आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको मतगणना जारी छ । जारी मतगणनामा कांग्रेस र एमालेबीच नै टक्कर देखिएको छ । नतिजाअनुसार कांग्रेसले अग्रता बनाएको छ भने एमाले पछिपछि छ ।
बुटवल । गुल्मीको मुसिकोट नगरपालिका–१ मा वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार आनन्द श्रेष्ठले विजयी भएका छन् । श्रेष्ठले ११ सय ८४ मत प्राप्त गरि विजयी बनेका हुन् ।
उपनिर्वाचनमा श्रेष्ठका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार दल बहादुर थापाले ९३० मत प्राप्त गरेका थिए । त्यसैगरी माओवादी केन्द्रका उम्मेदवार दुर्गाबहादुर बिकले १४३ मत प्राप्त गरे भने राष्ट्रिय स्वतन्त्र पार्टीका विकास थापाले ४३ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ईश्वरी खातीले ५ मत प्राप्त गरेका छन्।
उक्त वडामा ५७.१ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत युवराज गौतमले जानकारी दिएका छन् । मुसिकोट नगरपालिका वडा नं १ मा चार हजार ९१ मतदाता मध्य दुई हजार ३३४ जनाले मतदान गरेका थिए ।
धनुषा । धनुषाधाम नगरपालिका वडा नं १ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सुनिल कापर केवट निर्वाचित भएका छन् ।
आइतबार भएको उपनिर्वाचनमा केवटले छ सय ८४ मत प्राप्त गरी विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार नेपाली कांग्रेसका अशोककुमार मण्डलले छ सय दुई मत प्राप्त गरे । साथै जनता समाजवादी पार्टी नेपालका अजयकुमार यादवले चार सय ९९, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रमोद यादवले तीन सय ६५, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामदेव सिंह दनुवारले २७ र जनमत पार्टीका कुशेश्वर मण्डलले २५, राष्ट्रिय स्वतन्त्र पार्टीका राम नरेश दासले १० मत प्राप्त गरेका छन् ।
नुवाकोट । नुवाकोटको ककनी गाँउपालिका वडा नं २ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का कृष्ण घिमिरे (मिलन) निर्वाचित भएका छन् ।
आइतबार भएको उपनिर्वाचनमा घिमिरेले एक हजार ८५ मत प्राप्त गर्दै बिजयी भएको मुख्य निर्वाचन अधिकृत शुभाषबाबु पुरीले जानकारी दिए । उनका अनुसार घिमिरेका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सूर्य जिम्बा तामाङले पाँच सय ८७ मत प्राप्त गरे ।
यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का यमबहादुर लामाले तीन सय ४१, राष्ट्रिय स्वतन्त्र पार्टीका मङ्गलसिद्वि तामाङले ८३, राष्ट्रिय प्रजातन्त्र पार्टीका खेमबहादुर थापाले २८, मङ्गोल नेशनल अर्गनाइजेसनका किरण तामाङले २६, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का मानबहादुर लामाले (तामाङ) २३, नागरिक उन्मुक्ति पार्टीका अमृत तामाङले १६ र नेपाल मजदुर किसान पार्टीका माइली माया तामाङले १४ मत प्राप्त गरेका छन् । साथै स्वतन्त्र उम्मेदवारद्वय सोनु तामाङ र रमेश पुडासैनीले एक÷एक मत पाए ।
काठमाडौं । कपिलवस्तुको शुद्धोधन गाउँपालिका १ मा एमाले उम्मेदवार विजयी भएका छन् । वडाध्यक्षका लागि भएको चुनावमा एमाले उम्मेदवार मोहमद ताहिर मुसलमान ११५० मतसहित विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार दिनेश कुमार यादवले १०७६ मत ल्याए । यस्तै, तेस्रोमा देखिएको जनमत पार्टीका सीताराम पटेल कुर्मीले ४२३ मत र जनता समाजवादी पार्टीका राम बहादुर कुर्मी चौधरीले ३४१ मत पाए । माओवादी उम्मेदवार रफि मोहम्मद मुसलमानले १३८ मत प्राप्त गरे ।
काठमाडौँ । स्थानीय तह उपनिर्वाचनमा हालसम्म कांग्रेसले १३ ठाउँमा वडाध्यक्ष पदमा विजय हासिल गरेको छ । निर्वाचन आयोगका अनुसार हेटौँडा उपमहानगरपालिका–१२ मा अर्जुन प्रसाद तिवारी, भीमदत्त नगरपालिका–६ मा प्रकाश चन्द, ठाकुरबाबा नगरपालिका–४ मा अमिन थारु निर्वाचित भएका छन् ।
यसैगरी गढी गाउँपालिका–६ मा तेतर साहु, राजपुर नगरपालिका–६ मा समसे आलम, रुन्टीगढी गाउँपालिका–४ मा भुपमणि पुन मगर, ईशनाथ नगरपालिका–७ मा शेख अब्दुल खलिक निर्वाचित भएका छन् ।
यसैगरी सानीभेरी गाउँपालिका ५ मा मोतीराम खत्री, कीर्तिपुर नगरपालिका १ मा इच्छा कुमार महर्जन, पूर्वीचौधी गाउँपालिका ६ मा मोहन थापा, लालीगुराँस नगरपालिका ८ मा नगेन्द्र लिम्बु, दुहुँ गाउँपालिका ५ मा धनसिंह कुँवर र कुशे गाउँपालिका ७ मा खम्ब बहादुर सिंह निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।
काठमाडौं । काठमाडौं महानगरपालिका १६ को मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको अग्रता कायमै छ ।
रास्वपा उम्मेदवार रोजिना श्रेष्ठले १७९८ मत पाउँदा कांग्रेस उम्मेदवार देवेन्द्र पाठकले १४७९ र एमाले उम्मेदवार लक्ष्मी रत्न तुलाधरले १२३८ मत पाएका छन् । यस्तै, एकीकृत समाजवादीका मीन बहादुर मानन्धरले ७७२ मत प्राप्त गरेका छन् ।
काठमाडौं । कीर्तिपुर नगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । निर्वाचन अधिकृत इन्दिरा कार्कीले दिएको जानकारी अनुसार कांग्रेस उम्मेदवार इच्छा कुमार महर्जन ५ सय ६२ मत ल्याई विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार हर्ष महर्जनले ४ सय ९८ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका उम्मेदवार सरल गोपाल महर्जनले १ सय ७३ मत ल्याए ।
काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका नगरपालिका -१२ मा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । वडाध्यक्षका लागि भएको निर्वाचनमा माओवादी केन्द्रका नविन कुमार वान्तवा राई कुल कसेको २५२७ मत मध्ये ९२३ मत ल्याएर विजयी भएका हुन् ।
राईका निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार लक्ष्मी नारायण चौधरीले ६०८ मत ल्याए । कांग्रेस उम्मेदवार सञ्जिव काफ्लेले ३५९ मत प्राप्त गर्दा एकीकृत समाजवादीका निर्मला चौधरीले ३१२ मत पाए । रास्वपा उम्मेदवार ध्रुब प्रसाद पोखरेलले २०२ मत कटाए ।
मकवानपुर । स्थानीय तह उपनिर्वाचन अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१२ को वडाध्यक्षमा नेपाली कांग्रेसका अर्जुन प्रसाद तिवारी विजयी भएका छन् । आइतबार सम्पन्न मतदानमा तिवारीले २ हजार ६३ ल्याई विजयी भएका हुन् ।
उनले ५०३ को मतान्तरले चुनाव जितेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका रवि कुमार प्रधानले १ हजार ५६० मत पाए । एमालेका उम्मेदवार भने तेस्रो स्थानमा रहे । एमालेका उम्मेदवार राजेश नगरकोटीले १ हजार ३९८ मत प्राप्त गरे ।
काठमाडौं । ओखलढुंगाको मोलुङ गाउँपालिका-५ मा एमाले उम्मेदवारले अग्रता लिएपछि कांग्रेसले मतगणना स्थल छोडेकामा अन्ततः एमालेका गंगाबहादुर तामाङ विजयी घोषित भएका छन् ।
तामाङले कुल सदर मतमध्ये ३९९ ल्याएर विजयी भए । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेस उम्मेदवार घनश्याम दाहालले १७७ मत ल्याए । तेस्रोमा देखिएको रास्वपाका उम्मेदवार विष्णुप्रसाद पोखरेलले १५१ मत प्राप्त गरे । माओवादी केन्द्रका पोल्टामा भने २३ मत पर्यो ।
काठमाडौं । सुनसरीको गढी गाउँपालिका –६ मा नेपाली कांग्रेसले जित हासिल गरेको छ । वडाध्यक्षका लागि भएको चुनावमा कांग्रेस उम्मेदवार ७३ वर्षीय तेतर साहु ८१६ मत ल्याएर विजयी भए ।
माओवादी केन्द्रका उम्मेदवार कुशेश्वर खेरवार साहुसँग जम्मा २२ मतले पराजित भए । खेरवारले ७९४ मत ल्याउँदा एमाले उम्मेदवार शन्तु उरावले ७७० मत प्राप्त गरे । यस्तै, राप्रपाकी कविता कुमारी उरावले ८७ मत ल्याउँदा रास्वपाका शशि कुमार साहुले ३३ मत ल्याए ।
विराटनगर । मोरङको ग्रामथानमा माओवादीले अग्रता कायम राखेको छ । आइतबार भएको उपनिर्वाचन अन्तर्गत प्रारम्भिक मतगणना अनुसार माओवादी केन्द्रका उम्मेदवार नमो नारयण माझीले अग्रता कायम राखेका हुन् ।
उनले ग्रामथान गाउँपालिको १ र २ नम्बर वडाको गणना सकिदा ६७४ मतले अग्रता कायम गरेका छन् । निर्वाचन अधिकृतले दिएको जानकारी अनुसार माओवादी केन्द्रका उम्मेदवार माझीले २४ सय ११ प्राप्त गरेका छन् ।
यस्तै, नेपाली कांग्रेसका उम्मेदवार बलराम सरदार थारु १७३७ मत ल्याएर माझीलाई पछ्याउँदै छन् । एमालेका उम्मेदवार तुलसी विश्वासले ९८५ मत प्राप्त गरेका छन् ।
काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेस उम्मेदवार प्रकाश चन्दले कुल सदर मतमध्ये ११०७ मत प्राप्त गरेर विजयी भएका हुन् ।
काठमाडौं । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षका लागि भएको निर्वाचनमा २७५४ मत गणना हुँदा प्रमुख प्रतिपक्ष माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन् ।
माओवादी केन्द्रका नमो नारायण माझीले ११८१ मत ल्याउँदा कांग्रेसका बलराम सरदार थारुले ९२४ र एमालेका तुलसी राम विश्वासले ४६९ मत प्राप्त गरेका छन् । रास्वपा उम्मेदावरले भने ७८ मत ल्याएका छन् ।
काठमाडौं । स्थानीय तह उपनिर्वाचनको नजिता आउने क्रम जारी छ । हालसम्मको मतपरिणमा अनुसार चुनावी नजितामा ठूला दलकै वर्चश्व देखिन्छ । सत्तारुढ नेकपा एमाललेले हालसम्म चार ठाउँमा जित हासिल गरेको छ ।
महोत्तरीको रामगोपालेश्वर नगरपालिका २ मा एमालेका सकिवुल खाँ विजयी भएका छन् मने दैलेखको दुल्लु नगरपालिका १३ मा लालबहादुर शाही विजयी भएका छन् । यस्तै, ओखलढुंगाको मोलुङ गाउँपालिका ५ मा गंगाबहादुर तामाङ र ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका –३ मा कुमारी सावादेन विजयी भएकी छन् ।
काठमाडौं । आइतबार भएको स्थानीय तह उपनिर्वाचनमा सत्ताधारी नेपाली कांग्रेसबाट हालसम्म ९ जना वडाध्यक्ष निर्वाचित भएका छन् । बर्दियाको ठाकुबाबा नगरपालिका ४ मा अमिन थारु १०४३ मत ल्याइ विजयी भएका छन् भने रौतहटको राजपुर ६ मा अमसे आलम विजयी भएका छन् ।
काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिकामा–१२ नम्बर वडामा १३ सय मत गणना हुँदा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन् । माओवादीका उम्मेदवार नविन कुमार वान्तवा राईले ४८५ मत ल्याएर अग्रता कायम गरेका छन् ।
यस्तै, एमालेका लक्ष्मी नारायण चौधरीले २९८ मत प्राप्त गर्दा कांग्रेसका सन्जिव काफ्लेले १९३ मत ल्याएका छन् । एकीकृत समाजवादीका निर्मला चौधरीले १६५ मत पाउँदा रास्वपाका ध्रुब प्रसाद पोखरेलले ९६ मत प्राप्त गरेका छन् ।
मकवानपुर । स्थानीय तह उपनिर्वाचन अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को ५ मतदान केन्द्रको मत गणनामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायमै राखेका छन् । कांग्रेसका अर्जुन प्रसाद तिवारीले १ हजार १२४ मत प्राप्त गरेका छन् ।
उनलाई माओवादी केन्द्रका उम्मेदवार रवि कुमार प्रधानले पछ्याइ रहेका छन् । प्रधानले ८६२ मत प्राप्त गर्दा एमालेका राजेश नगरकोटीले ७९३ मत पाएका छन् । रास्वपाका आशविर बलले ५२ मत प्राप्त गरेका छन् । राप्रपाका प्रेम बहादुर भोल्नले ९६ मत पाएका छन् ।
काठमाडौं । रौतहटको राजपुर नगरपालिका वडा नम्बर ६ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार समसे आलम विजयी भएका छन् । उनले ७४४ मतका साथ विजय हासिल गरेका हुन् ।
उनका निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार जिकरुलाहले ४६३ तथा एमालेका मोहम्मद नसिम अख्तरले ४३१ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । यस्तै, सीके राउत नेतृत्वको जनमत पार्टीका उम्मेदवारले ४५ मत ल्याएका छन् ।
काठमाडौँ । सप्तरीको डाक्नेश्वरी नगरपालिका– ४ को वडा अध्यक्षमा जसपा नेपालका उम्मेदवार विजयी भएका छन् । जसपा नेपालका देवेन्द्र यादव ३७२ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारले २७७ मत ल्याएका छन् ।