बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे, १२ समाचार : बालसुधार गृहमा झडप हुँदा पाँच जना घाइतेदेखि दीपक मनाङेलाई २० प्रतिशत सजाय छुटसम्म

शुक्रबार, २३ फागुन २०८१, २३ : ५१
शुक्रबार, २३ फागुन २०८१

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– 

१.  बालसुधार गृहमा झडप, पाँच जना घाइते 
बालसुधार गृह विराटनगरभित्रै झडप हुँदा पाँच जना घाइते भएका छन् । शुक्रवार भएको समूहगत भनाभन झडपमा परिणत हुँदा स्थिति तनावपूर्ण बनेको हो ।  झडपमा घाइते भएकाहरूको कोसी अस्पतालमा उपचार भइरहेको छ । दुई जना गम्भीर रहेको प्रहरीले जनाएको छ । झडपपछि सुधार गृहमा सुरक्षा सतर्कता बढाइएको छ ।

२. ज्ञानेन्द्र देखाएर गतिविधिमा राजावादी
पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा जारी गरेको भिडियो सन्देशमा अब चुप लागेर नबस्ने अभिव्यक्ति दिएसँगै उत्साहित भएका राजवादीले आफ्नो गतिविधिलाई तीव्रता दिएका छन् । दिनहुँजसो राजावादीले आफ्नो गतिविधि गर्दै आउँदा फागुन २५ मा पोखराबाट पूर्वराजा शाह काठमाडौं आउँदा भव्य स्वागतको तयारी गरेका छन् ।
त्यसैबारे जानकारी दिन राजाको वकालत गर्दै आएका दुर्गा प्रसाईंले  पत्रकार सम्मेलन गरे भने अन्य राजावादी समूहले पनि प्रदर्शन गरेका छन् । गणतन्त्र समर्थक राजनीतिक दलहरुले भने राजावादीको गविविधिको कुनै अर्थ नभएको बताएका छन् ।

३. राजतन्त्र फर्किने सम्भावना छैन
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजसंस्था इतिहास भइसकेकाले फर्केर आउने कुनै सम्भावना नरहेको बताएका छन् ।  शुक्रवार आफ्नो जन्मदिनका अवसरमा आफ्नै निवास कोटेश्वर बिरुवा रोप्दै अध्यक्ष नेपालले राजसंस्था फर्कने कुनै सम्भावना नरहेको बताए ।

४. ओलीलाई झट्का
नेकपा एमाले मोरङको दशौं अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मत परिणाम आएको छ । सो मत परिणाम अनुसार अध्यक्ष केपी शर्मा ओली पक्षलाई नेता विनोद ढकाल पक्षले हराएको छ । 

५. कोटीहोम विवाद
पोखराको लेकसाइडमा हुने भनिएको कोटीहोमको विवादलाई लिएर शुक्रबार महाननगर प्रहरी र कोटीहोम आयोजकबीच तनावपूर्ण स्थिति बन्यो । दुई पक्ष झडपमा उत्रिए । धार्मिक कार्यक्रमले एकाएक हिंसात्मक अवस्था सिर्जना गर्‍यो । सरसर्ती हेर्दा यो घटनाको पूर्वआकलन भएकै थियो । किनकि, कोटीहोम आयोजकले पत्रकार सम्मेलनमार्फत जुनसुकै हालतमा कोटीहोम गरेर फर्कने घोषणा गरिरहँदा पोखरा महानगरपालिकाले चाहिँ कुनै हालतमा कोटीहोम गर्न नदिने निर्णय गरेको थियो ।

६. एनआरएनए विवाद
लामो समयदेखि जारी गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्रको विवाद समाधान नभइरहेको बेला परराष्ट्रमन्त्री आरजु राणा देउवाले शुक्रबार सिंहदरबारमा सरोकारवालासँग छलफल गरेकी छन् । उनले गत चैत २१ गते सर्वोच्च अदालतको परमादेशअनुसार बनेको शेष घले नेतृत्वको उच्चस्तरीय समितिका १३ जनासँग सामूहिक छलफल गरेकी हुन् । जुन समितिमा एनआरएनएका सबै पक्ष छन् ।

७. कर्णालीमा ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार कर्णाली प्रदेश सभामा करिब १ घण्टा १० मिनेट सम्बोधन गरे । संघीयता कार्यान्वयनका सन्दर्भमा देखिएका कमी–कमजोरी, प्रदेश सरकारले अधिकार नपाएको सम्बन्धमा गर्दै आएको गुनासो लगायतका विषयलाई पन्छाएर उनले समसामयिक राजनीतिक विषयबारे चर्चा गरेरै अधिकांश समय बिताइदिए ।

८. प्रतिनिधिसभा बैठक
प्रतिनिधिसभाको बैठक फागुन २७ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक फागुन २७ गते दिउँसो एक बजे बोलाएका हुन् । 

९.मनाङेलाई राहत
ज्यान मार्ने उद्योगमा दोषी ठहर भई जेलमा रहेका गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) को २० प्रतिशत सजाय छुट भएको छ । जिल्ला अदालत काठमाडौंंका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले मनाङेलाई २० प्रतिशत छुट दिएको हो । 

१०. छिमेक सम्बन्ध
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएको झन्डै आठ महिना हुन लागेको छ । तर सबभन्दा  नजिकको छिमेकी देश भारत भ्रमणमा जानु त टाढाको कुरा, सामान्य फोन संवाद पनि हुन छाडेको छ । यसअघिका नेपालका प्रधानमन्त्री र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच बेलाबेला फोन संवाद हुन्थ्यो । यसअघि ओलीसँग पनि भएको थियो । तर यसपटक संवाद पूरै बन्द छ ।

११. पक्राउ
काठमाडौँको फर्पिङबाट प्रहरीले ७ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । बिहीबार फर्पिङ चेकपोष्टबाट पक्राउ परेका उनीहरू क्रिप्टोकारोबारमा संलग्न रहेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । पक्राउ पर्नेमा राजस्थान घर भएका २१ वर्षीय अजय सैनी, १८ वर्षीय हिमान्सु सैनी, २६ वर्षीय अंकित सैनी, १९ वर्षका आर्यन सैनी, २० वर्षीय अभिषेक सैनी, १८ वर्षीय बिरेन्द्र गुजर र ४२ वर्षीय उमाशंकर शर्मा छन् ।

१२. रुसमाथि नयाँ प्रतिबन्ध र कर लगाउने टम्पको धम्की
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार युक्रेनमा बमबारी गरेकोमा रुसमाथि नयाँ प्रतिबन्ध र कर लगाउने धम्की दिएका छन् । ‘रूसले अहिले युद्धभूमिमा युक्रेनलाई पूर्ण रूपमा आक्रमण गरिरहेको छ । म युद्धविराम र शान्ति सम्झौतामा पुग्न नसकेसम्म रूसमाथि ठूलो मात्रामा बैंकिङ प्रतिबन्ध, नाकाबन्दी लगाउने बारेमा दृढतापूर्वक विचार गरिरहेको छु,’ ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्ममा उल्लेख गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप