छ । प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले असोज २० गते अनिवार्य अवकाश पाउँदैछन् । श्रेष्ठको अवकाशपछि सर्वोच्चको नेतृत्व सम्हाल्ने प्रधान न्यायाधीशको नियुक्तिका लागि छलफल र सिफारिस गर्न सहज हुने गरी न्यायपरिषदले रोष्टर पठाएको हो ।
२. लुम्बिनी प्रदेश सभा सदस्य केसी जेल चलान
लुम्बिनी प्रदेश सभा सदस्य धनबहादुर (डीबी) केसी आइतबार जेल चलान भएका छन् । यसअघि उनले प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए । उनलाई जिल्ला अदालतले किर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार रुपैयाँ जरिवाना तोकेकोमा कैद तथा सजाय भुक्तान नगरी बस्दै आएका थिए ।
३. खुला कारागारको अवधारणा ऐनमै सीमित
आधुनिक समाज अनुसार सजाय निर्धारण गरिनुपर्छ र कैदीहरूलाई कैदमा राख्ने मात्रै होइन, सुधार गर्नुपर्छ भन्ने अवधारणा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ मा छ । यस ऐनमा खुला कारागारजस्ता नयाँ वैकल्पिक सजायका उपाय राखिएका छन् । यद्यपि ऐनमा व्यवस्था गरिएका कतिपय व्यवस्था कार्यान्वयन गर्न सरकारले तदारुकता देखाएको छैन । यसै विषयमा केन्द्रित रहेर रातोपाटीले नेपालका केही प्रतिनिधिमूलक जेलको अवस्थाबारे सामग्री तयार पारेको छ ।
४. सय दिने अभियानको तयारीमा कांग्रेस
नेपाली कांग्रेसले ६ हजार ७४३ वटै वडामा पार्टीलाई बलियो बनाउने गरी अभियान सञ्चालन गर्दैछ । भदौ १६ गते बसेको केन्द्रीय समिति बैठकको निर्णय अनुसार कांग्रेसले सय दिने अभियान सञ्चालन गर्न लागेको हो । सोही अनुसार असोज १ देखि नेताहरू गाउँगाउँ जाने भएका छन् ।
५. खल्तीमा पार्टी नराख्न प्रचण्डलाई नेता–कार्यकर्ताको सुझाव
नेकपा माओवादी केन्द्रको कोशी प्रदेशस्तरीय परामर्श बैठक उदयपुरको बेलकामा आइतबारदेखि सुरु भएको छ । सोमबार सकिने बैठकमा प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी गरी ७४ जनाको उपस्थिति छ । आइतबार परामर्श बैठकमा बोल्ने अधिकांश वक्ताले नेतृत्वलाई खल्तीमा पार्टी नराख्न सुझाव दिएका छन् ।
६. भारतमाथि दबाब बढाउँदै प्रधानमन्त्री ओली
नेपाल–भारत सम्बन्धलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले लगातार अभिव्यक्ति दिँदै भारतमाथि दबाब बढाइरहेका छन् । प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी)को प्रतिवेदन बुझ्नका लागि पनि उनले भारतमाथि दबाब बढाएका छन् ।
७. नदी मापदण्डको विरोधमा प्रदर्शन
सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाका नदीको मापदण्ड थप २० मिटर कायम गरेपछि ठाउँठाउँमा स्थानीयहरू विरोधमा उत्रिएका छन् । सर्वोच्च अदालतको आदेशसँगै काठमाडौँ महानगरले २० मिटरमा कुनै पनि संरचना निर्माण गर्न नपाइने भन्दै रोक लगाएपछि यो मुद्दा थप चर्किएको हो ।
८. सप्तऋषिको पूजा गरी मनाइयो ऋषिपञ्चमी
आइतबार हिन्दु धर्मावलम्बी महिलाले सप्तऋषिको पूजा गरी ऋषिपञ्चमी पर्व मनाएका छन् ।
९. पारा ओलम्पिककी कांस्य पदक विजेता पलेशालाई कांग्रेसको सम्मान
नेपाली कांग्रेसले पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धनलाई आइतबार सम्मान गरेको छ । उनलाई सम्मानस्वरुप ५ लाख रुपैयाँ प्रदान गरिएको छ ।
१०. ओली–देउवा भेट
सत्तारुढ दलका दुई शीर्ष नेताबिच भेटवार्ता भएको छ । केही मन्त्रीसहित प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको हो । भेटवार्तामा सरकारका कामकारबाहीबारे छलफल भएको बताइएको छ ।