रोनाल्डो र मेस्सीको रेकर्ड पछ्याउँदै लेवान्डोस्की
बेलग्रेड । रोबर्ट लेवान्डोस्कीले यो सिजन आफ्नो उत्कृष्ट फर्म जारी राख्दा बार्सिलोनाले च्याम्पियन्स लिगमा रेड स्टार बेलग्रेडमाथि सहज जित हात पारेको छ । बुधबार राति भएको खेलमा लेवान्डोस्कीको दुई गोलको मद्दतले बार्सिलोना ५–२ गोल अन्तरले विजयी भएको हो ।
३६ वर्षीय पोलिस स्ट्राइकरले यो सिजन सबै प्रतियोगिताका १६ खेलमा आफ्नो गोल सङ्ख्या १९ पुर्याएका छन् । उनी क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सीपछि च्याम्पियन्स लिगमा गोलको शतक पुर्याउने तेस्रो खेलाडी बन्न मात्र १ गोल टाढा रहेका छन् ।
प्रतियोगिताको सर्वाधिक गोलकर्ता रोनाल्डोको १ सय ४० गोल रहेको छ । मेस्सी १ सय २९ गोलसहित दोस्रो स्थानमा रहेका छन् । लेवान्डोस्कीको १ सय २४ खेलबाट ९९ गोल रहेको छ ।
खेलको १३ औँ मिनेटमा इनिगो मार्टिनेजले बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर, सिलास काटोम्पा एमभुम्पाले २७ औँ मिनेटमा बेलग्रेडका लागि बराबरी गोल फर्काए । ४३ औँ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाए ।
दोस्रो हाफको सुरुवातमा बार्सिलोनाले दुई मिनेटको अन्तरमा दुई गोल थप्यो । लेवान्डोस्की र राफिन्हाले टोलीका लागि एक–एक गोल गरे । ७६ औँ मिनेटमा फर्मिन लोपेजले टोलीका लागि पाँचौँ गोल गरे ।
खेलको अन्त्यतिर मिल्सनले एक गोल फर्काए पनि त्यो सान्त्वना गोलमात्र बन्न पुग्यो । पहिलो खेलमा मोनाकोसँग स्तब्ध भए यता प्रतियोगितामा बार्साको यो लगातार तेस्रो जित हो ।
टोली च्याम्पियन्स लिगको नयाँ ३६ टोलीको फर्म्याटमा छैटौँ स्थानमा उक्लिएको छ । हान्सी फ्लिकको टोलीले सबै प्रतियोगिताका पछिल्ला सात खेल जितेको छ । त्यस क्रममा टोलीले २९ गोल गर्न सफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा लेस्टर सिटीले जोगायो इज्जत
-
बढ्यो जाडो, कस्तो रहला मौसम ?
-
शेयर बजारमा लगानी गर्दा 'मालामाल' हुने राशि कुन् हुन् ? हेरौँ आजको राशिफल
-
दक्षिण कोरियामा व्यापक प्रदर्शन, आफ्ना नागरिकलाई अमेरिकाको हाइअलर्ट
-
रेलिगेशनबाट माथि उत्रियो क्रिष्टल प्यालेस
-
बार्सिलोना थप आक्रामक, मलोर्काको पोष्टमा ५ गोल