काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई १० सांसदले प्रश्न गरेका छन् । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा प्रधानमन्त्री ओलीलाई १० सांसदले प्रश्न गरेका हुन् ।
प्रधानमन्त्री ओलीलाई प्रकाश ज्वाला, प्रतीक्षा तिवारी, प्रतिमा गौतम, वर्षमान पुन, प्रकाश शरण महत, प्रभु हजरा, प्रेम बहादुर आले, प्रेम सुवाल, प्रेम बहादुर महर्जन र प्रभु साहले प्रश्न गरेका हुन् ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीलाई अहिलेकै कानुनी व्यवस्थाअनुसार मृत्युदण्ड दिन नमिल्ने बताएका छन् । आइतबार संसदमा भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका क्रममा सांसद प्रेम सुवालले भ्रष्टाचारीलाई मृत्युदण्ड दिनुपर्छ भन्ने विषयमा उठाएको प्रश्नमा जवाफ दिने क्रममा यस्तो बताएका हुन् ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद प्रभु साहले सोधेका प्रश्नमा आक्रोश पोखेका छन् । आइतबार संसदमा भएको प्रश्नोत्तरका क्रममा ओलीले शाहले सोधेको प्रश्नमा आक्रोश पोख्दै जवाफ नदिएका हुन् । ‘उहाँका प्रश्नहरू उहाँको मनमा रहेका विरोध, घृणा, आक्रोश आदिले अपमानजनकसमेत रहेका छन्’, ओलीले भने, ‘संसदजस्तो गरिमामय ठाउँमा यस्तो भाषाले तपाईंलाई के लाभ भयो रे, विदेश पठाएर जस्ता भाषा ? म म्यानपावर कम्पनीको मान्छे हो ?’
उनले आफू सरकारमा आएको ८ महिनाको अवधिमा सबै बेथितिको भएको कुरा नभएको भन्दै साहसँग आक्रोश समेत पोखे । ‘तपाईँले भनेको ७० लाख नेपाली वैदेशिक रोजगारीमा ८ महिनामा गएका हुन् ?’, जङ्गिँदै ओलीले भने ।
ओलीले यस्तो भनेपछि साह आसनबाट उठेर प्रतिप्रश्न गर्न खोजेका थिए । तर, सभामुखले उनलाई रोके । त्यसपछि पनि ओलीले भने आक्रोश पोखिरहे । ओलीले भने, ‘उहाँले गर्नुभएका प्रश्नहरूमा खासै जवाफ दिइरहनु पर्ने छैन । सबै उत्तर आफैँले प्रश्नमा बोकेर आउनुभएको छैन । त्यसकारण धेरै उत्तर दिइरहनु परेन । यहाँलाई धन्यवाद छ ।’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार दलबीच कुनै शंका–उपशंका गर्न जरुरी नरहेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले मुलुकको विकास र समृद्धिलाई निरन्तरता दिई राजनैतिक स्थिरता कायम गर्न अहिलेको सत्तागठबन्धन बनेको भन्दै यसमा शंका–उपशंका गर्न जरुरी नरहेको बताएका हुन् ।
उनले सत्ता साझेदार दलबीच उच्च विश्वास र समझदारी रहेको जिकिर गरे । यसैगरी, उनले हालै जारी अध्यादेश मार्फत आएका नीतिगत र कानुनी सुधारले व्यवसायिक वातावरणमा सुधार आउने तथा लगानी अभिवृद्धि भई आर्थिक गतिविधि बढ्ने उनले विश्वास व्यक्त गरे ।
उनले पार्टी फुटाउनका लागि यसअघि अध्यादेश ल्याउने दलले अध्यादेशको विरोध गर्नु उचित नहुने जिकिर गरे । कुनै पार्टी र कसैको पार्टी फुटाइदिने र जोडिदिने आफ्नो नभएको उनको भनाइ छ । अर्थतन्त्रमा देखिएका चुनौती सम्बोधन गर्न, विकास निर्माणका गतिविधिलाई तिब्रता दिन, सेवा प्रवाहमा सुधार तथा सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको उहाले बताए ।
काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमा बसिरहने कुनै नैतिकता नरहेको बताएका छन् । सत्ता साझेदार दलले नै अध्यादेशमा सहमति जनाउन नसक्ने निर्णय गरिसकेको भन्दै उनले अध्यादेश पारित हुन नसकिरहेको अवस्थामा प्रधानमन्त्री पदमा बसिरहन नैतिकताले नदिने बताए ।
आइतबारे प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा १० औँ प्रश्नकर्ताको रुपमा सदनमा खडा भएका उनले ओलीलाई प्रश्नैप्रश्न गरे । उनले नेपाली नागरिकता परित्याग गरी विदेशी नागरिकता लिनेहरुको संख्या कति भन्दै प्रश्न गरे ।
यस्तै उनीहरुको पैतृक सम्पत्ति के कति थियो र अहिले कुन अवस्थामा छ भन्ने उनको अर्को प्रश्न थियो । ‘गैरआवासीय नेपालीका अवैध सम्पत्तिहरुलाई राज्यको स्वामित्वमा ल्याउन तपाइँले के के गर्नुभयो । खुलेयाम हुण्डीबाट ती अवैध सम्पत्तिहरु विदेश लैजाँदा रोक्न नसक्ने सरकारलाई हामीले के भन्ने ? सक्षम या असक्षम ?’, उनको प्रश्न थियो ।
काठमाडौँ । प्रतिनिधिसभा बैठकमा बबरमहलमा मेलम्ची खानेपानीको पाइप फुट्दा सडक जलमार्गमा परिणत हुनु हाम्रो विकास मोडेलको असफलता र समन्वयको चरम अभाव भएको भन्दै आलोचना भएको छ । आजको बैठकको शून्य समयमा नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले मुलुककै प्रशासनिक केन्द्रको मुटुको पाइप फुट्नुमा असफलता र समन्वयको चरम अभाव भएको बताइन् ।
‘चार दिनअघि सिंहदरबारको दक्षिण ढोका नजिक बबरमहलमा मेलम्ची खानेपानीको पाइप फुट्दा सडक जलमार्गमा परिणत मात्र भएन। मुलुककै प्रशासनिक केन्द्रको मुटुमा एउटा पाइप फुट्ने विषय हाम्रो विकास मोडेलको असफलता र समन्वयको चरम अभावको ज्वलन्त उदाहरण हो,’ सांसद गौतमले भनिन् ।
सरकारी निकायले एक अर्कासँग समन्वय नगर्दा यस्तो घटना घटन पुगेको उनले बताइन् । ‘सडक विभागले बाटो बनाउँछ, खानेपानी विभागले ढल खन्छ, विद्युत् प्राधिकरणले पोल गाड्छ— तर एकले अर्कासँग समन्वय नगर्ने परिपाटीको फलस्वरूप, बानेश्वर–माइतीघर मुख्य मार्ग अवरुद्ध मात्र भएन कि हाम्रो विकासको ढाँचा नै धराशायी देखियो,’ सांसद गौतमले भनिन् ।
काठमाडौँ । सांसद प्रेम आलेले सोधेको २ वटा प्रश्नमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएका छन् । उनले विकास निर्माणको विषयमा केन्द्रीत रहेर प्रधानमन्त्रीलाई प्रश्न सोधेका थिए ।
जवाफका क्रममा प्रधानमन्त्री ओलीले भने, ‘धनगढी देखि दिपायल हुदै उरै भञ्ज्याङ्गसम्म निर्माण हुने सडकले यात्रा अवधि उल्लेखनीय मात्रामा घट्न जाने हुनाले यसको निर्माण र स्तरोन्नति सरकारको प्राथमिकतामा रहेको छ। सरकारले हालै स्रोत सुनिश्चितता प्रदान गरेकोले आयोजनाको केही दिनमा नै ठेक्का प्रक्रिया शुरु हुनेछ।’
यस्तै आलेको दोस्रो प्रश्नमा ओलीले सहजपुर–बोक्तान–दिपायल सडकका सम्बन्धमा नेपाल सरकार र भारतको बीच सम्पन्न सम्झौताअनुसार करिब ५० किलोमिटर निर्माण कार्य सम्पन्न भइसकेको बताए ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद प्रभु हजाराले सोधेको प्रश्नमा जवाफ दिएका छन् । प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका क्रममा उनले छैटौँ प्रश्नको रूपमा आफ्नो जवाफ प्रस्तुत गरेका हुन् ।
२.चालु खर्च घटाई पुँजीगत खर्च बढाउन सरकारले विभिन्न कदम चालेको छ। साथै, सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड, २०८१ नेपाल सरकारबाट स्वीकृत भई कार्यान्वयनमा ल्याइएको छ। पुँजीगत खर्च बढाउन गत आर्थिक वर्षको सिर्जित दायित्व रकमान्तर मार्फत भुक्तानी सहजीकरण गरिएको छ। न्यून विनियोजन भएका, कम प्राथमिकताका, विकास नतिजाको हिसाबले कम महत्वका र पूर्व तयारी पुरा नभएका आयोजना तथा कार्यक्रमको कार्यान्वयन स्थगित गरी यस्ता आयोजना तथा कार्यक्रममा विनियोजित रकम उच्च प्राथमिकताका ठुला आयोजनामा रकमान्तर गर्ने विषयलाई सरकारले प्राथमिकता दिएको छ।
३.राष्ट्रिय गौरवका आयोजना र राष्ट्रिय महत्वका प्राथमिकता प्राप्त आयोजना कार्यान्वयनमा स्रोतको अभाव हुन नदिने व्यवस्था मिलाइएको छ। साथै बहु वर्षीय आयोजनालाई व्यवस्थित गर्न आयोजनाको बहु वर्षीय ठेक्का सहमति सम्बन्धी मापदण्ड, २०८१ कार्यान्वयनमा ल्याइएको ब्यहोरा जानकारी गराउन चाहन्छु।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रमा देखिएको चुनौतीहरूको समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रतिनिधिसभामा आइतबार आयोजित प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा सांसद प्रकाशशरण महतले सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
उनले सरकारले ल्याएको अध्यादेशपछि देशमा लगानीको वातावरण बन्ने विश्वास समेत व्यक्त गरे । उनले गठबन्धनमा रहेका दलहरूबिच विकासलाई निरन्तरता दिँदै राजनीतिक स्थितिरता दिने पनि प्रतिबद्धता जनाए ।
काठमाडौँ । पूर्वअर्थमन्त्री तथा माओवादी सांसद वर्षमान पुनले अर्थतन्त्रका विषयमा प्रधानमन्त्री केपी ओलीलाई प्रश्न गरेका छन् । आइतबार प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा उनले अर्थतन्त्रमा शिथिलता आएको बताउँदै जनताको चुलो महँगिएको बताए । यस्तै उनले पुँजीगत खर्च नभएको अवस्थामा समग्र अर्थतन्त्रहरु सुधार गर्न सरकारको नीति र प्राथमिकताहरु के–के छन् ? भनेर प्रश्न गरेका हुन् ।
चालु खर्चमा मितव्ययिता कायम गर्दै पूँजीगत खर्चमा वृद्धि तथा आयोजना कार्यान्वयनमा सुधार गर्न बजेट तर्जुमा गर्दा एवम् आयोजना छनौट तथा प्राथमिकीकरण गर्दा आयोजना बैङ्कमा प्रविष्टी भएको, क्षेत्रगत प्राथमिकतामा परेको, लगानीको स्रोत सुनिश्चितता भएको, छोटो समयमा प्रतिफल दिने, आयोजना वर्गीकरण मापदण्ड बमोजिम आयोजनाको सम्पूर्ण पूर्व तयारीका काम सम्पन्न भएका आयोजना मात्र छनौट गर्ने व्यवस्था मिलाइनेछ।
२. विकास, समृद्धि र स्थिरताका लागि नै नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका रहेका दुई ठुला राजनीतिक दलहरूसहित अन्य दलहरू मिलेर वर्तमान सरकारको गठन गरिएको हो। गठबन्धनमा रहेका दलहरूबीच मुलुकको विकास र समृद्धिलाई निरन्तरता दिई राजनैतिक स्थिरता कायम गर्दै अगाडि बढ्ने विषयमा सत्ता साझेदार दलबीच कुनै शंका उपशंका गर्न जरुरी छैन। हामिबीच उच्च विश्वास र समझदारी रहेको छ।
यसै सन्दर्भमा ठूला राष्ट्रिय परियोजनाको लागि स्रोतको समस्या आउन नदिन सम्बन्धित मन्त्रालयलाई बजेट तर्जुमाको लागि प्रदान गरिएको बजेट सिलिङबाट त्यस्ता आयोजनाका लागि सो आर्थिक वर्षमा आवश्यक पर्ने रकम विनियोजन गरी इयरमार्क गरेपछि मात्र अन्य आयोजना तथा कार्यक्रममा बजेट छुट्ट्याउने गरी नीतिगत प्रबन्ध गरिएको छ।
नयाँ बहुवर्षीय आयोजनाका लागि स्रोत सुनिश्चित गर्दा विस्तृत आयोजना प्रतिवेदन वा विस्तृत इन्जिनियरिङ्ग डिजाइन स्वीकृत भएको, वातावरणीय मूल्याङ्कन सम्बन्धी परीक्षण सम्पन्न भएको, जग्गा प्राप्तिको प्रक्रिया टुङ्गिएको, साइट क्लियरेन्स भएको, मध्यमकालीन खर्च संरचनामा समावेश भएको तथा खरिद गुरुयोजना तथा कार्यान्वयन योजना स्वीकृत भएको आयोजनाको कार्यान्वयन आवश्यक र औचित्यपूर्ण देखिएमा स्रोतको उपलब्धताको आधारमा मात्र स्रोत सहमति दिने कानूनी व्यवस्था गरिएको छ।
राष्ट्रिय गौरवका आयोजना तथा अन्य ठूला राष्ट्रिय परियोजनाका लागि स्रोतको अभाव हुन नदिन सम्बन्धित मन्त्रालयको लागि विनियोजित बजेटमध्ये कुनै कार्यक्रम सञ्चालन हुन नसक्ने वा कुनै शीर्षकमा विनियोजित बजेटमध्ये केही वा पुरै बचत हुने भएमा रकमान्तर मार्फत् त्यस्ता महत्वपूर्ण आयोजनाका लागि बजेट व्यवस्थापन गर्न अर्थ मन्त्रालयले नीतिगत तथा प्रक्रियागत सहजीकरण गर्ने गरिएको छ।
काठमाडौँ । पूर्वअर्थमन्त्री तथा माओवादी सांसद वर्षमान पुनले अर्थतन्त्रका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् ।
आइतबार प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा उनले अर्थतन्त्रमा शिथिलता आएको बताउँदै जनताको चुलो महँगिएको बताए । यस्तै उनले पुँजीगत खर्च नभएको अवस्थामा समग्र अर्थतन्त्रहरू सुधार गर्न सरकारको नीति र प्राथमिकताहरू के–के छन् ? भनेर प्रश्न गरेका हुन् ।
प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका क्रममा पुनले प्रधानमन्त्री ओलीलाई चौथो प्रश्न गरेका हुन् ।
काठमाडौँ । प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका क्रममा दोस्रो प्रश्नको रूपमा सांसद प्रतीक्षा तिवारीले मधेस प्रदेशका राष्ट्रिय गौरवको आयोजनाका सम्बन्धमा प्रश्न गरेकी छन् । उनले हालको तथ्यांकअनुसार समय सीमाभित्र कतिपय आयोजनाको प्रगति नभएको देखिएको भन्दै यस सम्बन्धमा उठेको समस्याको समाधानका विषयमा प्रश्न गरेकी थिइन् । यस्तै चुरेको समस्याका विषयमा पनि उनले प्रश्न गरेकी थिइन् ।
काठमाडौँ । प्रतिनिधिसभा बैठकमा सांसद प्रकाश ज्वालाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् । उनले भूकम्पपछिको पुनर्निर्माण साथै विकास निर्माणका सम्बन्धमा प्रश्न गरेका थिए ।
उनको प्रश्नमा ओलीले दिएको जवाफ यस्तो छ:
(१) मेरो अघिल्लो कार्यकालमा मैले निर्वाचन क्षेत्र रणनीतिक सडक र हरेक पालिकामा आधारभूत अस्पतालहरूको आवश्यकता महसुस गरी सो को निर्माणको सुरुवात गरेको थिएँ । तर त्यसको केही समयपछि नै सरकार परिवर्तन भयो र म बाहिरिएँ । त्यसपछि आउने सरकारहरूले ती कार्यक्रमहरू रद्द गरे । निर्माण रोकियो । प्रश्नकर्ता माननीय पनि त्यसपछिका सरकारमा भौतिक पूर्वाधार मन्त्री हुनुहुन्थ्यो कि जस्तो लाग्छ । कार्यक्रमहरू रद्द गर्नेले नै फेरि त्यसको प्रगति खोज्ने हामीमा अनौठो संस्कार छ ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी पार्टीका सांसद प्रकाश ज्वालालाई प्रतिनिधि सभाको प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रममा प्रतिप्रश्न गरेका छन् । सांसद ज्वालाले प्रत्येक स्थानीय तहमा अस्पताल र निर्वाचन क्षेत्र रणनीतिक सडक अहिलेसम्म किन सम्पन्न भएनन् भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले प्रतिप्रश्न गरेका छन् ।
जवाफमा प्रधानमन्त्री ओलीले भने, ‘मेरो अघिल्लो कार्यकालमा निर्वाचन क्षेत्र रणनीति कार्यक्रम र हरेक पालिकामा अस्पताल बनाउने घोषणा गरेको थियो । कार्यक्रम घोषणा भएपछि सरकारबाट बाहिरिए । मपछि बनेको सरकारले ती कार्यक्रमलाई प्राथमिकता दिएनन । कार्यक्रम रोकियो,’ प्रधानमन्त्री ओलीले भने, ‘मपछिको सरकारमा प्रश्नकर्ता माननीयज्यू पनि भौतिक पूर्वाधारमन्त्री हुनुहुन्थ्यो क्यार । उहाँहरूले नै ती कार्यक्रम रद्द गरेजस्तो लाग्छ । कार्यक्रम आफै रद्द गर्ने अनि अहिले प्रश्न सोध्ने र किन सम्पन्न भएन भनेर भन्ने । हाम्रोमा अनौठो सस्कार छ ।’
स्थानीय तहमा ५, १० र १५ बेडका अस्पताल निर्माण भइरहेका प्रधानमन्त्री ओलीले बताए । उनले हरेक निर्वाचन क्षेत्रमा धना बस्ती भएका क्षेत्रमा निर्वाचन क्षेत्र रणनीतिक कार्यक्रम प्रभावकारी भएका बताए ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जाजरकोट भूकम्पबाट प्रभावितका नाममा भ्रष्टाचार भएको जिकिर गरेका छन् । उनले कुल ३९ हजार घुरी घर भएको ठाउँमा ४८ हजारलाई पहिलो किस्तास्वरुप रकम वितरण गरिएको भन्दै प्रश्न उठाएका हुन् ।
सांसदसँगको प्रश्नोत्तरमा सहभागी उनले भने, ‘३७ हजार घर भएको ठाउँमा ४८ हजार घरलाई पहिलो किस्ता वितरण गरेको छ । कहाँबाट आयो त्यत्रो घर ? त्यो ठाउँमा ३७ हजार घर भत्किएर ४८ हजारलाई कसरी वितरण गरियो । के भएर यस्तो भयो ?’
काठमाडौँ । पूर्वअर्थमन्त्री वर्षमान पुनले अघिल्लो सरकारले विनियोजित गरेको बजेट नयाँ सरकारले रकमान्तर गर्ने काम भएको भन्दै असन्तुष्ट जनाएका छन् ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा पुनले सहिद मार्गको घोराही–रोल्पा खण्डको ३१ किलोमिटर सडक कालोपत्रे गर्नका लागि अघिल्लो सरकारले १ अर्ब २५ करोड बजेट व्यवस्था गरिएको बताए ।
तर, हालै नयाँ सरकार गठन भइसकेपछि सो बजेटबाट ६८ करोड रकम रकमान्तर गरिएको उनको भनाइ छ ।
काठमाडौँ । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर सुरु भएको छ। प्रश्नोत्तरका लागि १० जना सांसदले नाम टिपाएको सभामुख देवराज घिमिरेले जानकारी दिए ।
यस्तै प्रश्नोत्तरमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तरमा स्पष्टीकरण सोध्ने व्यवस्था नभएको पनि घिमिरेले सुरुमै जानकारी दिए ।
साथै प्रधानमन्त्रीसँग प्रश्न गर्ने सांसदहरुले १ मिनेटभित्र आफ्नो प्रश्न राखिसक्नुपर्ने पनि उनले बताए ।
काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा नेपाललाई धर्म सापेक्ष राष्ट्र घोषणा गर्न माग भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर राणाले आजको बैठकको आकस्मिक समयमा नेपाललाई धर्म सापेक्ष राष्ट्र घोषणा नगरे जनताले आन्दोलन गर्ने बताए ।
‘भारतमा ठुलो हङ्गामा भएको छ। नेपाल सरकारले चासो देखाएको छैन। बल्ल हामी बुझिरहेका छौँ। जनआन्दोलन १ र २ मा नेपाललाई किन धर्मनिरपेक्ष राष्ट्र बनायो भन्ने कुरा खुल्न आइरहेको छ। यसको दोषी को हुन् छानबिन हुनुपर्यो,’ राणाले भने ।
उनले ९४ प्रतिशत हामी ॐ कार परिवार बसोबास गर्ने राष्ट्रलाई धर्म सापेक्ष राष्ट्र बनाउन माग गरे । ‘प्रतिनिधि सभालाई विनम्र अनुरोध गर्न चाहन्छु कि ९४ प्रतिशत हामी ॐ कार परिवार बसोबास गर्ने राष्ट्रलाई यो कुरा कसैको चित्त बुझेको छैन। धर्म सापेक्ष नेपाल अधिराज्य अर्थात् राजासहितको प्रजातन्त्रमा प्रवेश गर्नका लागि यो प्रतिनिधिसभासित आग्रह गर्न चाहन्छु,’ उनले भने ।
काठमाडौँ । प्रतिनिधिसभाको बैठकको प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रममा एक सांसदले एक मिनेटमा प्रश्न सोधिसक्नु पर्ने भएको छ । सांसदले प्रश्न सोध्दा दुई प्रश्न मात्रै प्रश्न सोध्न पाउने निर्णय प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठकले गरेको हो ।
समिति बैठकपछि सभामुख देवराज घिमिरेले एक माननीयले दुई प्रश्न एक मिनेटभित्र सोधिसक्ने निर्णय भएको जानकारी दिए ।
‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर प्रभावकारी बनाउन एक जना माननीयले अबदेखि बढीमा दुई प्रश्न वा एक मिनेटभित्र राखिसक्नुपर्ने निर्णय भएको छ,’ सभामुख घिमिरेले भने। यसअघि एक सांसदले आठवटासम्म प्रश्न सोध्न पाउँथे ।
काठमाडौँ । प्रतिनिधिसभा सदस्य देबेन्द्र पौडेलले सार्वजनिक समारोहमा बेलुनको प्रयोगको सम्बन्धमा सरकारले गम्भीर निगरानी गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । शनिबार पोखरामा भएको घटनापछि आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बेलुनको प्रयोगको सम्बन्धमा उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले भने, ‘सार्वजनिक समारोहहरुमा, धार्मिक समारोह, चाडपर्व, विवाह, ब्रतबन्ध, जन्मदिन आदिजस्ता कार्यक्रममा प्रयोग हुने यस्तो प्रकारका बस्तु र सामग्रीहरुको बारेमा सरकारले गम्भीर निगरानी राखेर प्रयोगको प्रसंगमा उचित व्यवस्थापन गर्न पनि सभामुखमार्फत हार्दिक अनुरोध गर्दछु ।’
पोखरामा शनिबार बेलुन पडिकँदा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका थिए ।
काठमाडौँ । प्रतिनिधिसभा सदस्य डिलेन्द्र प्रसाद बडूले पोखरा घटनाको छानबिन गर्नुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा बोल्दै उनले यो घटना कसरी र कसको कमजोरीले भयो भन्ने प्रश्न उठाउँदै छानबिनको माग गरेका हुन् ।
यस्तै दामोदर पौडेल बैरागीले पनि पोखरा भ्रमण वर्ष उद्घाटन कार्यक्रममा बेलुन पड्केर घाइते दुई जनाको स्वास्थ्य लाभको कामना गरे ।
शनिबार उक्त घटनामा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका थिए । आइतबारको प्रतिनिधिसभा बैठकमा उनले मानवीय कमजोरी या प्राविधिक कमजोरी जे कारणले दुर्घटना भएपनि उनीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरे । यस्तै जनमोर्चाका अध्यष चित्रबहादुर केसीले पनि उनीहरुको स्वास्थ्य लाभको कामना गरे ।
काठमाडौँ । प्रतिनिधिसभा सदस्य दामोदर पौडेल बैरागीले पोखरा भ्रमण वर्ष उद्घाटन कार्यक्रममा बेलुन पड्केर घाइते दुई जनाको स्वास्थ्य लाभको कामना गरेका छन् ।
शनिबार उक्त घटनामा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका थिए । आइतबारको प्रतिनिधिसभा बैठकमा उनले मानवीय कमजोरी या प्राविधिक कमजोरी जे कारणले दुर्घटना भएपनि उनीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरे । यस्तै जनमोर्चाका अध्यष चित्रबहादुर केसीले पनि उनीहरुको स्वास्थ्य लाभको कामना गरे ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरुबीच आइतबारको प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर हुने भएको छ । जसअनुसार सांसदहरुले प्रधानमन्त्रीलाई समसामयिक विषयमा प्रश्न गर्नका लागि नाम टिपाएका छन् ।