सोमबार, २४ मङ्सिर २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे, १२ समाचार : 'एमालेका प्रदेश सांसद अधिकारी प्रहरी हिरासतमा' देखि 'लामिछानेविरुद्ध १३ दिन म्याद थप' सम्म

सोमबार, २६ कात्तिक २०८१, ०० : ००
सोमबार, २६ कात्तिक २०८१

पछिल्ला २४ घण्टामा विकसित मुख्य-मुख्य घटनाक्रमहरूको संगालो रातको १२ बजे रातोपाटी डटकमको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ प्रस्तुत गरेका छौँ :-

आजका मुख्य समाचारमा राष्ट्रपति पौडेल अजरबैजान प्रस्थान; कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपतिलाई, कोशीका पूर्वमन्त्री अधिकारीलाई विराटनगरबाट काठमाडौँ ल्यायो प्रहरीले, कालिकोटमा जीप दुर्घटना हुँदा कम्तीमा ६ जनाको मृत्यु, रविलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति, कांग्रेससँगको सत्ता साझेदारी अहिलेसम्मकै ‘कम्फरटेबल' भएको प्रधानमन्त्री ओलीको भनाइ, सरकारले एसपीपी सम्झौता गर्न लागेको प्रचण्डको आरोप लगायत छन् ।

१. कोप–२९ मा राष्ट्रपति नेतृत्वको टोली
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप–२९) अजरबैजानको बाकुमा सोमबारदेखि प्रारम्भ हुँदैछ । सम्मेलनमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल आइतबार त्यसतर्फ प्रस्थान गरेका छन् भने वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीसहित वन सचिव डा दीपककुमार खरालसहित अन्य उच्च कर्मचारी र विज्ञसहितको नेपाली टोली सम्मेलनस्थल पुगिसकेको छ । 

३. रविलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । आइतबार कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासले रविलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

४. मन्त्रिपरिषद् बैठक
सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्दै कार्यान्वयनमा लैजाने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विद्युत् बक्यौतासम्बन्धी सुझाव दिन गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्दै कार्यान्वयनमा लैजाने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । 

५. कांग्रेससँगको सत्ता साझेदारी अहिलेसम्मकै ‘कम्फरटेबल’: ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेससँगको सत्ता साझेदारी अहिलेसम्मकै कम्फरटेबल भएको बताएका छन् । पार्टीको सचिवालय बैठकमा उनले कांग्रेससँगको समन्वय र सहकार्यमा कुनै अप्ठ्यारो अहिलेसम्म नदेखिएको जिकिर गरेका हुन् ।

६. सरकारले एसपीपी सम्झौता गर्न लागेको प्रचण्डको आरोप
पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको गठबन्धन सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता अगाडि बढाउन लागेको आरोप लगाएका छन् । माओवादी निकट पत्रकार सङ्गठन प्रेस सेन्टर नेपालले आइतबार मकवानपुरमा गरेको पत्रकार सम्मेलनमा प्रचण्डले ओली सरकारमाथि यस्तो आरोप लगाएका हुन् ।  

७. उपनिर्वाचनमा कांग्रेसका यस्ता एजेण्डा
 मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनमा सत्तासाझेदार दल नेपाली कांग्रेसले स्थानीय तह सवलिकरणको एजेन्डा लिएर जनताको घरदैलो जाने तयारी गरेको छ । उपनिर्वाचनको तयारीमा जुटेको पार्टीले स्थानीय स्तरमा देखिएका र जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयलाई नै एजेन्डा बनाएर जाने भएको हो ।

८. नेपालमा कम्पनी खोल्नमात्र होइन, बन्द गर्न पनि गाह्रो
२०८० असार मसान्तसम्म नेपाल सरकारमा तीन लाख ४२ हजार ३४ कम्पनी दर्ता छन् । जसमध्ये प्राइभेट लिमिटेड तीन लाख ३० हजार २३३ रहेका छन् । बाँकी ११ हजार ८०१ कम्पनीमध्ये २,२०२ पब्लिक लिमिटेड, ५,६७८ नाफा वितरण नगर्ने कम्पनी र ३,९२१ वटा वैदेशिक लगानी भएका कम्पनी छन् ।

यीमध्ये करिब ५० प्रतिशत कम्पनी वर्षौंखि कारोबार सञ्चालन नगरेका तर प्रक्रियागत रूपमा बन्द नभएका अवस्थामा रहेको पूर्वउद्योगसचिव भरत थापा बताउँछन् । नेपालमा कम्पनी खोल्न, सञ्चालन गर्न र बन्द गर्न निकै गाह्रो रहेको उनले बताए ।

९. नेपाली फिल्मलाई दर्शकको साथ
पछिल्लो समय केही नेपाली फिल्मले राम्रो व्यवसाय गरेका छन् । चाडपर्वको समय पारेर प्रदर्शनमा आएका केही नेपाली फिल्म हिन्दी फिल्मलाई समेत पछि पार्न सफल भएका छन । यो दुई महिनामा ६ नेपाली फिल्मले राम्रो दर्शक पाए । यो अवधिमा रिलिज भएका सबैजसो हिन्दी फिल्मले नेपाली दर्शक पाउन सकेनन् ।

१०. प्रहरीमा ८ डीआईजी पद रिक्त
नेपाल प्रहरीमा ८ वटा प्रहरी नायव महानिरीक्षक (डीआईजी)को दरबन्दी रिक्त भएको छ । डीइआईजीहरू बुद्धिराज गुरुङ र केदार ढकाललाई गृह मन्त्रालयले एआईजीमा बढुवा सिफारिस गरेसँगै रिक्त सङ्ख्या ८ पुगेको हो । कार्तिक १४ मा बढुवा समितिले गुरुङ र ढकाललाई बढुवा सिफारिस गरेको थियो ।

११. कालिकोटमा जीप दुर्घटना
कालिकोटको पलाँता गाउँपालिका–३ राडुमा आइतबार भएको जीप दुर्घटनामा ६ जनाको मृत्यु भएको औपचारिक पुष्टि भएको छ । उक्त जीप वडा नम्बर ५ को खिनदेखि थिर्पुतर्फ जाँदै थियो । जीप सडकबाट करिब ५०० मिटर तल भिरमा खसेको प्रहरीले जनाएको छ ।

१२. दुई न्यायाधीश र दुई राजदूत नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतका दुई न्यायाधीश नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले आइतबार नै दुई नेपाली राजदूत पनि नियुक्त गरेका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप