काठमाडौँ । स्थानीय तह उपनिर्वाचन अन्तरगत आइतबार सम्पन्न मतदानको मतगणना सुरु भएको छ । गोरखा नगरपालिका वडा नम्बर–५, कालीकोटको तिलागुफा नगरपलिका–४, जाजरकोटको कुशे गाउँपालिका ७ सहितका विभिन्न स्थानमा मतगणना सुरु भएको रातोपाटीका स्थानीय संवाददाताहरुले जनाएका छन् । जसअनुसार तिलागुफा नगरपालिका–४ मा मनगणना सकिएर नेमकिपाका उम्मेदवार विजयी भइसकेका छन् ।
अन्य स्थानमा पनि मतगणनाका लागि तयारी भइरहेको जनाइएको छ । निर्वाचन आयोगले यसअघि मतगणना स्थलमा मतपेटिका जम्मा हुनेबित्तिकै मतगणना सुरु गर्न निर्देशन दिएको थियो । स्थानीय तह उपनिर्वाचन निर्देशिका, २०८१ र मतगणनासम्बन्धी आयोगबाट भएको निर्देशन बमोजिम तत्काल मतगणना प्रारम्भ गर्न निर्देशन दिइएको प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।
उनका अनुसार आइतबार स्थानीय तह उपनिर्वाचनको मतदान कार्य शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको छ। उपनिर्वाचन भएका स्थानीय तह तथा वडाको अन्तिम मतदाता नामावलीमा २ लाख २६ हजार ७९९ मतदाता रहेकोमा हालसम्मको प्राप्त विवरण अनुसार करिब ६२ प्रतिशत मतदान भएको उनको भनाइ छ।
पोखरेलकाअनुसार एउटा मात्रै मतदान स्थल रहेका १५ वटा वडाको वडा अध्यक्ष पदको मतगणना सम्बन्धित मतदान स्थलमा नै हुने व्यवस्था मिलाइएको छ भने अन्य स्थानमा सबै मतदान स्थलबाट मतपेटिका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन गरी मतगणना हुनेछ।
उपनिर्वाचन प्रयोजनका लागि २५ वटा राजनीतिक दल दर्ता भएकोमा २० वटा राजनीतिक दलको तर्फबाट उम्मेदवारी परेको थियो। यस्तै ओखलढुंगा र कैलाली जिल्लाको जिल्ला समन्वय समितिको प्रमुखमा क्रमशस् नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीका कुमारी चौधरी यसअघि सर्वसम्मत भइसकेका छन् भने रूकुम पूर्वी भागको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा नेमाओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध भएका छन् ।
यसबाहेक नगरपालिकाका प्रमुख एक जना, उपप्रमुख एक जना, गाउँपालिकाका अध्यक्ष दुई जना, उपाध्यक्ष चार जना तथा वडा अध्यक्ष ३३ जना गरी जम्मा ४१ पदका लागि आइतबार मतदान भएको हो । उपनिर्वाचनमा राजनीतिक दलका २७४ जना र स्वतन्त्र १०२ जना गरी जम्मा ३७६ जना उम्मेदवार रहेको आयोगले जनाएको छ ।
काठमाडौँ । स्थानीय तह उपनिर्वाचन अन्तरगत जारी मतगणनाअनुसार आइतबार राति साढे ११ बजेसम्म ११ वटा वडाको अन्तिम मत परिणाम घोमषणा भएको छ । जसअनुसार नेपाली कांग्रेसले ६, एमालेले ३ तथा माओवादी केन्द्र र नेमकिपाले १–१ वटा वडा जितेका छन् ।
निर्वाचन आयोगका अनुसार कालीकोटको तिलागुफा नगरपालिका–४ मा नेमकिपाका खड्गराज शाही विजयी भएका छन् । यसैगरी ओखलढुंगाको मोलुङ गाउँपालिका–५ मा एमालेका गंगाबहादुर तामाङ, रौतहटको इशनाथ गाउँपालिका–७ मा कांग्रेसका शेख अब्दुल खलिक, महोत्तहरीको रामगोपालपुर नगरपालिका–२ मा एमालेका ककिवल खाँ निर्वाचत भएका छन् ।
यसैगरी गोरखाको गोरखा नगरपालिका–५ मा माओवादी केन्द्रका विष्णु बहादुर मगर, रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा कांग्रेसका मोतीराम खत्री, दैलेखको दुल्लु नगरपालिका–१३ मा एमालेका लालबहादुर शाही, जाजरकोटको कुशे गाउँपालिका–७ मा कांग्रेसका खम्बबहादुर सिंह, डोटीको पूर्वीचौकी गाउँपालिका ६ मा कांग्रेसका मोहन थापा र दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ५ मा कांग्रेसकै धनसिंह कुँवर निर्वाचित भएका छन् । यसैगरी रुकुम पूर्वको पुथा उत्तरगंगा २ मा माओवादीका जगत धर्ती यसअघि नै निर्वाचित भएका थिए ।
काठमाडौँ । कन्काई नगरपालिका–६ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । चापाकल चुनाव चिह्न पाएका स्वतन्त्र उम्मेदवार लक्ष्मी प्रसाद ओलीले ४९३ मतसहित जित हात पारेका हुन् ।
नेकपा एमालेका तुलाराम बस्नेतले ३५६ मत ल्याउँदै दोस्रो स्थानमा रहे । नेपाली कांग्रेसका रामगोपाल ओलीले ३१७ मत ल्याएका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार गणेश बहादुर थापाले २७७ मत ल्याए । मंगोल नेसनल अर्गनाइजेसनका पदमबहादुर तामाङले २० मत पाए भने राप्रपाका नारायण प्रसाद निरौलाले २९ मत पाए ।
जनमत पार्टीका शुकलाल राजवंशीले ९ मत ल्याएका छन् । नागरिक उन्मुक्ति पार्टीकी जमुना राजवंशीले ६ मत ल्याइन् ।
काठमाडौँ । कन्काई नगरपालिका–६ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारले अग्रता बनाएका छन् । पछिल्लो मत परिणाम अनुसार चापाकल चुनाव चिह्न पाएका स्वतन्त्र उम्मेदवार लक्ष्मी प्रसाद ओलीले ३२६ मतसहित अग्रता बनाइरहेका छन् ।
नेकपा एमालेका तुलाराम बस्नेतले २३२ मत ल्याउँदै उनलाई पछ्याइरहेका छन् । नेपाली कांग्रेसका रामगोपाल ओलीले २ १८ मत ल्याएका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार गणेश बहादुर थापाले १७५ मत ल्याएका छन् ।
मंगोल नेसनल अर्गनाइजेसनका पदमबहादुर तामाङले १५ मत पाएका छन् । राप्रपाका नारायण प्रसाद निरौलाले १७ मत तथा जनमत पार्टीका शुकलाल राजवंशीले ८ मत ल्याएका छन् । नागरिक उन्मुक्ति पार्टीकी जमुना राजवंशीले ३ मत ल्याएकी छन् ।
काठमाडौँ । ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नम्बर ५ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार गंगाबहादुर तामाङ ३९९ मतसहित विजयी भएका हुन् ।
उनका निकतम प्रतिद्वन्द्वी कांग्रेसका घनश्याम दाहालले १७७ मत ल्याएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विष्णुप्रसाद पोखरेलले १५१ मत ल्याएका छन् ।
काठमाडौँ । महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपा एमाले विजयी भएको छ । एमालेका सकिवुल खाँ ६३१ मत ल्याउँदै विजयी भएका हुन् ।
दोस्रो स्थानमा नेकपा माओवादी केन्द्र रह्यो । माओवादी उम्मेदवार आइती कुमार यादवले ५३४ मत प्राप्त गरिन् । कांग्रेस उम्मेदवार मोहम्मद जनिफ खाँले २८४ मत पाए ।
काठमाडौँ । सुनसरीको गढी गाउँपालिका–६ मा भएको वडा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार तेतर साहुले ३७६ मत ल्याउँदै अग्रता बनाएका छन् । नेकपा एमालेका शन्तु उराव ३६० मतसहित दोस्रो स्थानमा रहेको छ ।
नेकपा माओवादी केन्द्रका उम्मेदवार कुशेश्वर खेरवार ३५३ मतसहित तेस्रो स्थानमा छन् । राप्रपाकी कविता कुमारी उरावले ४९ मत प्राप्त गरेकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका शशिकुमार साहुले १८ मत तथा जनमत पार्टीका सीताराम यादवले १४ मत पाएका छन् ।
विराटनगर । स्थानीय तह अन्तर्गत आइतबार सम्पन्न मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा मतगणना सुरु भएको छ।
सर्वदलीय बैठकपछि राति १०: ३० बजेबाट मतगणना सुरु भएको हो । आज सम्पन्न भएको मतदानमा ७१ प्रतिशत मतदान भएको छ । सहायक निर्वाचन अधिकृतका रामराजा पौडेलका अनुसार तोकिएको समय अबधिभित्र १८ हजार ५७७ जनाले मतदान गरेका हुन् ।
ग्रामथानमा २६ हजार ४४ मतदाता रहेका थिए । १२ मतदान स्थलका २९ मतदान केन्द्रमा भएको मतदानमा ७१.३३ प्रतिशत मतदान भएको हो । आइतबार विहान ७ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ
सुर्खेत । दैलेखको दुल्लू नगरपालिका–१३ मा नेकपा एमालेका लालबहादुर शाही विजयी भएका छन् । उनी ५७४ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका कांग्रेसबाट रेशम बहादुर शाहीले ५७१ मत ल्याएका छन् भने माओवादीबाट ढकेन्द्र शाहीले २७८ मत मात्रै ल्याए । यहाँ रास्वपाले ५३, नेमकिपाले ४, राप्रपाले १३ र ३३ मत बदर भएका छन् ।
यहाँ यसअघि एमालेका बिर्खबहादुर शाही ८२२ मत पाएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका डम्बर शाहीले ७७३ मत पाएका थिए । निर्वाचित भएका शाहीको ब्रेन ट्युमरका कारण ०८० माघमा मृत्यु भयो । पुनः एमालेले आफ्नो ठाउँ सुरक्षित राख्न सफल भएको छ ।
काठमाडौँ । गोरखा नगरपालिका–५ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपा माओवादी विजयी भएको छ । नेकपा माओवादी केन्द्रका विष्णुबहादुर मगर ४ सय ८६ मत ल्याउँदै विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भाईकाजी आलेले ४ सय २ मत ल्याए । नेकपा एमालेकी दुर्गा माया थापा रानाले ३ सय ४५ मत प्राप्त गरिन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मंगलबहादुर थापाले ८२ मत प्राप्त गरे ।
काठमाडौँ । कन्काई नगरपालिका–६ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारले अग्रता बनाएका छन् । पछिल्लो मत परिणाम अनुसार चापाकल चुनाव चिह्न पाएका स्वतन्त्र उम्मेदवार लक्ष्मी प्रसाद ओलीले १६४ मतसहित अग्रता बनाइरहेका छन् ।
नेकपा एमालेका तुलाराम बस्नेतले १ सय २५ मत ल्याउँदै उनलाई पछ्याइरहेका छन् । नेपाली कांग्रेसका रामगोपाल ओलीले १ सय ४ मत ल्याएका छन् ।
नेकपा माओवादी केन्द्रका उम्मेदवार गणेश बहादुर थापाले ८५ मत ल्याएका छन् । मंगोल नेसनल अर्गनाइजेसनका पदमबहादुर तामाङले ९ मत पाएका छन् । राप्रपाका नारायण प्रसाद निरौलाले ७ मत तथा जनमत पार्टीका शुकलाल राजवंशीले ३ मत ल्याएका छन् ।
काठमाडौँ । ताप्लेजुङको सिरीजंघा गाउँपालिका–३ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेले सुरुवाती अग्रता बनाएको छ ।
एमालेकी उम्मेदवार कुमार सावादेनले ११९ मत साथ अग्रता बनाएकी हुन् । निकटम प्रतिद्वन्द्वी कांग्रेसका भीमकुमार लक्सम्वाले ८७ मत प्राप्त गरेका छन् ।
त्यस्तै, नेकपा माओवादी केन्द्रका अम्वी साउदेनले ७२ मत पाएका छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजेन्द्र लिम्बुले २० तथा राष्ट्रिय स्वतन्त्र पार्टीका देवीप्रसाद पौडेलले ३ मत मात्र प्राप्त गरेका छन् ।
महोत्तरी । महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को मतगणनामा नेकपा एमालेका उम्मेदवार सकीबुल खानले अग्रता लिएका छन् । खानले ३८९ मत ल्याउँदा माओवादी केन्द्रकी उम्मेदवार आइतीकुमारी यादवले ३०३ मतसहित पच्छ्याइरहेकी छन् ।
त्यस्तै नेपाली कांग्रेसका जनीफ खान १६४ मतसहित तेश्रो स्थानमा रहेका छन् भने जसपाका नजामुद्धिन खान २६ मतसहित चौथो स्थानमा छन् ।
काठमाडौँ । तत्कालीन माओवादी जनयुद्धको आधार इलाकाका मानिएको रुकुम र रोल्पाका वडा तहमा भएको स्थानीय तह उपनिर्वाचनमा माओवादी पराजित भएको छ ।
आइतबार सम्पन्न स्थानीय तह निर्वाचनको प्राप्त नतिजाअनुसार रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नं ५ मा कांग्रेसका उम्मेदवार विजयी भए । निर्वाचन आयोगका अनुसार कांग्रेसका उम्मेदवार मोतीराम खत्री ५९० मतका साथ विजयी बन्दा माओवादी केन्द्रका जसिराम बस्नेत ५३७ मत ल्याएर पराजित भए ।
यसैगरी रोल्पाको रुन्टिगढी गाउँपालिकाको वडा नम्बर ४ को अध्यक्षमा पनि नेपाली कांग्रेसका उम्मेदवार भुपमणि पुन विजयी भए । पुन ६३४ मत ल्याएर विजयी भएका हुन् । त्यहाँ नेकपा एमालेले ३५ मत ल्याएको छ भने नेकपा माओवादी केन्द्रले जम्मा ७० मतमात्र ल्याएको छ ।
काठमाडौँ । आइतबार सम्पन्न स्थानीय तह निर्वाचनको नतिजाअनुसार रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नं ५ मा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
निर्वाचन आयोगका अनुसार कांग्रेसका उम्मेदवार मोतीराम खत्री ५९० मतका साथ विजयी भएका हुन् । यस्तै माओवादी केन्द्रका जसिराम बस्नेत ५३७ मत ल्याएर पराजित भए ।
माओवादीको प्रभाव क्षेत्र मानिने भएपनि सो स्थानमा सोही पार्टी पराजित बनेको हो ।
सुर्खेत । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ को वडाअध्यक्ष पदमा नेपाली कांग्रेस विजयी भएको छ । कांगेसका मोतिराम खत्रीले ५९० मत ल्याएर निर्वाचित भएका हुन् ।
१ हजार १४६ खसेको मतमध्ये १९ मत बदर भएका थिए । यहाँ यसअघि पनि कांग्रेसले नै जितेको थियो ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १२ मा आइतबार भएको स्थानीय तह उपनिर्वाचनको मतगणना कार्य सुरु भएको छ । हेटौडा २ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको सभाहलमा मतगणना कार्य सुरु गरिएको हो ।
राति ९ बजेदेखि सुरु गर्ने भनिएको मतगणना कार्य व्यवस्थापनका कारण आधा घण्टा ढिला गरी सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । एक वडाध्यक्ष पदका लागि भएको निर्वाचनमा ५ हजार ४८४ मत खसेको थियो ।
सुर्खेत । जाजरकोटको कुशे गाउँपालिका–७, को वडाअध्यक्ष पदमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसबाट खम्बबहादुर सिंह ३४७ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
सिंहले आफ्ना प्रतिद्धन्द्धी नेकपा (माओवादी केन्द्र) का गोरखबहादुर नेपालीलाई १५ मतान्तरले पराजित गरे । नेपालीले ३३२ मत ल्याएका छन् । यस्तै एमालेबाट डम्बरबहादुर घर्तीले २५२ मत ल्याएका छन् ।
यहाँ ९५६ मत खसेको थियो । एक्लाएक्लै चुनावी मैदानमा दलहरु रहँदा यसअघि ०७९ मा यहाँ माओवादी केन्द्रका मनबहादुर घर्ती ३८० मत पाएर विजयी भएका थिए ।
काठमाडाैँ । ओखलढुंगा जिल्लाको मोलुङ गाउँपालिका वडानम्बर ५ मा एमाले उम्मेदवार निर्वाचित भएका छन् ।
एमाले उम्मेदवार गंगाबहादुर तामाङ कांग्रेस उम्मेदवार घनश्याम दाहाललाई पराजित गर्दै निर्वाचित भएका हुन् । यद्यपि निर्वाचन अधिकृतले औपचारिक घोषणा हुन बाँकी रहेको बताएका छन् ।
वडामा १२ सयभन्दा बढी मतदाता रहेकोमा ७६८ मतमात्र खसेको थियो ।
दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ५ मा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसका उम्मेदवार धन सिंह कुँवरले ३७६ मतका साथ विजय हासिल गरेका हुन् । निकटमत प्रतिस्पर्धी एमालेका मान सिँह बडालले ३५८ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
यस्तै तेस्रो स्थानमा माअोवादी केन्द्रका उम्मेदवार वीर सिह कार्की रहे । उनले जम्मा ९८ मत पाए ।
बुटवल । रोल्पाको रुन्टीगढी गाउँपालिका–४ मा नेपाली कांग्रेसका उम्मेदवार भुपमणी पुन मगर विजयी भएका छन् । आइतबार भएको स्थानीय तह उपनिर्वाचनको सार्वजनिक मतपरिणाम अनुसार उनले ६४३ मत ल्याएर विजयी भएका हुन् ।
नेकपा एमालेका वेगम पुनले ५३५ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ।
यस्तै नेकपा माओवादीका नरेशजंग सिंहले ७० मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका पहल बहादुर वलीले १० मत प्राप्त गरेका छन् ।